तीजलाई लैंगिक लेन्सबाट हेर्दा...
बदलिएको तीज, फेरिएको सोच
तीजलाई पहिला व्यक्तिगत दुःख, पीडा र पारिवारिक बन्धनसँग जोडिन्थ्यो । अहिलेको तीज त्यसबाट बाहिर निस्किन थालेको छ । अब तीज दुःख र पीडामा मात्र सीमित छैन । महिलाको इच्छा, आकांक्षा, भविष्य निर्माण, न्याय र सशक्तीकरणसँग यो जोडिन थालेको छ । पारिवारिक, सामाजिक तथा आर्थिक परिवर्तनसँग अहिलेको तीज जोडिएको छ । कामकाजी महिलाहरू बढ्न थालेका छन् । तीज बिस्तारै सांस्कृतिक पर्वबाट सामाजिक पर्वका रूपमा परिणत हुँदै छ ।
बदलिएको तीज, फेरिएको सोच
हिजो धर्म-संस्कृति विशेषसँग जोडिएको तीज अब समग्र महिलाको तीज बन्दै छ । एकता, स्वतन्त्रता र क्षमता देखाउने पर्वका रूपमा चिनिँदै छ । अहिले तीज मनाइरहेका महिला कामकाजी, योग्य र व्यावसायिक छन् । जो आफ्नो खर्च आफैँ उठाउन सक्छन् । हिजो तीजमा छोरीलाई लिन जाने चलन थियो । तीज बुवा, आमा, दाजुभाइ अथवा माइतीसँग जोडिएको थियो । अब त्यो स्थिति रहेन । कामको खोजीमा छोरीहरू गाउँबाट सहर जान थालेका छन् ।
परिवेशजन्य तथा बाध्यात्मक अवस्थाबाट सृजित पारिवारिक नाता सम्बन्धमा अहिले परिवर्तन आएको छ । माइती टाढा छ । चाडपर्व मनाउनकै लागि छोरीहरू चाहेर पनि अब माइती जान पाउँदैनन् । यसले बिस्तारै तीजलाई साथीभाइ, सहकर्मी, छिमेकीसँग मनाउने बनाइदिएको छ । तीज पारिवारिक नाताबाट बिस्तारै बाहिर निस्किन थालेको छ । हिजो माइती नै गएर मनाउनुपर्छ भन्ने तीन अब अफिसमा मनाउन थालिएको छ ।
तीजले अब बिस्तारै महिलाको अस्तित्व खोज्दै छ । महिलाको स्वतन्त्रता, आत्मसम्मान, आत्मनिर्णयसँग यो तीज जोडिएको छ । दाजुभाइले बोलाएर खाने तीजभन्दा आफ्नो साथीभाइसँग मनाइने तीज स्वतन्त्रतासँग जोडिएको छ । माइती–चेलीको सम्बन्धभन्दा पनि तीज अब महिला विशेष चाडको रूपमा चिनिँदै छ । पारिवारिक तीज बिस्तारै सामाजिक, राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय तीज हुँदै छ । देशमा मात्रै होइन, विदेशमा गएर समेत महिलाहरू तीज मनाउन थालेका छन् । जहाँ उनीहरू कैद छैनन्, स्वतन्त्र छन्, जहाँ उनीहरूले दुःख मात्रै बाँड्दैनन्, खुसी पनि बाँड्छन् ।
बदलिन नसकेको/नचाहेको पुरुषवादी सोच र चिन्तन
स्वतन्त्रता, जमघट, रमझम, पहिचान, आत्मनिर्णय आदिलाई पुरुषवादी सोचले आफ्नो निजी सम्पत्ति ठान्छ । कमजोर, स्वार्थी र समाजबाट संरक्षित पुरुषवादी सोचले यस्ता कुरा महिलासँग जोडिँदैन र जोडिनु हुँदैन भन्छ । यो नै अहिलेको सबैभन्दा बदलिन नसकेको÷नचाहेको पुरुषवादी सोच हो । ‘चरी जेलै’मा भन्ने गीत किन जताततै फैलियो ? किनभने, अहिले पनि पुरुषवादी सोच त्यस्तै महिलाले बिलौना गरेका गीत सुन्न चाहन्छ । ‘मेरा स्वामी राजा’ भनेको गीत बजारमा आएको हेर्न चाहन्छ । ‘मैले पनि पाल्न सक्छु मेरो आफ्नो पोइ’ भनेर कसैले गीत निकालोस् त, आलोचना आइहाल्छ ।
तीज मनाउनेहरू हिजो पनि पुरुष नै थिए । हिजो पनि पारिवारिक रूपमा पुरुषबिना तीज हुँदैनथ्यो । माइतीबाट दाजुभाइ लिन आउनुपथ्र्यो । तीज महिलाको हो भनिन्छ । तर, पकाउने महिला हुन्छ, खाने पुरुष । व्रत बस्ने महिला हुन्छ, त्यो व्रत पुरुषका लागि हुन्छ । हिजो पनि पुरुषबिनाको तीज थिएन । बाबु थिए, दाजु थिए, माइती थिए । छिमेककै भए पनि दाजुभाइ थिए ।
अब तीज महिलाको हो वा पुरुषको भनेर बहस गर्न छोडौँ । तीज महिला र पुरुष दुबैसँग जोडिएको पर्व हो । दुबैले सम्मान गराँै । रमाइलो गर्ने चाडमा पुरुष पात्रलाई कुपात्र र हाँस्य पात्र नबनाऔँ । ‘तीजको ज्वाइँ’ भनेर खिसिट्युरी गर्न छाडौँ । तीजको गीतमा नाच्ने पुरुषलाई हाँस्य पात्रका रूपमा उभ्याउन छाडौँ । किनभने, हिजो पुरुषले तीज मनाइदिन्थे होलान्, आज महिला आफैँ मनाउन सक्षम छन् ।
तीजसँग जोडिएका कुरूप र भद्दा मजाक
कुनै पुरुषलाई कमजोर, बिग्रिएको, बेइज्जत भएको देखाउन सारी, सिन्दुर, पोते लगाइन्छ । यसको अर्थ पुरुष कमजोर भए, बिग्रिए, उसको बेइज्जत भए ऊ महिला हुने रहेछ । पुरुष आफू बिग्रिएको पुरुष देख्न चाहँदैन । त्यसैले बिग्रिएको वा कमजोर भन्नेबित्तिकै महिलालाई देखाइन्छ । बिग्रिने र बिगार्ने महिला हुन् । न पुरुष बिग्रिन्छन्, न पुरुष बिगार्छन् । पुरुष जहिल्यै इज्जतिलो ठाउँमा हुन्छ । यो व्याख्या सबैभन्दा कुरूप मजाक हो ।
महिलाको चाडपर्व, पहिरन, गहना र सांस्कृतिक महत्वका विषयलाई कुरूप ढंगले व्याख्या गर्नेहरू अब बन्द गर यो हर्कत । आफ्नो तिम्रो इज्जत गयो भने अब महिलाको लुगा नलगाऊ, बरु यत्तिकै हिँड । हिजो इतिहास, धर्म, संस्कारमा नाममा इज्जत छोपियो होला । अब महिलाको पहिरनले तिम्रो इज्जत ढाकिँदैन । त्यसैले, यो अश्लील ठट्टा र मजाक बन्द गर । चाहे त्यो कार्टुनका रूपमा होस्, चाहे राजनैतिक मुद्दाका रूपमा वा चाहे सामाजिक विचलनकै रूपमा किन नहोस् । असल पुरुषका शत्रु तिनै विषाक्त पुरुष हुन् न कि महिला । न कि महिलाको पहिरन । न कि महिलाको सिन्दुर र पोते ।
तर, यसो भन्दैमा सबै पुरुषलाई हामीले एकै धरातल र चेतनाको स्तरमा राखेर व्याख्या गर्न मिल्दैन । महिलाको स्वतन्त्रता, पहिचान, आत्मनिर्णयको सम्मान र योगदान गर्ने पुरुष पनि समाजमा छन् । समाजमा चेतनशील र न्यायिक पुरुष पनि छन् । जो महिलाका असल र बलिया खम्बा हुन् । तर, ती चेतनशील र न्यायिक पुरुषहरू स्वार्थी र समाजबाट संरक्षित पुरुषबाट ढाकिएका छन् ।
बदलिँदो तीजसँग जोडिएका नराम्रा पक्ष
सांस्कृतिक र पारिवारिक तीज वर्गीय चिन्तनअनुसार व्याख्या हुन थालेको छ । धनीको तीज र गरिबको तीज भनेर छुटिन थालेको छ । धनीको तीज महँगा उपचार र सुन चाँदीले भरिन थालेको छ । उनीहरू तीज पार्टी प्यालेसमा मनाउन थालेका छन् । धनीको तीजले गरिबको तीजलाई पीडा दिन थालेको छ । तर, तीज धन सम्पत्तिसँग मात्र नभएर मौलिकता, मर्यादा, सम्मान र सम्बन्धसँग जोडिएको चाड हो । यसलाई वर्गीय चिन्तनबाट माथि उठाउनुपर्छ ।
त्यस्तै, तीजलाई लक्षित गरेर व्यावसायिक रूपमा हरेक वर्ष विभिन्न गीतहरू आउँछ । ती अधिकांश पुरुषवादी चिन्तनले बनाइएको हुन्छन् । टे«न्ड, भ्युज र भाइरल हुनका लागि बनाइन्छन् । तीज गीतसँग जोडिएका विचलन पनि बन्द गर्नुपर्छ । त्यसले तीज पर्वमाथि नै हिलो छ्याप्ने काम गरेको छ ।
तीजसँग जोडिएको ‘उपहार आतंक’
तीजमा आजभोलि उपचार दिने चलन छ । आर्थिक रूपले विपन्नहरूका लागि योभन्दा ठूलो सकस के होला ? किनभने, उपहार दिन नसक्नेहरूले तीज नै नमनाउन नपाउने भए । सन्चो नभएको बहानाले सहभागिता नै नजनाउने भए । तीजको आतंक आजभोलि उपहार आतंकसँग जोडिएको छ । धनीहरूले आइफोन, महँगा, गहना उपहार किनिदिने चलन छ । यसले तीजलाई तीज बन्न दिँदैन ।
जसले धेरै उपहार दिन सक्छ उसको तीज राम्रो भन्ने मानसिकता थोपरिदिन्छ । तीज उपहारले होइन, मनले मनाऔँ । यसलाई मौलिकता र एकतासँग जोडौँ । स्वतन्त्रतासँग जोडौँ, न कि वस्तुसँग । उपहार किन्ने नाममा कतिको खुसी खोसिएको छ त्यो विचार गरौँ । आफूले राम्रो नलगाई अरूलाई राम्रो उपहार किनिदिनुपर्ने प्रेसर बढेको छ । यो उपहार आतंक बन्द गरौँ । तीज रमाएर, गाएर, नाचेर मनाऔँ ।
तीज र सामाजिक सञ्जाल
सबैको हात–हातमा मोबाइल फोन छ । फोनमा सामाजिक सञ्जाल छ । समाज बिस्तारै देखावटी बन्दै छ । आजकाल हामी एउटा मःम खाए पनि सोसल मिडियामा हालिहाल्छौँ । आफूले मनाउने पर्वलाई हामी आफूसँग राख्दैनौँ । आफ्नो परिवारसँग राख्दैनौँ । सामाजिक सञ्जालमा हालेर देखाउँछौँ । यसले तीजको मौलिकता, मर्म र गतिशीलतालाई पाखा लगाउने काम गर्छ । सुन लगाएको फोटो पोस्ट्याउनु मात्र तीज होइन । दर खाएको फोटो फेसबुकमा हाल्नु मात्र तीज होइन । समाज परिवर्तन हुने हुनेबित्तिकै हाम्रा चाडपर्व पनि परिवर्तन हुन्छन् । यसलाई हामीले स्वीकार गर्नुपर्छ । तर, त्यो परिवर्तन समग्रको हितमा भएको खण्डमा मात्र ।
(डा. उप्रेती समाजशास्त्री हुन् ।)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया