विचार

अपाठ्य पाठ्यपुस्तक पठनको तीतो अनुभव

विमल सिटौला |
मंसिर ७, २०७८ मंगलबार ११:५३ बजे

पाठ्यपुस्तक प्रकाशन एउटा योजनाबद्ध र जटिल कार्य हो । यसले देश विकासका लागि आवश्यक सूचना, ज्ञान, अनुभव र अनुभूतिहरूको प्रवाह गर्दछ । सामुदायिक विद्यालयमा माध्यमिक तहसम्मका पाठ्यपुस्तकहरू जनक शिक्षा सामग्री केन्द्रले मुद्रण गरी देशभर पुस्तकको अभावलाई पूर्ति गरिरहेको छ । संस्थागत विद्यालयका आ–आफ्नै निजी प्रकाशन गृह र वितरकहरू रहेका छन् । विश्वविद्यालय तहका सहयोगी पाठ्यक्रमहरू विभिन्न निजी गृहले मनलाग्दी प्रकाशन गर्दछन् ।
पुस्तक प्रकाशन रहर गरेर मात्र हुने कार्य होइन । यसमा लेखक र प्रकाशन गृहको महत्वपूर्ण हात रहेको हुन्छ । आजभोलि पाठ्यपुस्तक प्रकाशनमा रहरको भेल बाढी आएको देखिन्छ । म केन्द्रीय क्याम्पसको शिक्षा विभाग, अंग्रेजी संकाय, स्नातकोत्तर तहको अन्तिम सेमेस्टरको विद्यार्थी भएकाले हाम्रो पाठ्यक्रममा आधारित अनगन्ती पुस्तकहरू विगतदेखि नियालिरहेको छु । 

एकाध पुस्तकबाहेकका पाठ्यपुस्तकहरू न अनुभवी गुरु/गुरुआमाले लेख्नुभएको छ, न ती पुस्तकहरूमा फरक र नयाँ कुरा भेटिन्छ कि भनेर खोतल्नुपर्ने आवश्यकता छ । पाठ्यपुस्तक जस्तो उच्च महत्वको पुस्तक वैज्ञानिक तथा मानवीय अवधारणामा आधारित हुनुका साथै अद्यावधिक, आधिकारिक र विश्वसनीय स्रोतमा आधारित हुनुपर्छ । 


तोकिएको निश्चित शैक्षिक स्तर पार नगरेका र लामो समय अनुभव नबटुलेका अपरिपक्क शिक्षक/विद्यार्थीले यसरी विभिन्न तह र तप्काको पाठ्यक्रममा आधारित भएर लेखेका अनगन्ती पाठ्यपुस्तकहरूको गुणस्तरमा प्रश्नचिह्न उठाउँदा दुई मत नहोला । यति मात्र होइन, ती पाठ्यपुस्तकहरूको बजार मूल्य अचाक्ली छ, जुन विद्यार्थीले मोटो रकम तिरेर किन्न बाध्य हुनु परिरहेको छ । यी यस्तै अनेकौँ बेथिति, व्यावसायिक पुस्तक प्रकाशन गृहको लापर्बाही र पाठ्यपुस्तक लेखेर प्राज्ञिक व्यक्ति दरिने महत्वाकांक्षाले बिग्रिएको बजारलाई यससँग सम्बन्धित जो कोहीले लामो समयदेखि नियालिरहेको हुनुपर्छ । यसै बेथितिलाई केही शीर्षकहरूबाट पर्गेल्ने प्रयास गरौँ :

नक्कल गर्ने परिपाटीको विकास
एक दिन एक गुरुले पहिलो सेमेस्टरको सुरुवाती कक्षामा आफ्नो अध्यापनमा विगतदेखि विद्युतीय नोटबुक प्रयोग नगर्दै आएको स्पष्ट धारणा रहेको बताउनुभयो । कारणमा– विद्यार्थीहरूले आफूले बडो मेहेनत गरेर बनाएको स्लाइडको फोटो खिचेर विगतमा पुस्तक प्रकाशन गरेको तीतो यथार्थ पनि सुनाउनुभयो । यसरी विद्यार्थीले अध्ययनताका र अध्ययन सकिएलगत्तै गुरुहरूको स्लाइड प्रयोग गरी पाठ्यपुस्तक प्रकाशन गरेको प्रशस्तै दृष्टान्त भेट्न सकिन्छ । आखिर हामी आलाकाँचा विद्यार्थी किन यति हतार गरिरहेछौँ पाठ्यपुस्तक प्रकाशन गर्नलाई ? पाठ्यपुस्तक जस्तो संवेदनशिल र गहन कुरो लेख्न अनुभवी गुरुहरू त पछि सर्नु भइरहेको अवस्थामा हामी आलाकाँचा विद्यार्थी अरुको नक्कल गरीगरी पाठ्यपुस्तक जस्तो महत्वपूर्ण कुरा छपाउन हतारिनुपर्ने कस्तो बाध्यता !

बौद्धिक सम्पत्ति चोरी, पाठ्यपुस्तक प्रकाशनमा मनपरी, मूल्य निर्धारणमा अस्वाभाविक एकल निर्णय, पाठ्यपुस्तकको प्राज्ञिक र प्राविधिक पक्षको कमजोरीपन, पुस्तकको अद्यावधिमा अनिरन्तरता, पाठ्यपुस्तकमा लम्बीय र क्षितिजीय क्रम निर्धारणमा सुस्तता आदि महत्वपूर्ण पक्षहरूमा नियमित नियमन, अनुगमन र सुपरिवेक्षणको टड्कारो आवश्यकता देखिन्छ । 

यसरी हतारिनुले हजारौँ विद्यार्थी वर्गलाई लज्जित महसुस मात्र गराएको छैन, कक्षाकोठामा आफूले पाउनुपर्ने अधिकार पनि गुमाउनु परेको छ । पुस्तक प्रतिलिपिसम्बन्धी कानुनबमोजिम व्यस्थापन कार्यान्वयन चुस्त दुरुस्त नगरिएकाले जथाभावी अरुको बौद्धिक सम्पत्ति चोर्ने अधम कार्य फस्टाएको छ । अनि, पुस्तकमा लक्षित पाठकअनुसारको प्राज्ञिक गुणस्तर कायम गर्ने सवालमा पनि प्रश्नचिह्न उठेको छ । राष्ट्रिय पुस्तक नीति २०७३ (कार्यान्वयनको सिलसिलामा छ) मा उल्लेख छ, ‘विश्वविद्यालय तहको पाठ्यपुस्तक लेखक हुन सम्बन्धित विषयमा कम्तीमा स्नाकोत्तर गरी कम्तीमा दुईवटा अनुसन्धानात्मक लेख रचना पेसागत जर्नलमा प्रकाशित गरेको हुनुपर्ने छ ।’

प्रकाशन गृहको मनोमानीतन्त्र 
पाठ्यपुस्तक उत्पादन र बिक्री–वितरणमा मनोमानीतन्त्र फस्टाएकाले महिनैपिच्छे नयाँनयाँ गृहहरू स्थापित हुने दौडमा छन् । उनीहरूले जस्ता पनि पुस्तकहरू छपाउनाले यो शृङ्खला झन् बृहत भएर जाँदो छ । उनीहरू सेवामा थोरै गुणस्तरीयताभन्दा पनि धेरै नाफामुखी व्यावसायिक आकांक्षाले उद्धृत भएका प्रस्टसँग देखिन्छन् । न उनीहरूलाई पाठ्यपुस्तकमा विषयवस्तुको प्राज्ञिक गुणस्तर कायम भएको याद हुन्छ, न पुस्तकको भौतक तथा प्रविधिक पक्षको उति सारो चासो । उनीहरूलाई बजारमा अभाव भएका पुस्तकहरू छपाएर सबैभन्दा छिटो बजार पठाइसक्न साह्रै हतारो हुन्छ चाहे त्यो पुस्तक अन्तरपेसाको व्यक्तिले नै किन नलेखोस् ।

पाठ्यपुस्तकमा भाषा, व्याकरण, शैलीगत एकरूपताजस्ता प्राविधिक पक्षमात्र नभएर पाठ्यक्रमले निर्धारण गरेअनुसार विषयगत तथ्यहरू समावेश हुनुपर्छ । यी कुराहरू प्रकाशन गृहले ख्याल नगरिदिँदा विद्यार्थीहरूको सिकाइमा प्रत्यक्ष प्रभाव परिरहेको छ । अतः राष्ट्रिय स्तरबाट नियमन र निरीक्षणको अभावनमा मनोमानीतन्त्र फस्टाउँदै गइरहेको छ ।

चर्को मूल्य
अर्को चासो र चिन्ताको विषय त के छ भने पाठ्यपुस्तकमा राखिएको ‘चर्को मूल्य’ । पहिले पहिले पुस्तकको मूल्यबारे सरकारको हस्तक्षेप हुन्थ्यो । अहिले प्रकाशककै निर्णयमा मूल्य तोकिन्छ । यसबाट मूल्य दोब्बर वा तेब्बर राखे भयो । र, विद्यार्थीलाई पन्ध्रदेखि तीस प्रतिशतसम्म छुट भनेर बिक्री गरे पनि भयो । मूल्य निर्धारणमा पारदर्शी र स्तरीय विधि नअपनाउनाले हजारौँ विद्यार्थी वर्ग मार्कामा परेका छन् । अन्तर्राष्ट्रिय स्तरमा हेर्ने हो भने मूल्य निर्धारणमा लेखकसँग समन्वय र छलफल गरेपश्चात् मात्र पथ्य मूल्य निर्धारण गरिन्छ ।

पाठ्यपुस्तकको मूल्य जति राखे पनि न विद्यार्थीले किन्दै गर्दा ख्याल गरेको छन्, न यसबारे आजसम्म बहस गरिएको छ । अनि, यसको प्रत्यक्ष असर स्वतः विद्यार्थीमाथि पर्न गएको छ ।

नियमको उल्लंघन 
पाठ्यपुस्तक प्रकाशनमा अर्को महत्वपूर्ण पक्ष हो– आईएसबीएन नम्बर । सबै खाले पुस्तकमा यो नम्बर राख्न अनिवार्य सर्त हो । पुस्तक अभिलेख तथा ज्ञानको पुस्तान्तरण तथा संरक्षणका लागि दुई प्रति पुस्तक राष्ट्रिय पुस्तकालयमा दिने वा आईएसबीएन दिने संस्थाले तोकेको पुस्तकालयमा अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था छ । तर, व्यावसायिक दौडमा लम्किएका प्रकाशकहरूले स्नातकोत्तरकै पाठ्यपुस्तकमा यो नियमलाई उल्लङ्घन गरेको देखियो । उदाहरणका लागि, एम.एड. दोस्रो सेमेस्टरको प्रा. होमनाथ भट्टराई र कृष्णबहादुर जिसीद्वारा लिखित एक पुस्तक (कोड ED ५२१) मा यो नम्बर राखिएको देखिँदैन । यो पुस्तक जुपिटर प्रिन्टिङ एन्ड पब्लिसिङ हाउस प्रा.लि., बागबजारले २०७५ सालमा प्रकाशित गरेको देखिन्छ । हुन त यो पुस्तकलाई हामी केही विद्यार्थीहरूले उप–प्राध्यापक ध्रुवप्रसाद निउरेले २०७१ सालमा प्रकाशित पाठ्यपुस्तककै आंशिक प्रतिरूप मानेका थियौँ ।

त्यस्तै, अंग्रेजी विभागको पहिलो सेमेस्टरको एक पुस्तक (कोड Eng.Ed ५१६) मा पनि यो नम्बर नराखेको देखिन्छ, न यसको सम्पादन पक्ष राम्रो देखिन्छ । स्पष्टतः भौतिक त्रुटि हुनुका साथै प्राविधिक पक्ष पनि एकदम कमजोर छ । जुन पुस्तकलाई दीक्षान्त प्रकाशनले बजारमा ल्याएको देखिन्छ । फेरि अच्चम त यो छ कि यो पुस्तकको मूल्य चार सय पचास राखिएको छ । त्यस्तै, यसै प्रकाशन गृहबाट निस्किएको तेस्रो सेमेस्टरको अर्को पुस्तक (कोड Eng= Ed ५३५) मा पनि यो नम्बर राखिएको देखिँदैन । यी दुवै पुस्तकहरूलाई किसनसिंह धामीले लेखेको देखिन्छ । तर, गहिरिएर नियाल्दा यी पुस्तकहरू गुरुहरूको स्लाइडलाई प्रयोग गरी लेखिएको प्रस्टै देखिन्छ । यी त भए मैले अध्ययनताका भेटेका सहयोगी पाठ्यपुस्तक । यस्ता पुस्तकहरू कति होलान् बजारमा जुनले विद्यार्थीहरूको भविष्यसँग खेलिरहेका मात्र छैनन् नियमलाई उल्लङ्घन गरेका छन् ।

लेखकअनुसारको लेखकस्व 
भनिन्छ, ‘नयाँ लेखकलाई पुस्तक प्रकाशन गर्न साह्रै हतारो हुन्छ ।’ वास्तवमा, यो कुरो सत्य पनि हो । र अर्को सत्य के हो भने पाठ्यपुस्तक छपाउन पल्केका प्रकाशकहरू नयाँ लेखकसँग काम गर्न बढी इच्छुक हुन्छन् । किनकि, यसमा रोयल्टीका कुराहरू नगण्य मात्रामा हुन्छन् भन्ने उनीहरूको अनुभव हुन्छ । लेख्नेलाई ‘लेखक बन्न पाएँ’ भन्ने हुटहुटी र प्रकाशकलाई नयाँ लेखकको टिपनटापन कुरालाई प्रकाशित गरी (कचकच गरेको खण्डमा लेखकस्व झिनो पनि दिने) कमाउने ध्येय हुन्छ । तर, अनुभवी प्राज्ञिक लेखकबाट भने यो सम्भव छैन ।

मैले स्नातकोत्तरको पाठ्यक्रममा आधारित सहयोगी पुस्तक (जुन मैले पनि पढेँ)) लेख्नुभएको एक मेरै उप–प्राध्यापकलाई लेखकस्वबारे जिज्ञासा राख्दा यस्तो जवाफ पाएँ, ‘यो त सबै विश्वासमा हुने कुरा हो नि भाइ । अब यति प्रति पुस्तक निकालेको भन्छन्, हेर्न जाने कुरा भएन । अब रोयल्टीको कुरा गर्दा मेरो हकमा चैँ वार्षिक बीस/तीस हजार पाइरहेको छु । अरुको थाहा भएन ।’ यसबाट के भन्न सकिन्छ भने विश्वविद्यालय अध्यापन गर्ने प्राज्ञिक गुरु/गुरुआमाहरूलाई प्रकाशकले ढिला भए पनि लेखकस्व दिने गरेका रहेछन् । अनि मैले केही ब्याच अगाडिका एक मित्रलाई सोधेको थिएँ जसले पढाइसक्ने बित्तिकै दोस्रो सेमेस्टरको पाठ्यपुस्तक निकाल्न भ्याउनुभएको थियो । उहाँले भन्नुभयो, ‘छैन नि । दिउँला भन्ने कुरा भाको छ । म अहिले भेल्लीबाहिर भएकाले जान पाएको छैन ।’ मैले फेरि जिज्ञासा तेर्साएँ, ‘तपाईंले लेख्नुभएको पुस्तक त सबै सरहरूको स्लाइडसँग हुबहु मिल्न जान्छ त अनि ।’ उहाँले सहजै भन्नुभयो, ‘कुरै त्यही हो– जे लेखेँ पनि ।’ त्यसपश्चात्, मैले अगाडि कुरा गर्न चाहिनँ र फोन राखिदिएँ ।

पाठ्यपुस्तकका लेखक पनि अचम्म अचम्मका बजारमा पाइन्छन् । कोहीकोही त यस्ता पनि पाइए कि जुनसुकै स्तर/सेमेस्टरको पाठ्यक्रममा आधारित भएर लेख्न हतारिहाल्ने । हाम्रो स्तरमा एक यस्ता लेखक भेटेँ जसले सबै सेमेस्टरका एक एक पुस्तक लेखी भ्याएका छन् ।

परीक्षामुखी शिक्षाको परिणाम
भनिन्छ– शिक्षाले व्यवहारमा परिवर्तन गर्छ । व्यक्तिलाई सीप सिकाएर आत्मनिर्भर बनाउन सक्छ । तर, हामी अधिकांश विद्यार्थीहरू परीक्षाका लागि मात्र आफूलाई तयार पारिरहेको साँचो हो । अहिले नै सीप सिक्नु र आत्मनिर्भर बनाउनु र बन्नु त परको कुरा । हो, यही यथार्थ व्यावसायिक प्रकाशन गृहले बुझेका छन् । फलतः बजारमा विभिन्न क्याप्सुलहरू छरिदिन्छन् । विद्यार्थीलाई शिक्षकले पनि परीक्षामा खुम्च्याइदिएको साँचो हो । यसरी फगत परीक्षामुखी क्याप्सुलहरू जन्मिनुको पछाडि हाम्रो परीक्षामुखी गन्तव्यले नै हो । फेरि यस्ता गाइड लेख्ने व्यक्तिको नाम उल्लेख पनि हुँदैन । मात्र प्रकाशन संस्थाको नाम पछाडि लेखिएको हुन्छ । त्रिविकै विद्यार्थीका अनुसार ती गाइडहरू विद्यार्थीकै नोटहरूबाट टिपनटापन गरेर छपाइँदो रहेछ । कतै अध्ययनरत विद्यार्थीलाई लेख्न अह्राइँदो रहेछ ।

परीक्षामुखी पाठ्यपुस्तकहरू मात्र निकालेर विद्यार्थीहरूलाई फगत परीक्षाका लागि मात्र तयार पार्ने काम भइरहेको पाइन्छ । शिक्षा भनेको विद्यार्थीमा रचनात्मक र सृजनात्मक बाटोतिर धकेल्ने किसिमको हुनुपर्नेमा घोक्नुपर्ने र बोक्नुपर्ने परिपाटीको विकास भइरहेको छ । अर्को तीतो यथार्थ के छ कि आफूले लेखेका पुस्तक बजारमा राम्रो जाओस् भनेर सम्बन्धित गुरुहरूले त्यही पुस्तकबाट प्रश्नपत्र तयार पारेको मैले विद्यार्थी जीवनमा अनुभव गरेको छु । अब गुरु÷गुरुआमाहरूले यसरी एक्कासि प्रश्नपत्रको मोडालिटी परिवर्तन गरी बजारमा पुस्तक बिकाउने खेल त खेल्नु भएन नि !

फेरि सेमेस्टरका लागि तयार पारिएको पाठ्यक्रम वार्षिक पाठ्यक्रमभन्दा कम पनि छैन । यसले गर्दा छोटो समयमा धेरै विषयको तयारी गर्नुपर्ने बाध्यता विद्यार्थीहरूमा अर्कोतिर पनि छ ।

अनुगमन कसले गर्ने ? 
अन्य देशहरूले केन्द्रीय तहदेखि नै राष्ट्रिय पुस्तक नीति अवलम्बन गरी यस पाटोलाई व्यवस्थित, वैज्ञानिक र चुस्तदुरुस्त राखिसकेको अवस्थामा हाम्रो देशमा राजनैतिक परिवर्तनसँगसँगै शिक्षा नीति तथा कार्यक्रमहरू परिवर्तन भइरहेका छन् । यसले गर्दा बनेका मस्यौदाहरू अद्यावधिक गर्नुपर्ने आवश्यकता पनि झल्किरहेको छ । बौद्धिक सम्पत्ति चोरी, पाठ्यपुस्तक प्रकाशनमा मनपरीतन्त्र, मूल्य निर्धारणमा अस्वाभाविक एकल निर्णय, पाठ्यपुस्तकको प्राज्ञिक र प्राविधिक पक्षको कमजोरीपन, पुस्तकको अद्यावधिमा अनिरन्तरता, पाठ्यपुस्तकमा लम्बीय र क्षितिजीय क्रम निर्धारणमा सुस्तता आदि महत्वपूर्ण पक्षहरूमा नियमित नियमन, अनुगमन र सुपरिवेक्षणको टड्कारो आवश्यकता देखिन्छ ।

यी यस्ता थुप्रै गलत परिपाटीको निराकरणका लागि २०६५ सालबाटै गृहकार्य सुरु भयो । वि.सं. २०६९ सालमा एउटा मस्यौदा नै प्रस्तुत भए पनि राजनैतिक परिवर्तनसँगसँगै शिक्षा क्षेत्रमा पनि राज्यको नयाँ अवधारणा र विचारको भेल बाढी आएकाले सबैलाई एकीकृत गरी पुस्तकको उत्पादन र यससँग सम्बन्धित विभिन्न पक्षहरूलाई समेटेर बनाएको राष्ट्रिय पुस्तक नीति, २०७३ कार्यान्वयनको सिलसिलामा छ । आशा गरौँ– यो नीतिले गलत परिपाटीबाट चर्किएको पाठ्यपुस्तक उत्पादन, वितरणलाई निकट भविष्यमै नियन्त्रण गर्नेछ ।


Author

विमल सिटौला

सिटौला त्रिवि केन्द्रीय शिक्षा विभागअन्तरगत स्‍नातकोत्‍तर तहमा अध्ययनरत छन् ।


थप समाचार
x