चाइना जर्नल
चीनको पञ्च वर्षीय योजना नेपालको लागि पनि लाभकारी
विश्वका धेरै मुलुकहरूमा कोभिड-१९ को कहरका कारण उथलपुथल मच्चिरहँदा चीनले महामारीलाई प्रभावकारी ढंगले नियन्त्रणमा लिइसकेको अवस्थामा धेरै मुलुकहरू इर्ष्यालु देखिएका छन् । यस्तै परिस्थिति बीच चीनले यसै वर्ष २०२० मा चीनलाई गरिबीमुक्त गर्ने लक्ष्य पनि पूरा गरेबाट विश्व अझै चकित बनेको छ ।
वर्षारम्भमा देखिएको महामारीले उक्त लक्ष्य भेट्टाउन कठिन हुनसक्ने अनुमानलाई गलत साबित गर्दै चीनले आफ्नो लक्ष्य अनुरूप यसै वर्ष सन् २०२० मै चीनलाई गरिबीमुक्त गरेको छ । साथै यस वर्ष १३औं पञ्च वर्षीय (२०१६-२०२०) योजनाको अन्तिम वर्ष पनि रहेको छ । यसर्थ १४औं पञ्च वर्षीय (२०२१-२०२५) योजनाको तयारी वर्ष हो । चीनले महामारीको प्रभावकारी रुपमा प्रतिकार गरेको अवस्थामा भविष्यको आर्थिक र सामाजिक विकासको नीति तथा योजना बनाउन थालेको छ । हुन त चीनले सन् १९५३ देखि नै हरेक पाँच वर्षमा पञ्च वर्षीय योजनाको तर्जुमा गर्दै आएको छ ।
नयाँ चीनले सन् १९५३ मा पहिलो पञ्च वर्षीय योजनाको कार्यान्वयन गरेको थियो । यस वर्ष १३औँ पञ्च वर्षीय योजना सम्पन्न हुन लागेको छ । यो पाँच वर्षे योजना तथा अवधि चीनको विविध ऐतिहासिक घटनाको व्याख्यालगायत देशको नियमन गर्ने प्रणाली पनि बनेको छ । प्रत्येक पञ्च वर्षीय योजनाले निरन्तर रुपमा विश्वमा विरलै देखिने द्रुत आर्थिक विकास र सामाजिक विकासमा पनि चमत्कार गर्दै आएको छ । यो चीन सम्पन्न र शक्तिशाली बन्दै आएको प्रगतिको रेकर्ड पनि बनेको छ । यस्तैयस्तै रेकर्डबीच अबको १४औं पञ्च वर्षीय योजना निकै महत्वपूर्ण देखिएको छ । यसै वर्ष चौतर्फी रुपमा सम्पन्न समाजको निर्माणको अन्तिम वर्षलाई पूरा गरेपछि शक्तिशाली आधुनिक समाजवादी मुलुकको निर्माणका लागि चीनको पहिलो पञ्च वर्षीय योजना भएकाले त्यसको महत्वपूर्ण अर्थ रहेको छ ।
साथसाथै चीनको विकासका लागि पञ्च वर्षीय योजना चिनियाँ कम्युनिष्ट पार्टीले देशको सुशासन र राजनीतिलाई व्यवस्थित पार्ने महत्वपूर्ण विधि हुनुकासाथै मूल्याङ्कन गर्ने मापदण्ड पनि हो । गत अक्टोबर २६ तारिख बेइजिङमा आयोजित चिनियाँ कम्युनिष्ट पार्टीको १९औं केन्द्रीय समितिको पाँचौँ पूर्ण बैठकमा १४औं पञ्च वर्षीय योजना र सन् २०३५ दीर्घकालीन लक्ष्यलाई निर्धारण गर्ने सुझाव पारित गरिएको छ । सो बैठकमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव सी चिनफिङले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक व्युरोतर्फबाट कार्य प्रतिवेदन प्रस्तुत गर्नुका साथै चिनियाँ कम्युनिष्ट पार्टीद्वारा राजनीतिक अर्थतन्त्र र सामाजिक विकासको १४औं पञ्च वर्षीय योजना र २०३५ दीर्घकालीन लक्ष्यको सुझावबारेमा व्याख्या गरेका थिए ।
४औं पञ्च वर्षीय योजनाका खाकाहरूमा आउने दुई अधिवेशनले लालमोहर लगाउने छ ।
१४औं पञ्च वर्षीय योजनाले चीनको आर्थिक विकास, सुधार र खुलापन, प्रजातान्त्रिक तथा कानूनी निर्माण, पर्यावरणीय निर्माण लगायतका विषयहरुका लागि परिकल्पना तर्जुमा गर्ने छ । १३ औँ पञ्च वर्षीय योजनाका उपलब्धिलाई प्राथमिकतामा राख्दै अर्थतन्त्रलाई स्थिर दिशातर्फ विकसित हुने प्रवृत्तिलाई कायम राखी दृढताकासाथ अघि बढ्दै जाने छ । साथै यसै वर्ष सम्पन्न समाजको निर्माण पूरा गरेपछि १४औँ पञ्च वर्षीय योजना पूर्ण रुपमा शक्तिशाली आधुनिक समाजवादी मुलुकको निर्माणका लागि चीनको नयाँ यात्राको आरम्भ र दोस्रो शताब्दी लक्ष्यतिर अघि बढ्ने पहिलो ५ वर्ष हुनेछ । यो १४औं पञ्च वर्षीय योजनाका खाकाहरूमा आउने दुई अधिवेशनले लालमोहर लगाउने छ ।
१३ औँ पञ्च वर्षीय योजनाको अवधिमा चीनको आर्थिक शक्ति, वैज्ञानिक तथा प्राविधिक शक्ति र राष्ट्रिय शक्ति सबै नै नयाँ उचाइमा पुगेको छ । यस क्रममा चीनले विविध समस्या र अन्तर्विरोधको प्रभावकारी रुपमा समाधान गर्नुका साथै धीरताका साथ बाह्य जगतको जटिल वातावरण र बढ्दै आएको चुनौतीको सामना गरेको छ ।
विशेषतः महाव्याधिको वर्ष सन् २०२० मा पनि चीनले कोभिड-१९ महामारीलाई नियन्त्रण गर्नुका साथै विश्व अर्थतन्त्रमा सकारात्मक तथा जीवन्त शक्ति थपिदिएको छ । यद्यपि, आजको परिस्थितिमा चीन सामु पर्याप्त निहित शक्तिसँगै अवसर र जटिल तथा कठिन अवस्था पनि देखिएको छ । तापनि चीनको यस्तो सर्वतोमुखी विकासका योजनाबाट समग्र विश्वलाई नै फाइदा पुग्ने छ साथै विश्वले फाइदा लिने ठाउँहरू पनि प्रशस्त उपलब्ध छन् । सम्पन्न समाजको निर्माणलाई पूरा गर्दै चीन अब चौतर्फी रूपमा आधुनिक समाजवाद देशको निर्माण गर्ने चरणमा प्रवेश गरेको छ । चीनसँगका गरिबी निवारण, पूर्वाधार प्रबन्धको निर्माण, पर्यटन विकास आदि क्षेत्रका अनुभवहरू नेपालको अर्थतन्त्र तथा समग्र विकासका लागि वरदान साबित हुने छ ।
हाल नेपालमा भविष्यमा पूर्वाधार निर्माणका लागि आर्थिक सर्वेक्षण गर्ने, विकासका कार्यक्रमहरू सफलतापूर्वक कार्यान्वयन गर्ने तथा जनताको जीवनस्तर उकास्ने उद्देश्यका साथ १५औं पञ्च वर्षीय योजना (२०७६-२०८०) जारी छ । वि.स. २१०० सम्म नेपाललाई उच्च आय भएको मुलुकमा पुर्याई समृद्ध नेपाल, सुखी नेपालीको नारालाई पूर्णतया अनुभव गराउने दीर्घकालीन सोचको राष्ट्रिय लक्ष्यसहित यो योजना लागू गरिएको छ । नेपाली पञ्च वर्षीय योजनाका उद्देश्यलाई पूरा गर्न चिनियाँ पञ्च वर्षीय योजनाबाट फाइदा लिने पर्याप्त आधारहरू उपलब्ध छन् ।
चीनले सन् १९७८ मा चीनमा सुधार तथा खुलापन लागू भएदेखि हालसम्म ८० करोड चिनियाँ जनतालाई गरिबीमुक्त गरेका छन् ।
यसै प्रसङ्गमा चीनको सिआन मेडिकल यूनिभर्सिटीमातहत चाइना नेपाल फ्रेण्डसीप मेडिकल रिसर्च सेन्टरका निर्देशक वैज्ञानिक डा. राजीवकुमार झाले उक्त योजना वा बैठकले विज्ञान तथा प्रविधिलाई विशेष जोड दिएको र चिनियाँ परम्परागत औषधि तथा पश्चिमा औषधिलाई सँगसँगै लाने विषयले नेपाल पनि समेटिएको बताएका छन् । गत वर्ष अक्टुबरमा दुई देशबीच भएको सम्झौतामा नेपालको जडीबुटी क्षेत्रको प्रवर्द्धन गर्ने बुँदा पनि छ । डाक्टर झाले यसले नेपाललाई फाइदा पुग्ने ठोकुवा गर्छन् ।
यसै गरी विश्वलाई गरिबी निवारणमा चकित तुल्याएको चीनले सन् १९७८ मा चीनमा सुधार तथा खुलापन लागू भएदेखि हालसम्म ८० करोड चिनियाँ जनतालाई गरिबीमुक्त गरेका छन् । एक तथ्याङ्क अनुसार, सन् २०१२ देखि २.२४ सेकेण्डमा एक चिनियाँ गरिबीमुक्त भएको छ । यो अनुभव र यो सिकाइ नेपाललाई टड्कारो खाँचो छ । नेपालले यतातिर सहकार्य गर्न सकेमा यथाशिघ्र गरिबी निवारणमा फड्को मार्न सक्ने छ । यस बाहेक, चीनको नवीन रेशममार्ग बेल्ट एण्ड रोडमा आवद्ध भएदेखि कनेक्टिभिटी, पूर्वाधार निर्माण र विपतपछिको पुनर्निर्माण, व्यापार तथा लगानी र दुई देशको जनता जनताबीचको आदान-प्रदानमा महत्त्वपूर्ण प्रगतिहरु भइरहेका छन् ।
बेल्ट एण्ड रोडको सहयोगमा ठूलो परियोजनाको निर्माण हुने नै छ साथै चीन नेपाल अन्तरदेशीय रेलमार्गलाई नेपालसँगै चीनले पनि उच्च ध्यान दिएको छ । दुई देशले सम्भाव्यता अध्ययन गर्दै परियोजनालाई अघि बढाइरहेका पनि छन् । यी दुई मुलुकले पारस्परिक सम्पर्क, अन्तर्राष्ट्रिय पूर्वाधार प्रबन्धको निर्माण, अन्तरसीमा ढुवानी र अन्तरसीमा आर्थिक सहयोगात्मक क्षेत्रको निर्माण, बन्दरगाह, राजमार्ग, रेलमार्ग, हवाइमार्ग, सञ्चार आदि क्षेत्रको निर्माणमा तीव्रता दिनुपर्छ । हिमालय वारपार गर्ने पारस्परिक सम्पर्क सञ्जालको निर्माणबाट अर्थतन्त्र तथा व्यापार, ऊर्जास्रोत, लगानी, कृषि उत्पादन आदि क्षेत्रको सहयोगलाई मजबुत बनाउने छ ।
गत वर्ष अक्टुबरमा चिनियाँ राष्ट्रपति सी चिनफिङद्वारा गरिएको नेपाल भ्रमणले दुई मुलुकको सम्बन्धको विकाससँगै समृद्धितर्फ उन्मुख मैत्रीपूर्ण रणनैतिक सहयोगात्मक साझेदारी सम्बन्ध उकासेको छ र हिमालय वारपार हुने मित्रतालाई नयाँ उचाइमा पुर्याएको छ । नदी र हिमालले जोडेको युगौंयुगदेखिको दुई देशबीचको सम्बन्ध निरन्तर रुपमा गहन हुँदै आएको छ । साथै दौत्य सम्बन्ध स्थापना भएको ६५ वर्षयता दुवै पक्षका उच्च तहदेखि जनस्तरसम्ममा आदान-प्रदान हुँदै आएको छ ।
बेल्ट एण्ड रोडको सहयोगमा ठूलो परियोजनाको निर्माण हुने नै छ साथै चीन नेपाल अन्तरदेशीय रेलमार्गलाई नेपालसँगै चीनले पनि उच्च ध्यान दिएको छ ।
हाल नेपालमा चीनको लगानी विदेशी मुलुकहरूले लगाएको लगानी मध्ये सबैभन्दा बढी छ । चिनियाँ परियोजनाहरुले नेपालको आर्थिक तथा सामाजिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याएका छन् । साथै चीन नेपालको दोस्रो व्यापारिक साझेदार मुलुकको रूपमा रहेको छ । सन् २०१९ मा चीन र नेपालबीचको व्यापार परिमाण १ अर्ब ५२ करोड अमेरिकी डलर पुगेको छ जुन सन् २०१८ को तुलनामा ३७.९ प्रतिशतले वृद्धि भएको छ । यसै गरी, सन् २०१९ मा १ लाख ७० हजारभन्ढा बढी चिनियाँ पर्यटकले नेपाल घुमिदिँदा चीन नेपालको दोस्रो ठूलो पर्यटन बजार पनि बनेको छ ।
यसै बीच हालै मात्र चीन र नेपालले सगरमाथाको पछिल्लो मापनबाट प्राप्त नयाँ उचाइको संयुक्त रूपमा घोषणा गरी मित्रवत् सम्बन्धलाई सगरमाथा सरह पृथ्वीकै सर्वोच्च उचाइमा पुर्याएका छन् । साथै कोरोना महामारीको अवस्थामा पनि चीनले नेपाललाई उच्च प्राथमिकतामा राखेको सर्वविदितै छ । यसरी चीनको सदासयता तथा चीनको अनुभव र सहयोगबाट नेपाललाई पनि चमात्कारिक रूपमा फड्को मार्ने अवसरहरू प्रशस्तै छन् । नेपालले इच्छाशक्ति मात्र देखाउनु पर्छ । नेपाललाई कुनै तन्त्रको आवश्यक छ भने त्यो सबल अर्थतन्त्र हो । अर्थतन्त्र सुदृढ भइसाथ देशले काँचुली फेर्ने छ, विमत हुनन् कोही ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया