विचार

कर्नालीका कहर कतिपय

वीरेन्द्र बटाला |
कात्तिक १६, २०७८ मंगलबार १२:३५ बजे

कर्नाली प्रदेश मुलुककै एक अनुपम क्षेत्र हो, जहाँ सम्भावनाले अवसर दिएको छ । रोजगारी दिएको छ । बाँच्ने आधार दिएको छ । लगानीका अभावमा कर्नालीका थुप्रै सम्भावनाले टुलुटुलु हेरिरहेका छन् । यस अर्थमा हेर्दा अब कर्नालीमा आएर दुःखका गीत होइन, समृद्धिका गीत लेख्न बाध्य बनाउने अवस्था सिर्जना गर्नु अहिलेको आवश्यकता हो ।  

भौगोलिक रूपमा निकै टाढाको बस्ती यो, हो । सुन्दर मनोरम वातावरणमा सजिएको कर्नालीको प्राकृतिक सौन्दर्य त छँदै छ त्यसमाथि यहाँको भाषा-भेषभूषा र सांस्कृतिक परम्पराले थप सजिएको छ । विकास निर्माण सम्भावनामा अगाडि देखिएको कर्नालीमा लगानीकर्ताको हात फिजिएको भने छैन । 


जस्तो एक मात्र उदाहरण दिऊँ कर्नालीलाई जलविद्युत् उत्पादनको क्षेत्रका रूपमा विकास गर्न सकिने थुप्रै आधार छन् । कर्नाली हुम्ला हुँदै बग्‍ने हुम्ला कर्नाली, डोल्पा हुँदै बग्‍ने भेरी र जुम्ला हुँदै बग्‍ने तीला नदीको पानीको उपयोग गरेर विद्युत् हबको रूपमा विकास गर्न सकिने आधार छन् । त्यस्तै कर्नालीको पर्यटन सम्भावनामा मात्रै लगानी गरे समृद्धि कुर्नु नपर्ने स्थिति आउँछ । 

जनतामा विकासको आभास र रोजगारीको सिर्जना भयो भने आफँै समृद्ध कर्नाली प्रदेश हुन्छ र जनताको जीवनस्तरसमेत माथि उठ्छ । प्रत्येक कर्नाली प्रदेशका जिल्लामा भूगोलको आधारमा शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, सञ्चार आदि कुराको सुविधा भयो भने हामी कर्नालीबासी रोग, भोग र सिटामोल र जीवनजल नपाएर र सुत्केरी महिलाहरू रगतको अभावमा अकालमा मृत्युको सिकार हुनबाट बच्‍न सकिन्छ ।

कर्नाली बोल्नासाथ हाम्रो जनजिब्रोमा झुण्डिएको र कर्नालीवासीले मन पराएको ‘कर्नाली’लाई सम्झन्छौँ, मनन गर्छौं र एक पटक पुगेर अनुभव गर्छौं भन्‍ने जोसुकैको मनमा लाग्‍न सक्छ । कर्नाली एउटा सभ्यता हो । ठूला-ठूला सहरको मानव सभ्यताको विकास नदीसँग जोडिएको हुन्छ । एथेन्स वा मेसोपोटोमिया किन नहोस् वा रोमन सभ्यता नै किन नहोस्, हामी नदीसँग जोडिन्छौँ ।

यस्तै नेपालको पुरानो सभ्यता कर्नाली हो र यो कर्नाली नदीसँग जोडिएको छ । कर्नालीको सभ्यता मानव सभ्यता र संस्कृतिसँग जोडिएको छ । हिजोको कर्नाली देख्ने पुर्खाहरूले यहाँका कालीकोट, जुम्ला, मुगु र डोल्पामा गाडी गुडिसकेको देखेका छन् । क्रमशः हाम्रो जनजीवनमा परिवर्तन भइरहेको छ । तर हाम्रा आधारभूत आवश्यकताहरू भने पूर्ति हुन सकेका छैनन् ।

नेपालको संघीयतासँगै बनेको संरचनाअनुसार नेपाललाई संघ, प्रदेश र स्थानीय तहमा विभाजन गरेर नेपाललाई ७५ जिल्लाबाट रुकुम र नवलपरासीलाई टुक्रा बनाएर २ जिल्ला थपिएपछि ७७ जिल्ला र ७ ओटा प्रदेशमा अवस्थित भयो । कर्नाली प्रदेश पिछडिएको र दुर्गम जिल्ला मिलेर बनेको प्रदेश पनि हो । 

र हाम्रो सुत्केरी महिलाको ज्यान जाने अवस्थाको अन्त हुने थियो । कहिले आउँछ सरकार यो व्यवस्था र कहिले पाउँछौँ हामी कर्नालीबासीले हाम्रो पनि सरकार छ भन्‍ने दिन ?

कर्नाली प्रदेशमा मुगु, हुम्ला, जुम्ला, कालिकोट, दैलेख, सुर्खेत, डोल्पा, जाजरकोट, सल्यान र रुकुम पश्चिम जिल्लाहरू मिलेर बनेको प्रदेश हो । यस प्रदेशमा अझै मोटर बाटो कति जिल्लामा पुगेको अवस्था छैन । शिक्षा, स्वास्थ्य सञ्चार अरु आधारभूत कुराहरू त धेरै परको सपना हो । स्वास्थ्य आधारभूत आवश्यकता भएको हुँदा हरेक नागरिकको पहुँचमा पुग्‍नुपर्ने हो तर यहाँका अधिकांश स्वास्थ्यचौकीमा कतै औषधि छैन त कतै जनशक्ति छैनन् ।

तसर्थ हाम्रो कर्नालीमा रोग र भोगले मर्नेको संख्या अरु प्रदेशको तुलनामा धेरै माथि रहेको छ । शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात आदि कुराबाट पछाडि रहेको यो प्रदेशका नागरिकलाई साँच्चिकै गाउँमा सिंहदरबार आयो भनेर भाषण पिटेर हिँड्नेहरूलाई हामी आम कर्नालीबासीले कसरी सहानुभूति गर्ने कि ? सरकार गाउँमा छ भनेर ? स्थानीय सरकार आएको पनि करिब पाँच वर्ष सकिन लाग्यो हामी कर्नालीबासीको पीडा र दुःखमा भने सरकार कहिले आएन ।

‘संघीयताको कार्यान्वयनको चरणमा स्थानीय, प्रदेश र संघ सरकारले आफ्नो मातहत क्षेत्राधिकारमा रही समन्वय गरेमा सबै नागरिक स्वास्थ्यको पहुँचमा पुग्छ,’ तर यो कुरा कसैले सोच्दैनन् आ-आफ्नै मेरै राज्यको मै राजा भनेर तिनै तहका सरकार गुम्सिएका छन् ।

नागरिकको सबभन्दा नजिकका रूपमा रहेको स्थानीय सरकार त गाउँमै आयो तर  के गर्नु ‘नजिकको तीर्थ हेला’ भने झैँ कुनै फरक छैन । मान्छेका लागि कुर्सी अनि पैसा र पहुँचवालाहरूका लागि मात्र आएको स्थानीय सरकारले गरिब दुःखीको कुरा कहिल्यै सुन्दैन । साँच्चिकै गरिब र साँझ-बिहान काम नगर्दा झुपडीमा आगो नबल्ने जनताका लागि आएको कतै अनुभूति गर्न र देख्न पाइएन । 

कर्नालीमा दुःखको सागर छ । गरिबी अविकास र अभावको जालो छ भन्‍ने साँघुरो सोच भएकै कारण झन् हामी कर्नालीबासी पछाडि धकेलिँदै छौँ । कर्नालीमा कयौँ राम्रा कुरा र अवसरको खानी छ भनेर भुसुक्कै बिर्सन्छौँ । जैविक विविधताको हिसाबले कर्नाली सबैभन्दा धनी मानिन्छ । तराईको गर्मीदेखि बाह्रै महिना हिउँ रहिरहने क्षेत्र कर्नालीमा पाइन्छ । हुम्ला कर्नाली र मुगु कर्नाली विद्युत् उत्पादनको हिसाबले सबैभन्दा उपयुक्त नदीहरू मानिन्छन् । 

हिमाली जिल्ला मुगु, डोल्पामा खाद्यान्‍नको अभावले जनता भोकमरीले मर्ने अवस्था अहिले पनि रहेको छ । मोटरबाटो कहिले पुग्ला अझै टुङ्गो छैन मात्र हवाई यात्राको भरमा कति सम्भावना होला ? बिरामी पर्दा सिटामोल नपाएर कयौँ जनताको ज्यान जाने कर्नाली प्रदेशको सुर्खेतबाहेकका अरु सबै जिल्लामा हालसम्म पनि रहेको छ । शिक्षा, स्वास्थ्य, सञ्चार, यातायातमा आमूल परिवर्तन भयो भनेर सयौँ अखबारमा सामाचार सुनिन्छ र छापिन्छन् मात्र प्रचारबाजीका लागि । परिमाण र विकास भनेको सुन्‍ने रहेको छ । हामी कर्नालीबासी सुत्केरी, ठूलै रोगले बिरामी भएर चेपेको अवस्थामा उपचार गर्ने ठाउँ छैन । ठाउँ पाइहाले पनि घरखेत धितो राख्नुपर्ने अवस्था छ ।  

यहाँको मुख्य व्यापारिक केन्द्र नेपालगन्ज सहर भएकाले बिरामी पर्दा उपचार गर्न नेपालगन्ज जान पर्यो भने सडक र यातायातको सेवा नहुँदा बिरामीलाई बोकेर लिन पर्ने र बिरामीको बाटोमै मृत्यु हुने अवस्था छ । झाडापखाला लाग्दा सयौँको ज्यान जाँदा हामी कर्नालीका जनताले सिटामोला र जीवनजल नपाएर मृत्यु सिकार बन्‍नु पर्‍यो । हामी कर्नालीवासीको थुप्रै समस्या छन् रोग, भोग र शोकले हाम्रो जीवनकाल कहिले माथि उठ्ला ? काठमाडौँको नजर कर्नालीमा कहिले पर्ला ?

घाँसपात, स्याउला, सोतरका लागि ज्यानै जोखिममा राखेर रूख-भीर गर्नुपर्ने कर्नालीका महिलाहरूको बाध्यता छ । घाँस-दाउरा गर्ने क्रममा, बाटोमा हिँड्दाहिँड्दै चिप्लिएर, ढुङ्गा खसेर, खर काट्ने क्रममा तथा रूख र भीरबाट लडेर कर्नाली प्रदेशमा बर्सेनि दर्जनौँ व्यक्तिले अकालमै ज्यान गुमाउने गरेका छन् । अर्कोतिर छिमेकी जिल्लाबाट सुर्खेत, कोहलपुर, नेपालगन्जका अस्पताल लैजाँदा लैजाँदै कतिपयको बाटोमै मृत्यु हुन्छ । ग्रामीण भेकमा यस्ता कयौँ समस्याले थला परेको कर्नालीलाई समृद्धतिर धकेल्न गर्नुपर्ने कसरत कसैलाई वास्ता छैन । 

संघीयतासँगै सबै स्थानीय तहमा स्वास्थ्यमा ठूलै तामझामका साथ एकै पटक सयौँ अस्पतालको उद्घाटन भयो । तर काम कति सुरु भयो होला कति हुँदै होला कति स्थानीय तहले भने अस्पताल सञ्चालनमा लिएर सेवा दिँदै आइरहेका छन् त कतिले जग बसालेर अलपत्र अवस्थामै छोडेका छन् । हाम्रो कर्नालीको अवस्था भने नामको मात्र अस्पताल रहेका छन् हाम्रो प्रदेश दुर्गम र भौगोलिक हिसाबले पिछडिएको स्थानमा रहेकाले जिल्लाका स्थानीय तहमा सञ्चालनमा रहेका अस्पताल डाक्टर नबस्‍ने समस्या बल्झिँदै आएको छ । 

सम्पूर्ण स्थानीय तहमा भूगोलको आधारमा विशेषज्ञसहितको स्वास्थ्य सेवा हुनु हामी कर्नालीबासीको अहिलेको आवश्यकता छ । हामी यो भयो भने कम्तीमा सिटामोल पाउने र बाटोमा जाँदै गर्दा गाडीमा ज्यान  गुमाउन पर्दैनथ्यो कि ? र हाम्रो सुत्केरी महिलाको ज्यान जाने अवस्थाको अन्त हुने थियो । कहिले आउँछ सरकार यो व्यवस्था र कहिले पाउँछौँ हामी कर्नालीबासीले हाम्रो पनि सरकार छ भन्‍ने दिन ?


Author

थप समाचार
x