मनको रोजाइ, जमिनको उपयोग र समयको गति
के तपाईंलाई तपाईंंको मनले सबै थोक गर्न दिएको छ ? मेरो मनले त मलाई धेरै थोक गर्न रोकेको छ । नरोकेको हुँदो हो त म के के मात्र गर्ने थिइँन होला । घर परिवार, नातागोता, छरछिमेक, साथीभाइ जसले जे भने पनि मेरो मनले मानिदिने भए वा ठीक ठानी दिने भए म ती सबैको प्यारो हुने थिएँ होला । विद्यार्थीले चाहे जति नै नम्बर दिन मन मानेको भए विद्यार्थीकै प्यारो हुने थिएँ । हाकिमले जे काम अह्राए पनि टुपु–टुपु गर्न दिएकोथ्यो भने मलाई फाइदै फाइदा हुन्थ्यो । अनि कुनै नेताको गुणनान गाउँदै उसैको वरिपरि घुमिरहन मनले मानेको थियो भने मेरो पनि तालुमा आलु फल्ने थियो । यस्ता अनेक थरिका अवस्थामा मेरो मनले नरोकेको भए मेरो कति भलो हुने थियो होला । तर, के गर्नु मेरो मन, मेरो खटनमा छैन । उसले जताजता लगायो त्यतैत्यतै लाग्नु पर्ने रहेछ । कहिलेकाहीँ उसको विपरित लागिहाल्यो भने त यसले के के मात्रै गर्दैन र । आफैँलाई उकुस–मुकुस गराउँछ, पिरोल्न थाल्छ र कैले कैले त पछुतो मात्र नभएर आत्मग्लानीसमेत गराउँछ ।
आफ्नो मनलाई आफ्नै अधीनमा राख्नु पर्छ, मनको अधीनमा आफू हुनु हुँदैन भन्ने उपदेश चाहिँ मैले केटाकेटी देखि नै पाएको हो । रिमाल पण्डितले सिरानघरको पुृराणमा यही उपदेश दिँदै गरेको बेलामा ‘मनलाई कसरी आफ्नो अधीनमा राख्न सकिन्छ पण्डित जी ?’ भनेर सोधेको पनि हो तर, उहाँले दिएको जवाफ मैले बुझ्नै सकिन । बुझ्नका लागि पण्डितजीसँग जिद्दी पनि गरेँ तर पार लागेन । आफ्नै मनलाई अधीनमा राख्ने उपाय भेट्नु त कता हो कता उल्टै मनले जे जे गर्न भन्छ त्यही त्यही गर्न पो हतार हुन थाल्यो । त्यो हतारले धेरै कुरा गरायो तर तिनको परिणाम भने मनले देखेकोभन्दा एकदमै फरक भए ।
परिणाम एकदमै फरक बनाउने रहस्य थाह भए, आफ्नै मनको कैदी हुनु नपर्ला भन्ने निधो गरेँ । त्यो रहस्यको टुङ्गो लगाउन सबैभन्दा पहिले मेरो मन र समयको साइनो केलाउन थालेँ । त्यसका लागि आफ्नै तीन पुस्ताका मनसँग जोडिएका अनेकौँ घटनाहरूलाई बटुलेँ । धेरै घटनाहरू फरक–फरक क्षेत्रका भेटिए । कुनै घटना जग्गा–जमिनसँग सम्बन्धित थिए, कुनै खानपिनसँग थिए, कुनै उद्योग–व्यापारसँग थिए, कुनै कुल-कुटुम्बसँग थिए, कुनै जागिरसँग थिए भने कुनै आफ्नै स्वास्थ्य, नैतिकता र उन्नतिसँग जोडिएका थिए । सबैभन्न्दा पहिला चै जग्गा–जमिनसँग सम्बन्धित मनलाई नै केलाउने विचार गरेँ ।
मेरो हजुरबुबाको पाँचथर, रविका राईसँग राम्रो मित्रता रहेछ । कुनै एक हुनेखाने राईलाई कसैले सर्वश्व हरणसहित जन्म कैदको सजाय हुन सक्ने झुटो मुद्दा लगाइ दिएछ । हुकुमी शासनको जमाना र मान्छे मात्रै खबर ल्याउने र लैजाने साधन भएको बेलामा ती राईले कुनै एक जनालाई त्यस्तो मुद्दा परेको खवर पठाएछन् । हजुरबुबाले कुनै उपायले धनकुटा गौंडा (राणा शासन कालीन प्रशासनिक निकाय?) मा बिन्ती चढाइदिँदा ती राईलाई निर्दोष भएको हुकुम बक्स भएछ । त्यसको बदलामा ती राईले मितलाई के दिनु भनेर सोच्दा मधुमल्लामा केही बिघा जमिन दिने भएछन् तर, हजुरबुबाको मनले चै मितको लिनु हुँदैन भनेर त्यो जमिन लिनबाट रोकेछ ।
औलो उन्मुलन सँग–सँगै मधेसमा जमिनको महत्व पनि वढ्न थालेछ । हजुरबुबालाई पनि पहाडको जमिनभन्दा मदेशको जमिन नै बढी उपयोगी हुन्छ भन्ने लागेछ । धरानमा बस्ने र चकरघट्टीमा खेती गर्ने निधो गरेर बुबासँग बसाइँ सर्ने कुरा गर्नु भएछ, तर बुबाको मन पहाडका आफ्ना रैकर जग्गा–जमिन र निजी वन–जङ्गलबाट छुट्टिनै सकेनछ । त्यो दक्षिण पूर्व मोहडाको डाँडो, त्यसमाथि अलग्गै घर, घर वरिपरि बारी, बारीसँगैका खेत, खेतमुनिको सल्लेरी वन र तिनै खेत, बारी र वनका दुईतिरबाट निरन्तर बग्ने खोरुङ्गा र ताङ्माया खोलाको दोभानसम्मको जमिनलाई छोडेर धरानको घर–घडेरी र चकरघट्टीको खेतीलाई बुबाको मनले साट्न सकेनछ ।
मैले मेरो हजुरबुबालाई देख्न भने पाइँन । तर, बुबाले मलाई हजुरबुबाका भने कुरा सुनाइ रहनुहुन्थ्यो । हजुर बुबाले त्यो जग्गा स्वीकारेको भए हुन्थ्यो नि भन्ने चंै मेरो मनलाई लागि नै रहन्थ्यो । झन पछि मधुमल्ला नै पुगेर देखेपछि त त्यो लोभको सीमा नै रहेन । त्यस्तै, बुबाले पनि हजुरबुवाले भनेको कुरा मानेर धरान बस्न आएको भए त म पनि सहरिया हुने थिएँ, भटभटे कुदाएर पनि हिड्ने थिएँ होला । समय बित्दै गयो, मधेस र पहाडको आवत–जावत बढ्न थाल्यो, मेरो मनलाई पनि धरानको बिजुली बत्ती र मधेसको समथर जमिनले लोभ्याउन थाल्यो । विस्तारै बुवाको मन पनि फेरियो र भन्नुभयो तँलाई मधेस मन पर्छ भने मधेस नै जा न त, जे जति जमिन किन्न सकिन्छ अव पहाडमा नकिनेर मधेस मै किनौँला । बुबाको यस्तो भनाइले मेरो मन मधेस जान आतुर भयो । सिग्देल काकाको साथ लगाएर मलाई मधेस पठाउने हुनुभयो र काकालाई भन्नुभयो यसलाई सबैतिर देखाइदिनु, सबै आफन्त र इष्टमित्रहरू कहाँ पनि पुर्याइदिनु है ।
मोरङ र झापा जिल्लाका थुप्रै ठाउँमा पुगेँ, सबैसँग भेटघाट भयो तर धेरै समय चै कान्छी फुपुको घर बयरवन, हाटखोलामा नै बसेँ । बयरवन राम्रो लाग्यो, गोपाल दाइ (फुपुका जेठा छोरा) सँगको आत्मीयता पनि बढ्न थाल्यो अनि मेरो मन चैँ पहाडमा नटिक्ने पक्का–पक्की भयो । मेरो मनले पहाडमा जे जति पैसा हुन्छ त्यो लिएर मधेस आउने र जग्गा किन्ने भन्ने टुङ्गो लगायो । म पहाड फर्केँ । केही दिनपछि बुबाका नेपाल सम्धिले पथरी शनिश्चरेमा सस्तै जग्गा पाइने भएको छ, किन्ने हो भने मौका नगुमाउनु भनेर पठाएको खबर पुग्यो । जे जति पैसा र गरगहनाहरू थिए, त्यो लिएर म गोपाल दाइ कहाँ पुगेँ । गोपाल दाइलाई नेपालजीले पठाएको खबरका बारेमा सुनाएँ । दाइले नम्बरी जग्गा भए जति आउँछ किन्नु, सट्टाभर्ना वालाको पछि चैँ लाग्दै नलाग्नु भन्नुभयो । गरगहना र पैसा दाइलाई नै जिम्मा लगाएर नेपालजीलाई भेट्न इटहरा गएँ ।
नेपालजीले सट्टाभर्नाको बारेमा कुनै चिन्ता गर्नु पर्दैन, उनीहरू कोशी टप्पु वन्यजन्तु आरक्षण क्षेत्रमा जग्गा भएका मान्छे हुन् । सरकारले उनीहरूलाई त्यहाँबाट हटाएर उनीहरूको त्यहाँको जग्गाको सट्टा पथरी शनिश्चरेमा जग्गा दिने भनेर तोकेको हो । त्यो दिने भनेको ठाउँमा सुकुम्वासी पसेका मात्र हुन्, सुकुम्वासीलाई सरकारले निकाली हाल्छ । केही समय पर्खने मात्र हो, सबै समस्या समाधान भइहाल्छ । फेरि चिनेजानेकै मान्छेका जग्गा लिने हो, छ बिघा आउँछ भने किन एक बिघा किन्ने भन्नुभयो । मेरो मनले गोपाल दाइको भनाइभन्दा नेपालजीको भनाइलाई ठीक ठहर्यायो । मलाई केही समय पर्खंदा कुनै फरक पर्दैनथ्यो । दाइलाई ती दिदी–बहिनी र आमा–हजुरआमाका गरगहनासमेत बेचेर अनि ऋण पनि काडेर सट्टाभर्नाको जमिन लिने कुरो पटक्कै पन परेन, रोक्न धेरै कोशिस गर्नु भयो तर मेरो मनलाई मनाउन सक्नु भएन । आखिर मेरो मनलाई ऐयाबारीमा छ बिघा जमिन दिलाइदिने सर्तमा एक लाख बीस हजार रुपैयाँ घिसिङजी र नेपालजीलाई नबुझाई हुँदै भएन । ऋणको गह्रौं भारीसहित बुझाएँ ।
मलाई ती सुकुम्वासी र सट्टाभर्नाको समस्या समाधान होला र जमिन आफ्नो नाममा आउला भन्ने आशले २०३८ सालदेखि २०४३ सालसम्म नराम्ररी सतायो । छ बिघा जग्गासँगका ठूला–ठूला सपना त हिड्दा हिड्दै देख्न थालेँ । तर विस्तारै जग्गा पाउने छाँटकाँट चैँ आफ्नै मनले देख्न छोड्यो । सुकुम्वासी समस्या समाधान भएपछि जग्गा दिलाइदिने सर्तमा पैसा दिएकोले पैसा फिर्ता माग्न पनि त्यै मनले मानेन । तर ती पाँच वर्षमा ऋणको भारी भने धेरै घटेकोले मन केही हल्का चै भएको थियो । तर ठूलो निराशा भयो, एउटा छुट्टै किसिमको लाज लाग्यो, अनि पढाइसमेत पाँच वर्ष पछि धकेलियो ।
अब फेरि मेरो मनलाई काठमाडौँ नपुगी हुँदै भएन । नेपाल कमर्स क्याम्पस मीनभवनमा पढ्दै गर्दा थाइल्यान्डको शिल्पा कम्पनी लिमिटेडका लागि काम गर्नुपर्ने प्रस्ताव आयो, मनले त्यो प्रस्तावलाई अस्वीकार गर्ने मौकै दिएन । २०४४–४५ सालतिर सिंहदरवार अगाडिको होटलमा नियमित खाना खाने क्रममा त्यही होटल चलाउने स्थानीय नेवारी समुदायका साहुजीसँग राम्रो सम्बन्ध भयो । ती साहुजीले नयाँ बानेश्वरबाट शंखमुल जाने बाटो नजिकैको खेतको फाँटका बीचमा एउटा घर बनाएका रहेछन् ।
एकलासको घर, छिमेकी नहुने नै भए र सहरभन्दा टाढा भएको हुनाले होला उनलाई त्यो घर भाडामा लगाउन पनि कठिन भएको रहेछ । ती साहुजीले मलाई ‘तपाईं मेरो त्यो घरको नजिकै घर बनाएर छिमेकी हुनुहोस, साठी–पैँसठ्ठी हजार रुपैयाँमा आठ आना जतिको एउटा घडेरी दिन्छु वा मेरो जग्गा तपाईंलाई मन परेन भने नजिकै अरुको जग्गा भएपनि मिलाउँन सक्छु’ भनेर ठाउँसमेत देखाए । मेरो मनले भन्यो म त काठमाडौमा पढ्न पो आएको त बस्न आएको त होइन; यदि बस्ने नै हो भने पनि त गाई भैंसीका लागि एउटा गोठ, फलफुलको सानो बगैँचा, थोरै भएपनि तरकारी र धान खेतीका लागि केही त जग्गा हुनु पर्यो नि, त्यो घडेरीको जग्गा मात्र त के हुन्छ र ! मलाई त्यो घडेरी किन्न मेरै मनले दिएन । बरु हार्ड डिस्क पनि नभएको एउटा कम्प्युटर किन्न लगायो । मान्छेले काठमाडैँमा तीन–चार आनाको एउटा घडेरीका लागि खाई–नखाई दुःख गरेको पनि नदेखेको होइन । तर, समय धेरै लागेन, त्यै मेरो मन हो, जसलाई नयाँ बानेश्वरतिरको आठ आना को त के कुरा मण्डिखाटारतिरको छ आना पनि ठूलो हो भन्न ।
यसरी खै किन हो मन र जग्गाको मेल हुन नसकेको । मेरो तीन पुस्ते मनले जमाना र जग्गाको साइनो लगाउन सकेको मैले भेटिनँ । बरु मेरो तीनै पुस्तामा समय अघिअघि मन पछिपछि हुँदै गएको देखेँ । मनको कैदी र कुबुद्धिको सिकार हुनाले समयको गतिलाई पहिल्याउन सकिएन । त्यसैले मनको रोजाइ, जमिनको उपयोग र समयको गतिलाई जोड्ने सीपको विकास गर्नुपर्ने रहेछ भन्ने मेरो बुझाइ छ, तपाईंको के छ नि ?
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया