विचार

आन्दोलनरत किसान ‘बिचौलिया’ कि मन्त्री ?

सञ्जय पन्थी |
पुस २, २०७७ बिहीबार ८:५४ बजे

सन् १९१५ मा दक्षिण अफ्रिकाको २१ वर्षे बसाइपछि गान्धी भारत फर्किए । सन् १९१६ मा पूर्वी नेपालको सीमासँग जोडिएको विहारको चम्पारणबाट आफ्ना समस्या लिएर कांग्रेसको सम्मेलन स्थल लखनऊ पुगेका थिए । सामान्य किसान राजकुमार शुक्लसँगको गान्धीको त्यही सम्मेलनमा पहिलो पटक भेट भएको भयो । सम्मेलनमा उपस्थित अरुले शुक्लको अवस्था(समस्या) लाई उपेक्षा गरिरहे । तर गान्धीले पहिलो पटकमैं उनको अवस्थालाई मनन गरे । समस्याको सुनुवाई गरे ।

शुक्लको अनुनय-विनय  ब्रिटिश शासकको (तीन कठिया) कर आतंकविरुद्ध थियो । उक्त करका बारेमा बुझ्‍न, स्वयम् गान्धी चम्पारण आउने प्रतिवद्धता जनाउँदै शुक्ललाई आश्वस्त तुल्याए । एक महिनापछि गान्धी नेपालको पूर्वी सीमा नजीकको शुक्लको गाउँ चम्पारण पुगे । त्यहाँ शुक्लले भने जस्तै साँच्चिकै कर आतंक व्याप्त थियो । त्यसविरुद्ध आफैं उपस्थित भएर गान्धीले केही समय जनजागरण अभियान चलाए । भारतमा आफ्नो पहिलो सत्याग्रहको उद्घोष गरे । एक बिघामा नील खेती गर्दा किसानले अनिवार्य रुपमा तीन कठ्ठामा लगाएको खेती कर वापत सरकारलाई रुपमा बुझउनुपर्थ्यो । जसलाई (तीन कठिया कर) भनिन्थ्यो ।


स्थलगत अध्ययन र अनुसन्धान पछि तीन कठिया कर ज्यादतीपूर्ण रहेको ठहर गर्दै गान्धीले सत्याग्रहको तयारी गरे । उक्त चम्पारण सत्याग्रहको तयारी गरिरहँदा दक्षिण अफ्रिकाबाट फकिएर गुजरातमा भाडाको स्थानमा बस्दै आएको कोचरव आश्रमबाट आश्रमबासी बसाई स्थान्तरण गरेर सावरमती तटमा बनाएको सावरमती आश्रममा स्थान्तरण भैहेका थिए । तर पनि गान्धी उक्त स्थान्तरण आश्रम अहमदबाद (गुजरात) फर्किएनन् । सन् १९१७ जुन १७ तारिखको त्यस दिन सावरमती आश्रममा सर्न गान्धीले आश्रमबासीलाई सुझाएका थिए । तर पनि उनी त्यहाँ नगएर चम्पारण मै बसे । सावरमती आश्रम भारतको ईतिहासमा ऐतिहासिक महत्वको आश्रम हो । जहाँबाट उनै गान्धीले सन् १९३० को नमक सत्याग्रह सुरु र सफल गरे । त्यस उप्रान्त उनी त्यहाँ फर्किएनन् । उनले भारत स्वतन्त्र नभएसम्म म फर्किन्‍न भनेर नमक सत्याग्रहमा निस्किएका थिए ।

त्यसो त उनी चम्पारणमा सत्याग्रहको तयारी गरिरहँदा ब्रिटिश सरकारले १६ अप्रिल १९१७ मा (भारतमा पहिलो पटक) उनलाई गिरफ्तार गर्‍यो । तर पनि उनी आफ्नो लक्ष्यबाट विचलित भएनन् । दक्षिण अफ्रिकामा सत्याग्रहको अनुभव लिएर भारत आएका गान्धीलाई चम्पारणको सत्याग्रहले न्याय दिलाउन सकिन्छ, भन्‍ने आत्मविश्वास थियो । सत्याग्रह गरेर कृषकमाथिको (तीन कठिया कर) ज्यादती अन्त्य गराउन उनी सफल रहे । ब्रिटिश सरकार उनका सामु घुँडा टेक्न बाध्य भयो । त्यही चम्पारण सत्याग्रहले गान्धीलाई भारतमा सर्वव्यापी र परिचित गरायो । त्यसैले भारतमा चम्पारण सत्याग्रहको अमीट इतिहास छ ।

कस्तुर बाको आग्रहपछि त्यी महिलाले पुरुष आउलान् तर हामी महिला आउन सक्दैनौं भनिदिएछन् । किन, भनेर सोध्दा एउटा धोती च्यातेर हामीले आफ्नो तल माथि (नितम्ब) सम्मको  पहिरन बनाउछौं ।

गान्धीले त्यही चम्पारणबाट एकसरो कपडा लगाउन सुरु गरेका थिए । कारण थियो, सत्याग्रहबारे स्थानीयलाई जागरुक बनाउन एकदिन श्रीमती कस्तुर बालाई किसानको घरमा पठाएछन् । निमुखा किसानलाई सहभागिताका लागि आग्रह गर्दा एउटा झुपडीको घरमा तीन जनाको परिवार रहेछ । तीन जना मध्ये दुईजना महिला रहेछन् । कस्तुर बाको आग्रहपछि त्यी महिलाले पुरुष आउलान् तर हामी महिला आउन सक्दैनौं भनिदिएछन् । किन, भनेर सोध्दा एउटा धोती च्यातेर हामीले आफ्नो तल माथि (नितम्ब) सम्मको  पहिरन बनाउछौं । मजवुरीमा आफ्नो नाङ्गोपन ढाक्दै आएका छौं, । एकै पटक आउन हामीलाई लगाउने कपडा नै छैन् । फर्किएर उक्त विकराल प्रसंगको वृतान्त कस्तुर बाले श्रीमन् गान्धीलाई सुनाईछिन् । गान्धीलाई त्यो अवस्थाले उद्धेलित र वेचैन बनाएछ । के गरौं, कसो गरौं भएछ । उनीहरुको दर्दनाक, विकराल अवस्था साँच्चै बिजाएछ ।

भोलिपल्टबाट गान्धीले एकसरो लुगाा लगाउने निणर्य गर्दै भनेछन्, ‘देशमा यस्तो गरिबिको अवस्था छ, भने मैले कसरी टाईसुट लगाएर उनीहरुको भाषा बुझ्न सक्छु ।’ साथै समस्या बोध गर्न सक्छु ? त्यसपछि उनले त्यी गरिब कै भेषमा आफ्नो जीवन निर्वाह गर्ने निणर्य गरे । आखिर त्यस दिनको उक्त निर्णयले, उनलाई नङ्गा गान्धी, पागल गान्धी, फकिर गान्धी बनायो । अन्तत महात्मा गान्धी बनायो । आज पनि हामीले उनलाई स्मरण गर्दा त्यही एक सरो पहिरनमा स्मरण गछौं । अन्तत चम्पारण सत्याग्रह समपन्‍न भयो । किसानको पक्षमा जीत भयो । गान्धी जनजनका नेता बन्‍न पुगे ।

गान्धीलाई स्मरण गरिहँदा उनको विवेकलाई मनन् गर्न आवश्यक रहन्छ । उनले गर्ने सत्याग्रह अन्याय र ज्यादती विरुद्धको हतियार थियो । सत्याग्रह अन्तस्करणमा, न्याय, समता र समानताको रहेको बुझ्न सकिन्छ । समाजिक न्यायका पक्षपाती भएर निमुखा वर्गको हक अधिकारका लागि त्याग र संर्घषले उनको जीवन भरिपूर्ण छ । चम्पारण र नमक सत्याग्रह पछि भारतबासीलाई भारत कुनै दिन स्वतन्त्र हुन्छ, भन्‍ने विश्वास जाग्यो । तर आज त्यही भारतमा लाखौं किसान सडक आन्दोलनमा छन् । त्यो पनि आफैंले मत दिएर जिताएको सरकारले ल्याएको विधेयकको विरोधमा ।

