टिप्पणी
एमाले महाधिवेशनको उपसंहार खण्ड-ओलीको लोकतान्त्रिकरण !
पाँच दिन, चार रात लगाएर अन्ततः मुलुकको प्रमुख राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दशौं महाधिवेशन सम्पन्न भएको छ । दशौं महाधिवेशनमार्फत् एमालेले अघिल्ला महाधिवेशनको विरासत धान्दै लोकतान्त्रिक ढंगले नेतृत्व चयन गरेको छ । भलै, केपी शर्मा ओली नै अध्यक्षमा दोहोरिए पनि लोकतान्त्रिक प्रक्रिया अपनाएर अध्यक्ष बनेका छन् । यद्यपि, दशौं महाधिवेशनमार्फत लोकतान्त्रिक प्रक्रिया अनुसरण गर्ने सम्बन्धमा देखिएको रस्साकस्सीले एमालेका अध्यक्ष ओलीको अनुदार चरित्र थप उजागर गर्यो ।
खल्तीका सूची पढेर ‘टीके पदाधिकारी र कार्यसमिति’ बनाउने ओलीको प्रयासकाविरुद्ध सतीसालझैं उभिएर भीम रावल र घनश्याम भुषालले एमालेमा लोकतान्त्रिक पद्धतिबाट नेतृत्व चयन गर्ने अभ्यासलाई जोगाए । खल्तीको सूची पढेर ओलीले सबैलाई अनुग्रहीत बनाउन खोजेका थिए ।
निर्वाचनबाट चुनिएका पूर्व माओवादी पक्षधर नेताहरू, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निकट भनिएका नेताहरू र ओलीको सूचीमा नपरेर पनि निर्वाचन जितेका उनै पक्षधर नेताहरू सबैलाई निर्वाचित हुँदा आत्मविश्वास र आत्मसम्मान आर्जन गरेका छन् ।
कसलाई थाहा थियो कि अष्टलक्ष्मी शाक्यले उपाध्यक्षहरू मध्येमा सबैभन्दा धेरै भोट ल्याउँछिन् भनेर ! त्यसकारण यो महाधिवेशनले पनि विगतमा जस्तै हरेक प्रतिनिधिको चुन्न र चुनिन पाउने अधिकार सुनिश्चित गरेको छ ।
सबैले आत्मसम्मान र आत्मविश्वास आर्जन गरे पनि सर्वशक्तिमान, सर्वमान्य अनि वचन नै शासन भन्ने उनको दम्भ तोडिएको छ, यसले उनको आत्मसम्मानमा ठेस लागेको हुनसक्छ !
धेरैले भीम रावललाई प्रश्न गरेका छन्– ‘हार सुनिश्चित झैं लागेको महाधिवेशन किन लडेको ?’ वास्तवमा भीम रावल घनश्याम भुषालहरूले संविधान र एमालेको विधानले सुनिश्चित गरेको अधिकारको प्रयोग गरेका हुन् । उनीहरूले लोकतान्त्रिक विधि र पद्धति अनुसरण गर्न अटेर गर्ने अध्यक्ष केपी शर्मा ओलीलाई सौराहस्थित पार्क सफारी रिसोर्टको बार्दलीबाट निर्वाचनको मैदानमा ओरालेर ओलीको लोकतान्त्रिकरण गरेका छन् ।
रावलका आफ्ना कतिपय कमजोरी होलान्, त्यसका बाबजुद पनि विचार, विधि, पद्धति, पार्टीको अनुशासनमा उनले दशौं महाधिवेशनमार्फत् आफूलाई बेमिसाल रूपमा प्रस्तुत गरेका छन् । उनीहरूले पार्टीको आन्तरिक राजनीतिमा प्रतिस्पर्धाको लोकतान्त्रिक व्यवहारलाई दशौं महाधिवेशनमा पनि जोगाएरै राखे किनकी ओलीको उदय हुनुअघि पार्टीभित्र आन्तरिक लोकतन्त्रको अभ्यासले एमाले आजको एमाले बनेको हो । त्यसो त प्रतिस्पर्धा गर्ने अवसर नै दिइन्नथ्यो भने नवौं महाधिवेशनबाट ओली नै कसरी अध्यक्ष चुनिन्थे होला र ! त्यसकारण ओली अध्यक्ष नहुँदासम्म एउटा व्यवस्था, अनि उनी अध्यक्ष भएर दोहोर्याउन चाहँदा अर्को व्यवस्था हुँदैन ।
चितवनबाट फर्किदाँ रावल र भुषालले लोकतन्त्रप्रति प्रतिवद्ध हरेक नेपालीको मन जिते भने ओलीले एमालेको अध्यक्ष मात्र जिते । एमाले अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई डल्लाका डल्ला साबुन खर्च गरेर नुहाए भनेजस्तै चितवनमा रावल र भुषालले ओलीको अलोकतान्त्रिक आचरणलाई गंगाजलले धोइपखाली गरेका छन् ।
समग्रमा एमालेको दशौं महाधिवेशनमा ओलीले चाहेजस्तो तीनै धारका (पूर्व माओवादी, ओलीका चेलाचपेटा र माधव नेपाल पक्षधर दशभाइमध्येका नेताहरू) सबैलाई समेटेको छ । भीम रावल र धनश्याम भुषालको लोकतान्त्रिक विधिबाट महाधिवेशन सम्पन्न गर्ने चाहना पनि पूरा भएको छ । देशभरबाट चितवनमा भेला भएका महाधिवेशन प्रतिनिधिको मत दिन पाउने अधिकारको पनि सम्मान भएको छ ।
समग्रमा एमलेको दशौं महाधिवेशनले एमालेका अघिल्ला महाधिवेशनहरूको विरासत धानेको छ, लोकतान्त्रिक आचरणप्रति अनुदार ओलीको लोकतान्त्रिकरण गरेको छ । नवौं महाधिवेशनमा जस्तै दशौं महाधिवेशनमा पनि ओली प्रतिस्पर्धा गरेरै अध्यक्ष बनेका छन् । यो एमालेको आन्तरिक जीवनका लागि धेरै अर्थपूर्ण छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया