विचार

विचार

ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, प्रतिगामी र स्वेच्छाचारी

नारायणकाजी श्रेष्ठ |
पुस ७, २०७७ मंगलबार १४:५२ बजे

जनवादी क्रान्ति सम्पन्‍न भइसकेपछि मुलुकका दुई ठूला कम्युनिष्ट पार्टीहरूले आपसमा एकताबद्ध भई तात्कालिक रूपमा समाजिक न्यायसहितको समृद्धिको लक्ष्य हासिल गर्ने र समाजवादको आधार तयार पार्ने सोचसहित तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकता भएको थियो । मुलुकमा समाजवादी क्रान्ति सम्पन्‍न गरेर समाजवादी नेपाल निर्माण गर्ने ऐतिहासिक कार्यभारलाई केन्द्रमा राखेर यो पहल अघि बढेको थियो ।

फलस्वरुप आम जनताले पार्टी एकताको निर्णयलाई अनुमोदन गरेर संघीय प्रतिनिधिसभामा झण्डै दुई तिहाइ नजिक बहुमत दिए भने प्रदेशसभामा पनि नेकपाको सुविधाजनक बहुमत रह्यो । सातमध्ये ६ प्रदेशमा नेकपाको नेतृत्वमा सरकार गठन भए ।


एकीकृत पार्टीका सामु पार्टीका सांगठनिक एकीकरणलाई छिट्टै पुरा गर्ने, एकीकृत पार्टीलाई सुदृढ गर्ने र सरकारलाई जनमुखी बनाएर सामाजिक आर्थिक रुपान्तरणको कार्यभार पुरा गर्दै अन्ततः समाजवादको आधार तयार पार्न गम्भीर ढङ्गले एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता थियो ।

त्यस आवश्यकताका विपरित पार्टीले प्रधानमन्त्रीको समेत जिम्मेवारी दिएका अर्का अध्यक्ष केपी शर्मा ओलीले पार्टी र सरकारलाई विचार, नीति, विधि र पद्धतिबाट सञ्चालन गर्ने नेतृत्व गर्नुको सट्टा त्यसमा गम्भीर अवरोध खडा गरे । पार्टीमा रुपान्तरणको विधिद्वारा पार्टी र  सरकारलाइ विचार र नीतिका आधारमा संस्थागत ढंगले अघि बढाउन उनले अवरोध खडा गरे । हाम्रो पार्टीमा नेपाली कम्युनिष्ट आन्दोलनले प्रदर्शित गरेका मूल्य मान्यता र आचरण अघि बढाउन पहलकदमी शुरु भए ।

पार्टी र सरकारलाई विचार, नीति, विधि र पद्धतिबाट सञ्चालन नगर्ने र पार्टीमा संकट पैदा गर्नेमात्र होइन संविधानले दिदैं नदिएको अधिकारको तथाकथित प्रयोगबाट प्रतिनिधिसभाको विघटनसम्मको निर्णय भयो ।

पार्टीको बैठकका निर्णय कार्यान्वयन गर्नुको साटो अवज्ञा गर्ने अनि पार्टी र सरकारलाई स्वेच्छारी, निरंकुश र पद्धतिविहीन ढंगले अघि बढाउने प्रवृत्ति देखियो । अन्ततः आजको दिनसम्म आइपुग्दा पार्टी र सरकारलाई विचार, नीति, विधि र पद्धतिबाट सञ्चालन नगर्ने र पार्टीमा संकट पैदा गर्नेमात्र होइन संविधानले दिदैं नदिएको अधिकारको तथाकथित प्रयोगबाट प्रतिनिधिसभाको विघटनसम्मको निर्णय भयो । त्यो  असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, प्रतिगामी र स्वेच्छाचारी कदम हो । आज सम्पूर्ण कानुन व्यवसायी, राजनीतिक दल, नागरिक समाजका अघि यो घाम जत्तिकै छर्लङ्ग भैसकेको छ र सबैले अलोकतान्त्रिक, असंवैधानिक निरंकुश र प्रतिगामी कदमको विरोध गरेका छन् ।

हामीले ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त गरेको ऐतिहासिक राजनीतिक परिवर्तन संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र लोकतन्त्रको रक्षाका लागि  दृढतापूर्वक उभिनुपर्ने बिन्दुमा आइपुगेको छ । कम्युनिष्ट पार्टीबाट सरकारको नेतृत्व गर्ने प्रधानमन्त्रीबाट संविधान र लोकतन्त्रमाथि प्रहार भएको छ । गैर संवैधानिक ढङ्गले जनताको प्रतिनिधिसभालाई विघटन गरेर नेपाललाई राजनीतिक अस्थिरतामा धकेल्ने दुष्प्रयत्न भएको छ ।

ऐतिहासिक राजनीतिक परिवर्तनको रक्षासहित मुलुकलाई विकास र समाजवादको बाटोमा अघि बढाउने ऐतिहासिक जिम्मेवारी आएको छ । नेपाली कम्युनिष्ट आन्दोलनलाई विसर्जन गर्ने दिशामा धकेल्ने खोज्ने सबै प्रकारका दाउपेच, षड्यन्त्रलाई परास्त गरेर अघि बढ्नुपर्ने ऐतिहासिक जिम्मेवारी आएको छ । यही ऐतिहासिक क्षणमा नेकपाको केन्द्रीय समितिको बैठक आयोजना भएकको छ । यो बैठकबाट हामी नेपाल कम्युनिष्ट पार्टीलाई विचार, नीति, विधि र पद्धतिबाट अघि बढाउन सुदृढ र एकताबद्ध ढङ्गले अघि बढ्नेछौं । (श्रेष्ठले नेकपाको केन्द्रीय समिति बैठकको उद्घाटनमा राखेको मन्तव्य) 


Author

थप समाचार
x