कांग्रेस विमर्श
कांग्रेसमा त्रिकोणात्मक दुश्चक्र : सदस्यता, तह र आसेपासे
देउवाको नेतृत्व तोड्ने भन्दा जोड्नेमा संलग्न हुने निश्चित !
समकालीन नेपालमा पृथ्वीनारायण शाहदेखि १९९७ का चार सहिदहरू (दशरथचन्द, धर्मभक्त, शुक्रराज र गंगालाल) को ‘असुलहरू’ अनि विश्वेश्वरप्रसाद कोइरालादेखि सुवर्ण शम्शेर, सूर्यप्रसाद उपाध्याय, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह एवं मनमोहन अधिकारी, पुष्पलाल र मदन भण्डारीका आ-आफैँ ‘निष्ठा, मूल्य र मान्यता’मा आधारित वर्तमान राजनीतिक दल एवं व्यक्तिहरूको देश र जनताप्रतिको प्यासन (उत्कण्ठ/अभिलाषा) सिर्फ राज्य लूट नै हो र ? फेरि पनि आमनागरिकहरूले दोहोर्याइरहने प्रश्न : आखिर राजनीति केका लागि ? यदि जनताका निम्ति हुँदो हो त राज्यमाथि अन्धाधुन्ध लूट र संविधान, ऐन र नियमहरूको संस्थागत बलात्कार भइरहने थिएन । ‘अरू केही नभए पनि नीति, विधि, सुशासन र आदर्श व्यक्ति, संस्था र राष्ट्रका निम्ति आफ्नै चरित्र किन लिलामीमा राखेका ?
हो, चाहे धनी होस् वा गरिब देश/समाज जो जसले पनि असल राजनीतिक नेतृत्व खोजी रहन्छ । ‘असल’को सामाजिक परवेशमा भन्नुपर्दा, अभ्रष्ट र नैतिक चरित्रवान् व्यक्तित्वहरू बुझिन्छन् । जुन अहिलेको समकालीन राजनीतिक परिदृश्यमा भेटिँदैन । यसै विषम पृष्ठभूमिमा नेपाल कांग्रेसले आफ्नो १४ औं महाधिवेशन समयको बाध्यात्मक सीमामा पुगेर गर्दैछ । २०४६/०४७ पछि अर्थात् राजनीतिक दल खुकुलो भएपछि कांग्रेसले आफ्नो नियमित अधिवेशन चार वर्षभित्र गर्ने गरेको कतै अभिलेख छैन । यद्यपि विधानमा त्यस्तै लेखिएको छ ।
अझ भनौँ चार वर्षमा गर्नु÷हुनुपर्ने अधिवेशन ६ वर्ष पुग्छ । त्यसो त, कांग्रेसमा असल नेतृत्वको अपेक्षा गर्नु स्वयं मूर्ख बन्नुभन्दा बढ्ता केही हुँदैन, किनभने वर्षमा कम्तीमा एक पटक हुनुपर्ने महासमितिको बैठक विगत पाँच वर्षमा एउटा के भएको थियो । त्यसले एउटा नियम पारित गर्यो कि केन्द्रीय सदस्यहरूले पनि निर्वाचनमार्फत महाधिवेशन प्रतिनिधि हुनुपर्ने प्रावधान केन्द्रीय समितिका कथित वरिष्ठ महानुभावहरूले निस्तेज पारे । यद्यपि कांग्रेसका ठालुहरूलाई आफूलाई ठूलै लोकतन्त्रका अगुवा ठान्छन्, तर स्वयं ‘टिके कांग्रेस’ बन्न लाज मान्दैनन् ।
देउवाको उपलब्धि : साँढेतन्त्र
आमनेपालीले देखेको विगत ६ वर्षदेखि कांग्रेसको सभापति भइसकेपछि, कांग्रेसभित्र अथवा कांग्रेसलाई उकास्ने कुनै एउटा उल्लेखनीय कार्य गरेको रेकर्ड भेटिँदैन । त्यस्तो त, सभापति देउवाले सभापतित्व ग्रहण गरेपछि केन्द्रीय, प्रदेश र स्थानीय चुनावमा कांग्रेसको ऐतिहासिक एवं लज्जाजनक हार बेहोर्यो । त्यतिमात्रै होइन कि नेपाली कांग्रेस तीनवटै तहका चुनावमा विगत २५ वर्षको चुनावी इतिहासमा सबैभन्दा न्यून थियो । अब त्यो तथ्य पनि सायद बिरानो भइसक्यो किनकि देउवा स्वयं प्रधानमन्त्री छन् ।
सभापति देउवाको अर्को महान् उपलब्धि भनेको नेपाली कांग्रेसको आदर्श र बीपी, गणेशमान, किसुनजीका सम्पूर्ण ‘कोर भ्यालु’लाई चितवन भरतपुरमा माओवादीलाई चुनावमा भोट हाल्न गरेको सार्वजनिक उद्घोषणबाट अन्त्य भएको ऐतिहासिक दुर्घटनालाई कांग्रेसको केन्द्रीय समितिले स्वीकारेपछि अबको कांग्रेस देउवाको ‘साँढेतन्त्र’मा परिणत भइसकेको छ ।
जबसम्म नेपाली कांग्रेस अनुशासित राजनीतिक दलमा रूपान्तरण हुन सक्दैन तबसम्म नेपाल र नेपालीले प्रजातान्त्रिक मूल्य, मान्यता, संस्कार एवं स्वावलम्बी, उत्तरदायी र जिम्मेवारीपूर्ण नेतृत्वको एवं आदर्श समाजका सस्ंथागत विकासको अपेक्षा गर्न सकिँदैन ।
त्यसैले आज नेपाल कार्यपालिकादेखि व्यवस्थापिका एवं न्यायपालिकाहरू पूर्णतया ‘साँढेतन्त्र’बाट परिचालित छन् जहाँ विधिविधान लत्याएर व्यक्ति व्यक्तिका तजबिजअनुसार चल्छन् । संविधान त सिर्फ दुनियाँलाई देखाउने दाँत मात्रै हो; बाँकी दलीय ठूला ठालुहरूको निर्देशनअनुसार सञ्चालित छन् । त्यो आरोप होइन किनकि ‘२०२१ को आर्थिक स्वतन्त्रताको सूचकांकमा (१७८ देशहरूमध्ये) नेपालको स्थान १५९ मा अड्किएको यथार्थले इंगित गर्छ कि नेपालमा सरकारको विश्वसनीयता, न्यायिक प्रभावकारिता, सम्पत्तिसम्बन्धी अधिकार, अािर्थक एवं लगानी स्वतन्त्रताको स्थिति (३८ प्राप्ताङ्क) अफ्रिकन राज्यहरू जस्तै मोजम्बिक, कंगो, चाड, जाम्बिका जस्तै छ ।
नहोस् पनि कसरी, जबकि वर्तमान प्रधानमन्त्री ६ महिना अगाडिसम्म जब प्रतिपक्ष दलको प्रमुख नेता थिए तब पनि तिनको भूमिकामा कुनै अन्तर थिएन । अर्थात्, २०६२÷०६३ पछि साना–ठूला सबैथरी दलहरूको एउटै मक्सद रह्यो कि राज्य बनाउने निहुँमा सम्पूर्ण शासकीय सयंन्त्र र संस्थाहरू नियन्त्रणमा लिँदै आर्थिक अराजकतामा रमाउन पुगे । विगतका कम्तीमा ५ देखि १० वर्षका महालेखा परीक्षकको प्रतिवेदनहरू स्वयं प्रमाण स्वरूप उपलब्ध छन्, तर दलीय ठालुहरूको मौनतालाई कस्तो लोकतन्त्र ठान्ने ? अनि समकालीन राजनीतिमा जनताप्रति उत्तरदायी र जिम्मेवारीपूर्ण नेतृत्व एवं असल नेता कहाँ खोज्ने ?
कांग्रेसको मुख्य समस्या ?
कांग्रेसका केन्द्रीय सभापतिका घोषित/अघोषित उमेदवारहरूले कांग्रेसको मुख्य समस्याबारेमा खासै बोलेको÷लेखेको देखिँदैन÷सुनिँदैन । यद्यपि विभिन्न व्यक्तिहरूले विभिन्न सूत्रीय घोषणाहरू सार्वजनिक गरे तापनि चुरोलाई छोएको छैनन् । किनभने कांग्रेसको समस्याको चुरो भनेको ‘सदस्यता, तह र आसेपासे गुट/उपगुट/झुण्डहरूको दुश्चक्र’ हो । अर्थात् कांग्रेस दिन परदिन जसरी मक्किँदै गएको छ । त्यसका केन्द्रमा मौलाउँदै गएका थरीथरीका गुट/उपगुट/झुण्ड/समूह र तिनीहरूको चलखेल र सो चलखेल गर्ने माध्यम भनेको त्यही ‘सदस्यता’ र ‘तह’ माथिको हैकमवादी चरित्र नै हो । अर्थात् कांग्रेसको आन्तरिक दुश्चक्रमा ‘सदस्यता’ ‘तह’ र ‘गुट’को त्रिकोणात्मक अन्तरसम्बन्ध छ ।
केन्द्रीय मठाधीशहरू त्यसैलाई आफ्नो वर्चश्व ठान्दै, आ-आफ्नो गुट, सदस्य र तह निर्धारण र संरक्षण गर्दैछन् । अर्को शब्दमा, केन्द्रमा पदाकांक्षाले मौलाएको व्यक्तिपिच्छेको गुटलाई संस्थागत गर्न धेरैभन्दा धेरै तह सिर्जना गर्ने र सदस्यता वितरणलाई झन्झन् अप्ठ्यारो बनाउने वर्तमान प्रथा, विधान र नियमावलीहरू खारेजीबारे एकैजना पनि उमेदवारले बोलेको सुनिँदैन ।
तसर्थ, कांग्रेसको विधानको धारा ४ देखि १२ र नियमावली (३ देखि ८) मा आमूल परिवर्तन एवं ८ तहको अहिलेको केन्द्रीय संरचनालाई चार तह (वडा, जिल्ला, प्रदेश र केन्द्र) मा रूपान्तरण गर्दै जिल्ला समितिलाई सम्पूर्ण सदस्यसम्बन्धी र सबै तहको उमेदवार (पालिका, प्रदेश र संघीयता) निर्णय गर्ने अधिकार नदिएसम्म कांग्रेसमा न त नयाँ नेतृत्व विकास हुन सक्छ न त कुनै तात्विक परिवर्तन आउनेवाला छ । त्यसको अलावा कांग्रेसको कुनै पनि तहको सभापति पद (जिल्ला/प्रदेश र केन्द्र) मा एउटै व्यक्ति ‘लगातार दोहोरिरहनु’ हुँदैन । नेपाली कांग्रेस स्वयं पनि स्वस्थ, प्रतिस्पर्धी, पारदर्शी, खुला र अनुशासित राजनीतिक दलमा रूपान्तरणका निम्ति केन्द्रीय संसदीय समितिको विधिवत् विर्सजन आवश्यक छ ।
छ वर्षसम्म कुनै एउटा पनि उपलब्धिमूलक काम गर्न नसकेका सभापति देउवाबाट कांग्रेसको नेतृत्व पुनः जसरी पनि हत्याउने जे/जति हत्कण्डाहरू प्रयोग भइराखेका हुन्, त्यसैले कांग्रेसभित्र र बाहिर अत्यन्त लज्जाजनक वातावरण सृजित भइराखेको छ । जब भारतीय ग्रह र नक्षत्रहरू मिल्न थालेपछि देउवा स्वयं साम, दाम, दण्ड, भेद अख्तियार गर्दै आफ्ना रिसल्लाहरूमार्फत ‘साँढेतन्त्र’ मच्चाउन थालेको यथार्थ तिनकै गृह जिल्लाबाट प्रमाणित भइसकेको छ । अनि प्रदेश २ लाई किन हटाएको ? देउवा कस्तो लोकतन्त्रमाथि विश्वास राख्ने व्यक्ति रहेछन्, तिनको त्यो कर्मबाट कांग्रेस कुन रसातलमा पुग्ने हो, सजिलै अनुमान गर्न सकिन्छ ।
फेरि कांग्रेसका एकथरी कथित युवा पुस्ता भन्नेहरूले देउवा लगायतका ७० कटेकाहरूको दौराको तुना समातेर महाधिवेशनमा पदीय वैतरणी पार गर्न खोज्दैछन् । तिनीहरू वास्तवमा वर्तमानको व्यक्तिगत लाभहानीको राजनीतिक दुश्चक्रबाट उन्मुक्त लोकतान्त्रिक मूल्य, मान्यता, संस्कार र अभ्यास सस्ंथागत भई स्वावलम्बी, उत्तरदायी र जिम्मेवारीपूर्ण नेतृत्वको विकास एवं आदर्श समाजका निम्ति नेपाली कांग्रेस विचार प्रधान एवं अनुशासित राजनीतिक संस्थाका निम्ति खलनायक हुन् । त्यस्तो जमातबाट कांग्रेस बच्न सकेन भने देशले असल नेतृत्व कदापि पाउन सक्दैन ।
अब्राह्म लिंकनको ‘प्रजातन्त्र र प्रजातान्त्रिक मूल्य एंव मान्यता’प्रतिको प्यासन र तिनकै दलबाट डोनाल्ड ट्रम्प, विन्स्टन चर्चिलको प्यासन ‘स्वतन्त्रता’ र तिनकै दलबाट हालका बोरिस जोन्सन, महात्मा गान्धीको ‘समानता’ र अहिलेको भारतीय कांग्रेसको दुरवस्था हेर्दा कांग्रेसमा देउवाको साँढेतन्त्र नौलो नहोला । तर नेपाली कांग्रेस र नेपाललाई देउवाको नेतृत्व आवश्यक छैैन । किनकि तिनीले नेपाली कांग्रेसलाई व्यक्तिगत लाभहानीको राजनीतिक दुश्चक्रबाट उन्मुक्त गराई एउटा अनुशासित राजनीतिक संस्था बनाउने भन्दा आफ्नै आसेपासेहरूको उन्नयनमा लिप्त भए ।
जबसम्म नेपाली कांग्रेस नीतिगत स्वास्थ्य, संस्कार, प्रतिस्पर्धी, पारदर्शी र अनुशासित राजनीतिक दलमा रूपान्तरण हुन सक्दैन तबसम्म नेपाल र नेपालीले प्रजातान्त्रिक मूल्य, मान्यता, संस्कार एवं स्वावलम्बी, उत्तरदायी र जिम्मेवारीपूर्ण नेतृत्वको एवं आदर्श समाजका सस्ंथागत विकासको अपेक्षा गर्न सकिँदैन । देउवाको नेतृत्वले त्रिकोणात्मक दुश्चक्र : तोड्ने भन्दा जोड्नेमा नै संलग्न हुने निश्चित छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया