बहुपति बहस
दोस्रो जनआन्दोलनको जगमा निर्माण भएको संविधानमा महिलालाई ३३ प्रतिशत आरक्षणको व्यवस्था गरेको छ । देशले वर्तमान राष्ट्रपतिसहित, प्रधानन्यायाधीश र सभामुखसमेत महिला पाइसक्यो । तर महिलाका समस्या भने अझै उस्तै छन् । लैंगिक हिंसाको अन्त्य हुन सकेको छैन । समाज वर्तमान समयमा पनि पितृसत्तात्मक छ ।
संविधानमै सुनिश्चित गरिएका आफ्ना मूल अधिकारका लागि मात्रै चुनौतीपूर्ण लडाइँ लड्नुपर्ने बाध्यता हटेको छैन । अझै पनि अधिकारका लागि फरक मत राखेकै आधारमा महिलाहरू परिवार र समाजबाट बहिष्कृत हुनुपरेको छ । यसमा पनि हिमाली क्षेत्रका महिलाहरू पारिवारिक हिंसाको सिकार भइरहेका छन् । जहाँ सत्ताको नजर पुगेको छैन । न त न्यायका लागि अदालत र प्रहरी चौकीहरू नै छन् ।
राजधानीबाट सुदूरवर्ती नेपालको उत्तरी भेगमा छ, हुम्ला । हुम्ला राजधानीबाट मात्र होइन, शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुलीबत्ती, सडक र खाद्यान्नको पहुँचबाट समेत दूर छ । अशिक्षाको कसौडीमा पिल्सिएको हुम्लामा सामाजिक कुरीतिका रूपमा रहेको बहुपति प्रथा जीवित छ ।
बहुपति प्रथामा घरको जेठो छोराले विवाह गरी ल्याएकी श्रीमतीलाई उसका भाइहरूले पनि श्रीमतीका रूपमा स्वीकार गर्नुपर्दछ । तर सम्बोधनको क्रममा भने भाइहरूले भाउजू भनी सम्बोधन गर्छन् । यो संस्कार नेपालको हुम्लासहित, लमजुङ, गोरखा, मुस्ताङ, जुम्ला र ताप्लेजुङका केही गाउँहरूमा अझै प्रचलनमा छ । साहित्यकार निहारिकाले हुम्लालाई पृष्ठभूमि बनाएर कथा तयार पारेकी छिन् ।
महाभारत ग्रन्थमा आधारित कथनका आधारमा जीवित बहुपति कुप्रथालाई यहाँका नागरिकले आफ्नो संस्कारझैँ संरक्षण गर्न खोजिरहेका छन् । जसलाई साहित्यकार नीलम कार्की निहारिकाले आफ्नो उपन्यासमार्फत परिचित गराउन खोजेकी छन् ।
लेखक कार्कीले बहुपति परम्परालाई दुई किसिमका कथनले बल पुर्याएको खुलाएकी छिन्, आर्थिक र धार्मिक । आर्थिक पक्षका हिसाबले हुम्लाको आफ्नै किसिमको परिवेश छ । निम्न उब्जाउ नहुने भूमि । हिउँदमा हिउँ, बर्खामासमा वर्षात् र बाढी पहिरोको कहर । व्यापार छैन, बजार छैन । सहर र अस्पताल पनि छैन । हुम्ली बस्ती नितान्त मानव निर्मित संरचनामा उभिएको छ । प्राकृतिक रूपमा सुन्दर हुम्ला चर्चित मार्सी धान उत्पादन हुने ठाउँ पनि हो । विडम्बना, सभ्यता, संस्कार र पर्यटकीय पर्यावरणको हिसाबले सुन्दरता यो क्षेत्र आर्थिक रूपमा गरिब छ ।
त्यही आर्थिक कमजोरीले पनि बहुपति प्रथा टिकाउने आधार पाएको छ । अर्को मिथक छ, खाद्यान्नको अभावले जनसंख्या वृद्धि कम गर्न बहुपति प्रथा अवलम्बन गरिएकामा नागरिक जोड दिन्छन् । धार्मिक मिथकले पनि बहुपति प्रथालाई जीवित राख्न बल पुर्याएको छ । महाभारत युद्धपछि पाँच पाण्डवहरू स्वर्ग जाँदा हुम्ला लगायत हिमाली क्षेत्र हुँदै मानसरोवर गएका कारण पाँच पाण्डवकी पत्नी द्रौपदीका कथनहरूसँग सम्बन्धित रहेको मान्यता छ ।
केही वर्ष पहिले गाउँमा भर्खरै ब्ल्याक एन्ड ह्वाइट टेलिभिजन हरेक साँझ महाभारत, रामायण जस्ता चलचित्र सबै गाउँलेहरू भेला भएर हेर्ने गर्थे । त्यस क्रममा मैले पनि महाभारतका केही अंश हेर्ने अवसर पाएको थिएँ । महाभारतमा द्रौपदीलाई अर्जुनले जितेका थिए । तर पाँच पाण्डवले श्रीमती बनाए । मलाई पटक-पटक लाग्थ्यो- ‘पाँच पाण्डवलाई श्रीमती स्वीकार गर्नु कुन्तीको गल्ती थियो ।’
फेरि मनमा अर्को प्रश्न उठ्यो, ‘यसमा चुपचाप पाँच श्रीमान् स्वीकार गर्नु उसलाई कस्तो बाध्यता आइलाग्यो ?’ सुन्दरताका हिसाबले उनी रूपवती थिइन् । शक्तिका हिसाबले एक शक्तिशाली राज्यकी राजकुमारी । खैर, महाभारत त केवल कथा न हो । तर द्रौपदी अवशेष पढेपछि त्यो याद पुनः ताजा भयो । यो कथामा देखाइएको कुरा वास्तवमा हाम्रो समाजले पनि कार्यान्वयन गरिरहेको छ भन्ने लाग्यो ।
नेपाली समाजमा आफूभन्दा ठूलालाई शिर निहुराएर ढोग्ने चलन छ । सोही संस्कारअनुसार कतै भाउजूको पनि खुट्टा ढोग्ने गरिन्छ । अझ यहाँको सनातनी हिन्दू धर्मले त भाउजूलाई आमाको दर्जा दिएको छ । त्यही धर्मअनुसार खुट्टा ढोग्नुपर्ने भाउजूलाई श्रीमती स्वीकार गर्दा मान्छेको मनोदिशा कस्तो होला ? अधिक भाउजूहरू आमा र हजुरआमा उमेरका पनि हुन्छन् । उनीहरूलाई स्वीकार गर्नुपर्दा नाबालक देवर वा स्वयं भाउजूमाथि कस्तो विपत् पर्दो हो ? सन्तान पहिचानको सकस पनि ।
उपन्यासमा दश वर्ष लामो माओवादी युद्ध, २०६२/०६३ को जनआन्दोलन र अन्य धेरै परिवर्तनको प्रभावबारे जिकिर गरिएको भेटिएन । प्रजातान्त्रिक आन्दोलनको उपलब्धि, संविधानको निर्माण र कार्यान्वयनबारे जानकार वा अन्जान ? यहाँ अलिक लेखकले चुकेका हुन् कि भन्ने महसुस गराउँछ ।
एक सोह्र वर्षकी किशोरी विवाह गर्छिन् । उनले आफ्नै उमेरका किशोरसँग प्रेम विवाह गरेकी हुन् । तर श्रीमान्का ३० वर्षका दाइलाई समेत उसले श्रीमान् स्वीकार गर्नुपर्छ । अब चाहिँ किशोरीको खास श्रीमान् प्रेमी किशोर होइन, जेठो दाइ भयो । श्रीमान्को दाइ अर्थात् किशोरीका जेठा श्रीमान्को मृत्यु भयो । उनी अब विधवा भइन् । तर उसलाई भित्र्याउने श्रीमान् जीवित भने जीवित छ । उपन्यासमा यस किसिमका प्रसंगहरूमा मज्जाले विश्लेषण गरिएको छ ।
बहुपति प्रथामा महिलालाई श्रीमती नभई यौनदासी बनाइएको प्रस्ट हुन्छ । महिला जीवनभर केवल यौन सन्तुष्टि मेटाउन र बच्चा जन्माउन मात्रै बनेको जस्तो महसुस गराउँछ । उपन्यासका महिला पात्र पेमाले एकजनासँग मात्र विवाह गरेकी हुन्छिन् । किनकि उनको गाउँमा धेरै युवतीले एक जनासँग मात्र विवाह गरेका हुन्छन् । तर उनले सबै दाइभाइलाई श्रीमान् स्वीकार गर्छिन् ।
हुनत, यहाँ सबैलाई श्रीमान् स्वीकार गर्नैपर्ने बाध्यता चाहिँ रहेनछ । तर पुरानो चलन । जुन वर्तमान संस्कारझैँ बनिसकेको छ । तसर्थ, उनले प्रेम होइन, यौनदासी बन्नुपर्ने बाध्यतालाई आफ्नो जीवन र भाग्य ठानेर प्रश्न नै नगरी स्वीकार गर्छिन् ।
पेमा श्रीमान्हरूको यौन प्यास मेटाउने क्रममा अनेकानेक रोगको सिकार भएको पाइन्छ । उसलाई रक्तस्राब र तल्लो पेट दुख्ने समस्या हुन्छ । तर उपचार धामी झाँक्रीको झारफुक मात्रै । यसैले मातृशिशु मृत्युको समस्या पनि यस क्षेत्रमा जटिल देखिन्छ ।
महिलालाई आफ्नो रहरअनुसार जिउन पाउने अधिकार छैन । विवाहपछि अनिवार्य सबैलाई स्वीकार गर्नुपर्ने संस्कार छ । अस्वीकार गरे, समाजले नै दुत्कार्ला भन्ने त्रास हुन्छ । पेमा आफ्ना सोह्र वर्षीय कान्छा देवरलाई श्रीमान् भन्न उनी रुचाउँदिनन् । तैपनि जबर्जस्ती करणीको सिकार बन्नुपर्छ । बहुपतिप्रथामा चरम महिला उत्पीडन रहेका धेरै उदाहरण उपन्यासमा समेटिएका छन् ।
उनीहरूले यसलाई आफ्नो दैनिकी बनाएर जिउने बानी पारिसकेकाले बोल्न सकेका छैनन् । किनकि यहाँका महिलाहरूलाई अध्ययन गर्न पाउने अधिकारसमेत हुँदैन् । पुरानै चलनचल्तीअनुसार छोरी पढाउनु हुँदैन भन्ने मान्यता छ ।
हरेक छ महिनामा नयाँ श्रीमान्सँग रात बिताउनुपर्ने बाध्यता त छँदै छ । त्यसमाथि सबै दाजुभाइहरू घरमै हुँदासमेत पालो मिलाएर यौन प्यास मेटाइदिनुपर्ने बाध्यता महिलामाथि हुन्छ । उपन्यासमा यी प्रसंगहरू पनि उठाइएका छन् ।
अर्का पात्र ग्याल्जनलाई उनकी आमाको मृत्युपछि भाउजूले हुर्काएकी हुन्छिन् । उनलाई भाउजूको अनुहार आफ्नो मरेकी आमाको जस्तै लाग्छ । समाजले श्रीमतीको दर्जा दिएकी भाउजूलाई उसको मनले श्रीमती स्वीकार गर्न सक्दैन । यस किसिमका अरु धेरै व्यक्तिहरू त्यस समाजमा होलान् । तर उनीहरूले अस्वीकार गर्दा समाजले बहिष्कार गर्ने त्रासमा बोल्नै सक्दैनन् ।
एकातिर समाज र कानुन छ, अर्कातिर हाम्रा सामाजिक कुरीति । कानुनअनुसार बहुविवाह गर्नेलाई पाँच वर्ष सजाय र विवाह बदर हुन्छ । तर त्यही बहुपति वा बहुपत्नीको चलनलाई हाम्रा धार्मिक ग्रन्थहरूले मान्यता दिएका छन् । समाज तिनै धार्मिक ग्रन्थको आख्यानका आधारमा चलेको छ ।
धर्मकै आधारमा सुदूरपश्चिम र कर्णालीका केही भू-भागमा छाउपडी कुप्रथा छ । जसकारण महिला हरेक महिनामा पाँचदेखि सात दिन असुरक्षित गोठमा बस्न बाध्य छन् । त्यो त्यहाँका लागि संस्कार जस्तै बनेको छ ।
यसैगरी, तराईमा दाइजो प्रथका कारण तराईमा धेरै महिलाले मारिनु परेको छ । अधिक स्थानमा बोक्सीको आरोपमा पनि महिलालाई कुटपिट गरिन्छ । हिंसा गरिन्छ र मारिन्छ पनि । यस किसिमका विषयवस्तुलाई कथाले रोमाञ्चक तरिकाले उठाएको छ । तर त्यसको व्याख्या र कानुनबारे त्यहाँका महिलालाई बुझाउने चेष्टा गरेको भने पाइँदैन । यद्यपि पेमालाई आफ्ना प्रेमी ग्याल्जेनसँग भाग्न हिम्मत दिएको पाइन्छ ।
उवाको खाना, हिमाली चिया र छ्याङको स्वादबारे पनि मज्जैले अनुभव गर्न सकिन्छ । हुम्लाको भू-बनावट, बाटाघाटाहरूसहित चौरीका बथान र गोठका विषयमा आफैँ भ्रमण गरिरहेको अनुभव गराउँछ । हिउँ पर्दाका सकसबारे पनि वर्णन गरिएको छ । यहाँ अझै सिंहदरबार पुगेको छैन । स्थानीय सरकार वा वडाअध्यक्ष केन्द्रित होइन, पञ्चायतकालीन मुखिया केन्द्रित न्याय प्रणाली छ । अदालतबारे जानकारी छैन ।
शिक्षा, स्वास्थ्य र अन्य विकासबाट वञ्चितीकरणमा पारिएको हुम्ला पर्यटन विकासका लागि सम्भावना बोकेको क्षेत्र हो । यहाँ हेर्न लायक र बुझ्न लाएको धेरै कुरा समेटिएका छन् । अझै पनि हाटबजारका लागि हप्ता दिनसम्म यात्रा गर्नुपर्ने हुन्छ । हिउँदमा मधेस र बर्खामा गाउँ बस्ने चलन बाक्लिँदै गएको अनुभव पुस्तकमा समेटिएका छन् । पढ्दापढ्दै सिंगो हुम्लाको भ्रमण गरेको महसुस गराउने उपन्यासमा उठाइएको बहुपति प्रथाको समस्या नेपाल र भारतमा समेत छ ।
यसैगरी, दक्षिण अफ्रिकामा समेत यो परम्परा कायम छ । जबकि त्यहाँको सरकारले समलिङ्गी विवाहको अधिकारसमेत दिएको छ । यद्यपि, बहुपतिको अधिकार छैन ।
पछिल्लो समय लैंगिक अधिकारवादीहरूले बहुपति प्रथालाई मान्यता दिन माग गर्दै आन्दोलन गरिरहेका छन् । यहाँ पनि बहुपति प्रथालाई धार्मिक उमथकले नै जोगाएको छ । बहुपति प्रथालाई गेबोनले कानुनी मान्यता नै दिएको छ भने केन्या, कङ्गो र नाइजेरियामा उक्त प्रथा अझै पनि अस्तित्वमा रहेको छ । नेपालको सन्दर्भमा भने सरकार मौन छ । समाचार र विचारमा केही मात्रामा बहुपति प्रथाको विरोध गरिए पनि आन्दोलनकै रूपमा मुद्दा बनाएको पाइँदैन । तर साहित्यकार निहारिकाको यो आँटले धनीभूत बहसका लागि सामाजिक अगुवाहरूलाई झकझकाएको छ ।
उपन्यासमा दश वर्ष लामो माओवादी युद्ध, २०६२/०६३ को जनआन्दोलन र अन्य धेरै परिवर्तनको प्रभावबारे जिकिर गरिएको भेटिएन । प्रजातान्त्रिक आन्दोलनको उपलब्धि, संविधानको निर्माण र कार्यान्वयनबारे जानकार वा अन्जान ? यहाँ अलिक लेखकले चुकेका हुन् कि भन्ने महसुस गराउँछ ।
उनीहरूलाई यी सबै परिवर्तनबारे पनि राम्रो जानकारी हुनुपर्छ । किनकि हिउँदमा आधाभन्दा बढी जनसंख्या सुर्खेत र नेपालगञ्ज जस्तो विकसित सहरमा पुग्दा रहेछन् । तर धनीमानीहरू काठमाडौं पुगेर अध्ययन गर्छन् भन्ने प्रसंग यहाँ उठाइएको छ । उनीहरूलाई हुम्लाभन्दा बाह्य विवाह संस्कारबारे ज्ञान भएको उपन्यासमा समेटिएका प्रसंगहरूले स्पष्ट पार्छन् । बहुविवाह परम्परा परिवर्तनबारे कसैले पनि आँट गरे/नगरेको खुलाइएको पाइँदैन । एउटा संघर्ष भने पेमाले गर्छिन् । उनले अन्त्यमा प्रेमीका लागि श्रीमान् र परिवार त्यागिदिन्छन् ।
पचासको दशकदेखि नेपाली साहित्यमा सक्रिय नीलम कार्की निहारिकाको २०७८ मा सार्वजनिक उपन्यास द्रौपदी अवशेष समग्रमा शक्तिशाली छ । केही प्रसंगलाई उपन्यासमा जिकिर गरिए पनि कारण र उदाहरणसहित प्रस्ट्याइएको पाइँदैन । साङ्ग्रिला बुक्सले प्रकाशन गरेको २२७ पृष्ठको यस उपन्यासको मूल्य ४४८ रुपैयाँ छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया