‘१० जिल्ला घुम्दा पनि यसरी बचेँ कोभिडबाट’
कोभिड-१९ ले गर्दा अहिले पनि हामी त्रसित छौँ । नेपालमा कोभिड सुरु भएको केही महिना सबैजना घरभित्रै बस्यौँ । म पनि बसेँ । पछि कार्यक्रम र अध्ययनको सिलसिलामा बाहिर निस्किएँ । असारदेखि मंसिरसम्म म लगभग १० ओटा जिल्ला गएँ । मानिसहरूसँग भेटघाट गरेँ । भेटघाट गर्दा मास्क अनिवार्य लगाएँ । भौतिक दूरी कायम गरेँ । कसैसँग पनि हात मिलाउने काम गरिनँ । स्यानिटाइजरभन्दा सकेसम्म साबुन प्रयोग गरेँ । स्वस्थकर खानेकुरा खाएँ । तातो पानी र तातो-तातो खानेकुराहरु खाएँ । गुर्जो, बेसार, मरिच, दालचिनी आदिको धुलो बनाएर तातो पानीसँग खाएँ । कागती पानी छुटाइनँ । जसको कारण आजको दिनसम्म मलाई कोभिडले आक्रमण गर्न सकेको छैन । मैले अहिलेसम्म पीसीआर टेस्ट गरेको छैन । जरुरी पनि ठानिन । किनभने, अहिलेसम्म मलाई कोभिडको कुनै पनि लक्षण देखिएको छैन ।
‘कोभिड सर्ला किन बाहिर हिँडेको ?’ भनेर धेरैजनाले चिन्ता व्यक्त गरे । तर, मैले आफ्नो जीवनशैलीमा विशेष ध्यान दिएँ । अबका दिनमा हामी कोभिडसँगै बाँच्नुपर्छ । यदि खोप नै आइहाल्यो भने पनि जीवनशैली परिवर्तन नगरी सुख छैन । हामीले कस्तो खालको जीवनशैली अपाइरहेका छौँ, कस्तो खानेकुरा खाइरहेका छौँ त्यसले पनि कोभिड लाग्ने/नलाग्ने फरक पर्दो रहेछ । यसको मतलब राम्रो जीवनशैली अपनाएकाहरूलाई कोभिड लाग्दै नलाग्ने भन्ने होइन । तर, त्यसबाट उत्पन्न हुने जटिलताहरू कम गर्न भने अवश्य मद्दत पुर्याउँछ ।
केही महिनाअघि म हप्तादिनको लागि लाङटाङ गएँ । लाङटाङमा जाँदा लगातार छ-सात घण्टा हिँड्नुपरेको थियो । घुडा दुख्छ कि जस्तो लागेको थियो । तर, केही भएन । झन् एककिसिमको उर्जा मिल्यो । मानसिक तनाबबाट मुक्ति मिल्यो । गाँउघरमा मानिसहरूले कोभिडबारे खासै तनाब लिएको देखिएन । त्यहाँको हावापानी पनि स्वच्छ हुने भएकाले कोभिडको प्रकोप खासै देखिएन । गाउँमा प्रायः कोभिड लागेर मृत्यु हुने पनि खासै भेटिएनन् ।
कोभिडले मात्रै मरेका छैनन् मान्छे
कोभिडको समयमा आत्महत्या गनेहरूको संख्या एकदमै धेरै छ । तर, आम सञ्चारले कोभिडले मृत्यु हुनेको संख्या मात्र दिन्छ । कोभिडबाहेक अरु कारणले मृत्यु हुने पनि धेरै छन् । उनीहरुको चर्चा खासै हुँदैन । गर्भवती महिलाहरू सुत्केरी हुन नसकेर मरिहेका छन् । स्वास्थ्य चौकीमा औषधि र स्वास्थ्यकर्मी नहुँदा धेरैले ज्यान गुमाएका छन् । एक हप्ताअघि म अछाम पुगेको थिएँ । त्यहाँ एकजना गर्भवती महिलालाई उनका श्रीमान्ले रक्सी खाएर कुट्दा कुट्दा उनको गर्भपतन भयो ।
गर्भपतन मात्र भएन शरीरभित्रको ‘स्प्लिन’ अर्थात् फियो समेत फुट्यो । राष्ट्रपतिको एउटा विशेष कार्यक्रम छ । जसले। हेलिकप्टरबाट उद्धार गरेर त्यस्ता सुत्केरी महिलाहरूको जीवनरक्षा गर्छ । तर, अछामको प्रशासनले फोन गर्दा ‘त्यो घरेलु हिंसाको घटना हो, त्यस्तो किसिमको महिलाको जीवनरक्षा हामीले गर्ने होइन’ भन्ने जवाफ आयो । त्यस्तै, बर्दियामा एकजना तीन महिनाकी गर्भवतीको गर्भपतन भयो । एकदमै धेरै रगत बग्यो । आर्थिक अभावले उनी अस्पतालसम्म पनि जान सकिनन् । कोभिडका बेलामा यस्ता धेरै घटना घटे ।
खानपान
कोभिडले खानपानमा मानिसको चासो बढाएको छ । विभिन्न अध्ययनले शरीरमा भिटामिन-‘डी’ र भिटामिन–‘सी’ को कमी भयो भने रोगसँग लड्ने शक्ति कमी हुन्छ भन्ने देखाएको छ । कोभिड संक्रमणबाट बच्नका लागि अहिले धेरैले भिटामिन र जिङ्क चक्की किनेर खाइरहेका छन् । तर, त्यस्ता चक्की किनेर खानु । ति सबैकुरा हाम्रा खानेकुरामा पर्याप्त छन् । घाम ताप्यो भने भिटामिन-‘डी’ पाइन्छ । भिटामीन-‘सी’को लागि हाम्रो घरमा भएका अमला, अम्बा, हलुवाबेद र टुसा उमारेका खानेकुरामा खाए हुन्छ । धेरैले अहिले च्यवनप्रास खान्छन् । च्यवनप्रासले रोगसँग लड्ने शक्ति बढाउँछ भन्ने छ । च्यवनप्राशको प्रमुख तत्व नै अमला हो । तर, हामी आफूसँग भएको अमला नखाइ महंगो च्यवप्रास खान्छौँ ।
त्यस्तै हामीले पत्रु खानेकुरा पनि खानुहुँदैन । पत्रु खानाले शरीरमा क्यालोरीमात्र बढाउँदैन रोगसँग लड्ने शक्ति पनि कम गराउँछ । शरीरमा हर्मोनल परिवर्तनहरू पनि ल्याउँछ । कोभिडको बेला मात्रै होइन भविष्यको स्वास्थ्यलाई पनि ध्यानमा राखेर पत्रु खानेकुराबाट बच्नुपर्छ ।
प्रस्तुतिः सृजना खड्का
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया