परराष्ट्र नीतिको दस्तावेजमा केही टिप्पणीहरू
सरकारले हालै देशको परराष्ट्र नीति प्रकाशित गरेको छ । यस विषयमा नीति निर्माणका लागि कार्यदलहरू बनाएर तिनीहरूले परराष्ट्र मन्त्रालयमा प्रतिवेदन दिए पनि सार्वजनिक रूपमा नेपालको परराष्ट्र नीति भनेर प्रकाशित भएको थिएन । यसपटक यो प्रकाशित भयो । यसको निर्माण गर्दा पहिलेका कार्यदलहरूले दिएका प्रतिवेदनहरूलाई पनि ध्यानमा राखिएको कुरा यस नीतिमा उल्लेख छ भने अर्कोतिर नेपाल सरकारले यस नीतिको पुनरावलोकन र परिमार्जन गर्न सक्ने कुरा पनि लेखिनाले यो नीतिमा गतिशीलता छ भन्न एकातिर सकिन्छ भने अर्कोतिर वर्तमान सरकारले ल्याएको यो दस्तावेज अहिले सरकारमा रहेको दलको नीति पनि हो भनी अथ्र्याउन सकिन्छ ।
जे होस्, यो प्रयासलाई राम्रो नै मान्नुपर्छ । आउँदा दिनहरूमा पनि बन्ने सरकारले आफ्नो परराष्ट्र नीति ल्याउला, त्यसलाई अस्वाभाविक भन्न मिल्दैन । तर, जे जस्तो सरकारले परराष्ट्र नीति बनाए पनि हाम्रो देशको परराष्ट्र नीति धेरै फरक हुने सम्भावना कमै देखिन्छ । देशको परराष्ट्र नीति सम्बोधन गर्न पर्ने आधारभूत विषयहरूमा खासै फरक पर्दैन । हाम्रो भौगोलिक स्थिति, छिमेकीहरूको चरित्र, शक्ति र क्रियाकलापलाई देख्दा नेपालको अस्तित्व र विकासका लागि अपनाइने नीतिमा एक किसिमको निरन्तरता रहिआएको पनि छ र यो आवश्यक छ । यस दस्तावेजले यस्ता आधारभूत विषयको वरिपरि नै रहेर निर्माण गरेको सार्वभौमिक समानता, भौगोलिक अखण्डता, असंलग्नता, छिमेकीहरूको सम्बन्धमा समानता र विस्तार, सुरक्षाको संवेदनशीलताको सम्बोधनजस्ता विषयहरू आधारभूत नै मानिनुपर्छ । यसले ती विषयहरूलाई आत्मसात् गरेको नै छ ।
यति हुँदाहुँदै पनि संसारमै र हाम्रा छिमेकमा पनि भइरहेको परिवर्तनहरूको सन्दर्भमा नेपालको आधारभूत आवश्यकता र चासोका अतिरिक्त नयाँ परिवर्तनहरूलाई पनि सम्बोधन नगरी नहुने भएकाले त्यसतर्फ पनि यसले प्रयास गरेको छ । यो राम्रो काम हो । यति हुँदाहुँदै पनि यस दस्तावेजमा उल्लेखित विषयहरूमा केही अवधारणागत अन्योल, लिइने कदमहरू बारेको अस्पष्टता र शब्दहरूको प्रयोगको साथसाथै देशले अपनाउनुपर्ने नीतिमा नै पनि केही सुधारको आवश्यकता देखिन्छ । त्यस्ता केही विषयहरूबारे यस लेखमा चर्चा गर्ने जमर्को गरिएको छ ।
डिप्लोमेसी अर्थात् कूटनीतिलाई अक्सफोर्ड कम्यानियन टु लले ‘अन्तर्राष्ट्रिय वार्ता (नेगोसिएसन) सञ्चालनको कला’ भनी परिभाषित गरेको छ भने अक्सफोर्ड शब्दकोषले ‘अन्तर्राष्ट्रिय सम्बन्धको व्यवस्थापन वा व्यक्तिगत वा राष्ट्रगत सम्बन्धको चलाखीपूर्ण सञ्चालन’ भनेको छ । यसबाट कूटनीति कुनै किसिम र खासगरी राष्ट्रहरूबीचको सम्बन्ध सञ्चालनको तरिका भनी बुझ्नुपर्छ । यो आफैंमा एउटा कला पनि हो । यस नीतिमा प्रयुक्त भएका आर्थिक कूटनीति वा डिजिटल कूटनीति जस्ता बेग्लाबेग्लै कूटनीति हुँदैनन् । खास उद्देश्य पूरा गर्नुपर्ने माध्यमलाई नै स्वयंमा उद्देश्यको रूपमा परिभाषित गर्न मिल्दैन । हामीले बोलीचालीमा पर्यटन, स्वास्थ्य, सैन्य वा अन्य सम्बन्धलाई कूटनीतिको छुट्टै अस्तित्व भएजस्तो गरी बोल्ने, लेख्ने गर्छौं ।
त्यो एक किसिमले अनौपचारिक संवादको माध्यम हुन सक्ला तर कूटनीति स्वयं त्यसरी प्रत्येक विषयगत फरक किमिमको हुँदैन । यस नीतिमा त्यस किसिमको खण्डन गरिनाले आधारभूत अवधारणा नै प्रष्ट नभएको देखिन्छ ।
हामीले अरूको विकासबाट भन्दा पनि आफ्नै विकासलाई ठूलो अर्थतन्त्रसित जोड्ने प्रयास पो गर्नुपर्यो । त्यसैले अरूले उन्नति गर्लान् र हामीले लाभ पाउँला भन्ने जस्तो गरी अवधारणा बनाउने हैन । त्यसमा पनि छिमेकी राष्ट्रले विकास गर्दा त्यस वरिपरिका राष्ट्रहरू पनि विकास गरिहाल्छन् भन्ने पनि छैन ।
यस नीतिमा विशिष्ट परिस्थिति भएका राष्ट्रहरूको कुनै समूह छ कि भन्ने जसरी त्यसलाई एउटा छुट्टै समूहको अवधारणाको रूपमा प्रस्तुत गरिएको छ । नेपाल कम विकसित देशहरूको समूह वा र त्यसैगरी भूपरिवेष्टित देशहरूको समूहभित्र पर्ने देश हो । यस्ता समूह अन्तर्राष्ट्रिय कानुन र व्यवहारमा स्थापित भइसकेका छन् । तर, विशिष्ट परिस्थिति भएका राष्ट्रहरूको समूह एउटा खुकुलो अवधारणा हो । जसलाई अझै पनि अन्तर्राष्ट्रिय कानुन र व्यवहारमा स्थापित गर्न बाँकी नै छ । के कस्तो अवस्थाको देश त्यस किसिमको समूहमा पर्छ भन्ने स्पष्ट हुनु पर्नेछ ।
यस दस्तावेजमा चुनौती र अवसरको विषयमा वर्णन गर्दै खण्ड (१०) मा अति कम विकसित राष्ट्रबाट स्तरोन्नतिपश्चात् प्रतिस्पर्धात्मक क्षमता बढाई व्यापारलगायत सुविधाहरू कायम राखिनेछ भनिएकोमा यो अवधारणा प्रष्ट यस कारणले छैन कि स्तरोन्नति भइसकेपछि पनि अति कम विकसित देश सरहको सुविधा कसरी कायम रहिरहने हो ? वर्तमान अवस्थाको वर्गीकरण र सुविधाअनुसार त्यो हुँदैन । अन्तर्राष्ट्रिय रूपमा नै त्यो अवधारणा र सुविधामा परिवर्तन नआइन्जेल त्यस्तो नहुँदा यो लेखाइ विवादास्पद हुन सक्छ ।
यस नीतिमा छिमेकी राष्ट्रहरूको तीव्र विकासबाट लाभ लिने अवधारणा राखिएको छ । यो अवधारणाले आफ्नो आत्मविश्वासभन्दा अरूमा भरपर्ने जस्तो मनोविज्ञान झल्कन्छ । परराष्ट्र नीतिमा त आत्मविश्वास र दृष्टिकोण बलियो गरी उल्लेख हुनु राम्रो हो । हामीले अरूको विकासबाट भन्दा पनि आफ्नै विकासलाई ठूलो अर्थतन्त्रसित जोड्ने प्रयास पो गर्नुप-यो । त्यसैले अरूले उन्नति गर्लान् र हामीले लाभ पाउँला भन्ने जस्तो गरी अवधारणा बनाउने हैन । त्यसमा पनि छिमेकी राष्ट्रले विकास गर्दा त्यस वरिपरिका राष्ट्रहरू पनि विकास गरिहाल्छन् भन्ने पनि छैन । अमेरिका वरिपरिका ल्याटिन अमेरिकी वा क्युवा, मेक्सिकोजस्ता देशहरू त्यसैगरी विकसित भइसकेका छन् । चीनसित जोडिँदैमा म्यानमारले विकास गरेको छैन । अफ्रिकी महादेशमा नाइजेरियासित जोडिएको चाड, नाइजेरजस्ता देशहरूको पनि त्यस्तै स्थिति छ ।
नीतिका उद्देश्यहरू अन्तर्गत खण्ड (८) मा देशको प्राकृतिक सौन्दर्यलाई पनि ‘सफ्टपावर’ को रूपमा प्रस्तुत गर्दा सौन्दर्य मात्र हैन विविधतालाई पनि समावेश गर्नुपर्छ । संसारमा यस्तो विरलै देश छ जहाँ थोरै दूरीमा मौसम, प्रकृति र त्यससित सम्बन्धित भूगोल, वनस्पतिजस्ता विषयमा ठूलो फरक छ । साथै सानो भए पनि सबै खाले मौसमहरू (क्लाइमेट) उपलब्ध छन् । यो विविधता हुनु चानचुने कुरा होइन । यो नै यस्तो विषय हो जसले नेपालको विशेष अवस्थितिलाई प्रष्ट पार्छ । अतः यसलाई उल्लेख गर्न छोड्नु हुन्न ।
यसअन्तर्गत नीति र रणनीतिको खण्ड ४ मा सीमा व्यवस्थापन गर्ने अनि त्यसो गर्दा आवागमनको सहजतालाई पनि ध्यानमा राख्ने कुरा लेखिएको छ । हामीले दक्षिणतिरबाट भोगिएको अप्ठेरो अवस्था सीमाको व्यवस्थापनभन्दा पनि सीमाको गतिलो र प्रभावकारी नियमनको अभाव हो ‘व्यवस्थापन’ भन्ने लवज हामीले भोगिरहेको समस्याको सन्दर्भमा ज्यादै कमजोर लवज हो । हाम्रो अहिलेको अवस्था कस्तो छ भने हामी आफ्नै देशमा को नेपाली र को विदेशी भनी छुट्ट्याउन सक्दैनौं । कति विदेशी छन् तिनको तथ्यांक छैन, राख्दैनौं । को विदेशी कति अवधिसम्म बस्न पाउँछ र के गर्न वा के गर्न पाउँदैन यकिन छैन ।
आफ्ना नागरिकसरह उनीहरूलाई छुट दिइएको छ । सानो र थोरै विकल्प भएको देशलाई यस्तो गर्न सुहाउँदैन । यसले देशको सुरक्षा र सामाजिक, आर्थिक स्थितिमा विचलन उत्पन्न भई देशको सम्प्रभुतामा नै खतरा उत्पन्न हुन सक्छ । यसैले त्यस्तो विषयहरूको नियमन आवश्यक छ । हामीले कडाइका साथ यहाँ व्यापार, रोजगार वा आर्थिक क्रियाकलापमा विदेशीले पूर्व स्वीकृति बेगर संलग्न हुन नपाउने व्यवस्थाका साथै असीमित अवधिको आप्रसवासनहरूलाई रोक्ने बन्दोवस्त गर्ने नीति बन्नुप¥यो । यस्तो नीति बनाउन हामीलाई कसैसितको कुनै सम्झौताले रोकेको छैन ।
हामीले कडाइका साथ यहाँ व्यापार, रोजगार वा आर्थिक क्रियाकलापमा विदेशीले पूर्वस्वीकृति बेगर संलग्न हुन नपाउने व्यवस्थाका साथै असीमित अवधिको आप्रवासनहरूलाई रोक्ने बन्दोबस्त गर्ने नीति बन्नुपर्यो । यस्तो नीति बनाउन हामीलाई कसैसितको कुनै सम्झौताले रोकेको छैन ।
जुन विषयले हामीले अप्ठेरो परेको छ त्यस्तो विषयलाई सम्बोधन गरिँदैन भने त्यो नीति के नीति भयो र ? अतः यस नीतिमा यो विषय प्रष्ट रूपमा आउनु आवश्यक छ । कुरा चपाएर घुमाउरो पाराले राख्नु हुँदैन ।
द्विपक्षीय कूटनीतिअन्तर्गत राष्ट्रिय स्रोत सांस्कृतिक धरोहर प्राकृतिक सम्पदा जमिन खनिज, जललाई सुरक्षा गर्न प्रभावकारी कूटनीतिक माध्यम प्रयोग गर्ने भन्ने लेखाइले आफ्नो दृढता र अठोटमा प्रश्न उठ्छ । ती विषयहरू आफ्नो भूमिभित्र पर्छन् । तिनको रक्षा त आफैले गर्ने हो । त्यसमा बाह्य हस्तक्षेप हुन दिइँदैन पो भन्नुपर्ने हो । यस दस्तावेजमा लेखिएका लवजहरूले आफ्नो दृढतालाई खण्डित गरी अरूबाट खतरा हुने वा अरूबाट जोगाइदिनुपर्ने जस्तो संकेत दिन्छ । यस्तो लेखाइ ठीक छैन । यस नीतिमा प्रष्ट रूपमा लेख्न जरुरी छ कि नेपालले यहाँको सांस्कृतिक, सामाजिक, सद्भाव र विविधताजस्ता संवेदनशील विषयमा कसैको नकारात्मक हस्तक्षेपलाई स्वीकार गरिँदैन र यसमा खल्बल्याउन दिइने छैन ।
द्विपक्षीय सम्बन्धको रणनीति तथा कार्यनीतिअन्तर्गत सन्धि–सम्झौताहरूको पुनरावलोकन र परिमार्जनको कुरा लेखिएको छ । पुनवरावलोकन र संशोधन मात्र हैन सन्धिहरू खारेज पनि गर्नुपर्ने हुन्छ । जस्तैः भारत, नेपाल र ब्रिटेनबीचको त्रिपक्षीय सम्झौता एउटा खास अवस्थाको उपज हो । अतः त्यसलाई खारेज गर्नुपर्ने हुन्छ । त्यस्तै अरूको अवस्थामा पनि हुन सक्ला । त्यसैले खारेजी पनि गर्न सक्ने गरी लवज मिलाउनुपर्ने देखिन्छ । बहुपक्षीय सन्धिअन्तर्गत हुने आवधिक समीक्षा र प्रतिवेदनहरूको सिफारिस कार्यान्वयन गर्दै जाने कुराका हकमा यथार्थमा त्यस्ता प्रतिवेदनहरूमा यस्ता कुराहरू पनि समावेश गरिएका हुन्छन् जसलाई नेपालले कार्यान्वयन गर्न नसक्ने स्थिति उत्पन्न हुन्छ । त्यसैले त्यस्ता प्रतिवेदनहरू कार्यान्वयन गर्ने विषय ‘राष्ट्रिय क्षमता र सापेक्षित औचित्यता’को आधारमा कार्यान्वयन गर्दै जाने भनी स्पष्ट रूपले उल्लेख हुनु वेश हुन्छ ।
पृष्ठ १५ को दफा ८.९ मा अन्तर्राष्ट्रिय आप्रवासन र शरणार्थीसम्बन्धी नीतिका सम्बन्धमा त्यसलाई भरपर्दो व्यवस्थित र मर्यादित बनाउन सक्रिय र रचनात्मक भूमिका निर्वाह गर्ने कुरा लेखिएको छ । हामीले अन्तर्राष्ट्रिय शरणार्थीसम्बन्धी महासन्धिलाई स्वीकार गरेका छैनौं । हाम्रो देश सानो र स्रोत पनि धेरै नभएकाले विदेशी शरणार्थीलाई यहाँ बस्न दिने पक्षमा छैनौं । उनीहरूलाई नेपालमा छिराउने र शरणार्थीको दर्जा दिँदा त्यसबाट उत्पन्न हुने ठूलो सामाजिक र आर्थिक प्रभाव पर्छ । त्यसैले यस विषयलाई हामीले हाम्रो प्राथमिकतामा नराख्नु नै वेश हो । यदि यसमा हामी संलग्न भयौं भने यसले ल्याउने समस्याहरू चर्का हुन्छन् । अतः यस्ता विषय जो हाम्रो क्षमता बाहिर छ त्यसमा हात हाल्नु उपयुक्त छैन ।
यस नीतिमा प्रष्ट रूपले अन्तर्राष्ट्रिय आतंक, लागूपदार्थको ओसारपसार र तत्सम्बन्धी मुद्रा निर्मलीकरणजस्ता गैरकानुनी क्रियाकलापमा संलग्न कसैका लागि पनि नेपाल ‘सुरक्षित देश’ को रूपमा प्रयोग हुन नदिने र त्यसका लागि विभिन्न देशहरूसित सुपुर्दगी सन्धि गरिने भन्ने विषय लेखिनुपर्छ । पृष्ठ १६ का खण्ड (६) मा बहुपक्षीय व्यापार प्रणालीबाट सबै मुलुकले समानुपातिक लाभ प्राप्त गर्ने वातावरण सुनिश्चित गर्ने भन्ने लवजमा समानुपातिक हैन ‘समन्यायिक’ भन्ने लवज राख्नु वेश हो । किनकि विश्व व्यापार प्रणालीमा हामीजस्ता विकासमा पछाडि परेका राष्ट्रहरूलाई विशेष लाभ र सुविधा एवं भन्सार इत्यादिमा कटौती गरेर त्यस्ता देशका वस्तुलाई ठूला बजारमा प्रवेशको लागि मौका दिनु न्यायोचित हुनाले समन्यायिक लाभ भनी लेखिनु बढी उचित हुन्छ ।
पृष्ठ १९ को खण्ड ६ मा ‘आयात व्यवस्थापन’ गर्दै भनी लेखिएकोलाई विस्थापन लवज लेखिनु पर्छ । वास्तवमा हाम्रो जस्तो देशले आयातलाई व्यवस्थापन गरी सजिलो बनाउने हैन । बरु क्रमशः आयात विस्थापन गर्दै जाने हो । पृष्ठ २० को प्रकरण ७ मा पारवहन समस्याको समाधानको लागि ‘सहजीकरण’ गर्ने भन्ने उल्लेख छ । वास्वतमा सहजीकरण मात्र गर्ने हैन त्यसलाई विभिन्न राष्ट्रहरूसित सम्झौता गरी समाधान गर्ने हो । अतः सोही कुरा लेख्नुप-यो ।
पृष्ठ २४ को खण्ड २२ मा मित्र राष्ट्रका शहरहरूबीच ‘भगिनी सम्बन्ध स्थापना गर्ने’ भनी लेखिएको छ । ‘भगिनी’ लवज नेपाली हैन । यसको सट्टा ‘मितेरी’ सम्बन्ध भनी लेख्नु बढी उपयुक्त छ । वास्तवमा हामीले नेपाली भाषाको प्रयोगमा अनावश्यक रूपले आफैंले अरू भाषालाई ल्याई हाम्रो मीठा बोली र प्रचनलनहरूलाई विस्थापित गर्दै गइरहेका छौं । विदेश नीतिजस्तो विषयमा त झन् ध्यान पु-याउनुपर्ने हो । जुन लवजहरूको नेपाली लवज मीठा र राम्रो छ भने त्यसैलाई प्रयोग गर्नुपर्छ । यस नीतिमा लेखिएका केही लवजहरूलाई परिवर्तन गर्दा राम्रो हुन्छ । जस्तै ‘फेरबदल’को सट्टा फेर्ने ‘अलग’ को सट्टा ‘बेग्लै’ बदलिनेको सट्टा ‘फेर्ने’ बदलावको सट्टा ‘फेरिने’ ‘मार्गमा’ को सट्टा ‘बाटोमा’, ‘अधिकांश’को सट्टामा ‘धेरैजसो’ छविको सट्टा ‘मुहार’ इत्यादि प्रयोग गर्नुपर्छ ।
भाषाको कुरा गर्दा सबै भाषा ठ्याक्कै उस्ताउस्तै उल्था हुने गरी लवज नहुन सक्छ तर उस्तै भाव प्रकट गर्ने अर्को लवज प्रयोग गर्न सकिन्छ वा त्यही लवजलाई विशेष मानेर प्रयोग गर्न सकिन्छ । जसरी अंग्रेजीको उल्था फ्रेन्चमा गर्दा वा फ्रेन्चको उल्था अंग्रेजीमा गर्दा हुन्छ । संक्षेपमा हामीले आफ्नो भाषाका ठेट लवजहरूलाई बिर्संदै प्रयोग नगर्दै जानु र अन्य भाषाका लवजहरूलाई हुबहु वा अप्राकृतिक उल्था गर्दै गयौं भने हाम्रो संस्कृति र भाषामा जोखिम उत्पन्न हुन्छ त्यसतर्फ ख्याल गरौं ।
अन्त्यमा, यो दस्तावेजमा यी टिप्पणीहरू यसको केही परिमार्जनको सिलसिलामा मनन्योग्य होलान् कि भनी प्रस्तुत गरिएको हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया