विचार

राजा महेन्द्रको चिठी नेहरूलाई

पुस १ प्रकरणपछि तुलसी गिरीको त्यो दिल्ली उडान

हालैको कदम चाल्नुपर्नाको कारण देशलाई अराजकता र उत्पातबाट बचाउनु हो

सन्तोष खडेरी |
पुस ७, २०७७ मगलवार १३:३ बजे

२०१७ पुस १ (१९६० डिसेम्बर १५) मा तत्कालीन राजा महेन्द्रले प्रधानमन्त्री बीपी कोइराला नेतृत्वको सरकारलाई सैन्‍य बलमार्फत अपदस्थ गरी मुलुकको शासन आफ्नो हातमा लिए । नेपाल अधिराज्यको संविधान २०१५ मा रहेको धारा ५५ को संकटकालीन अधिकारलाई प्रयोग गर्दै उनले संसद् विघटन, मौलिक हकको उन्‍मूलन, राजनीतिक दलको स्वतन्त्रता र संविधानलाई एकै झट्कामा अन्त्य गरिदिए ।

शासन सत्ता आफ्नो हातमा लिएको करिब १२ दिनपछि १२ पुस (२६ डिसेम्बर) को शाही घोषणामार्फत राजाले आफ्नै अध्यक्षतामा मन्त्रिपरिषद् गठन गरे । ५ मन्त्री र ४ सहायक मन्त्री सम्मिलित ९ सदस्यीय मन्त्रिपरिषद्मा डा. तुलसी गिरी सबैभन्दा वरिष्ठ मन्त्री भए । (नेपाल राजपत्र १२ पुस, २०१७)


गिरीलाई परराष्ट्र, रक्षा, यातायात, सञ्‍चार, ऊर्जा, निर्माण, सिँचाइसहित राजदरबार मामिलासम्बन्धी मन्त्रालयको जिम्मेवारी तोकिएको थियो । त्यस्तै अन्य मन्त्रीहरूमध्ये विश्वबन्धु थापालाई गृह, स्थानीय स्वायत्त शासन तथा विकास मन्त्रालय, हृषीकेश शाहलाई अर्थ एवं योजना मामिला मन्त्रालय, सूर्यबहादुर थापालाई कृषि, वन तथा उद्योग वाणिज्य मन्त्रालय र अनिरुध्दप्रसाद सिंहलाई शिक्षा, स्वास्थ्य, कानुन तथा न्याय मन्त्रालयको जिम्मेवारी दिइएको थियो । त्यस्तै सहायक मन्त्रीहरूमध्ये नागेश्वरप्रसाद सिंहलाई हृषीकेश शाहका साथ, खगेन्द्रजंग गुरुङलाई सूर्यबहादुर थापाका साथ, काजीमान लिम्बूलाई विश्वबन्धु थापाका साथ र भुवनलाल प्रधानलाई अनिरुध्दप्रसाद सिंहका साथमा संलग्‍न हुने जिम्मेवारी दिइएको थियो । 

राजा महेन्द्रले आफ्ना मन्त्रीलाई दिल्ली पठाउनुको खास कारण थियो भारतीय प्रधानमन्त्री नेहरुसँग भेट गरी नेपालको पछिल्लो अवस्थाको जानकारी गराउनु र भारतको समर्थन हासिल गर्नु ।

माथिका पाँच जना मन्त्रीमध्ये गिरी, शाह र थापा नेपाली कांग्रेसका महामन्त्री भइसकेका व्यक्ति थिए । गिरी बीपी कोइराला नेतृत्वको सरकारमा पहिले सहायकमन्त्री र पछि परराष्ट्रमन्त्री थिए जसले केही समय पहिले मात्रै राजीनामा गरेका थिए । शाह अमेरिका र संयुक्त राष्ट्रका लागि नेपालका राजदूत थिए । विश्वबन्धु थापा पुस १ को घटना हुँदा अमेरिकामा भएको भए पनि उनी संसद्मा नेपाली कांग्रेसका सचेतक थिए । कुनै समय ती तिनै जना बीपी कोइरालाका सारथि थिए ।

अर्को दिन १६ डिसेम्बरमा नेहरु भारतको संसद्मा बोल्दै राजाको घोषणासम्बन्धी खबर हामीकहाँ आउँदा हामीलाई कुनै आश्‍चर्य नै भएन भनी बताएका थिए । केही महिनादेखि हामीले पर्याप्त संकेत पाइरहेका थियौं कि राजाले कुनै कदम चाल्न सक्छन् भन्ने । यो कदम लोकतन्त्रमाथि ठूलो धक्का हो भनी उनले टिप्पणी गरे । साथै उनले सदनलाई जानकारी दिन आफूसँग थप कुनै सूचना नै नभएको जनाएका थिए । (दी इन्डियन एक्सप्रेस, १७ डिसेम्बर १९६०)

दिल्लीलाई दाहिने नपारी सत्ता लिइसकेको स्थितिमा झन् नेपालमा शासन गर्न सकिँदैन भन्ने तथ्यलाई राम्रोसँग बुझेका राजा महेन्द्रले नेहरुसँग सम्बन्ध मजबुत पार्न अर्को दिनदेखि नै कदम उठाइहाले । राजाले आफूले शासन सत्ता हत्याएको दोस्रो दिन १६ डिसेम्बर (२ पुस) को मितिमा भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुलाई आफ्नो अघिल्लो दिन पुस १ को शाही घोषणालाई समेत संलग्न गरी एउटा पत्र पठाएका थिए । विशेष सन्देशवाहकमार्फत दिल्ली पुर्याइएको उक्त पत्र १८ डिसेम्बर बेलुकी मात्र नेहरुले प्राप्त गरेका थिए । 

'मेरो विचारमा सदैव नेपाललाई हुने कुनै पनि क्षति भारतको हितमा हुनेछैन । मैले गम्भीरतापूर्वक चालेको कदमको सच्चाइबारे सायद समयले मात्र बताउनेछ ,' महेन्द्र 

अर्को दिन १९ डिसेम्बरमा उक्त पत्रबारे प्रेसले जानकारी पाएका थिए । २० डिसेम्बरको अंकमा भारतका प्रमुखजसो सबै अखबारहरूले राजा महेन्द्रले नेहरुलाई पठाएको पत्रबारे खबर छापेका थिए । जसमा राजाले शासन सत्ता हात लिनुपर्नाको कारणसहित नेपालका राजा महेन्द्रले नेपालको हितमा चालेको कदमका कारण नेपाल-भारत सम्बन्धमा केही असर नपर्ने विषयपत्रमा उल्लेख गरेका छन् भनी समाचारमा उल्लेख गरेका थिए ।

साथै सोही समाचारमा नेपालस्थित भारतीय राजदूत हरिश्वर दयालले नेपालका राजालाई हालसम्म भेट गर्न नपाएको र राजासँगको भेटको पर्खाइमा रहेकाले भेटपछि भारतको विदेश मन्त्रालयलाई औपचारिक रूपमा रिपोर्टिङ गर्नेछन् भन्ने उल्लेख थियो । त्यस्तै रसियन र चिनियाँ अधिकारीहरूको नेपालमा उपस्थिति छ भन्ने सुनिएको समेत खबरमा उल्लेख गरिएको थियो । (दी इन्डियन एक्स्प्रेस, २० डिसेम्बर १९६०)

राजा महेन्द्रले नेहरुलाई १६ डिसेम्बरका दिन पठाएको उक्त पत्र जवाहरलाल नेहरुका सबै भाषण र पत्र व्यवहारलाई समेटेर प्रकाशित गरेको ‘सेलेक्टेड वक्र्स अफ जवाहरलाल नेहरु’को ६५औं खण्डमा छापिएको छ । 

उक्त पत्रको अनुवाद यस्तो छ: 

मेरा प्रिय मित्र,
हामीबीच हाम्रो देशको अवस्थाबारे विभिन्न अवसरमा भएका छलफल सम्झिँदा मलाई आनन्द महसुस हुन्छ । मैले यो अवसर तपाईंलाई यो सूचित गर्नका लागि उपयोग गर्दछु कि मैले हालैको कदम चाल्नुपर्नाको कारण देशलाई अराजकता र उत्पातबाट बचाउन हो ।

वर्तमान कदम बाँकी सम्पूर्ण प्रयासहरू असफल भएपछि अवलम्बन गरिएको हो । शाही घोषणाको प्रतिलिपि (तपाईंलाई अध्ययनका लागि भनेर) यसै पत्रमा समाविष्ट गरेको छु । साथै महामहिम राष्ट्रपति डा. राजेन्द्र प्रसादलाई सोहीअनुसार जानकारी गराउन सादर आग्रह गर्दछु ।

मेरो विचारमा सदैव नेपाललाई हुने कुनै पनि क्षति भारतको हितमा हुनेछैन । मैले गम्भीरतापूर्वक चालेको कदमको सच्चाइबारे सायद समयले मात्र बताउनेछ । मलाई विश्वास छ, दुई देशबीचको मित्रता दिनप्रतिदिन बढ्नेछ र हाम्रो आपसी समझदारी एकअर्कालाई सहयोग हुने नै छ । तपाईंलाई नेपालभरिको अवस्था सामान्य रहेको थाहा पाउँदा प्रसन्‍नता मिल्नेछ । यो भन्दा बेसी, मेरो विचारमा तपाईंका राजदूतबाट जानकारी पाउनु हुने नै छ ।

शुभेच्छा र सम्मानसहित,
तपाईंको (अति) भवदीय
महेन्द्र,

(सेलेक्टेड वर्क्स अफ जवाहरलाल नेहरु, दोस्रो संस्करणको खण्ड ६५ पृष्ठ ७५१ नेपाली अनुवाद: (शंकर तिवारी, महेन्द्रको चिठी नेहरुलाई हिमाल साप्ताहिक २-८ असोज २०७३)

राजा महेन्द्रले सत्ता हत्याएको ठ्याक्कै एक महिनापछि १७ जनवरीको साँझ परराष्ट्र एवं राजदरबार मामिलामन्त्री डा. तुलसी गिरी आगामी १९ जनवरी १९६१ मा दिल्ली जानेछन् भन्ने समाचार सार्वजनिक भयो । सन्दर्भ थियो बिदामा नेपाल आएका बेलायतमा अध्ययनरत १६ वर्षीय तत्कालीन युवराज वीरेन्द्रको दिल्ली हुँदै लन्डन फिर्तीको कार्यतालिका ।

युवराजलाई दिल्लीसम्म छोड्न मन्त्री गिरी आफैं दिल्ली जान लागेको त केवल बहाना मात्र थियो । राजा महेन्द्रले आफ्ना मन्त्रीलाई दिल्ली पठाउनुको खास कारण थियो भारतीय प्रधानमन्त्री नेहरुसँग भेट गरी नेपालको पछिल्लो अवस्थाको जानकारी गराउनु र भारतको समर्थन हासिल गर्नु । सीधा भेटका गर्न दिल्ली गएको नभनी बहाना बनाएर जानु पनि तत्कालीन परिस्थितिको उपज हुँदो हो ।

१९ जनवरी १९६१ को दिउँसो डा. तुलसी गिरी दिल्ली ओर्लिएका थिए । दिल्लीमा उनले सञ्‍चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै भारतका प्रधानमन्त्री नेहरुले भारतीय भूमिबाट नेपालविरुध्द कुनै पनि किसिमको गतिविधि हुन दिनेछन् भन्ने आफूले नसोचेको बताउँदै त्यस्तो किसिमको गतिविधि नेपाल र भारत दुवैको हितमा नहुने बताएका थिए ।

साथै नेपालका अखबारहरूले लगातार भारतविरुध्दका समाचार सार्वजनिक गरिरहेका छन् भन्ने प्रश्नको जवाफमा उनले नेपालका अखबारहरूले नेपाल-भारत सम्बन्धमा असर पुर्याउने गरी कुनै पनि किसिमको समाचार प्रकाशित नगरेको उल्लेख गरेका थिए । त्यस्तै नेपालमा कोइराला सरकारलाई राजाले अपदस्थ गरेको घटनालाई नेहरुले लोकतन्त्रमाथि ठूलो धक्काका रूपमा चित्रण गरेका छन् ।

राजाले चालेको हालैको कदमबाट नेहरु सन्तुष्ट छन् वा छैनन् भनी आफूले महसुस गर्न नसकेको बताउँदै नेहरुसँगको आफ्नो भेटका क्रममा उनले व्यक्त गरेको उनको कथन राजासमक्ष जाहेर गर्ने बताएका थिए ।

त्यसमा यहाँको भनाइ के छ भनी सोधिएको प्रश्नमा उनले त्यो नेहरूको आफ्नो दृष्टिकोण भएको र त्यसमा आफूले कुनै टिप्पणी नगर्ने जवाफ दिएका थिए । साथै उनले चीनसँग भएको नेपालको सीमा सम्झौताको काम सन्तोषजनक रूपमा अगाडि बढिरहेको बताएका थिए । (दी इन्डियन एक्स्प्रेस २१, जनवरी १९६१)

अर्को दिन २० जनवरीमा डा. गिरीले भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुसँग प्रधानमन्त्री निवासमा दुई घण्टासम्म भेटवार्ता गरे । त्यसलगत्तै नेपाली दूतावास पुगेका गिरीले त्यहाँ पत्रकारहरूलाई सम्बोधन गर्दै नेहरुसँगको आफ्नो भेट सन्तोषजनक रहेको प्रतिक्रिया दिएका थिए । साथै भेटबाट राजाले चालेको हालैको कदमबाट नेहरु सन्तुष्ट छन् वा छैनन् भनी आफूले महसुस गर्न नसकेको बताउँदै नेहरुसँगको आफ्नो भेटका क्रममा उनले व्यक्त गरेको उनको कथन राजासमक्ष जाहेर गर्ने बताएका थिए ।

साथै त्यहाँका स्थानीय अखबारले डा. गिरीले नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट दुवै पार्टीका ठूला नेताहरू भारतमा रहेकाले भारतीय भूमिबाट हुन सक्ने नेपालविरुध्द गतिविधिहरू हुन सक्नेप्रति ध्यानाकर्षण गराउँदै सिमाना र सुरक्षाप्रति चासो व्यक्त गरेको भनी उल्लेख गरेका थिए । साथै गिरीले राजाले चालेको कदमबाट नेपाली जनता सन्तुष्ट रहेकाले नेपाल-भारत सम्बन्धमा कुनै असर नपर्ने विषयमा समेत नेहरुलाई बताएको हुन सक्ने उल्लेख गरेका थिए । २१ जनवरीका दिन गिरी नेपाल फर्किएका थिए । (दी इन्डियन एक्स्प्रेस, २१ जनवरी १९६१)

डा. गिरीले दिल्लीमा नेहरुसँगको भेटलाई सन्तोषजनक भन्ने प्रतिक्रिया दिएर नेपाल फर्किएको भए पनि उक्त भेटबाट नेहरु सन्तुष्ट हुन सकेनन् भन्ने समाचार काठमाडौंका स्थानीय अखबारहरूले छापेका थिए । भारतको अखबार दी इन्डियन एक्सप्रेसले २५ जनवरीको आफ्नो अंकमा नेपालको स्थानीय अखबार मदरल्यान्डलाई उद्धृत गर्दै गिरीसँगको भेटबाट नेहरु सन्तुष्ट नरहेको भन्ने खबर छापेको थियो ।

डा. गिरीले नेहरूसँगको भेटमा उनलाई नेपालको अवस्थाको धरातलीय जानकारी गराएनन् ।

डा. गिरी दिल्लीमा भेट गरी नेपाल फर्किसकेको भए पनि राजाको कदमलाई नेहरुले समर्थन गर्न तयार भएनन् । नेपाल र भारतका बीचमा अझै धेरै समझदारी बन्न बाँकी नै छ । डा. गिरीले नेहरूसँगको भेटमा उनलाई नेपालको अवस्थाको धरातलीय जानकारी गराएनन् । नेहरुले डा. गिरीसँग सबैलाई साथमा लिएर प्रजातान्त्रिक व्यवस्था पुनःस्थापित गर्न राजालाई मनाउन आग्रह गरेको बुझिएको छ । नेहरु नेपालमा विकसित पछिल्लो घटनाबाट कत्ति पनि सन्तुष्ट छैनन् त्यस्तै नेहरु र गिरी दुई मुलुकबीच देखिएको पछिल्लो अवरोधलाई चिर्दै अगाडि बढ्न सहमत भएका छन् ।  (दी इन्डियन एक्सप्रेस २१, जनवरी १९६१)

राजाले चालेको पुस १ को कदमपछि पनि त्यतिबेला नेहरुले नेपालमा प्रजातान्त्रिक व्यवस्था पुनःस्थापना गर्न डा. तुलसी गिरीमार्फत समेत राजालाई आग्रह गरिरहेका थिए । यही व्यहोराको खबर त्यतिबेला भारतीय र नेपाली सञ्चारमाध्यमले छापिरहेका थिए ।

यसलाई अन्य तथ्यले पुष्टि गर्न नसके पनि हृषीकेश शाह दिल्ली भ्रमणमा जाँदा उनलाई नेहरुले फगत बीपीलाई मात्र निकाल्नु भनेको किन संसद् नै भंग गरेको भनेर गरिएको प्रश्नलाई समेत एकैसाथ राखेर हेर्ने हो भने नेहरु प्रधानमन्त्री हटाउने कुरामा सहमत तर संसद् नै भंग गरेर प्रजातान्त्रिक व्यवस्थाको नामोनिशान मास्ने विषयमा भने सहमत थिएनन् कि भन्ने देखिन्छ ।

नेपाल र भारतबीच त्यसपछिका दिनमा त्यति राम्रो सम्बन्ध देखिएन । सन् १९६२ को मध्यतिर समस्या झनै बढेर गएको थियो । त्यति नै बेला छोटो समय परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेका हृषीकेश शाह जो आम सञ्चारमाध्यममा भारत मामिलामा उदार मानिन्थे उनलाई हटाएर आम सञ्चारमाध्यममा भारत मामिलामा कठोर मानिएका डा. तुलसी गिरीलाई परराष्ट्र मन्त्री बनाएर समेत भारतलाई चिढ्याएका थिए । राजा महेन्द्रलाई भारतसँग सम्बन्ध सुमधुर बनाउने अवसर भारत चीन युध्दले जुराइदियो ।

पालम एअरपोर्टमा राजालाई स्वागत गर्न राष्ट्रपति डा. राधाकृष्णन, उपराष्ट्रपति डा. जाकिर हुसेन र प्रधानमन्त्री नेहरु मन्त्रिपरिषद्का अन्य सदस्यसाथ उपस्थित भए ।

सोही वर्षको अन्त्यतिर भएको भारत–चीनबीचको युध्दले विकसित परिस्थितिमाझ भारत र नेपालको सम्बन्धमा सुधार आयो । सन् १९६३ को अगस्ट अन्त्यमा भारतले रातो कार्पेट बिछ्याएर राजा महेन्द्रलाई दिल्लीमा स्वागत गर्र्यो । पालम एअरपोर्टमा राजालाई स्वागत गर्न राष्ट्रपति डा. राधाकृष्णन, उपराष्ट्रपति डा. जाकिर हुसेन र प्रधानमन्त्री नेहरु मन्त्रिपरिषद्का अन्य सदस्यसाथ उपस्थित भए ।

भारतस्थित नेपाली राजदूत सरदार यदुनाथ खनाल र नेपालका परराष्ट्र सचिव पदमबहादुर खत्रीजस्ता कूटनीतिज्ञले समेत भ्रमणलाई उपलब्धिपूर्ण बनाउन मद्दत गरे । यता नेपालमा मुलुकी ऐन २०२० जारी गरी त्यसबाट छुवाछूत, बहुविवाहलगायतका अन्य केही सुधारको कागजी थालनी थालेका राजाको कदमलाई भारतका राष्ट्रपति डा. राधाकृष्णनजस्ता विद्वान्ले आफ्नो सम्बोधनमार्फत छुवाछूत र विभेदरहित समाजका असल निर्माताका रूपमा राजा महेन्द्रलाई प्रस्तुत गरिदिएर सम्बन्ध सुधारको कोसिस गरे । त्यस्तै भ्रमण दलमा सहभागी मन्त्रिपरिषद् अध्यक्ष डा. तुलसी गिरीले इन्डिया इन्टरनेसनल सेन्टरमा हिन्दी भाषामा नै सार्वजनिक सम्बोधन गरी भारतीय नागरिकको मन जित्ने कोसिस गरेका थिए ।


Author

सन्तोष खडेरी

इकागजका अबुधाबीस्थित टिप्पणीकार खडेरी नेपालसम्बन्धी दुर्लभ दस्तावेज संकलन र विश्लेषणका लागि परिचित छन् ।


थप समाचार
x