विचार

के यो देश र यहाँको राजनीति सधैँ यस्तै हो ?

राजेन्द्र बजगाईं |
कात्तिक १४, २०७८ आइतबार २०:१७ बजे

संसारका मूल रूपले जनविद्रोहको माध्यमबाट राजनैतिक परिवर्तन गर्ने नेतृत्वहरू देशको आर्थिक क्रान्ति गर्न सक्दैनन् भन्ने उदाहरण प्रशस्त भेटिन्छन् । म नेपालको राजनीतिलाई एक कहालीलाग्दो सिनेमासँग जोड्न चाहन्छु जुन मैले वर्षौं पहिले निकै डराईडराई हेरेको थिएँ र त्यो प्रसंग नेपाली कथित युद्धसँग मिल्दोजुल्दो देख्छु । यो सिनेमा ‘रक्त हिरा’ ब्लड डायमन्ड २००६ को अमेरिकी राजनीतिक एक्सन थ्रिलर फिल्म हो जुन सहनिर्मित एडवर्ड ज्विकद्वारा निर्देशित र लियोनार्डो डिक्याप्रियो, जेनिफर कोनेली र डिमोन होन्सौँ अभिनीत छ । शीर्षकले रक्तहीरालाई जनाउँछ, जुन हीराहरू हुन्, युद्ध क्षेत्रहरूमा खनन गरिन्छ र द्वन्द्वहरू वित्तपोषण गर्न बेचिन्छ, र यसरी विश्वभरका युद्ध लडाकुहरू हीरा कम्पनीहरूले लाभ उठाउँछन् । नेपाली युद्ध लडाकुहरू कति निर्दयी थिए कि आफ्ना निर्दोष नेपाली दाजुभाइहरू मार्न उद्धत थिए र अधिकांश लडाकुहरू हीरा जस्तो आफ्नो जवानी व्यर्थ ध्वस्त पार्थे ।

१९९१–२००२ को सिएरा लियोन गृहयुद्धको समयमा सेट गरिएको, यो फिल्मले सरकारका बफादार र विद्रोही सेनाहरूबीचको संघर्षले टुक्रिएको देशलाई चित्रण गर्दछ । यसले त्यस युद्धका धेरै अत्याचारहरू पनि चित्रण गर्दछ, जसमा विद्रोहीहरूले आगामी चुनावमा मतदान गर्नबाट निरुत्साहित गर्नका लागि नागरिकहरूको हात काट्ने कार्य गर्छन् यस्तो सन्देश होस् मतदान गर्नेले हात गुमाउनेछ । हाम्रो मुलुकमा काखमा सुतिरहेका बच्चालाई छुट्याई राष्ट्रसेवकका श्रीमती काटिएका छन् । बाँधेर रूखमा शरीर तर डाले घाँस छिनाले जसरी हातहरू चट्टाचट काटिएका छन् । क्रान्ति ध्वंस गर्नेहरूसँग निर्माण गर्ने सपना हुँदैनन् र उनीहरू मनोवैज्ञानिक रूपमा सदैव आफू असुरक्षित ठान्छन् आफूलाई सत्ताबाट अलग गर्न सक्दैनन् ।


त्यस्ता कायर क्रान्तिकारीहरूसँग आफ्ना मारिएका समर्थकका परिवार बिर्सेर सत्ताका लागि जोड्नेलाई पनि निकै पाप लाग्नैपर्नेछ । समय बलवान् छ । नेपालको परिस्थिति सिएरा लियोनको स्थितिबाट गुज्रिएर शान्तिउन्मुख बन्यो तर, युद्धउप्रान्त यसको व्यवस्थापन हुन सकेन । युद्धविरामलगत्तै हाम्रो सेन्सर हुनुपथ्र्याे, एक बहुआयामी सेन्सरले आम वृद्ध वयस्क बालबालिका सबै नरनारीहरूको घर र सम्पत्ति, योग्यता, सीप र कलादेखि बस्ती र तत् भूगोलका आधारभूत पहिचान संकलन गरिन्थ्यो र खाद्य शिक्षा–स्वास्थ्य र अहिले देखिएको बेथितिको निवारण हुने थियो तर त्यसो भएन, गरिएन ।

हामी खाद्य अधिकारका, त्यसमा पहुँच र खाद्य सम्प्रभुताका बहसमै अल्झिएका छौं । उन्नत जातका बीउका वितरण कृषि औजार र किटनाशक औषधि समयमै मलखादको आयात र वितरण उल्लिखित सबै विषय दशकौंदेखि अनुत्तरित छन् । खाद्यमा पहुँच भन्नाले दिनभरि ज्यालामा काम गर्ने वर्गले २०० रुपैयाँ पेट भर्नका लागि छुट्टयाउने प्रयत्न गर्छ तर उसले पसल गएर यथेष्ट वस्तुहरू खरिद गर्न सक्दैन । केही साधारण परिश्रम गर्नेहरू अथवा अदक्षले उपलब्ध ज्याला रकममध्ये अर्को रू. ३०० जति सन्तानका आङ ढाक्ने तत्ता कपडा वा स्कुले सन्तानका खाजा वा कापी–कलमदेखि खाली समयका लागि खर्चिएको ऋण तिर्ने नाममा सञ्चित पनि गर्नुपर्ने हुन्छ । बजारका वस्तुमा पहुँच पुग्दैमा चुलोका आमाहरूले व्यवस्थापन गर्न सक्छन् भन्ने होइन । चुलोमा पुग्ने खाद्यवस्तुमा कति पौष्टिक तत्व छन् । नाबालकहरू दैनिक रूपमा दूध सेवन गर्न सक्षम छन् कि कुपोषणका दुश्चक्रमा परिरहेछन् !

औषधिउपचारमा नागरिकको पहुँच कस्तो छ ? विकट पहाडकी एक अबोध आमा दैनिक जस्तो दाउराको चुलोमा पानी उमालेर सिस्नो पिउने गर्छिन्, उहाँको श्रीमान् अन्धो हुनुहुन्छ यस मानेमा खाद्य सम्प्रभुतको विषयमा स्विस दूतावासमा कार्यरत खाद्य प्रणालीमा सहयोग गरिरहेकी एक अधिकृतको सनसनीपूर्ण रेडियो अन्तर्वार्ता सुन्ने मौका मिलेको थियो । 

शिक्षामा राज्यको मूल नीति के छ ? यो अर्को विषयमा निकै आलोचक भएर मैले कस्तो पाठ्यक्रम र कस्तो शिक्षक भन्ने प्रश्न प्रहार गरिरहेँ । उदाहरणमा मैले बेलायतका शिक्षकहरूको विषय उत्खनन गरेँ । संयुक्त अधिराज्य बेलायतमा उत्कृष्ट नतिजा ल्याउनेहरूको ध्यान विद्यालयमा पढाउनेतिर खिचिन्छ । सामान्य शिक्षकहरू वार्षिक ७० लाखदेखि हाईस्कूलका हेडमास्टरहरू वार्षिक २ करोड ५० लाखसम्म अथवा १ लाख ७५ हजार पाउन्ड स्टर्लिङसम्म पारिश्रमिक सुविधा लिन्छन् । हामीमा शिक्षण पेसामा उत्कृष्ट नतिजा डिस्टिङ्सन ल्याउनेहरू पहिले पहिले डाक्टर इन्जिनियर्सतिर लम्कन्थे अहिले आईटीतिर लम्कने गर्छन् । तर उता बल्लबल्ल उत्तीर्ण हुनेहरू शिक्षण पेसामा जाने हुनाले नागरिकका नाबालकहरूको भविष्य धेरै उज्यालो हुँदैन । 

स्वास्थ्यमा यति धेरै समस्या देखिन थालेका छन् कि यसपछाडि जनचेतनामूलक कार्यक्रमका सफलता हुन् । पहाड र मधेसका कन्दराहरूमा धामी–झाँक्रीहरूको भरमा बिरामीहरू आहत हुन्थे अहिले उनीहरू अस्पतालको पहुँच खोजिरहेछन्, यसकारण पनि रोगहरूमाथि गरिने परीक्षण अनुसन्धानका प्रतिशत ठूलो छ तर, हाम्रो स्वास्थ्य सेवामा आम सर्वसाधारणको पहुँच छैन, न राज्यले बीमाको दायराभित्र आम नागरिक पार्नै कोसिस गर्न सक्यो । प्रत्येक अर्को दिन नागरिकहरू बिरामी परेको उद्धारको पर्खाइ र अस्पतालको शय्यामा लाखौं बिल चढेर सहयोगको याचना गरिरहेको फोनहरू आउने गर्छन् ।

यति असीमित आकस्मिक सेवा र जन सरोकारहरू उठिरहेछन् कि म (हामी) कसो गरी आर्तहरू दर्दले भरिएको घाउमा मलम लगाउन सकूँ, सकौंला ? लामो सास फेर्दै चारैतिर नियाल्छु र एक वास्तविक नेता खोज्छु कतै यस्तो मान्छे पाउन सकूँ जसले यी तमाम बेथिति चिर्न सकोस् । कुनै यस्तो भरोसाको प्रतिविम्ब देख्दिनँ कि विश्राम लिऊँ ? यो देश यसै गरी बनाउन सकिन्छ भन्ने सपूत पार्टीहरूमा देख्दिनँ । एकदिन एक युवा नेतासँग मैले प्रश्न गरें, बिहेको लगन छ, एक दिनमा कतिवटा बिहेमा झुल्किनुहुन्छ ? उनले आफ्नो अधिकतम उपस्थितिको रेकर्ड सुनाए ३५/३६ वटा । मैले यसो विचार गरेँ, हामीले कस्तो कृत्रिम समाज निर्माण गरेछौं । 

मैले आधारभूत समस्या र निवारणमा सेवा पर्खिबसेको नागरिकमाथि यति विघ्न समस्या थुप्रिन थाले भनेको छु र त्यसमाथि उच्चशिक्षा र रोजगारका विषय नभनी रहन पनि सक्दिनँ र फेरि आफैँलाई प्रश्न गर्ने गर्छु यो देशको मुहार रंगाउने सपना बोकेको मान्छेकहाँ जन्मिएको होला ? १९६७ तिर हामी दक्षिण कोरियाका लागि तेस्रो ठूलो चामल पैठारी गर्ने मुलुक थियौं तर हामी यति धेरै खाद्यवस्तु भित्र्याउँछौं । बल भरिएका नवयुवाहरू मातृभूमि छाडेर खाडीमा मुटु गाँठो पारी परिश्रम गरिरहेका छौं, लेख्दै मन दुख्छ । मैले भन्ने गरेको छु, पर्यटन यस्तो क्षेत्र हो, सबै कृषि उपज यहीँ खपत हुन्छन् ।

यिनीहरू दुइटै सँगसँगै दौड्ने क्षेत्र हुन्, मात्र नीतिमा संयोजन गर्ने नेता देऊ । १६ लेनका चौडा समुद्रतिर दौडने सडक बनाऊ जहाँ ३२ पांग्रे (लरी) ट्रकहरूले पैठारी ढुवानी गरून्, यो देश बीपीले भने जस्तो राष्ट्र बनोस् । एक अर्को संयोग देख्छु कि, नेपाली सेनाका एक जर्नेल आफ्नो थेसिसमा लेख्छन् युद्धविरामपछिको नेपालको सही व्यवस्थापनमा प्रचण्ड चुकेका छन् भन्ने प्रसंगसँग जति पनि विद्रोहका कमान्डरहरू छन् यस्तो इतिहास छैन उनीहरूले ती देशलाई सबल राष्ट्र बनाए भनेर स्मरण गर्न पाइयोस् ! यसैले यति धेरै नवयुवाहरू कम्युनिस्ट पार्टीमा मतदान गर्छन् नेपालमै । सोभियत रुस फुटेर १७ देश बने । उनीहरू छिटोछिटो क्याप्टलिस्ट भइरहेछन् । यसैले म भन्छु, हामी हाम्रा राजनैतिक नेताहरूलाई कहिल्यै परिवर्तन गर्दैनौं, जबसम्म हामी उनीहरूलाई चुनेका जनताहरूलाई परिवर्तन गर्दैनौं ।


Author

थप समाचार
x