नेपाली कांग्रेसको १४औं महाधिवेशन
नेपाली कांग्रेसको नेतृत्वका आकांक्षीहरूको चिरफार !
मुसा प्रवृत्तिका नेता पनि देउवासँग 'गिभ एण्ड टेक' गर्न चाहन्छन्
नेपाली कांग्रेसको विधानमा हरेक चार–चार वर्षमा पार्टीको महाधिवेशन गर्नुपर्ने व्यवस्था छ । दोस्रो संविधानसभाबाट संविधान निर्माण हुँदै थियो । नेपाली कांग्रेस निर्वाचन जितेर पहिलो दलको रूपमा थियो, संविधान जारी गर्नुअघि नेपाली कांग्रेसका सभापति सुशील कोइराला र संविधान निर्माणपछि संविधानसभाबाट रुपान्तरित प्रतिनिधिसभाको कार्यकालभर एमालेले सरकारको नेतृत्व गर्ने सहमति थियो ।
संविधान निर्माणको कार्यभारका कारण तत्कालीन अवस्थामा महाधिवेशन धकेल्ने नेपाली कांग्रेसको स्वार्थमा त्यतिबेला दलहरूको महाधिवेशन पाँच वर्षमा गर्नेगरी केही खुकुलो व्यवस्था राखियो । २०७२ असोज ३ मा संविधान जारी भयो, संविधान जारी भएपछि सुशील कोइरालाले स्वतः केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा समर्थन गर्नुपर्थ्यो । तर त्यसो भएन ।
सुशील कोइराला आफैं प्रधानमन्त्री बन्न हौसिए । हौसिए भन्दा पनि हौस्याइएका थिए । सुशील कोइरालाकै परिवारका एक सदस्य तथा हालका सभापतिका उम्मेदवार त्यतिबेलादेखि नै पदाधिकारीमा आउन चाहिरहेका थिए ।
सुशील कोइरालाको सादगी र उनको स्वच्छतामा दाग लगाउनकै लागि उनलाई भारतको ईशारामा एमालेसँगको सहमति तोडेर पुनः प्रधानमन्त्रीको उम्मेदवार बनेको भनेर उनलाई बदनाम बनाउने काम भयो । त्यतिबेला छिमेकी भारतले संविधान जारी गर्न नदिन प्रयास गरिरहेको थियो, उसको रुचिबाहिर गएर संविधान जारी भएकोमा उसले खिन्नता प्रकट गर्दै नाकाबन्दी शुरु गरेको अवस्थामा केपी शर्मा ओलीको राष्ट्रवादी नेताका रूपमा जवर्दस्त उदय हुँदै गर्दा कोइरालाको पुनः प्रधानमन्त्रीमा उम्मेद्वारी कांग्रेसजनहरूका लागि पनि अरुचिको विषय बनेको थियो ।
सुशील कोइरालालाई १३औं महाधिवेशनमा रोक्नका लागि परिवारका सदस्यहरूले नै उनलाई बदनाम बनाउने र कार्यकर्ताको नजरमा गिराउने र आफू अघि बढ्ने खेल शुरु गरेका थिए । सादगी नेता सुशील कोइराला त्यसको शिकार भए ।
प्रधानमन्त्रीबाट हटेपनि सुशील कोइरालाले पार्टीको नेतृत्वमा आफू दोहोरिन चाहान्थे । शशांक कोइरालाको सम्बन्धमा उनी भन्थे, ‘बीपीको पार्टी, उहाँकै छोरालाई जिम्मा लगाउँ भनेको यसले (शशांक कोइराला) बानी सुधारेन ।’
तर महाधिवेशनकाे एक महिना अघि २०७२ माघ २६मा सुशील कोइरालाको रहस्यमय ढंगले निधन भयो ।
सुशील कोइरालाको अनुमान वास्तवमै सही थियो कि ! १३औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका उनी अहिले निर्विकल्प सभापतिका उम्मेदवार हुन्थे । न संगठनमा, न विचारमा उनले उत्साह र उर्जा भर्न सके । बीपीमा जुन क्यारिज्म्याटीक (आकर्षक/अरुलाई प्रेरित गर्ने) व्यक्तित्व थियो, उनको विरासत जगाउन राजनीतिमा आएका शशांक कोइराला खै कहाँ हराए ?
बीपी कोइरालाको परिवारका विरासत शशांकको गतिहीनता, गिरिजाप्रसाद कोइरालाको विरासत सुजाता कोइरालाको नामभन्दा बद्नामीका कारण कोइराला परिवारबाट केशव कोइराला र नोना कोइरालाका छोरा शेखर अगाडि बढे ।
शेखर १३औं महाधिवेशनलगत्तै १४औं महाधिवेशनमा पार्टीको नेतृत्व लिने आकांक्षाका साथ देश दौडाहमा लागिरहे, युवाहरूमा आशाको सञ्चार गराए । कोइराला परिवारको राजनीतिक विरासत फर्काउन उनले धेरै मेहनत गरेकै हुन् ।
यद्यपि शेखर कोइराला निर्वाचित हुनु भनेको नेपाली कांग्रेसभित्रको राजनीतिमा एउटा क्रान्ति नै हुन्छ । हेर्नुस् न, प्रदेश नं. १ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेताहरूको सूचीमा उनको नाम १०औं नम्बरमा आउँछः
१. कृष्णप्रसाद सिटौला
२. केबी गुरुङ्ग
३. बलबहादुर केसी
४. महेश आचार्य
५. ज्ञानेन्द्रबहादुर कार्की
६. डा. नारायण खड्का
७. डा. मीनेन्द्र रिजाल
८. सुजाता कोइराला
९. भीष्मराज आङ्दम्बे
१०. डा. शेखर कोइराला
११. मीन विश्वकर्मा
१२. सीता गुरुङ्ग
१३. सुजाता परियार
१४. विश्वप्रकाश शर्मा
१५. केशवकुमार बुढाथोकी
१६. गुरुराज घिमिरे
१७. डा. डिला संग्रौला
१८. सरिता प्रसाई
१९. अमृत अर्याल
२०. भरतेन्दूकुमार मल्लिक
२१. हरिप्रसाद न्यौपाने
२२. सुमित्रा थरुनी
२३. कल्पना चौधरी
२४. पवनकुमार शारडा
(आमन्त्रित केन्द्रीय सदस्यको नाम समावेश गरिएको छैन)
तीन पुस्ता समावेश भएको पार्टी नेपाली कांग्रेसमा नेतृत्व प्राविधिक रूपमा पनि कम्तीमा बीचको पुस्तामा आउने समय त भयो । त्यसैको प्रतिबिम्बस्वरूप यो महाधिवेशनमा वर्तमान सभापति देउवादेखि प्रकाशमान सिंह, शेखर कोइराला, विमलेन्द्र निधिदेखि कल्याण गुरुङ्गसम्म उम्मेदवार छन् । तर आगामी नेपाली क्यालेण्डरको नयाँ वर्षसँगै ७६ टेक्न लागेका प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवा भन्छन्– ‘म कहाँ बुढो भएँ र !’
केही दिन अघि बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपाली कांग्रेसको विधानले दुईपटक पार्टीको नेतृत्व गर्न दिएको सुविधा प्रयोग गर्न चाहेको सुनाए । सत्ताले सधैं पछ्याइरहने देउवालाई भाग्यले यसपटक पनि साथ दियो भने ८० नाघेपछि उनी नेपाली कांग्रेसको नेतृत्वबाट ‘रिटायर’ हुनेछन् ।
शुक्रबार नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन हुँदै गर्दा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मञ्च अगाडि राखिएका नेपाली कांग्रेसका संस्थापक र अग्रज नेताहरूको नाम लिदैं गए ।
जननायक बीपी कोइराला, नेपाली कांग्रेसका संस्थापक । राष्ट्रियता, प्रजातन्त्र र समाजवादको तीन खम्बे नीतिमा अघि बढाउने प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता । विश्वले मानेको र सम्मानित नेता ।
सुवर्ण शमशेर, एक कालखण्डमा सुवर्ण शमशेर नेपाली कांग्रेसको सभापति थिए । राणा भएर पनि जनताको अधिकार स्थापना गर्नका लागि राणाविरुद्ध नै लड्ने नेता । नेपालको पहिलो बजेटका तर्जुमाकार सुवर्ण शमशेरको नाम नेपाली कांग्रेसले बडो श्रद्धाले लिने गर्छ ।
प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष सर्वोच्च नेता गणेशमान सिंह । प्रजातन्त्र प्राप्तिमा उनको संघर्षको जीवन्त इतिहास हाम्रा सामु साक्षी छ ।
सन्त नेता कृष्णप्रसाद भट्टराईको नेपाली कांग्रेसको संगठन निर्माण, त्याग, तपस्या र निष्कपट नेता भट्टराई एक अतुलनीय नेता थिए ।
गिरिजाप्रसाद कोइरालाको राजनीतिक जीवन विगतमा निकै विवादीत र खासगरी कम्युनिष्टहरूसँग तिक्ततापूर्ण थियो । तर जीवनको उत्तराद्र्धमा उनले सशस्त्र द्वन्द्वरत माओवादीलाई शान्तिप्रक्रियामा ल्याएर दशक लामो हिंसा र द्वन्द्वको पीडाबाट मुलुकलाई मुक्त गराए । यसले उनको राजनीतिक उचाइ निकै माथि रह्यो र उनी मुलुकमा सबैका साझा नेता भए ।
गिरिजाप्रसाद कोइरालाले सुरु गराएको संविधानसभामार्फत् संविधान निर्माण गरी जारी गराउने जस उनका उत्तराधिकारी सुशील कोइरालाले गरे । संविधान जारी नगरी सत्ता हस्तान्तरण गर्दिनँ भन्ने सुशील कोइरालाको चट्टानी अडान धेरै हदसम्म दोस्रो संविधानसभामार्फत् समयमा संविधान जारी गराउन प्रभावकारी भयो ।
पाँचपटक प्रधानमन्त्री भैसकेका र दोस्रो पटक नेपाली कांग्रेसको नेतृत्व गर्ने आकांक्षा राखेका देउवाको त्यस्तो विशाल राजनीतिक कद भने अहिलेसम्म प्रश्नवाचक चिन्हभित्रै छ । २०४८ सालको आम निर्वाचनमा जुझारु देउवाको नेतृत्वमा सुदूरपश्चिममा एक सीट राप्रपाबाहेक सबै सीटमा नेपाली कांग्रेस विजयी भएको थियो । अहिले सुदूरपश्चिममा ठीक त्यसको उल्टो २०७४ को निर्वाचनमा आइपुग्दा देउवाको एक सीटमात्र सुरक्षित भयो । यद्यपि देउवाले दुई ठूला कम्युनिष्ट पार्टी मिलेकाले निर्वाचनको परिणाम जान्दाजान्दै पनि लोकतन्त्रप्रतिको आस्था र संविधान कार्यान्वयनको प्रतिवद्धताका कारण आफूले निर्वाचन गराएको दलील गर्ने गरेका छन् ।
नेपाली कांग्रेस बाहिरबाट सग्लो देखिएपनि भित्र–भित्र गुटैगुटमा विभाजित छ । एकले अर्कोलाई रोक्ने, सक्ने अनि त्यहाँ भित्र पनि विभिन्न वर्गको प्रतिनिधित्व गर्ने नेताहरू छन् । उनीहरूले कांग्रेसभित्रको आफ्नो सत्तालाई आफूले संरक्षण गरेको वर्गको हितमा प्रयोग गर्दै आइरहेका छन् । यस सन्दर्भमा आफ्ना गुटका नेता तथा कार्यकर्ताको संरक्षण गर्नमा शेरबहादुर देउवा सबैभन्दा अगाडि छन् । तर यो मामिलामा शेखर कोइराला निकै कमजोर देखिए । आफैंले प्रदेश १ को सभापतिमा अघि सारेका उम्मेदवार गुरुराज घिमिरेको पक्षमा विराटनगरमै पुगेर पनि मतदान नगरेकोमा उनको आलोचना तीव्र भयो । सभापतिको आकांक्षी रहेका शेखरले कोइरालाहरूको आधार क्षेत्र मानिने प्रदेश १ मा आफूले अघि सारेको उम्मेदवार आफ्नै कमजोरी (संरक्षणको अभाव) मा पराजित हुनुले उनीमाथि दबाब बढेको छ ।
न त बागमती प्रदेशको अधिवेशन गराउन संयोजकको जिम्मेवारी समेत पाएका आफूलाई बागमतीमा निकै सशक्त ठान्ने पूर्वउपसभापति प्रकाशमान सिंहले आफ्नो उम्मेदवारलाई जिताउन सके । वरिष्ठ नेता रामचन्द्र पौडेलको पक्षका नेताहरूले गण्डकी र लुम्बिनी प्रदेशको नेतृत्व हात पारे । संस्थापनइतरको साझा उम्मेदवार तय गर्ने सवालमा शेखर गले, तर प्रकाशमान गलेनन् ।
गणेशमान सिंहको परिवारले मात्र सधैं त्याग गर्नुपर्ने हो र भन्ने उनको प्रश्न छ । त्याग त सर्वोच्च नेता गणेशमान सिंहले मात्र गरे, त्यसपछि न मंगलादेवी सिंहले त्याग गरिन् न त प्रकाशमानले नै । गणेशमान सिंहको विरासतलाई उक्त परिवारले दोहन गर्न खोजेकै देखिन्छ । प्रतिस्पर्धात्मक लोकतान्त्रिक व्यवस्थामा पनि विरासतबाट प्राप्त राजनीतिक लाभको दोहन गर्न खोज्नु सर्वथा गलत हो ।
आफ्ना नेता तथा कार्यकर्ताको संरक्षण गर्ने मामिलामा देउवा र उनको समूहका नेता निकै प्रतिवद्ध देखिन्छन् । ६ ओटा प्रदेशमा भएको अधिवेशनमा प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको सभापतिमा देउवा पक्षीय नेताहरू विजयी भएका छन् । यो उनको ‘स्ट्रेन्थ’ हो । यसकारण पनि उनी शुक्रबार उद्घाटन सत्रमा निकै विश्वस्त (सुपर कन्फिडेन्ट) देखिए र भने, ‘मेरो निरन्तरता भयो भने तीनै तहको निर्वाचनको परिणाम नेपाली कांग्रेसको पक्षमा हुन्छ ।’ उनले महाधिवेशन उद्घाटनको मञ्चमा उभिएर दिन खोजेको सन्देश थियो, ‘जसले मलाई महाधिवेशनमा सघाउँछ, उसलाई विभिन्न तहको सरकारमा ‘फिट’ गर्ने काम गर्नेछु ।’
देउवाबाट छुट्टीएर उपसभापति विमलेन्द्र निधि अहिले सभापतिको उम्मेदवार छन् । यद्यपि देउवा समूहमा उनलाई त्यत्तिकै आदर गरिन्छ । ‘जति समय देउवा समूहमा रहे, अत्यन्त इमानदार भएर रहे,’ देउवा समूहका एक नेता भन्छन् ।
नेपाली कांग्रेस विभाजन हुँदादेखि नै देउवाका निकट सहयोगी निधिले देउवाकै ‘एकपटक एकीकृत पार्टी सभापति बन्ने’ चाहनालाई सघाएका हुन् । १३औं महाधिवेशनमा देउवालाई सभापति बनाएपछि निधिले स्वभाविक रूपमा १४औं महाधिवेशनमा देउवाले आफूलाई सभापतिमा अघि बढाउने र सहयोग गर्ने अपेक्षा गरेका थिए । तर राजनीति कहाँ सोझो बाटोमा हिंड्छ र ! त्यसपछि देउवा र निधिको बाटो मोडियो ।
कल्याण गुरुङ पनि यसपटक सभापतिको उम्मेदवार हुन् । धेरैलाई उनको उम्मेदवारी सांकेतिक लाग्छ, तर गुरुङ्ग भने यो उम्मेद्वारीप्रति गम्भीर छन् ।
‘पार्टीमा आन्तरिक लोकतन्त्रको विकास अनि क्षमता र योगदानको आधारमा पार्टीको नेतृत्व गर्ने परिपाटीको विकास गर्न मैले उम्मेदवारी दिएको हुँ,’ उनी भन्छन्, ‘हामीले महाधिवेशन समयमा गराउनुपर्छ भनेर निरन्तर दबाब दिइरहेको पनि यहाँहरूले पक्कै देख्नुभयो होला !’
संस्थापनइतरको साझा उम्मेद्वार बन्न वरिष्ठ नेता रामचन्द्र पौडेल पनि आकांक्षी हुन् । तर उनी धेरै हदसम्म आत्मकेन्द्रीत नेता हुन् । आफूलाई केन्द्रमा राखेर सोच्ने उनको शैलीका कारण अहिले उनी संस्थापन इतरमा सर्वसम्मत् बन्न सकेका छैनन् ।
पहिले अनुमान गरिन्थ्यो कि शेखरलाई प्रकाशमानले मान्दैनन्, त्यसकारण दुवैलाई मिलाएर पौडेल सभापतिको उम्मेदवार बन्नेछन् । तर त्यस्तो भएन, प्रकाशमानले पौडेललाई पनि स्वीकार नगर्ने स्पष्ट छनक दिइसकेका छन् । आज रातभरमा हुने कोठे बैठक र भेलाहरूमा अस्वभाविक नाटकीय परिवर्तन नभएमा अब भोलि (शनिबार) प्रकाशमान सिंहले दलबलसहित सभापतिमा मनोनयन गर्नेछन् । यसले संस्थापनइतर पक्ष स्वतः कमजोर भैसकेको छ ।
संस्थापनइतरले प्रतिवद्धता अनुसार साझा उम्मेदवार दिन नसकेका कारण माहौल बनाउने समय पनि घर्किसकेको छ ।
१४औं महाधिवेशनबाट कांग्रेसमा नेतृत्वको निरन्तरताका स्पष्ट संकेत देखिएको छ । यसपटक देउवा प्यानलसहित मैदानमा छैनन् । बरु पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेदवारहरू उनको दौराको फेर समात्न चाहान्छन् । कृष्णप्रसाद सिटौलाजस्ता जोडघटाऊको अंकगणीतीय राजनीति गर्ने मुसा प्रवृत्तिका नेता पनि देउवासँग 'गिभ एण्ड टेक' गर्न चहान्छन् ।
यद्यपि, विवेकी महाधिवेशन प्रतिनिधिहरूले घोषित वा अघोषित प्यानलको पछि नलागी कांग्रेसलाई सबैको साझा बनाउन र आन्तरिक प्रतिस्पर्धाबाट सिर्जित मलोमालिन्य अन्य गर्न नेतृत्व क्षमता भएका, तुलनात्मक रूपमा निष्ठावान र काम गर्न सक्नेहरूलाई नेतृत्वको अवसर प्रदान गरुन् ।
नेपाली कांग्रेसलाई १४औं महाधिवेशनको शुभकामना !
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया