कांग्रेस विमर्श
कांग्रेसको नयाँ पुस्ताले बुझ्नैपर्ने सवाल
के त्यो विरासत फर्काउन आज सम्भव छ ?
त्यसबखतको कुरा हो, जुनबेला जनमत संग्रहमा बहुदल पक्षको हारपछि अब के गर्ने ? भन्ने सोचमा जननायक बीपी कोइराला हुनुहुन्थ्यो । सुधारिएको पञ्चायती व्यवस्थामा भाग लिने कि नलिने भन्ने आवाज सबै बहुदलवादीबाट आइरहेको थियो । स्थिति अत्यन्त जटिल हुनुको साथै कांग्रेसका दोस्रो तहका नेताहरूलाई राजाका मानिसहरूले प्रभावमा पार्न भरमग्दूर प्रयास गर्दै थिए । स्थितिको गाम्भीर्यता बुझेर बीपी कोइराला (सान्दाजु)ले सबै पाँच प्रदेशमा नेपाली कांग्रेसको छलफल आयोजना गर्ने निर्णय गर्नुभयो ।
विषय थियो– ‘सुधारिएको पञ्चायती व्यवस्थामा भाग लिने कि नलिने ?’ पश्चिमाञ्चलको भेला पाल्पामा गर्ने निश्चित भयो । बीपी, गणेशमान र किसुनजीलाई बस्ने व्यवस्था हरि भट्टराईको, नारायाणस्थान माथिको घरमा भयो । मेरो जिम्मा नेताहरूको सुरक्षा व्यवस्थापन पर्यो । म त्यसबेला पाल्पा जिल्लामा नेविसंघ सभापति तथा क्याम्पस ईकाई सभापति थिएँ । पोखराबाट महादेव गुरुङ, राजेन्द्र कोइराला लगायत साथीहरूलाई बोलाएको थिए । पश्चिमाञ्चल भित्र पर्ने सबै जिल्लाका कांग्रेस नेता र कार्यकर्ता तानसेन बजारमा जम्मा भएका थिए ।
भेलाको पहिलो दिन त्रिवेणीप्रसाद प्रधान (नेकाका महामन्त्री)ले मलाई बोलाएर ‘तपाईले बीपीले थाहा नपाउनेगरी साँझ म कहाँ किसुनजी र गणेशमानजीलाई खाना खुवाउन ल्याउनुस्’ भनेर जिम्मेवारी दिनुभयो । म त बडो असमञ्जसमा परें, प्रहरी र सेनाको अत्यन्तै सतर्कता बढेको तानसेन बजारमा के गर्ने, कसो गर्ने भन्ने सोच्दासोच्दै पहिलो दिनको कार्यक्रमको व्यस्तताले गर्दा यसो गर्ने भन्ने कुरा सोच्नै पाइनँ ।
सान्दाजु (बीपी) को सुत्ने समय भयो भनेर उहाँ ९ बजे आफ्नो कोठामा सुत्न जानुभयो । केही समयपछि गणेशमानजीले मलाई बोलाउनुभयो र सोध्नुभयो, ‘बीपी सुत्नुभयो ?’
मैले ‘सुत्नुभयो’ भनें ।
तर उहाँले फेरि हेर्न मलाई पठाउनुभयो ।
मैले हेरेर आएँ । अनि ‘ढोका लागेको छ’ भनें ।
त्यसपछि गणेशमानजीले ‘ल अब त्रिवेणीजीकहाँ जाने’ भन्नुभयो ।
मैले ‘हवस्’ भनें ।
उहाँ तयार हुँदै गर्दा अर्को कोठाबाट किसुनजीले बोलाउनुभयो र सोध्नुभयो, ‘बीपी सुत्नुभयो ?’
मैले सुत्नुभयो भनेपछि उहाँपनि लुगा लगाएर तयार हुन थाल्नुभयो । मैले त्यसबीचमा मैले नेताहरूको सुरक्षामा रहेका नेविसंघका मेरा साथीहरूलाई बोलाएँ ।
हामी तयार भएको जानकारी गणेशमानजी र किसुनजीलाई दिएँ । उहाँहरू कोठाबाट निस्कनुभयो । बीपीको सुत्ने कोठा भर्याङको मुखमा थियो । काठको भर्याङबाट ओर्लदाँ आवाज नआओस् भनेर गणेशमानजीले जुत्ता मलाई समाउन दिएर बिस्तारै भर्याङबाट ओर्लनुभयो ।
त्यसपछि किसुनजीले पनि त्यसै गर्नुभयो र घरबाहिर निस्केर दुवै जनाले जुत्ता लगाउनुभयो । र त्यसपछि तानसेनको शीतलपाटीमा रहेको त्रिवेणीजीको घरमा हामीले उहाँहरूलाई लिएर गयौं ।
उहाँहरू त्यहाँ रातिको खाना खाएर दुई घण्टा बस्दा राती एघार बजिसकेको थियो । हामी पुनः पहिले बसेको घरमा फर्कियौं । उक्त घरमा आइसकेपछि गणेशमानजी र किसुनजीले आवाज नआओस् भनेर जुत्ता खोलेर सुस्त गरी भर्याङ उक्लनुभयो ।
गणेशमानजी र किसुनजी सुत्न गएपछि हामी पनि आ–आफ्नो ठाउँमा गएर बस्यौं । भोलिपल्ट बिहान ६ बजे कार्यकर्ता भेलास्थलमा पुग्दा बीपी पहिल्यै त्यहाँ पुगेर बसिरहनुभएको रहेछ ।
मलाई देखेर बोलाउनुभयो र सोध्नुभयो– ‘गणेशमानजी र किसुनजीलाई हिजो राति कहाँ लगेको ?’
मैले सबै कुरा सविस्तार बताउँदा बताउँदै गणेशमानजी र किसुनजी पनि आइपुग्नुभयो ।
बीपीले भनिहाल्नुभयो, ‘हिजो राति खुब रमाइलो भएछ, होइन ?’ त्यसपछि गणेशमानजी र किसुनजी नसुनेको झैं गर्दै मुसुमुसु हाँस्दै बीपीसँगै राखिएका कुर्सीमा बस्नुभयो ।
त्यसैबेला त्रिवेणीजी आउनुभयो अनि बीपीले उहाँलाई भन्नुभयो ‘तपाईंलाई नगर्नुस् भनेको मान्नुभएन । हाम्रो समय ठीक छैन । राजाले जे पनि गर्न सक्छन् !’
मैले आफू राजनीतिमा संलग्न हुँदै गर्दा त्यस्तो मान, सम्मान, आदर र अनुशासन भएको पार्टी र भव्य कद भएका नेताहरूलाई देखें । आजसम्म आइपुग्दा उक्त पार्टीप्रति आम जनताको सम्मान, आदर र पार्टीभित्र अनुशासनको स्थिति के छ हामी सबै जानकार छौं ।
विगतमा बीपी, गणेशमान र किसुनजीले जनताको अधिकार र स्वतन्त्रताका लागि आफ्नो निजी जीवनको कहिल्यै पर्वाह गर्नुभएन । त्यो सम्झदाँ उहाँहरूप्रति मनैदेखि श्रद्धाभाव जागेर आउँछ ।
के त्यो विरासत आज फर्काउन सम्भव छ ? नेपाली कांग्रेसको नयाँ पुस्ताले यसलाई अनुसरण गरे मात्र नेपाली कांग्रेस अरु पार्टीभन्दा फरक र गतिशील हुनसक्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया