विचार

व्यावहारिक विज्ञानमा अनुसन्धान गर्ने त्रिविको संस्था हाल कहाँ छ ?

डा. दीपेन्द्र पराजुली |
भदौ ३०, २०७८ बुधबार १६:५६ बजे

व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान (व्याविप्रअ) केन्द्र यही भदौ २३ गतेदेखि ४५ वर्षे भएको छ । यसको स्थापना २३ भदौ २०३४ मा त्रिभुवन विश्वविद्यालय ऐन १९७६ अनुरूप समर स्कुल अफ लिंग्विस्टिकको प्रांगण, कीर्तिपुरमा भएको थियो । त्यसभन्दा पहिला जुलाई १९७६ (वि सं २०२९) देखि नयाँ शिक्षा कार्यक्रमअन्तर्गत व्यावहारिक विज्ञान तथा प्रविधि अध्ययन संस्थानका रूपमा धरानमा रहेको थियो जहाँ खाद्य तथा प्रयोगशाला प्रविधि विषयको अध्यापन गराउने गरिन्थ्यो ।

व्याविप्रअ केन्द्र स्थापनाको मुख्य उद्देश्य आधारभूत तथा व्यावहारिक विज्ञानको अनुसन्धान र विकासका माध्यमबाट समग्र नेपालको विकास गर्नु थियो । जसका लागि नेपालका प्राकृतिक स्रोेतहरूको समुचित प्रयोगका लागि उपयुुक्त प्रविधिहरूको पहिचान, परिष्करण, उत्पादन र वितरण गरी दिगो विकासको जग बसाल्नु थियो । त्यसै गरी नेपालका लागि उपयुक्त परम्परागत, रैथाने तथा विदेशी प्रविधिहरूको पहिचान र त्यससम्बन्धी अध्ययन-अध्यापन गराउने पनि लक्ष्य थियो ।


व्याविप्रअ केन्द्रको सुनौलो विगतका रूपमा समग्र नेपालको विज्ञान तथा प्रविधि सम्बद्ध कार्यहरूलाई हेर्ने र सल्लाह दिने राष्ट्रिय विज्ञान तथा प्रविधि परिषद्को सचिवालय भई गरेको कार्यलाई लिइन्छ । राष्ट्रिय विज्ञान तथा प्रविधि परिषद् राजा वीरेन्द्रको विशेष निर्देशनमा २० जनवरी १९७६ (विसं २०३२) सालमा स्थापना भएको थियो । त्यसै गरी यस केन्द्रले युनेस्कोको एसिया प्यासिफिक प्रविधि हस्तान्तरण केन्द्रका रूपमा पनि सन् १९७७ देखि काम गरेको थियो ।

यस केन्द्रमा प्राकृतिक स्रोेत तथा उत्पादन विकास, निर्माण सामग्रीहरूको परीक्षण, जैविक तथा खाद्य प्रविधि, प्राकृतिक रङ तथा रेसा परीक्षण, नवीकरणीय ऊर्जा, मेसिनरी कार्यशाला, सूचना-प्रविधि तथा नवप्रवर्तन, अति सूक्ष्म विज्ञान आदि सम्बन्धी प्रयोगशालाहरू भए पनि हाल सबै सुचारु छैनन् ।

यस केन्द्रले विगतमा इलायचीको रकेट सुकाइ प्रविधि, स्थानीय नवीकरणीय तेलका स्रोेतहरूको उत्खनन र प्रयोग, जैविक तथा औषधिजन्य बिरुवाहरूको खोज, घरायसी प्रयोजनका लागि ग्यासिफायर चुलो, परम्परागत तथा रैथाने गाउँले प्रविधिको प्रसारण र लघु-उद्यम विकास, सुधारिएको खाना पकाउने चुलो जाँचको मानक नियमको विकास, नेपालका दुर्गम क्षेत्रहरूको विकासका लागि उच्च पहाडी प्राकृतिक सम्पदाहरूको अध्ययन, प्राकृतिक उत्पादन प्रयोगका लागि प्रविधिको विकास, देश विकासका लागि विज्ञान तथा प्रविधि, सस्तो घरका लागि निर्माण सामग्री, परम्परागत पानीघट्टहरूको विकास र अनुसन्धान, एसियामा नवीकरणीय ऊर्जा प्रविधि, रङ दिने बिरुवाहरूको अध्ययन, प्रतिब्याक्टेरिया औषधिजन्य बिरुवाहरूको रासायनिक तथा जैविक अध्ययन, विद्युत् उत्पादनमा जैविक पदार्थीय ग्यासको प्रयोग आदि अनुसन्धानात्माक कार्यहरू सम्पन्न गरेको छ ।

यस केन्द्रमा हाल इसिमोड (ICIMOD)को ‘कैलाश पवित्र भू-परिधि संरक्षण तथा विकास पहल’, कञ्चनजङ्घा भू-परिधि संरक्षण तथा विकास पहल र विश्वविद्यालय अनुदान आयोगको ‘नवप्रवद्र्धनात्मक प्रविधि र पदार्थीय परीक्षण’सम्बन्धी अनुसन्धान हुनुका साथै गिरिजाप्रसाद कोइराला फाउन्डेसन, रबर तथा जात्रोफा इन्स्टिच्युट नेपाल आदिसँगको सहकार्यमा प्राकृतिक विज्ञानसम्बन्धी कार्य भइरहेका छन् ।

यस केन्द्रले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी, थाइल्यान्ड, स्विस विकास सहयोग नियोग, क्षेत्रीय काष्ठ ऊर्जा विकास कार्यक्रम, बैंकक, जाइका एसीय क्षेत्रीय खाना पकाउने चुल्हो कार्यक्रम, तेलयुक्त बिरुवामा ब्रिटिस काउन्सिल, फापरसम्बन्धी कार्यक्रममा अमेरिकी सहयोग, युनेस्कोको प्रविधि हस्तान्तरणसम्बन्धी एसिया प्यासिफिक स्तरीय कार्यक्रम आदि संस्थासहित प्रसिद्ध अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँग पारस्परिक सम्बन्धहरू राखेको छ ।

समग्रमा यस केन्द्रले ४४ वर्षमा पछिल्लो समयमा आएर कार्य गर्न सकेको देखिन्न । भएका केही प्रयास नगन्य छन् । यसका मुख्य कारणमा परिणाममुखीभन्दा पनि परियोजनामुखी हुनु, संस्थागतभन्दा पनि व्यक्तिगत स्वार्थका काममा क्रमशः लाग्नु, समय र माटो सापेक्ष अनुसन्धानमा कम ध्यान दिनु, भएका अनुसन्धान उत्पादनहरूलाई जनस्तरमा पु¥याउन नसक्नु आदि छन् भने अर्कोतर्फ यस केन्द्रलगायत नेपालमा भएका जैविक विविधता र प्राकृतिक सम्पदासम्बन्धी सम्पन्न अनुसन्धानका योजनाहरूले नेपाललाई फाइदा हुनुभन्दा पनि अभिलेखहरू निर्यात भई कतै सम्पत्तिको हक त गुमाइरहेका छैनौँ भन्ने खतरा देखिन्छ ।

सुरुवाती समयमा केन्द्रलाई उपलब्ध सीमित भौतिक पूर्वाधारमध्ये ८-१० वटा भवनहरूमा रिकास्टसँग असम्बन्धित कर्मचारी र प्राध्यापकहरू बस्ने गर्छन् । चिनियाँ एकेडेमी अफ साइन्सका काठमाडौँ सेन्टर फर रिर्सच एन्ड एजुकेसन त्यही तर आफ्नै भवनमा सञ्चालित छ । एउटा ठूलो भवनसहित केही भूभाग महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले लिएको छ । अनि त्यस्तै केही भागमा त्रिवि छापाखाना रहेको छ ।

दाताहरूको अनुसन्धान कार्यहरू चल्दै जाने क्रममा यस केन्द्रका बाँकी भवन पनि रसायन शास्त्र र जीव विज्ञानसँग सम्बन्धित अनुसन्धानका लागि छुट्टयाइएका छन् । अनुसन्धाता र कर्मचारी गरी १०० भन्दा बढी दरबन्दीसहित सुुरु भएको केन्द्रमा अहिले ४० जनाभन्दा कम जनशक्तिमा आइपुगेको छ । भएका र काजमा आएकाहरूलाई केन्द्रले त्यस्तो ऊर्जा भर्न सकेको देखिँदैन ।

दाताका ठूला परियोजनाहरू नभएका कारण भौतिक शास्त्र र गणितका बारेमा कोही बोल्न चाहँदैनन्  । परिणामस्वरूप यो केन्द्र सानो रिसर्च सेन्टर फर एप्लाइड बायोलोजी एन्ड केमेस्ट्री एकाइमा साँघुरिन पुगेको जस्तो देखिन्छ । यही बीचमा भएका केही सुधारका प्रयास नगन्य र व्यक्तिगत छन् ।

विश्वविद्यालयका हरेक विभागहरूमा अनुसन्धान एकाइ गठन भइसकेको वर्तमान अवस्थामा तथा यसलाई पुनः समग्र व्यावहारिक विज्ञान तथा प्रविधिको अनुसन्धान केन्द्र बनाउन:

१. भौतिक शास्त्र र गणित जस्ता विज्ञान विषयका मेरुदण्डलाई पनि प्राथमिकतामा राखी यथाशीघ्र विषय सम्बद्ध प्राध्यापक तथा प्रयोगशालाको व्यवस्था गर्ने र विद्यमान जनशक्तिलाई त्यहाँ रहेर काम गर्ने वातावरण बनाउने ।

२. अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको प्रोजेक्ट चलाएर बस्ने पुरानो मनस्थिति फेरि नेपालभित्रैका साधन र स्रोेतहरूको उपयोग गर्दै राष्ट्रको हितका योजनाहरूको खोज गर्ने ।

३. अत्याधुनिक उपकरणसहितको पूर्वाधारयुक्त राष्ट्रिय प्रयोगशालाको विकास गर्ने ।

४. व्यावहारिक विषयहरूमा अनुसन्धानका साथसाथै नेपालको माटो सुहाउँदो रैथाने प्रविधियुक्त पाठ्यक्रम निर्माण गरी दिगो विकासका लागि आत्मनिर्भरतामा     योगदान पुर्‍याउने स्नातकोत्तर तथा विद्यावारिधिको पठनपाठन सुुरु गर्नुपर्छ ।

५. अन्तर्राष्ट्रिय सम्मेलन भवन, कार्यशाला भवन, तालिम भवन, अन्तर्राष्ट्रिय स्तरको अतिथि भवन तथा चमेना गृह आदिको व्यवस्था गर्ने ।

६. राष्ट्रिय विज्ञान तथा प्रविधि परिषद् पुनःस्थापना गरी विज्ञान तथा प्राविधिक अध्ययन–अनुसन्धानसँग सम्बन्धित सबै सरकारी तथा गैरसरकारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवसायिक समाज, संघ–संस्था र व्यक्तिहरूबीच समन्वयकारी भूमिका खेल्न सक्नुपर्छ ।

७. विश्वविद्यालय अनुदान आयोग, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान, नेपाल सरकारका सम्बन्धित निकायहरूसँगको सामीप्य सुधार्ने ।

८. अध्ययन-अनुसन्धानका नयाँ आयाम जस्तै ः विज्ञान ओलम्पियाड, प्रतिभाको खोजी कार्यक्रम, सनातन विज्ञान, उद्यमशीलता, हिमालय विज्ञान, खनिज उत्खनन प्रविधि, सुरुङ विकास प्रविधि, महामारी फैलाउने भाइरस तथा ब्याक्टेरियाको पहिचान तथा निदान, आदिमा ध्यान दिने ।

अन्त्यमा, 
आर्थिक व्यवस्थापन, दक्ष जनशक्ति, बारम्बार हुने राजनीतिक हस्तक्षेप, विकट क्षेत्रहरूमा हुने अनुसन्धानका कठिनाइ, आर्थिक दिगोपन र सुशासनको कमी जस्ता कारणहरूले हाम्रो उद्देश्यलाई पार्ने प्रभावलाई मध्यनजर राख्दै सोही अनुरूपका योजना तर्जुमा गर्नुपर्छ । यस केन्द्रलाई आधारभूत तथा व्यावहारिक विज्ञानको उत्कृष्ट केन्द्रका रूपमा पुनः विकास गर्नुपर्छ ।

नेपालका प्राकृतिक स्रोेत र साधनहरूको पहिचान, परीक्षण र प्रवद्र्धनका साथै उत्पादनहरूको छापा तथा अन्य माध्यमबाट प्रकाशन, प्रसारण र प्रचार गर्नुपर्छ । बजारअनुरूपको उत्पादन व्यवस्थापन गर्दै देशलाई आत्मनिर्भर बनाउनेतर्फ लाग्नु नै व्याविप्रअ केन्द्र, हामी र सबै नेपालीको कर्तव्य हो ।

(लेखक त्रिभुवन विश्वविद्यालयमा भौतिक शास्त्रका उपप्राध्यापक हुन् ।)


Author

थप समाचार
x