यता छिमेकी नेपालमा पनि यहीबेला हिउँदको जाडो सहेर (उखु) किसान सडक आन्दोलनमा छन् । त्यो पनि कोरोनाको महामारी व्याप्त भएको समयमा । सरकारले एक वर्षअघि किसानसँग बक्यौता, दिलाउने गरेको संझौता वेवारिसे बन्‍न पुगेको छ । किसान बाध्य भएर जाडो नभनेर शान्तिपूर्ण आन्दोलनमा छन् । सरकार सिंहदरबारमा बसेर उनीहरुलाई वार्तामा बस्न मोवाईलबाट सन्देश पठाउँछ । किसान, ‘गत वर्षको सम्झौताको पालना भएन सरकार’ भन्छन । कस्तो विडम्बना ! लाग्छ, सरकार साम्राज्यवादी ब्रिटिश शासक भन्दा पनि ऐयासी छ । किनभने, सिंहदरवारबाट किसानले धर्नास्थल माईतीघर सम्म आउन सक्दैन । आफ्नो बक्यौता माग गर्दा पनि बक्यौताधारी मिल मालिक कै पक्षपोषण गर्दै बिचौलियको आरोप लगाउन पालितपोषित मिडिया परिचालन गर्छ । सरकार, मिल मालिक र किसानलाई एकै स्थानमा उपस्थित गराएर बक्यौता दिलाउन मध्यस्थताको भुमिका निर्वाह गर्नुको सट्टा किसानलाई बद्नाम गर्न उद्यम हुन्छ ।

सरकार कम्युनिष्ट पार्टीको छ । उनीहरु आफूलाई सर्वहाराको नेतृत्व गरेको दाबी गर्छन् । तर किसान र निमुखाको आवाजको कुनै सुनवाई छैन । मालिकहरूकै पक्षबाट सरकारले किसानलाई आन्दोलनकारी बिचौलिया हुन् भनिदिन्छ । यदि आन्दोलनकारी बिचौलिया नै हुन् भने सरकारले उनीहरुलाई गिरफ्तार गरेर किन कारबाही गर्न सक्दैन् ? उनीहरुका समस्यामा संवेदनशील हुनुको सट्टा सरकार उनीहरुविरुद्ध झनै क्रुर, गैरजिम्मेवार र अधर्मी देखिन्छ । सरकारको धर्म, नागरिकको निरिह आवाज सुनेर, समस्यालाई सम्बोधन गर्नु हैन र  ? त्यो कुरा यहाँ कसले बुझाउन सक्ने ?

कुनैबेला किसान महासंघका नेता रहेका वामदेव गौतमलाई किसानको समस्याबारे जानकारी नै हुन छाडिसक्यो ।

समस्या किसानको उत्पादनसँग सम्बन्धित छ । सरकारको नेतृत्व उद्योग र कृषि मन्त्रालयको काम भनेर बस्छ । बरु उल्टै उनी किसानमारा मिल मालिकलाई कोरोना महामारी कालमा उद्योग व्यवसाय चौपट भएको दुहाई दिँदै सहुलियपूर्ण ऋण कसरी उपलब्ध गराउन सकिन्छ भन्‍नेतर्फ सरकारलाई ज्यादा चिन्ता छ । जनयुद्धका हस्ती उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र आर्दशवादी दाबी गर्ने मार्क्सवादका शास्त्रीय व्याख्याता कृषिमन्त्री घनश्याम भुषाललाई पनि समस्याको गाम्भीर्यताले छुँदैन । उद्योग, वाणिज्य र आपूर्ति राज्यमन्त्री व्यापारीक पृष्ठभूमिका हुन्, ऊनलाई झनै यसले छुँदैन । सरकारका मन्त्रीहरु समस्याको मनन नै नगरी अन्तर मन्त्रालयको जिम्मेवारी भन्दै जुहारीमा छन् । आखिर यसको समाधान कसले खोजिदिने ? कुनैबेला किसान महासंघका नेता रहेका वामदेव गौतमलाई किसानको समस्याबारे जानकारी नै हुन छाडिसक्यो ।

विडम्बना नै भन्‍नु पर्छ । आफ्नो पसिनाको (करोडौं) आर्जन पुँजीपतिहरुले खाईदिए पछि सरकार गुहार्न आईपुगेका किसानलाई सरकारले वैरीको व्यवहार गरेको छ । स्थानयि समस्यालाई स्थानीय स्तरबाट समाधान गर्न नसक्ने स्थानीय र प्रदेश सरकार छन् । अनि कसरी गणतन्त्र संस्थागत भएको बुझ्‍ने ? कम्युनिष्ट पार्टीको सरकार उद्योगी, व्यापारीसँग निरिह भैदिन्छ । यस्तो विषम अवस्थामा गरिब किसानले कसलाई गुहार्ने ? किसानका समस्या संसदको आवाज बन्‍नु पर्ने बेला संसद स्थगित छ । संसदमा उनै मिल मालिकका हिस्सेदारको रजगज छ । मिल मालिकहरु दलका नेताहरुलाई त्यही बक्यौतावाट चन्दा दिएर जनताको प्रतिनिधी बनेर संसदमा छन् ।

उखु किसानको वक्यौता राख्‍ने मध्येका एक हुन्,  बिरेन्द्र कनौडिया । उनी प्रदेश ५ को प्रदेश सभामा प्रमुख प्रतिपक्ष दलका नेता छन् । त्यस्तो बेलामा जनताको आवाज कसले बोलिदिने ? सरकार किसानलाई बिचौलिया भन्छ, प्रतिपक्षले किसान आन्दोलनलाई साथ दिएको घोषणा गरे पनि सोही अनुसार सरकारलाई दबाब दिन सकेको छैन । यहाँभन्दा लाजमर्दोको अवस्था के हुन सक्छ ? दुईवर्ष अघि उखुबाट उत्पादित चिनीको मुल्य ६५ रुपैँया थियो । त्यही चिनीको मूल्य वृद्धि भएर अहिले ८० रुपैँया पुगेको छ । उपभोक्ता महङ्गो मुल्यमा चिनी किन्‍न बाध्य छन् ।

महङ्गो मुल्यमा चिनी किन्‍न बाध्य उपभोक्ता, उखु उत्पादक किसानले आन्दोलन देख्दा लज्जिज छन् ? तर सरकारले कुनै लज्जा बोध गरेको छैन् । यसरी देशमा उत्पादनको आधार, मूल्य श्रृंखला, रोजगारी कसरी विकास होला र ? उत्पादक र उपभोक्ता बीचको मुल्य कहाँ गै रहेको छ ? सरकार उनै किसानमारा पुँजीपति (मिल मालिक) लाई विभिन्‍न वनहनामा सहुलिय कर्जा उपलब्ध गराउन तल्लीन छ । पुँजीपतिलाई सहुलितयत दिदाँ शुभलाभ पाइन्छ । किसानको बक्यौता दिलाएर केही पाइन्‍न । मत माग्न जान पनि अझै दुई-अढाइ वर्ष समय छ । वास्तवमा यो लोकतन्त्र हो कि, लुटतन्त्र हो छुट्याउनै नसकिने भैसकेको छ ।

यो सरकार साम्यवादी की समाजवादी ? न्यायका लागि निमुखाका (समता र न्याय) वर्गको पक्षपाती बनेर उदाएका गान्धी साम्राज्यवादी अनि भट्ट र भुषालहरू समाजवादी भनेर कसरी बुझिदिनु र पत्याइदिनुपर्ने हो ? 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, किसानको बक्यौता दिलाउन भन्दा व्यापारीसँग मिलेर चिनीको मूल्य वृद्धि गर्न उद्धत छ । चिनीको गुलियो भित्रको किसानको नुनिलो आँशुको मूल्य कस्ले बुझ्ने ? सरकारले, कहिले बुझ्ने ? अन्याय र ज्यादतीका विरुद्ध न्याय नपाईने भएपछि देशमा सुशासन छ, भनेर कसरी विश्वास गर्ने ? किसानले खेती गर्ने बेला मल पाउदैनन् । उत्पादन भएको धान,गहुँ (अन्‍न)को उचित मूल्य पाउदैनन् । बिक्री भएको उत्पादनको बक्यौता उठाउन सम्झौता गराई दिएको सरकारले अन्त्यमा मिल मालिक कै पक्ष लिईदिन्छ । यति हुदाँ पनि किसानको मर्म नबुझ्ने सरकारले आखिर कस्को मर्म बुझ्छ होला ? ‘समाजिक, धार्मिक र बजारका कट्टरपन्थीहरु एकाएक समाजमा हाबी भए भने त्यहाँ न्याय निरिह हुन्छ,’ गान्धीले भनेका छन् ।

आज दक्षिणपन्थी भनिने दलको सरकार भएको भारतको र वामपन्थी भनिने नेपाल कम्युनिष्ट पार्टीको सरकार भएका नेपालको अवस्था करिब-करिब उस्तै-उस्तै हुन पुगेका छन् । दुबै देशमा बहुमतको सरकार भएका बेला निमुखको आवाज दबाइएका छन् । किसानको समस्याले सडक तताएको अवस्था छ ।

दुवै देशका किसान आान्दोलनले १ सय ३ वर्ष अघिको गान्धीको किसान आन्दोलनको स्मरण गराएको छ । साम्राज्यवादी भनिने ब्रिटिश आफ्नो (तीन कठिया कर) बाट लज्जित भए तर आधुनिककालका सरकार किसानलाई बिचौलिदा देख्दैछन् । नेपालमा त झनै आफैंले किसानसँग गरेको सम्झौता किसानले स्मरण गराउँदा पनि लज्जाबोध भएको छैन ।

कृषिमन्त्री घनश्याम भुषाल तीन वर्षअघि महेन्द्र नारायण निधी प्रतिष्ठानले १४७औं गान्धी जयन्तीका अवसरमा काठमाण्डौंमा आयोजना गरेको कार्यक्रममा प्रदिप गिरी सहितको मञ्चमा उपस्थित थिए । त्यहाँ बडो ठाटबाँटका साथ भुषालले गान्धीलाई मार्क्सवादसँग तुलना गर्दै ‘गान्धी धर्मभिरु, समान्ती परिवारका सदस्य थिए, उनले चलाएको आन्दोलनले साम्राज्यवादीहरूकै पक्षपोषण थियो’ भन्‍ने अभिव्यक्ति दिएका थिए । तर आज भुषाल आफैं निमुखा वर्गको मतले बनेको कम्युनिष्ट सरकारको मन्त्री पदमा विराजमान भैरहँदा निमुखा किसानले आफ्नो पसिनाको मुल्य (बक्यौता) उठाउन सडक आन्दोलन गर्नु परेको छ । भुषाल सुनेकोनसुन्यै गर्दैछन् ।

यो सरकार साम्यवादी की समाजवादी ? न्यायका लागि निमुखाका (समता र न्याय) वर्गको पक्षपाती बनेर उदाएका गान्धी साम्राज्यवादी अनि भट्ट र भुषालहरू समाजवादी भनेर कसरी बुझिदिनु र पत्याइदिनुपर्ने हो ? 


Author

थप समाचार
x