नेपाली भाषाले पाएको ‘आर्सिबाद’ !
छोरी वसुधाले कालीमाटीको ट्राफिक जाममा परेको बेला पछाडिबाट भनिन्, ‘बाबा ! त्यो साइनबोर्डमा ‘दाजुभाइ’ लेखेको हेर्नुस् त ?’
‘खोइ कता ?’ मैले दायाँ–बायाँ हेलमेटसहितको मुन्टो घुमाउँदै सोधेँ ।
मैले नदेखेकाले वसुधाले चोरी औँलाले देखाउँदै भनिन्, ‘अगाडि हेर्नुस् त ऊ त्यहाँ ।’
ए ! बल्ल पो देखेँ । नभन्दै ‘दाजुभाई फेन्सी पसल’ रहेछ ।
एक मनले खुसी लाग्यो । सात कक्षामा पढ्ने छोरीले साइनबोर्डमा लेखिएका अक्षर पढ्ने बानी अहिलेसम्म गरिरहेकीले ।
जब वसुधाले अक्षर चिन्न र लेख्न थालेपछि बाहिर कतै घुमाउन लैजाँदा साइनबोर्डमा के लेखेको छ भनेर सोध्दै हिँडाउथेँ । सग्ला अक्षर सोचेर भन्थिन् । जब आकार लागेका शब्द पढ्न र लेख्न थालिन् बिस्तारै ती शब्दलाई पनि उच्चारण गर्न थाल्थिन् । यही बानी अहिले सात कक्षा पढ्दासम्म गरिरहेकीले मनमनै खुसी भएँ ।
ट्राफिक जाम खुल्यो, अगाडि बढ्दै गयौँ । फेरि अर्को साइनबोर्डमा भएको नाम वाचन गरेर सुनाइन्–‘बाबा ! ऊ त्यहाँ आशीर्वाद खाजा घर ।’ त्यस साइनबोर्डमा लेखिएको रहेछ, ‘आर्सिबाद खाजा घर ।’
मैले छोराछोरीहरूलाई कहिले पनि तोते बोली सिकाइनँ र उनीहरूको अगाडि तोते बोलीका शब्दहरू पनि उच्चारण गरिनँ । शुद्धसँग नेपाली भाषा बोल्न सिकाएँ । जब छोराछोरीहरूले लेख्न जान्न थालेपछि ह्रस्व र दीर्घलाई निकै ख्याल गरी गरी सिकाउन थालेँ ।
शुद्ध –अशुद्धको विषयमा मेरा एक शिक्षक मित्रले घतलाग्दो कुरा सुनाएका थिए । त्यो थियो— सात कक्षाको परीक्षाको प्रश्नपत्रमा तलका अशुद्ध शब्दलाई शुद्ध गरी लेख्नुहोस् । एक विद्यार्थीले उत्तरपुस्तिकामा लेखिएको अशुद्ध शब्दलाई ती शिक्षकले विद्यार्थीलाई ‘यो त शुद्ध भएन नि’ भन्दा त्यो विद्यार्थीले जवाफ यसरी दिएछन्, ‘हाम्रो घर अगाडिको होटलको नाम यस्तै गरी लेखेको छ, ‘सितापाईला खाजा घर ।’
छोरी वसुधाले यी दुई साइनबोर्डमा भएका नेपाली शब्दको लेखाइबारे प्रश्न उठाएपछि कलेजमा नेपाली पढाउने गुरुले भनेको झट्ट याद आयो । दाजुभाई लेखिएकोमा ‘दाजु भाले भएकाले ह्रस्व भए तर भाई चाहिँ कहिलेदेखि पोथी भएर दीर्घ भएछन् ?’ गुरुले यसरी सुनाउँदा कक्षाकोठा नै हाँसोले थर्किएको थियो । उहाँले अङ्ग्रेजी शब्द कतै अशुद्ध भेटिँदैन तर नेपाली शब्द नेपाल सरकारको कार्यालयमा होस् वा टेलिभिजनका समाचारका हाइलाइट्स्मा प्रशस्त अशुद्ध भेटिन्छन् भन्नुभएको यथार्थको याद आयो । यसतर्फ कसैको ध्यान नपुगेको हो वा पुगेर पनि केही गर्न नसकिएको हो ? केही बुझ्न नै सकिएन ।
कोभिड–१९ ले गर्दा लकडाउन भएको बखतमा धेरैजसो विद्यालयका सूचना पढ्ने अवसर पनि मिल्यो । कतिपय विद्यालयको लेटरप्याडमा नेपाली शब्द वर्षाैंदेखि अशुद्ध छापिएको देखियो । कतिपय विद्यालयको सूचनाले भरिएको लेटरप्याडमा बसद्यार्थी, बिद्यालय जस्ता अशुद्ध शब्द लेखिएको पनि पाइयो । यसरी सरस्वतीको मन्दिरबाट नै अशुद्ध ज्ञान प्रवाह हुँदा के सन्देश जान्छ ? यो पनि गहन र विचारणीय छ ।
नयाँ वर्ष, चाडपर्व, जन्मदिनमा विभिन्न व्यक्ति, सङ्घ–संस्था र राजनैतिक दलद्वारा दिइएका शुभकामना सन्देशमा नेपाली शब्द अशुद्ध भेटिन्छन् । यस्तै अशुद्ध भाषा सामाजिक सञ्जालमा रङ्गिरहेको हुन्छ । यो सब देख्दा मन खिन्न भएर आउँछ । विभिन्न सभा, समारोह, गोष्ठीहरूमा पनि कतिपय ठाउँमा नेपाली शब्दको अशुद्ध लेखाइको ब्यानरले स्थान पाइरहेको देखिन्छ । कसैले औँल्याइदिए भने पनि कति सहजै हाम्रो जवाफ दिने बानी नै परेको छ— त्यो हो ‘प्रिन्ट मिस्टेक’ ।
आफ्नो राष्ट्रको पहिचान, आफ्नो संस्कृति, परम्परा, रीतिरिवाज आदिसँगै भाषा पनि एक हो । भाषालाई सही, शुद्धसँग लेख्नु र प्रयोग गर्नु राष्ट्रको नागरिकको पनि महत्वपूर्ण भूमिका रहन्छ । नेपाली भाषाको प्रयोग गर्दा शुद्धतालाई पहिलो प्राथमिकता दिएर मात्र प्रयोग गर्नु र गराउनुपर्छ भनेर राज्य तहबाट नै यसको नीति नियम बनाउने हो भने सायद सरकारी कार्यालय होस् वा विद्यालय अथवा विभिन्न सङ्घ संस्थाहरूमा रु.८७५ मूल्य पर्ने एक थान प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित नेपाली बृहत् शब्दकोशले महत्व पाउने थियो ।
त्यो शब्दकोश हेर्न पाना पल्टाएर समय खर्चिनु नै नपर्ने गरी प्रविधिले अहिले त सजिलो बनाइदिएको छ, सबैले आफ्नो मोबाइलमा नेपाली बृहत् शब्दकोश डाउनलोड गरी हेर्न सकिन्छ । त्यति मात्र नभई साइनबोर्डमा नेपाली शब्दहरू लेख्दा शुद्ध हुनुपर्छ भनेर राज्य तहबाट नै यसलाई अनिवार्य नै गराउने हो भने नेपालभित्र अशुद्ध रूपमा रोइरहेका नेपाली शब्द फेरि मुस्कुराउने थिए र बल्ल नेपाली भाषाले आफ्नो स्वाभिमान र पहिचान पाउँथ्यो ।
आफूले विद्यालयमा पढेका शुद्ध नेपाली भाषाअनुसारका बाहिरी सूचना, टेलिभिजनका हाइलाइट्स्मा प्रयोग भएका नेपाली शब्द र साइनबोर्डमा शुद्धताले स्थान पाउने पद्धतिको विकास भएमा छोरी वसुधाजस्ता कोही पनि नेपाली शब्दप्रति अलमलिनु पर्दैनथ्यो । (अध्यापन, इचङ्गु नारायण आधारभूत विद्यालय ।)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया