राजा महेन्द्रको शिकार-प्रेम र राष्ट्रिय प्रतिष्ठा
विद्यार्थी जीवनको अग्रअंश राजा महेन्द्रको गुनगान तथा भजन-कीर्तन सुन्दा सुन्दै बित्यो । राजा सर्वोपरि थिए । तिनको महिमा, स्तुतिगान गर्ने भजनमण्डलीको बोलवाला थियो देशमा । राजाबाट गल्ती हुनै सक्दैन भन्ने विश्वास दिलाउन सरकारी सञ्चार माध्यम व्यस्त हुने गर्दथे । राजालाई मात्र होइन राजपरिवारको व्यक्तित्वमा आँच आउने शब्द उचारण गर्नु सजायको भागीदार हुनु थियो ।
राजा शिकारका सौखिन थिए । मुटुका बिरामीले शिकार खेल्न जाने घोषणा सुनेपछि राजाका अत्यन्त प्रिय विश्वासपात्र प्रधानमन्त्री कीर्तिनिधि विष्टले विनम्रतापूर्वक ‘डाक्टरले सरकारलाई शिकारमा नजान सल्लाह दिएका थिए’ भनी बिन्ती चढाएछन् । उल्टो राजाले जवाफमा भनेछन्, ‘मैले पनि आफ्नो प्रधानमन्त्रीलाई जुवा नखेल भनी धेरै पटक भनेँ, कहिले पनि सुन्यौ ?’ शिकार खेल्न जाँदा भरतपुर २०२८ माघ १७ गते बिहान ३:४५ बजे राजा महेन्द्रको मृत्यु भएको थियो ।
नेपालको संविधान २०१९ ले राजा तथा राजपरिवार सदस्य कानुनभन्दा माथिको स्थान मिलेको थियो । उनीहरू शिकारका निम्ति निषेधित जंगलमा (राष्ट्रिय निकुञ्ज) जाने गर्दथे । राजा महेन्द्रले लोपोन्मुख हुँदै गएको एक सिंगे गैँडाको शिकार गरे ।
दुर्लभ भएको हुनाले विश्वव्यापी शिकार बर्जित कैयौँ पाटेबाघ तथा अर्ना तिनको निशानामा परेर मारिए । अनगन्ती संख्याका भालु, कस्तुरी मृग, नावर, चितुवा, जरायो, चित्तल, घोरल आदि तिनको निशानामा मारेर मारिए । चराचुरुङ्गीमध्ये आफैँले राष्ट्रिय पन्छी घोषणा गरेको डाँफे, कुमारको वाहन मानिने मुजुर, मोनाल, च्याखुरा, तित्रा, कालिज, पानी हाँस, लुइँचे, बट्टाई तथा चाचरको आदि तिनको डिनर टेबलमा नियमित पुग्ने गर्दथे, मौसमअनुसार ।
नारायणहिटी दरबारमा एक नातेदार सेनाको जनरल शिकार विभागको प्रमुख थिए । उक्त विभागको प्रमुख कार्य राजाको शिकार भ्रमणको व्यवस्थापन गर्नु थियो । शिकार सौखिन सालोले पनि जिल्लाहरूमा ‘शिकारी’ नियुक्त गरेका थिए । त्यस्ता शिकारीले आफ्नो क्षेत्रमा मौसमअनुसार पाइने चराचुरुङ्गी तथा जनावरको शिकार दरबारमा नियमित दाखिला गर्नु पर्दथियो । उनीहरूलाई वन विभागले छुन सक्दैन थियो ।
त्यस्ता शिकारीहरूले आफ्नो क्षेत्रमा नवआगन्तुक जनावर तथा चराचुरुङ्गी देखापरे दरबारमा जाहेरी गर्दथे । आकर्षक लागेको अवस्थामा राजा-रानी शिकारमा सवारी हुन्थ्यो । अक्सर राजा-रानी रुखमा निर्मित मचानमा विराजमान हुन्थ्यो । परिचालित झरुवाले शिकारलाई लखेटेर राजा/रानी ‘राज’ भएको मचानको सामीप्यमा पुर्याइदिन्थे ।
राजा महेन्द्रको शिकार वर्णन गाथा उल्लेख गर्दा दुई घटना सान्दर्भिक हुन्छ । प्रथम, अर्ना शिकारका निम्ति राजा कोशी टप्पू सवारी भएको थियो । चार पाँच राउन्ड गोली चलाएर एउटा ठूलो अर्ना मार्न सफल भए । मारिएको अर्नाको लम्बाइ चौडाइ तथा सिङको मापनपछि गौरवशाली मुद्रामा राजाले ‘यति ठूलो अर्ना आजसम्म कसैले पनि मार्न सकेका थिएन’ भनेछन् ।
शिकारप्रेमी कन्जरभेटरले ‘सरकार पोहोर साल मैले एकै सटमा ढालेको अर्ना यो भन्दा पनि ठूलो थियो’ भनिदिएछन् । त्यसपछि क्रुद्ध राजाले आफ्नो सैनिक सचिवतर्फ नजर घुमाउँदै ‘ल, यिनलाई आजै बिदा गरिदेऊ ।’ कन्जरभेटर साहेबको जागिर त्यही खोसियो ।
दोस्रो रोचक घटना गोकर्णको छ । त्यहाँको संरक्षित जंगलमा ठूलो चितुवा प्रवेश गरेको समाचार ‘शिकारी’ले दरबारमा जाहेर गरेछ । चितुवाको शिकारका निमित्त प्रबन्ध मिलाउने आदेश भयो । दरबारको ‘शिकार विभाग’ले सबै प्रबन्ध मिलाए । गोकर्णमा राजा-रानीको सवारी भयो । बडामहारानीले चितुवाको शिकार गर्ने इच्छा गरिन् । खोजीमा खटिएको टोलीले जंगल ‘झोरेर’ राजा/रानीको सामीप्यमा चितुवा पुर्याए ।
चितुवालाई बडामहारानीले निशाना गरेर गोली चलाइन् । चितुवा घाइते भयो र उसले सोझै बडामहारानीमाथि आक्रमण गर्यो । रानीलाई चितुवा आक्रमण गर्न लागेको देख्दासाथ सँगै रहेको शिकारीले रानीको ढाल भएर आक्रामक चितुवाको प्रतिशोध गर्यो । घाइते चितुवाको आक्रमणले शिकारी सख्त घाइते भए । बडामहारानी सकुशल रहिन् । शिकारीको उपचार सैनिक अस्पतालमा भयो । उपचार गर्दै गरेको शिकारीलाई राजा महेन्द्रबाट इनामस्वरूप १० रुपैयाँ बक्स भयो ।
राजा महेन्द्रको शिकार सोख स्वदेशमा मात्र सीमित थिएन । सन् १९५७ मा सिलोन (श्रीलंका) सँग आधिकारिक सम्बन्ध स्थापित भएपछि राजा/रानीको त्यहाँ औपचारिक भ्रमण भयो । सिलोनले बुद्ध जन्मेको देशको राष्ट्राध्यक्षको भव्य स्वागत सत्कार गर्यो । राजा महेन्द्रले वाणीको जंगलमा ‘कृष्णसार’को शिकार खेल्ने चाहना रहेको अनुरोध गरेछन् । कट्टर बौद्ध धर्मावलम्बी प्रधानमन्त्री एस.डब्लु.आर.डी. बन्दरानायके धर्म संकटमा परे । उतिबेलै सिलोनमा शिकार प्रतिबन्धित थियो र छ । अतिथि राजाको अनुरोध मन्त्रिमण्डलको निर्णयले एउटा ‘कृष्णसार’को शिकार गर्न दिने अनुमति दियो । राजाबाट भएको शिकार आजका दिनसम्म पनि श्रीलंकन स्मरण गर्छन् ।
राजा महेन्द्रको शिकार सूची लामो थियो । कोडीका भालु, समुन्द्री सिंह, बाह्रसिङ्गे, जंगली भेडा आदि थिए । उक्त सूचीको विशेषता चाहिँ अमेरिकी शिकारको कानुनप्रतिको असंवेदना थियो ।
शीतयुद्धको राप र ताप चम्किएको कालखण्डमा राजा महेन्द्रले (सन् १९५८ जुन १५ देखि २२ ) सात दिने सोभियत युनियनको राजकीय भ्रमण गरेका थिए । उक्त भ्रमणको क्रममा सोभियत सरकारले राजालाई हवाईजहाज तथा गाडी उपहार दिएको थियो ।
दुई वर्षपश्चात् राजा तीन दिने (सन् १९६० अप्रिल २७-३०) औपचारिक राजकीय भ्रमण अमेरिकामा भएको थियो । उक्त भ्रमणको अवसरमा अमेरिकी सरकारले भव्य स्वागत सत्कार गरेका थिए । राजालाई अमेरिकी दुवै सदनको संयुक्त बैठक सम्बोधन गर्ने अपूर्व अवसर दिएका थिए, अमेरिकी राष्ट्रपति आइजन आवरले । पुनः सात वर्षपश्चात् (सन् १९६७ नोभेम्बर १-३) दोस्रो राजकीय भ्रमण भएको थियो, अमेरिकामा ।
राजाको दोस्रो भ्रमणका विषयमा पंक्तिकार नयाँ सडकस्थित रञ्जना सिनेमा हलमा एउटा हिन्दी सिनेमा हेर्दै गर्दा अमेरिकी भ्रमणका डकुमेन्ट्री ‘टे«लर’का रूपमा प्रस्तुत भएको स्मरण पंक्तिकारलाई छ । प्रमुख दृश्यमध्ये एक थियो, बाक्लो ज्याकेट लगाएका राजा-रानी हेलिकप्टरबाट अवतरण गर्छन् जताततै हिउँ भएको स्थानमा । एउटा ठिङ्ग उभिएको भीमकाय आकारको बाह्रसिङ्गे जरायो देखा पर्छ । राजा आफ्नो बन्दुक सोझ्याउँछन् । गोलीको आवाजसँगै जरायो खत्रक्क ढल्छ । उक्त जनावर ढल्दा साथै सिनेमा तालीले गुन्जियो । आफ्नो राजाले अमेरिकामा गरेको त्यत्रो ठूलो जनावरलाई एकै गोलीमा ढालेको घटना त्यो कालखण्डमा तारिफयोग्य थियो ।
अलास्कामा राजा महेन्द्रबाट गरिएको शिकारका विषयमा नेपालमा गाइँगुइँ चलिरह्यो । कोही भन्थे, ‘राजाले ३०० डलर अमेरिकी शिकार प्रदर्शकलाई ‘टिप्स’ दिन बिर्सिए ।’ कोही चाहिँ शिकारका निम्ति तिर्नुपर्ने थुप्रै पैसा राजाले नतिरी फर्किएर देशको बदनाम गरे । यस विषयमा हालै (अक्टुबर १८ ) ‘एन्कोराज डेली न्युज’ अलास्कामा एक स्थानीय इतिहासकार डेभिड रियामरको लेख प्रकाशन भएको छ । उक्त लेखमा उल्लिखित केही रोचक पक्षहरू यस्ता छन् ।
डेभिड रिइमरले लेखको सुरुवात एन्कोरेज, अलास्कामा भएको सुखद राजकीय भ्रमणहरू जस्तै नर्वे, बेलायत तथा जापानका राजा तथा युवराजधिराजहरूको भएको छोटो अवधि (केही घण्टा बिताएको) उल्लेख गरेछन् । त्यसपश्चात् लेख महेन्द्रको शिकार गाथाले भरिएको छ । उनका अनुसार, दोस्रो तीन दिने औपचारिक राजकीय भ्रमणको उद्देश्य अलास्का राज्यमा शिकार खेल्नु थियो । राष्ट्रपति जोन्सनसँग राजा महेन्द्रको एकमात्र संक्षिप्त भेट वार्ता भएको थियो ।
रिइमरले राजाको छवि पुरातनवादी प्रजातन्त्रविरोधी भएको उल्लेख गरेका छन् । रिइमरले सेना परिचालन गरेर सत्ता हत्याउने २०१७ सालको शाही कदमलाई कांग्रेस सरकारको आधुनिकीकरण प्रक्रियाबाट विचलित पुरातनवादी शक्ति जसको नेतृत्व राजा महेन्द्रले गरेका थिए, षड्यन्त्रको संज्ञा दिएका छन् ।
राजशिकारको वर्णन विषयको उल्लेख गर्दै रिइमरअनुसार, नोभेम्बर ९ का दिन अमेरिकी सरकारको सौजन्यमा (५० हजारभन्दा बढी अमेरिकी नागरिकले तिरेको तिरो खर्च गरेर) राजाको वासिङ्टन डीसीबाट एन्कोरेज ‘एरफोर्स ओन’ भएको थियो । विमानस्थलदेखि ‘क्याप्टेन कुकसम्म’ मुकाम होटेल लिमोजिन गाडीहरूको ताँतीका साथ भ्रमण टोली पुगेको थियो । चार दिन अलास्का सरकारको सौजन्यमा उक्त होटेल खर्च भ्रमण टोलीलाई उपलब्ध भएको थियो । उक्त खर्चलाई विज्ञापनका रूपमा ग्रहण गरेको थियो, अलास्का सरकारले ।
अलास्काको शिकारमा कार्यक्रमको ताजोफाजो तथा व्यवस्थापन गर्ने जिम्मेवारी अमेरिकी नेभीका पूर्वजवान ला बर्नेटलाई अमेरिकी परराष्ट्र मन्त्रालय (स्टेट डिपार्टमेन्ट) ले सुम्पेको थियो । बर्नेटलाई राजाको शिकारका व्यवस्थापन जिम्मेवारी सुम्पिनुपूर्व राजासँग गर्ने व्यवहार, शिकारमा सहयोगदेखि ‘हिन्दू’ संस्कार अनुरूपको खानपिन समेतको प्रबन्ध गर्ने तौरतरिकाबारे तालिम दिइएको थियो ।
राजकीय शिकार भ्रमण निजी भएको हुनाले त्यसमा लाग्ने खर्च राजाले अथवा नेपाल सरकारले व्यहोर्नुपर्ने प्रावधान थियो । बर्नेट अनुसार, शाही राजदूतावासले सबै खर्च व्यहोर्ने तथा ‘सन्तोषजनक व्यवस्थापन’ गरेको खण्डमा बर्नेटलाई कुल खर्चको १५ प्रतिशत इनाम दिने पूर्व सहमतिसमेत गरिएको थियो ।
राजा महेन्द्रको शिकार सूची लामो थियो । कोडीका भालु, समुन्द्री सिंह, बाह्रसिङ्गे, जंगली भेडा आदि थिए । उक्त सूचीको विषेशता चाहिँ अमेरिकी शिकारको कानुनप्रतिको असंवेदना थियो । अमेरिकी विदेश मन्त्रालयको हस्तक्षेपमा शिकारसम्बन्धी नियम कानुन तोडमोड गरेर राजइच्छा पूर्ण गर्ने कार्य बर्नेटले गरे । तीन हप्ता लामो शिकार कार्यक्रममा राजा-रानीबाट देखावटी तडकभडकका निमित्त प्रशस्त ट्राभलर्स चेक साटिए । फिर्ती सवारी हुँदा राजा-रानीका निमित्त एरफोर्स वान विमान आएन ।
त्यसैगरी होटल हवाई अड्डासम्म लिमोजिनको ताँती पनि थिएन । किनकि फिर्ती सवारीको खर्च राजाले व्यहोर्नुपर्ने थियो । दुःखको विषय चाहिँ इनाम त परै जाओस्, शिकार भ्रमणको क्रममा बर्नेटको मातहतबाट भए/गरिएको खर्चहरू तिनले पाएनन् ।
राज शिकारमा भएको खर्च तिर्न नसकेर तिनको शिकार सहयोगी अनुमतिपत्र खारेज भएको थियो । अमेरिकी सांसदहरू समेत बक्यौता खर्च समाधान तथा बेर्नेटलाई सहयोग गर्न अग्रसर हुनुपरेको थियो । राज शिकारमा संलग्न एक सयभन्दा बढी व्यक्ति तथा संस्थाहरूलाई तिर्नुपर्ने खर्च हालसम्म अलपत्र छ । बर्नेटले भोगेको नियतिको चर्चा डेभिड रिइमरको वृत्तान्त सन् १९६९ मा लस एन्जल्स टाइममा प्रकाशित लेखमा आधारित छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया