विचार

बेमौसमी वर्षामा विज्ञको बोली

अबको मौसम अनुमानभन्दा बाहिर गइसक्यो

‘मनसुन बाहिरियो’ भनिसक्‍दा ठूलाे पानी पर्नु ‘ताण्डव’ हो

मधुकर उपाध्‍या |
कात्तिक २, २०७८ मंगलबार १९:५२ बजे

‘मनसुन बाहिरयो’ भन्दै हाम्रो मौसम विभागले कात्तिक २३ गतेपछि मौसम बुलेटिन स्थगन गर्ने घोषणा गरेको थियो । बाढीको पूर्व सूचना दिने जुन सरकारी संयन्त्रमा काम गर्ने विज्ञहरूको ठहर के रह्यो भने मनसुन बाहिरियो, अब बाढी आउँदैन । त्यसैले दैनिक मौसम सूचना सेवा बन्द स्थगन गरिएको थियो । तर विज्ञहरूले नै अनुमान नगरेको पानी परिरहेको छ । त्यसैले यो अचानक आएको पानी र बाढी हो । त्यो पनि अकल्पनीय रुपमा दर्केर ठूलो पानी आयो ।

यसको भौतिक विज्ञानले के देखायो भने बंगालको खाडीमा उठेको ‘साइक्लोनिक विण्ड’ (सबैभन्दा खतरनाक र ध्वंशात्मक वायु) वेस्टर्ली विण्ड (पश्चिमी वायु) को संगमले गर्दा पानी आयो भनियो । बुझिएको कुरा यत्ति मात्र हो । तर प्रश्न के हो भने मनसुन बाहिरियो भनी सबैले भनिसकेको अवस्थामा यत्रो पानी आउनु भनेको यो ‘ताण्डव’ नै हो । अर्थात् अबको मौसमसम्बन्धी हाम्रा वैज्ञानिकहरूका पूर्वानुमानहरू सही नहुने भए । चिन्ताको विषय हो । पूर्वानुमान गर्ने जुन क्षमता र विज्ञान छ अब त्यसले नभ्याउने भयो ।


जलवायु यस किसिमले परिवर्तित भइसक्यो कि अब हाम्रो विज्ञान र हामीले बुझेको कुराभन्दा फरक ढंगका परिस्थितिहरू जन्मिन थाले । जुन परिस्थिति केवल परिस्थितिको रुपमा मात्र नआएर एक किसिमले त्रासदीका रुपमा आयो, भयंकर नोक्सान गर्ने हिसाबले आयो । यसलाई हेर्ने संयन्त्र र विज्ञताको मात्र कुरो भएन । अब यो ‘नयाँ संसार’ (न्यू वल्र्ड) भयो । 

हाम्रो सुदूर पश्चिममा जति पनि काटिएका धान डुब्यो । दसँैको बीचमा पर्‍यो, तैपनि मानिसले काटे । दुई, चार जनाले काटेको हुन्छ, चार–पाँच दिन लगाएर काटिएको हुन्छ । तर एकैचोटिमा डुबाइदियो । अब त्यो डुबेको धानलाई ती किसानले उठाउन सक्दैनन् । एउटा किसानका घरमा चार, पाँचजना मात्र मान्छे होलान् । किसानका लागि यो त ठूलो विपत् हो । यतिखेर हो राज्यको सहयोग चाहिन्छ ।

विपत् भनेको केवल बाढी पहिरो मात्र होइन, धान डुबानमा पर्नु पनि ठूलो विपत् नै हो । नयाँ कुरा के भयो भने यतिखेर यति ठूलो पानी आउला भनेर कसैले कल्पनै गरेको थिएन । अब यो विपत्मा उद्दार गर्न सेना प्रहरी परिचालन गरेर धानको मुठाललाई उभानो ठाउँमा राख्न लगाउनुपथ्र्याे । त्यसो गर्न सकेको भए केही न केही धान बच्थ्यो । तर हामी त्यसमा लाग्दै लागेनौं ।

नयाँ परिस्थिति जुन आयो, नयाँ सोचले काम गर्नुपर्‍यो । हामीसित नयाँ रणनीति हुनुपर्‍यो, यस्तो हुँदा के गर्ने ? त्यो चाहिँ छैन । विवाद केमा छ भने यो जलवायु परिवर्तन हो होइन भन्नेमा छ । हो, होइन त्यो छाडिदिउँ । कुरा के हो भने विज्ञहरूले गर्ने अनुमानभन्दा बाहिर गइसकेको परिस्थिति हो । यो चाहिँ हामीलाई कसैले पनि भनिरहेको छैन । 

नेपालले मात्र होइन भारतले पनि मनसुन बाहिरियो भनेको थियो । केरलामा बाढीबाट २६, २७ जना मान्छेको मृत्यु भयो । भनेपछि नयाँ परिस्थिति छ भन्ने कुराको आत्मसात् गर्ने कसले ? समस्या यो हो । हामीकहाँ एजेन्सी भनेको जलवायु तथा मौसम विभाग मात्र हो ।

आजै मात्र प्रधानमन्त्रीको निर्देशन भएछ त्यहाँ (सुदुर पश्चिममा) राहत दिनु भनेर । राहत भनेको बाढीमा फँसेको मानिसलाई उद्धार गर्नु वा घर भत्केकोलाई सानो छाप्रो व्यवस्था गर्नु मात्र होइन, समग्रमा राहत हुनुप¥यो । यसपालि धानको ठूलो नोक्सानी भएको छ । यसले भोकमरि कति हुने हो, ती किसानले के खाने हो ? यी यावत् कुराहरू त हाम्रो दिमागमा अझै छैन । नयाँ परिस्थितिबारेमा सोच्ने, नयाँ चीज, नयाँ ढंग र नयाँ सोच (रणनीति) चाहियो अब ।

नेपालले यो परिस्थिति सामना गर्न असाध्यै गाह्रो छ । किनभने हामीले हाम्रो क्षमता नै विकास गरेका छैनौं । मेलम्चीमा त्यत्रो बाढी आइसकेपछि डर के थियो भने एकैठाउँमा मुसलधारे पानी पर्दाे रहेछ, त्यो पनि हिमाली क्षेत्रदेखि आउँदो रहेछ भन्ने कुरो त देखियो । त्यसपछि हाम्रो रणनीतिमा के परिवर्तन ग¥यौं त भन्दा केही पनि छैन । राहत र उद्धारमा मात्र लाग्यौँ । त्यसमा अलि बलियोसँगै लाग्या छौं, त्यो चाहिँ राम्रै भएको छ । तर त्योभन्दा बाहिर त हामीले केही पनि सोचेका छैनौं । अब त्यत्रो क्षति भएको जग्गामा के गर्ने, कसो गर्ने ?

मेलम्चीको बगरमा मात्रै हजारौँ रोपनी जग्गा गयो । हरेक रोपनीमा पाँच मुरी मात्रै धान फल्थ्यो भने पनि पाँच सात हजार मुरी धान त गयो । त्यो किसानको व्यक्तिगत जग्गा भए पनि राष्ट्रिय सम्पत्ति हो । यो परिस्थितिको सामना कसरी गर्ने भन्ने एकदमै जटिल प्रश्न हो । 

मलाई लाग्छ, यो प्रश्नले केही उत्तरहरू खोजिरहेका छन् । जो आज बीसौं तीसौँ वर्षदेखि मान्छेहरू कराएको कर्‍यै छन् समन्वय हुनुपर्ने, एकीकृत हुनुपर्‍यो भनेर । यी कुरा अगाडि आउन जरुरी भयो । कसरी गर्ने त्योचाहिं थाहा छैन । तर एकीकृत र समन्वय रुपमा पैसा एकपटक लगानी गरिसकेपछि त्यसले चार, पाँच वर्ष एकैचोटि फाइदा होस् । कृषि, सडक, खानेपानी छुट्टाछुट्टै खर्च गरेर भएकै जमिनलाई ध्वस्त गर्ने, बिगार्ने जुन काम अहिले गरिरहेका छौं । पीच गरिसकेपछि खानेपानीको ढल खोल्ने जस्ता कार्य अब चल्दैन । मुलुकले धान्दा पनि धान्दैन । यही अवस्था रहिरहने हो भने मुलुक गरिब भएर द्वन्द्व सुरु हुने अवस्था आउँछ । 

पानीले धान डुबायो, भरे सुख्खा भयो हिउँदमा केही हुँदैन । हिउँदमा पानी आइदिएन भने गहुँ पनि सकिन्छ । जुन नयाँ परिस्थिति आएको छ, आँकलन गर्ने चाहिँ कसले हो, कुन मन्त्रालयले गर्ने, कुन विज्ञले गर्ने ? मेरो चिन्तामा यसमा छ ।

बाहिरका संस्थाहरूलाई जिम्मा दिने जुन प्रचलन छ, त्यो उचित होइन । हाम्रो आफ्नो संरचनाले यस्ता कुरा आँकलन गर्न थाल्नुप¥यो । क–कसलाई परिचालन गर्नुपर्छ, त्यो परिचालन गर्नुपर्‍यो । किनभने यो विषय चर्काे रुपमा अघि बढ्यो भन्ने कुरा पोहोरको घटनाले देखाइसक्यो, यसपालिकोले झनै देखायो । कुरो जटिल भयो । हामी आधारभूत प्रश्नमै अल्मलिएका छौं । यसले भोलि कस्तो असर गर्ला भन्ने परको कुरा हो, आजैको कुरा गरौं । नेपालमा हामीले विज्ञहरू भनेर राखेको गरेको संस्थाले अब आउँदैन (पानी पर्दैन) भनेको हो ।

तर अनुमानभन्दा बाहिरको कुरा भइसकेको छ भने अब ठूलो चिन्ताको विषय भइसकेको छ । व्यक्तिका आँगन, घर, जमिन खत्तम भए । यो कुरा त दुई महिनापछि फेरि आउन सक्ने भयो । हिउँदमा ठूलो पानी आउने हो कि अथवा पूर्ण रुपमा सुख्खा भएर जाने हो कि, डँडेलो नै डँडेलो लाग्ने हो कि ? किंवदन्तीमा सुनिने कुराहरू अब यथार्थमा आउन थाले । यो चाहिँ निकै गम्भीर विषय हो । (जलाधार विज्ञ उपाध्यासँग इकागजका विकास थापाले गरेको कुराकानीमा आधारित)
 


Author

थप समाचार
x