विचार

‘के पढेपछि छिट्टै ठूलो मान्‍छे बनिन्‍छ सर ?’

वसन्त आचार्य |
पुस १३, २०७७ सोमबार ८:१ बजे

दर्जन ठाउँमा टेकासो दिएको चप्पलमा चिसोले आतंक मच्चाएको खुट्टाले पाइला नाप्दै मैले काम गर्ने शिक्षालयमा एक जना वृध्द आउनुभयो । उहाँसँगै नातिनी जस्तो लाग्ने एक युवती पनि थिइन् । उनको अनुहारलाई कौतूहलले टेकासो दिएको थियो । वृध्दले बडो अनुनय गरेर माननीयलाई झैं अनुरोध गरे जसरी भने, ‘यो तपाईंको क्याम्पसमा के पढेपछि मेरी नातिनीलाई राम्रो होला भन्दिनुपर्यो हजुर ?’

अनुहार मुजा परेको भए पनि आँखामा गहिरो आशा थियो । उनी यसरी बोल्दै थिए, मानौँ मैले भनेको विषय उनकी नातिनीले पढिन् भने उनले जीवनमा नसोचेको परिवर्तन गर्नेछिन् । जसको आधार अनि अभिरुचि मलाई थाहा थिएन, उसैको भविष्य मैले कोरिदिनुपर्ने ।


प्राविधिक शिक्षालयको नेतृत्व गरेपछि अहिले प्रायः कानमा गुञ्जिरहने केही पूर्वनिर्धारित प्रश्न छन्, ‘के पढेपछि स्कोप हुन्छ सर ?’ ‘के पढेपछि छिट्टै ठूलो मान्छे बनिन्छ सर ?' अक्षरसँग कहिल्यै पनि चिनजान नभएका मात्रै होइन, अक्षर घोटेर जीवन चलाएका अभिभावकले पनि यस्ता प्रश्नहरूले रातो दिन ‘फलो’ गरिरहेका हुन्छन् । सबै ठाउँमा फलो कहाँ गतिलो मानिन्छ र ?

शिक्षालय प्रमुखका हिसाबले मैले भनेको पढेपछि कुनै पनि हिसाबले रोजगार पाइन्छ भन्‍ने उनीहरूको सोच हुन्छ होला सायद । नेपालमा पढेर झट्ट रोजगार पाइने विषय नै त राम्रो मानिन्छ । स्कोपको प्रचलित अर्थ पनि यही त हो नि । संसारमा केको बढी स्कोप छ र केको स्कोप छैन भन्‍ने कुरा केले निर्धारण गर्छ होला ? व्यक्तिपिच्छे यसका अनेकानेक सोच छन् । सामान्यतया पढ्नेबित्तिकै सरकारी जागिर पाउन सकिने विषयलाई नै सबैभन्दा बढी स्कोप भएको मानिने नेपाली मनोवृत्ति छ । 

फलानोले यो पढेर जागिर खायो त्यही भएर यही पढ्नुपर्छ भन्‍ने मानसिकता अहिले धेरै देखिन्छ । अझ विशेष गरेर लोकसेवा आयोगमा कम प्रतिस्पर्धा गर्नुपर्ने विषय सबैका लागि स्कोप मानिने देखिन्छ । के हामीकहाँ स्कोप भएका सीमित विषय मात्रै छन् त ? किन एक समय स्कोपै-स्कोप देखिएको शिक्षा संकाय कुनामा फ्याँकिएको छ ?

के पढ्दा स्कोप हुन्छ भन्‍ने प्रश्नको जवाफ यो देशका महान् चिन्तक र शिक्षाविद्सँग छैन भने मसँग कसरी हुनु ? हाम्रो गाउँ समाजमा निकै प्रचलनमा आएको भए पनि यो कुनै प्रश्न नै होइन । तर पनि धेरै आशा बोकेर आएको मानिसलाई निराश बनाउन पनि भएन । एकातिर केही नभन्दा अज्ञानताको कुप्रचार हुने डर, अर्कातिर केहीभन्दा उत्तरै थाहा नपाएको कुरामा जवाफ के दिनु ? जवाफ नहुँदा पनि जवाफ दिन सक्ने तागत यो संसारमा नेपालीसँग जति कोसँग होला ? मैले पनि अनेक तवरले व्याख्या गरेर विद्वता छाँट्दै प्रवचन दिन्छु । सुन्‍नेहरू त्यसलाई अमृतभन्दा पनि मीठो मानेर कुनै लाइन छुट्छ कि भनेर सुनिरहेका हुन्छन् । 
         
स्कोप छ भन्दैमा हामीले अंकको मापन गरेर विद्यार्थीलाई उसको रुचिभन्दा फरक अनेकानेक विषय पढ्न त लगाइरहेका छैनौँ ? एकपटक प्रश्न गरौँ । संसारमा हरेक विषयको उत्तिकै स्कोप छ । हरेक विषयका सम्भावनाबारे लेख्दै जाने हो भने कैयौं बुँदा बन्‍न सक्छन् । तर विद्यार्थीको अभिरुचि त्यसमा प्रधान हुन्छ ।

‘नेपाली’मा स्नातकोत्तर गरे पनि ‘नेपालि’ ह्रस्व लेख्‍ने जमात छ, विज्ञान पढेर कुहिरो किन लाग्छ जस्ता कुरा जानिएन भने स्कोप कसरी हुन्‍छ ?

स्कोप छ भन्दैमा सुई देख्दा डराउने विद्यार्थीलाई चिकित्सा क्षेत्रका विषय अध्यापन गराउन थाल्यौं भने के त्यसले स्कोप भेटाउन सक्छ ? समाजमा खुलेर तर्क गर्न नसक्ने र डराउने विद्यार्थीलाई कानुन पढाउन थाल्यौँ भने के हुन्छ ? हामीकहाँ स्कोप हेरेर पढ्ने प्रचलन व्याप्त छ । देशका लागि निकै घातक रहेको यो कुप्रथाको अन्त्य सहजै हुने सम्भावना देखिँदैन ।

मैले पढ्दाको बखतको कुरा सम्झन्छु । एसएलसीमा द्वितीय श्रेणी (राम्रो मानिने) ल्याएपछि मलाई विज्ञान नै पढ्नुपर्छ भनेर अनेक तवरले घच्घच्याइयो । अल्लारे उमेर मोटा विज्ञानका किताब बोकेर कक्षामा जाने कुराले साह्रै लोभ्यायो पनि । घर नजिकमै अन्य विषय अध्यापन हुने कलेज हुँदाहुँदै म २४ किलोमिटर पारि पद्मोदय पब्लिकमा विज्ञान विषय अध्ययन गर्न थालेँ । विद्यालयका हनिमुन दिन उत्साहपूर्ण रहे । तर त्यसपछि मलाई सम्बन्धविच्छेद गर्न मात्रै मन लागिरह्यो ।

सधैंको टाउको दुखाइको अन्त्य गरेँ मैले, कक्षा सञ्चालन भएको तीन महिनापछि । मैले पढाइलाई शिक्षा संकायमा रूपान्तरण गरेँ । कामै नलाग्नेले पढ्ने विषय भनिने शिक्षा पढेर अहिले मलाई खासै पछुताउनुपरेको छैन । विज्ञान पढेर पुग्न सकिने ठाउँमा म अहिले शिक्षा अनि मानविकी पढेर पुगेको छु ।

मेरो अरू साथीका पनि कैयौं यस्ता उदाहरण छन् । जीवन र जगत् फराकिलो छ । यहाँ जे पढे पनि स्कोप छ । फरक यत्ति हो हामीले कति गहिराइमा पुगेर अध्ययन गरेका छौं । ‘नेपाली’मा स्नातकोत्तर गरे पनि ‘नेपालि’ ह्रस्व लेख्ने जमात छ, विज्ञान पढेर कुहिरो किन लाग्छ जस्ता कुरा जानिएन भने स्कोप कसरी हुन्छ ? आफूले पढेको विषय जतिसुकै किन सामान्य नहोस् (धेरैले पढेको भन्‍ने अर्थमा) तर त्यसमा गहिरो ज्ञान हासिल गर्न सकिन्छ भने त्यसको स्कोप सधैं रहिरहन्छ ।

यो देश चलाउने अधिकांश नेता या कर्मचारी हेर्नुहोस्, बहुसंख्यकले मानविकी विषय नै पढेका छन् तर अहिले यो विषय फेज आउट हुन थालेको छ । आजभोलि मानविकी पढिरहेका विद्यार्थीलाई पढाइबारे सोध्यो भने उनीहरू जवाफ दिन आनाकानी गरिरहेका हुन्छन् । जसलाई आफूले पढ्ने विषयप्रति आत्मसम्मान छैन त्यस्तोले कसरी जीवनमा परिवर्तन गर्न सक्छ ? आफ्नो क्षमता र रुचिलाई भुलेर पनि कहीँ स्कोप बाँकी रहन्छ र ?

विद्यार्थीको स्तर, अभिरुचिभन्दा पनि र रोजगारलाई प्रधान ठान्दा शिक्षालयहरूले योग्य र लगनशीलभन्दा पनि पैसा फलाउने कारखाना उत्पादन गरिरहेका छन् । विद्यार्थीको अभिरुचि र लगन भएको जुन कुनै विषय अध्ययन गरेको भए पनि त्यसले जीवनमा परिवर्तन गर्न सक्छ । जीवन परिवर्तनको आधारका रूपमा  विभिन्‍न विषय रहेका छन् तर हामीले त्यसलाई प्रधानता दिन सकेका छैनौँ ।

लोकप्रिय बलिउड मुभी ‘थ्री इडियट’मा एउटा संवाद छ, ‘यदि लता मंगेशकरको बुवाले क्रिकेट खेल भनेको र सचिन तेन्दुलकरको बुवाले गीत गाउन लगाएको भए उनीहरूको भविष्य कस्तो हुन्थ्यो होला ?’ स्कोपको लालचमा हामीले हाम्रा सन्ततिहरूलाई यस्तै बनाइरहेका त छैनौं ? केही समय घोत्लिएर सोच्‍नुपर्ने भएको छ ।

अझ आजभोलि स्वदेशभन्दा पनि कुन विषय पढ्दा विदेश जान सकिन्छ भन्‍ने कुरालाई स्कोपको मानक बनाइएको देखिन्छ । साँच्चै आफ्नो ठाउँको माटोको सुवास नचिन्‍ने पढाइको स्कोप कसरी सबैभन्दा धेरै भयो ? सायद तराजुको एउटा तुलोमा पैसा र अर्का तुलोमा ज्ञानलाई राखेर नै स्कोप निर्धारण हुने भएकाले नै होला । (आचार्य, तुलसीपुर उपमहानगरपालिकाद्वारा सञ्चालित मेट्रो कलेजका प्रिन्सिपल हुन् ।)


Author

वसन्त आचार्य

आचार्य, दाङमा शिक्षा तथा पत्रकारिता क्षेत्रमा क्रियाशील छन् ।


थप समाचार
x