विचार

हो, त्यही मान्छे हो

अर्जुन अजनबी |
भदौ २६, २०७८ शनिबार १३:४५ बजे

मैले कोही एकजना हरामीलाई चिनेको छु । मेरो सबैभन्दा घनिष्ठ मित्र भनौं कि घनिष्ठ दुश्मन भनौँ खैर जे भने पनि ऊ मेरो आफ्नो मान्छे हो जो हर बखत मसँगै हुन्छ । हो हामी बस्‍न पनि एकै कोठामा बस्छौँ । उसको राम्रो नराम्रो मलाई सबै ज्ञात छ । कसम खुदाकी ऊ जस्तो पागल, मुडी र मुजी इन्सान पनि आजका दिनसम्म मैले अरु कोही देखेको छैन । उस्को व्यवहार अलग, तमासा अलग, नखरा अलग, आफू खत्रै कवि हुँ - लेखक हुँ भन्‍ने दम्भ अलक, घमण्ड अलक । उसलाई सामान्य मान्छेले सम्झी नसक्नु छ । ऊ कतिबेला दार्शनिक कुरो गर्छ । कतिबेला पात कुरो गर्छ । कतिबेला रावण आफैँ हँु भन्छ । कतिबेला राम मैं हँु भन्छ । कतिबेला श्रीकृष्णभन्दा बढी ज्ञान झाड्छ । कहिले काहीँ दिनै भरी मौन । उसकै हत्केलामा यो जगत अडिए जस्तो गर्छ । मलाई कहिलेकाहीँ वास्तवमा ऊ को हो उसैलाई थाहा छैन कि जस्तो पनि लाग्छ । खैर जे सुकै होस् ऊ अजिब छ । 

रातिको २ बजे कानमा ईयरफोन कोचेर किशोरी अमोन्कर, तानसेन, पन्डितजीका गीत सुन्‍न घरको छतमा ऊबाहेक अरु को टहल्न्‍न निस्किन्छ होला । ऊ कहिले मध्यरातमा एक्लै चोकतिर बरालिन निस्कन्छ । कहिले राति झ्यालबाट आकाशतिर हेर्दै घन्टौँसम्म एकोहोरो टोलाइरहन्छ । उसको यो कस्तो बौलठ्ठिपना हो । ऊ कसरी बाँच्‍न सक्छ होला यो दैनिकी ? ऊ रातभरी एक्लै जुन र तारासँग के बात मार्छ होला अचम्म लाग्छ । हामी कोही नयाँ मानिस भेटियो भने कसरी बोल्नु भनेर हिच्किचाउँछौ । तर ऊ निर्जीव ढुङ्गा, गोरेटो  , नदिनाला, किरा फट्याङग्रा जङ्गल, पहाड सबैसँग तम्सिएर बात मार्छ । के ऊ यही धर्तीको प्राणी हो त ? म कहिलेकाहीँ आफैँलाई प्रश्न गर्ने गर्छु ।


उसले यी सब गरेकोमा मलाई केही आपत्ति थिएन तर उसका कारण मेरो जिन्दगी बिग्रिरहेको छ । मेरो दैनिकी, सपना विपना सब उसैले खराब बनाएको छ । ऊ एकदमै निठल्लो बेरोजगार । भन्छ चिन्ता नगर केटा कुनै दिन म पनि लेखक बन्छु र तैले सोचेको जिन्दगी बनाउँछु र तँलाई त हत्केलामा नचाएर पाल्छु । थाहा छैन ऊ यस्तो पाराले लेखक होइन, लेखकको सेवक पनि बन्ला जस्तो लाग्दैन । 

उ मध्यरातमा उठेर ओठमा चुरोट च्यापेर बाथरुम छिर्छ । हस्तमैथुन गर्छ । त्यसपछि नुहाउँछ र शिवजीको भक्त हुँ भन्दै चिलिम तान्‍न थाल्छ । बेला बेलामा भित्तामा टाँसेको शिवको फोटो हेर्दै हेल्लो ब्रो व्हाट्स अप । हामी आराम हो नि ? भनेर सोद्छ । अनि धार्मिक ग्रन्थ पढ्न थाल्छ । ऊ पूर्ण आस्तिक पनि होइन र नास्तिक त झन् हुँदै होइन अब उसलाई के भन्‍नु । उसको सुत्ने - उठ्ने ठेगान हुन्‍न । खाना पनि खान्छ कि खाँदैन अत्तो पत्तो हुँदैन । उसको जीवनशैली यति असभ्य र ब्यर्थ  छ कि जस्तो उसलाई जीवन जिउने शिल्प थाहा छैन । 

कतै साहित्यिक कार्यक्रम भए भने सबैभन्दा पछिल्लो रोमा ताली बजाउँदै होहल्ला गर्ने दुईचार जनाको ग्याङमा देख्नु भयो होला । हो त्यो त्यही मान्छे हो ।

दिनभरी कागजमा नानाथरी कोरेर बस्छ । पुस्तक पनि चाहिने नचाहिने प्रशस्तै पढ्छ तर पढे लेखेको मानिस जस्तो सभ्य छैन । हुन त दिमाग बिगार्ने नानाथरी किताब पढेपछि मान्छे आखिर यस्तै त हुन्छ । यत्तिका किताब कुनै एकेडेमिक कोर्सका पढ्नु पर्ने नि अहिलेसम्म डाक्टर नै बन्थ्यो होला तर हुन त बुद्धि भए पो हुन्छ निठल्लोलाई । बाहिर उसलाई देख्‍ने मान्छेले पनि उसलाई त्यसै भन्छन । 

उ घामभन्दा अगाडि कहिल्यै उठेको छैन । हुन त मध्य दिउँसोतिर उठ्छ । उठ्ने बित्तिकै फेरि चुरोट च्यापेर बाथरुम छिर्छ । सर्लक्क नुहाएर त्यत्तिकै निस्किँदै भान्सा कोठा पस्छ । घरभित्र नाङ्गै हिँड्छ । उसलाई लाज शरम छैन । हुन त घर भित्र अरु कोही पनि हुँदैन तर पनि जंगली भएर तुन्तुरी देखाउँदै हिंड्नु त भएन नि । पाश्र्वमा तिनै रागा संगीतका धुन बजाउँदै केही पकाउँछ - खान्छ र फेरि झोला भिरेर बजारतिर लम्किन्छ । उसको दैनिकी भनेकै यही हो । 

तपाईंले उसलाई कतै चियापसलमा चिया चुरोट पिउँदै दुई चार जना जम्मा गरेर गफ चुट्न लागेको पाउनु भएको होला । विनाकारण वन जंगल चहारिरहेको एक्लो यात्री जस्तो कतै देख्नु भएको हुन सक्छ । कतै साहित्यिक कार्यक्रम भए भने सबै भन्दा पछिल्लो रोमा ताली बजाउँदै होहल्ला गर्ने दुईचार जनाको ग्याङमा देख्नु भयो होला । हो त्यो त्यही मान्छे हो ।  घरकाले उसलाई यसो गरेको ठीक मान्दैनन् । उसले नै मेरो हरेक कदममा अवरोध गरेको छ । ऊ को हो किन मेरो नजिक छ ? किन प्यारो छ ? ऊ आफैँभित्र यति बेछन्द हुँदा पनि किन मलाई राम्रो लाग्छ म आफै दंग छु  । हो ऊ मेरो प्यारो मान्छे हो ।

हामी एकै भित्रका दुई हौँ  । हामी दुई एकै भित्रका हौं । ऊ मेरो हो, म उसको हुँ । हो मैले त्यही मान्छेको कुरा गरेको जो ऐनामा हेर्दा ठ्याक्कै म जस्तै देखिन्छ । 

(कालिकोट, कर्णाली) 


Author

थप समाचार
x