विचार

राजा त्रिभुवनको निधनपछि उनका रानीहरूको अमेरिका र युरोप यात्रा

सन्तोष खडेरी |
मंसिर २, २०७८ बिहीबार १९:२८ बजे

सन् १९५४ मा बिरामी अवस्थाका राजा त्रिभुवन आफ्नो दोस्रो युरोप उपचार यात्राका क्रममा थप उपचारका लागि अमेरिका जान चाहन्थे । तर अमेरिकाको अध्यागमन कानुनमा रहेको एकैसाथ दुई पत्नी वा पति भएका व्यक्तिलाई भिसा नदिने प्रावधानलाई देखाएर धेरै मिडियाबाजी भएकाले उनको अमेरिका यात्रा सफल हुन सकेन । (राजा त्रिभुवनलाई अमेरिकाले भिसा नदिनुको वास्तविकता बारे हेर्नुहोस्)

राजा त्रिभुवनका दुई बडामहारानी थिए । जेठी कान्ति राज्यलक्ष्मी देवी र कान्छी ईश्वरी राज्यलक्ष्मी देवी । भारतका यी दुई राजपूत कन्यासँग राजा त्रिभुवनको विवाह सन् १९१९ को मार्च महिनामा भएको थियो । यी दुबै सहोदर दिदी–बहिनी थिए । त्यतिबेला राजा त्रिभुवनसँग अमेरिका जान नपाएका उनका रानीहरू राजाको निधनको करिब तीन वर्षपछि भने आफ्नै उपचारका लागि अमेरिका पुगेका थिए । दिवंगत राजा त्रिभुवनकी जेठी बडामहारानी (तत्कालीन मुमा बडामहारानी) कान्ति राज्यलक्ष्मी देवीलाई समेत मुटु रोगको समस्या थियो । कलकत्ता र बम्बईमा समेत उनको उपचार सफल हुन नसकेपछि थप उपचारका लागि उनी अमेरिकाको न्युयोर्क पुगेकी थिइन् । त्यहाँ उनीसँग कान्छी मुमा बडामहारानी ईश्वरी राज्यलक्ष्मीदेवीसमेत साथमै थिइन् । त्यहाँ उनको उपचार प्रसिद्ध अमेरिकी मुटु रोग विशेषज्ञ डाक्टर पल डेड्ली ह्वाइटले समेत गरेका थिए । डा. ह्वाइट त्यतिबेला अमेरिकाका तत्कालीन राष्ट्रपति आइजनआवरका समेत चिकित्सक थिए ।


मुमा बडामहारानीहरूको त्यो अमेरिका भ्रमण निजी उपचार भ्रमण थियो । त्यसैले त्यस भ्रमणबारे त्यहाँका सञ्चार माध्यमहरूमा समेत त्यति चर्चा भएको पाइँदैन । मुमा बडामहारानी न्युयोर्क ओर्लिएको खबरलाई अन्तर्राष्ट्रिय न्युज एजेन्सीहरूले सम्प्रेषण गरेको भए पनि थप जानकारी भने भेटिँदैन । उनीहरू इटाली हुँदै फर्किएको तस्बिर विदेशी फोटो एजेन्सीले प्रकाशित गरेका थिए । राजदरबारमा राजा त्रिभुवनका प्रमुख सहयोगी एक जनसम्पर्क अधिकृत भएर काम गरेका मीर सुब्बा दयारामभक्त माथेमाको पुस्तक ‘अनुभव र अनुभूति’मा भने मुमा बडामहारानीहरूको अमेरिका यात्राको विवरण उल्लेख भएको पाइन्छ । यो लेख अन्तर्राष्ट्रिय सञ्चारमाध्यमा छापिएका त्यससम्बन्धी समाचार र माथि उल्लिखित पुस्तकको आधारमा तयार गरिएको छ ।

सन् १९५८ को संयुक्त राष्ट्रसंघको १३ औं महासभा सोही सेप्टेम्बर तेस्रो साताबाट न्युयोर्कमा सुरु हुँदै थियो । त्यतिबेला नेपालमा सुवर्ण शमशेर जबरा मन्त्रिपरिषद् उपाध्यक्ष रहेको चुनावी सरकार थियो । त्यस सरकारका परराष्ट्रमन्त्री साहेबज्यू पुरेन्द्रविक्रम शाह थिए । उनै शाहको नेतृत्वमा संयुक्त राष्ट्रसंघको १३ औं महासभामा भाग लिन जाने नेपाली प्रतिनिधिमण्डलको सदस्यमा मीर सुब्बा दयारामभक्त माथेमासमेत थिए । उक्त प्रतिनिधिमण्डलका अन्य सदस्यहरूमा परराष्ट्र सचिव नरप्रताप थापा र परराष्ट्रमन्त्री शाहकी छोरी माधुरी शाहसमेत थिइन् । ठीक त्यही समयमा मुमा बडामहारानीहरूसमेत उपचारका लागि न्युयोर्क पुगेका थिए । त्यसैबेला त्यहाँ उनीहरूको सेवामा माथेमा सक्रिय थिए । उनै माथेमाले त्यहाँ भएका विवरणहरू माथि उल्लिखित पुस्तकमा लिपिबद्ध गरेका छन् ।

माथेमाका अनुसार मुमा बडामहारानीहरूको साथमा माइला अधिराजकुमार हिमालय र अधिराजकुमारी प्रिन्सेप (गृह राज्यलक्ष्मी), कान्छा अधिराजकुमार वसुन्धरा, राजकुमारी विजया राज्यलक्ष्मी, निजी सचिव महेश्वरकुमार, राजकुमारी विमला राज्यलक्ष्मी, डा. यज्ञराज जोशी र सैनिक सचिव तीर्थविक्रम राणासमेत थिए । मुमा बडामहारानीको टोली उपचारका लागि १९५८ सेप्टेम्बर २५ मा न्युयोर्क विमानस्थलमा ओर्लिएको थियो । त्यहाँ पुगेका परराष्ट्रमन्त्री साहेबज्यू पुरेन्द्रविक्रम शाह, अमेरिकाका लागि शाही नेपाली राजदूत हृषीकेश शाह र मीरसुब्बा दयारामभक्त माथेमा लगायतले विमानस्थल बाहिर उनीहरूलाई स्वागत गरेका थिए । जेठी मुमाबडामहारानी कान्ति राज्यलक्ष्मी देवी उपचारका लागि न्युयोर्क ओर्लिएको विषयलाई अन्तर्राष्ट्रिय समाचार एजेन्सी ‘दी एसोसिएटेड प्रेस (एपी)’ ले समाचार सम्प्रेषण गरेको थियो । जसमा नेपालकी जेठी मुमाबडामहारानी कान्ति राज्यलक्ष्मी देवी आफ्नो मुटुको उपचारका लागि विमानद्वारा न्युयोर्क ओर्लिएकी छिन् । अमेरिकाका लागि शाही नेपाली राजदूत हृषीकेश शाहले मुमा बडामहारानीको उपचार कहाँ हुन्छ भन्ने विषयमा थप जानकारी प्रदान गर्न अस्वीकार गरे भन्ने उल्लेख थियो । (सिकागो ट्रीब्युन २६ सेप्टेम्बर १९५८) 

उनको उपचार न्युयोर्क अस्पतालमा भएको थियो । त्यहाँ उनलाई त्यसै अस्पतालका मुटुरोग विशेषज्ञ डाक्टर फकनरले उपचार गरेका थिए । डा. फकनरकै सल्लाहअनुसार मुमा बडामहारानीलाई डा. पल डेड्ली ह्वाइटले समेत हेरेका रहेछन् । त्यसको सबै बन्दोबस्त उनै डा. फकनरले गरेका रहेछन् । डा. ह्वाइटले केही दिन अस्पतालमा नै भर्ना गरी उपचार गर्ने सल्लाह दिएछन् । सोही मुताबिक उनलाई न्युयोर्क अस्पतालमा नै राखेर उपचार गरिएको रहेछ । नेपालमा प्रजातन्त्रको स्थापना भएपछि नेपालको सार्वजनिक स्वास्थ्यसेवामा सघाउन अमेरिकी मिसिनरी टोली नेपाल भित्रिएको थियो । त्यसैक्रममा मिलर दम्पती नेपाल भित्रिएर शान्तभवन अस्पतालमा सेवारत थिए । श्रीमान् एड्गार मिलर र श्रीमती एलिजाबेथ मिलर दुबैसँगै कार्यरत थिए । माथेमाका अनुसार न्युयोर्कमा रहेका डा. ह्वाइट, डा. फकनर र नेपालमा रहेका डा. मिलर सहपाठी रहेछन् । डा. ह्वाइटले चेकजाँचको क्रममा डा. मिलर नेपालमा भएको बताउँदै उनै डा. मिलरलाई उपचार गराए पनि हुने र बिरामीलाई न्युयोर्कसम्म ल्याउनै नपर्ने सुझाव दिएका रहेछन् ।

जेठी मुमाबडामहारानी कान्ति राज्यलक्ष्मी देवी न्युयोर्क अस्पतालमा भर्ना भएपछि उनीसँग गएका टोलीका अन्य सदस्यहरू र संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क पुगेका नेपाली टोलीका सदस्यहरू एउटै होटेलमा बसेका रहेछन् । अस्पतालमा बिमारीका साथमा नेपाली चिकित्सक डा. यज्ञराज जोशी र अर्को एकजना भने अस्पतालमा बसेका रहेछन् । कान्छी मुमा बडामहारानी र अधिराजकुमारहरू दिनहुँ अस्पताल पुग्ने रहेछन् । भर्ना नै गरेर उपचार गराउँदा उनको स्वास्थ्यमा सुधार आउँदै रहेछ ।

त्यहाँ पुगेपछि कान्छी मुमा बडामहारानी ईश्वरी राज्यलक्ष्मी देवीलाई ‘नायग्राफल’ हेर्ने इच्छा लागेर माथेमालाई कार्यक्रम मिलाउन भनिछन् । उनले भनेअनुसार माथेमाले कार्यक्रम तयार गरेछन् । न्युयोर्कबाट सिकागो, सिकागोबाट टोरन्टो, त्यहाँबाट नायग्राफल हेरी बफेलोबाट न्युयोर्क फर्कने कार्यक्रम निर्धारित भएछ । निर्धारित समयमा निर्धारित कार्यक्रमअनुसार कान्छी मुमा बडामहारानी ईश्वरी, अधिराजकुमारी विजया, राजकुमारी विमला, सैनिक सचिव तीर्थविक्रम राणा र माथेमा समेत ५ जनाले निर्धारित ठाउँको भ्रमण गरेछन् ।

माथेमाका अनुसार क्यानडातिर जान लाग्दा भने त्यहाँको भिसा नभएकाले क्यानडा जान दिएनछन् । चेकपोस्टका मानिसले नेपाली राहदानी कहिल्यै नदेखेकाले पहिलोपल्ट देख्दा अचम्म मानेछन् । राहदानीबाट नेपालको राजपरिवार भन्ने थाहा पाएपछि धुमधामसँग सत्कार त गरेछन् तर पनि जान दिएनछन् । उनीहरूले आफ्ना हाकिमसँग टेलिफोनमा कुराकानी गरी माथेमाले संयुक्त राष्ट्रसंघको महासभाको प्रतिनिधिको पास देखाएपछि भने उनीहरूले क्यानडा छिर्न दिएछन् । 

सन् १९५९ को जनवरीतिर मुमा बडामहारानीहरू न्युयोर्कबाट पानीजहाजमा इटाली फर्किए । इटालीका प्रमुख स्थलहरूमा उनीहरू घुमघाम गरे । नेपल्समा मुमा बडामहारानीहरू घुमेको तस्बिर विदेशी फोटो एजेन्सी ‘क्ष्अजबचतब’ ले सार्वजनिक गरेको थियो । मुमा बडामहारानीहरू सन् १९५४-५५ मा राजा त्रिभुवनको दोस्रो युरोप उपचार यात्राको क्रममा स्वीट्जरल्यान्ड, इटाली र फ्रान्सको भ्रमण गरिसकेका थिए । मुमा बडामहारानीहरू इटालीबाट पानीजहाजमा बम्बई र बम्बई हुँदै नेपाल फर्किए । उनीहरू नेपाल फर्किएपछि दिवंगत राजा त्रिभुवनको नाममा त्यसअघि नै स्थापनाको चरणमा रहेको त्रिभुवन विश्वविद्यालयको काममा लागे । 

त्रिभुवन विश्वविद्यालयको स्थापनापछि सन् १९६२ मा आयोजित दोस्रो दीक्षान्त समारोहमा विश्वविद्यालय प्रशासनले विश्वविद्यालय स्थापनामा योगदान गर्ने दुवै बडामहारानीहरूलाई कानुनमा मानार्थ विद्यावारिधिको प्रदान गर्ने निर्णय गरेको थियो । तर बडामहारानीहरूले स्थापित विश्वविद्यालयमा आम विद्यार्थीहरूले पढेर उक्त विद्यावारिधि हासिल नगरेसम्म आफूहरूलाई मानार्थ डिग्री लिँदैनौं भनी लिन इन्कार गरे । (दी इन्डियन एक्स्प्रेस १५ मार्च १९६२) त्रिभुवन विश्वविद्यालयबाट पहिलो मानार्थ विद्यावारिधि हासिल गर्ने व्यक्ति भारतका तत्कालीन राष्ट्रपति एस. राधाकृष्णन हुन् । सन् १९६३ नोभेम्बरमा भारतका राष्ट्रपति एस. राधाकृष्णनलाई उनको नेपाल भ्रमणका क्रममा त्रिभुवन विश्वविद्यालयले साहित्यको मानार्थ विद्यावारिधि प्रदान गरेको थियो । (युनिभर्सिटी न्युज नोभेम्बर १९६३)

छोरा राजा महेन्द्रको पनि निधन भएको करिब एक वर्षपछि सन् १९७३ को अप्रिल महिनामा ६६ वर्षको उमेरमा जिजुमुमा बडामहारानी कान्ति राज्यलक्ष्मी देवीको निधन भयो । उनको निधनको खबर छापेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले त्यतिबेला समेत सन् १९५४–५५ मा उपचारका लागि अमेरिका जान चाहेका राजा त्रिभुवनलाई उनका दुई रानी साथमा रहेकाले भिसाा दिएन । त्यसैले त्यतिबेला उनी अमेरिका आउन सकिनन् भन्ने उल्लेख गरेका थिए । (समाचार संस्था ए.पि. १२ अप्रिल १९७३) राजा त्रिभुवनकी कान्छी बडामहारानी ईश्वरी राज्यलक्ष्मी देवीको निधन भने १९८३ को जुन महिनामा भएको थियो । 

राजा त्रिभुवन र उनका रानीहरूको निधन हुँदा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले अमेरिकाले राजा त्रिभुवनलाई एकैसाथ दुई श्रीमतीसहित अमेरिका आउन चाहेकाले उनले भिसा पाएनन् भनी समाचार प्रसारण गरिरहे । त्यतिबेला राजा त्रिभुवन दुईवटा रानीसहित अमेरिका जान नपाएको भन्ने विषयले उनीहरूलाई सधैं पछ्याइरह्यो । राजा त्रिभुवनका रानीहरू यतिबेला राजासँग अमेरिका जाने अवसर नपाएको भए पनि राजाको निधनपछि भने आफ्नै उपचारका लागि भने अमेरिका पुग्ने अवसर पाएका रहेछन् ।
 


Author

सन्तोष खडेरी

इकागजका अबुधाबीस्थित टिप्पणीकार खडेरी नेपालसम्बन्धी दुर्लभ दस्तावेज संकलन र विश्लेषणका लागि परिचित छन् ।


थप समाचार
x