विचार

ओलीज्यू, हार्दिक बधाइ अनि हामी युवाका केही कुरा सुनिदिनुस्

अमर पाण्डे |
मंसिर २१, २०७८ मंगलबार १०:५ बजे

माननीय केपी शर्मा ओलीज्यू, म एक युवा हुँ र मैले म जस्ता हजारौं नेपाली युवाको प्रतिनिधित्व गर्दछु । अहिले नेपाली युवा लामबद्ध भएर राहदानी लिन अध्यागमन विभागको कार्यालय अगाडि उभिएको त उहाँले पक्कै देख्नुभएकै होला ।

तपाईंको विगत र सम्भावित भविष्यबारे म जस्ता हजारौं युवाको प्रतिनिधित्व गर्दै यो पत्र लेख्ने चेष्टा गरेको छु । नेकपा एमालेको दसौं महाधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित हुनुभएकामा हार्दिक बधाई एवं सफल कार्यकालको समेत शुभकामना । आफ्नो प्रतिकूल स्वास्थ्य अवस्थाका बाबजुद निकै सक्रिय एवं चाखलाग्दो राजनीतिक गतिविधिमा संलग्न भएको देख्दा तपाईं निश्चय पनि तीव्र इच्छाशक्ति र अथाह सम्भावना भएको नेता हो भन्नेमा कुनै विवाद रहेन । दुईदुई पटक मिर्गौला प्रत्यारोपण गरेर पनि सहज र सरल रूपले देशको राजनीतिको केन्द्रबिन्दुमा रहेर आफ्ना गतिविधि सञ्चालन गर्दै आउनुभएको छ । आफ्नो फरक किसिमको वाक् क्षमता एवं मन्तव्यले विगत केही वर्षयता राष्ट्रिय राजनीतिको शिखरमा रहनुभएको छ, यहाँको स्वस्थ सदैव अनुकूल रहोस् भन्ने शुभकामना छ ।


कमरेड चितवनमा सम्पन्न यहाँको पार्टीको दसौं महाधिवेशनउपर अहिले देशीविदेशी सबैको चासो र जिज्ञासा छ । यस महाधिवेशनबाट तपाईं अझ शक्तिशाली अध्यक्ष भएर देशको सबैभन्दा ठूलो पार्टीको नेतृत्व तहमा पुग्नुभएको छ । विगतमा देशको सार्वभौमसत्ता, जनताको स्वतन्त्रता, अत्याचार र दमनविरुद्ध पटकपटक संघर्षको मैदानमा होमिएर जेल र नेल भोगेको, अनेक दुःख–कष्ट, अभाव र व्यवधानहरूको सामना गर्दै आफ्नो निजी जीवनको तिलाञ्जलि दिएर राष्ट्र र जनताका निम्ति त्याग गरेको यहाँको गर्विलो इतिहास नेपाल देशले सदैव सम्झिरहनेछ ।

राष्ट्रपतिजस्तो सर्वोच्च संस्थालाई पार्टी र आफ्नो अनुकूल बनाउन पटकपटक कोसिस गरेको सम्बन्धमा पनि तपाईं विरोधीहरूको तारो बन्नुभयो ।
 

अबको पाँच वर्ष नेकपा एमालेको नेतृत्व गर्दै गर्दा आफ्नो विगतलाई स्मरण गर्दै पूर्णतः राष्ट्र निर्माणमा जुट्नुहुनेछ भन्ने अपेक्षा लिएको छु । त्यसो त तपाईंले आफू पहिलो पटक प्रधानमन्त्री रहँदा भारतले गरेको नाकाबन्दीको डटेर सामना गरेको र प्रस्ट राष्ट्रिय अडान लिएर लोकप्रिय बन्नु भएको थियो । त्यसपछि सर्वत्र हाईहाई हुनु भएपछि नेकपा माओवादीसँगको पार्टी एकता गरेर एउटा सशक्त कम्युनिस्ट पार्टी निर्माणको यहाँको अभियान उत्तिकै स्वागतयोग्य थियो । तत्पश्चात् तपाईंले नेतृत्व गरेको नेकपा एमाले दुई तिहाइ मतले सरकारको नेतृत्वमा पुग्यो र तपाईं उक्त ऐतिहासिक सरकारको शक्तिशाली प्रधानमन्त्री बन्नुभयो । तपाईंको दोस्रो प्रधानमन्त्रित्वको प्रारम्भमा देशमा आशाका किरणहरू पनि देखापरे तर त्यो फगत क्षणिक रह्यो । तपाईं प्रधानमन्त्री हँुदा गरेका केही निर्णय निकै विवादित र तीव्र आलोचनाका शिकार बने । नागरिकता विधेयक, गुठी विधेयक, सञ्चार माध्यमसम्बन्धी विधेयक लगायत कानुन निर्माणमा तपाईंको उचित ध्यान नगएपछि तपाईं पछि हट्नुपर्‍यो ।

यहाँले पटकपटक भन्दै आउनुभएको, शून्य सहनशीलतासम्बन्धी नारामा पनि ७० करोड प्रकरण एवं ओम्नी, यती लगायत खोप ल्याउँदा भएको अनियमितताबारे उठेका प्रश्नहरूले तपाईंको व्यक्तित्व र समृद्ध नेपाल सुखी नेपालीको नारालाई तहसनहस नै बनायो । कोरोना कालमा तपाईंले देखाउनु भएको भूमिकालाई लिएर देश–विदेशमा राम्रै आलोचना भयो, पार्टीका सामान्य बैठकदेखि अनावश्यक छलफलसम्म बालुवाटारमा राखेर चिया तथा खाजा खर्चको बिल करोडौंमा आएपछि अझ धेरै आलोचनाका आवाज उठे । अध्यादेशबाट शासन गर्न खोजेको, संवैधानिक आयोगका पदाधिकारी आफू अनुकूल नियुक्ति गरेको जस्ता विषय अझ धेरै आलोचित बने ।
यी सबैका बाबजुद पनि नेपालको नक्सा अद्यावधिक गर्ने क्रममा नेपालका मिचिएका भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर संविधान संशोधन गरी देशलाई यहाँले ठूलो गुन लगाउनुभएको छ । त्यति मात्र नभएर चीनसँग पारवाहन सन्धि गरी देशको एकपक्षीय परनिर्भरतालाई तोड्न पनि यहाँको ठूलो भूमिका रहेकै हो ।

पार्टीभित्रको विवाद देखाएर देशको सर्वोच्च एवं सार्वभौम संस्था प्रतिनिधिसभाको दुई–दुई पटक विघटन गरेको ऐतिहासिक कदमको निश्चित रूपले इतिहासले समीक्षा गर्ला । पार्टीभित्रको अन्तर्विरोध सम्हाल्न नसकेको र यहाँकै कार्यकालमा नेकपा एमाले छिन्नभिन्न भएको घटना ताजै छ । राष्ट्रपतिजस्तो सर्वोच्च संस्थालाई पार्टी र आफ्नो अनुकूल बनाउन पटकपटक कोसिस गरेको सम्बन्धमा पनि तपाईं विरोधीहरूको तारो बन्नुभयो ।

यी सबै कुरालाई ध्यानमा राखेर अब नेकपा एमालेको नेतृत्व गर्दै गर्दा विगतका सबै कमी–कमजोरीलाई त्यागेर स्पष्ट राष्ट्रिय अडान र देशको समृद्धिलाई सर्वोपरि ठानेर पार्टीको गुटगत राजनीतिबाट माथि उठ्दै आफ्नो सम्पूर्ण कार्यकाल देश र जनतामा समर्पित गर्नुहुनेछ भन्ने विश्वास बोकेको छु । संविधानले स्थिर र जवाफदेही सरकार, कल्याणकारी राज्य र लोकहितमा आधारित कार्यपालिकाको परिकल्पना गरेको छ अहिले तपाईंको पार्टी प्रमुख प्रतिपक्षमा छ, एमसीसीलगायत कयौं महत्वपूर्ण विषय संसद्मा अड्किएर बसेका छन् ती विषयको विवेकपूर्ण तवरले सम्बोधन गर्नेदेखि लोकतन्त्र, राष्ट्रियता, संघीयता र सामाजिक न्यायलाई सुदृढ पार्ने सम्बन्धमा तपाईं र तपाईंको दलको अर्थपूर्ण एवं सशक्त भूमिका रहोस् । अहिलेको देशको आवश्यकतालाई बुझेर, बेरोजगारी, शिक्षा, स्वास्थ्यलगायत विषयमा पनि तपाईंको ध्यान केन्द्रित रहोस् । फेरि पनि अध्यक्ष पदमा निर्वाचित हुनुभएकामा हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना ।


Author

थप समाचार
x