विचार

कांग्रेस १४ औँ महाधिवेशन

कांग्रेस महाधिवेशन प्रतिनिधिले विवेकसम्मत् निर्णय गरुन्

नेतृत्वमा दूरदृष्टि देखिएन, सत्ता र पैसा नै सबैथोक भन्ने प्रवृत्ति छ !

दीपकुमार उपाध्याय |
मंसिर २५, २०७८ शनिबार १६:४१ बजे

संवैधानिक र पार्टी विधानको वाध्यात्मक चापकै कारण नेपाली कांग्रेसको महाधिवेशन भइरहेको छ । महाधिवेशन पहिलेपहिलेको जस्तो सभ्य, अनुशासित र अनुकरणीय हुन छाडेको छ । नेपाली कांग्रेसको आगामी कार्यदिशा कस्तो होला भन्ने आम जिज्ञासा र जनचासो त्यत्तिकै हुन्थ्यो । बाहिरी जगत्का विशेषगरी प्रजातान्त्रिक मुलुकले पनि कांग्रेसले लिने नीति र कार्यक्रमको प्रतीक्षा गरेका हुन्थे । तर, आज कांग्रेसको राजनीति पृथक ढंगले अघि बढ्न थाल्यो । राजनीति निष्ठा, इमान र नैतिक मूल्यमान्यताको सीमा नाघेर पर जान थाल्यो । स्खलित हुँदै गएको मूल्यको राजनीतिलाई कसरी सही मार्गमा ल्याउने भन्ने चिन्ता र चासो नेतृत्वपंक्तिमा पनि देखिन छाडेको छ ।

मुलुकले सामना गर्नुपरेका समस्या, संवैधानिक निकायमा आएको विचलन र राज्यनिर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने संस्थाहरू क्रमशः क्षयीकरण हुन थालेको अवस्थामा पुरानो र नेतृत्वदायी पार्टी कांग्रेसको महाधिवेशनले एउटा दिशा लिनुपथ्र्यो । लोकतन्त्रमाथि मडारिएको कालोबादल हटाउनेतर्फ केन्द्रित हुनुपर्ने थियो तर महाधिवेशनलाई नेतृत्व छान्न मात्र केन्द्रित गरिएपछि लोकतन्त्रको मूल्यमा थप ह्रास आउने संकेत देखिन थालेका छन् । यो सबैभन्दा चिन्ताको विषय हो ।


मैले अब हाम्रो ७० कटेको पुस्ताले युवालाई मैदान छाड्नुपर्छ भनेर महाधिवेशनमा कुनै पदमा पनि उम्मेदवार नबन्ने निर्णय गरेको हुँ । त्यो मेरो व्यक्तिगत विषय भयो । म जस्ता हजारौं कार्यकर्ता होलान्, जसलाई पार्टीको आजको अवस्थाप्रति चासो भन्दा चिन्ता बढी छ । किनभने मुलुकको अवस्था र परिस्थिति कहालीलाग्दो छ । निकट भविष्यमै स्थानीय तहको निर्वाचन आउँदैछ । नेतृत्व छान्ने अभियानमा रहेका नेताकार्यकर्तालाई यसप्रति खासै चासो र चिन्ता रहेको देखिँदैन । एउटा निर्वाचन क्षेत्रमा सयजना कार्यकर्ताको व्यवस्थापन गर्न नसकिँदा गुटको राजनीति मौलाएको छ । प्रतिस्पर्धाको नाममा पार्टीमा विभाजनको रेखालाई झनै फराकिलो पार्दै लगिएको छ । 

प्रतिस्पर्धाका नाममा गुट र वैयक्तिक स्वार्थपूर्तिका लागि विभाजनको मनस्थिति लिएर गाउँदेखि, जिल्लाहुँदै प्रदेशका नेताकार्यकर्ता नेतृत्व चुन्न राजधानी भेला भएका छन् । हुन त अधिकांश युवा पुस्ताका नेतृत्व आएका छन् । उनीहरू जुन परिस्थितिमा चुनिएर आएको भए पनि गुट र विभाजनको मनस्थितिबाट माथि उठेर विवेकसम्मत हिसाबले सन्तुलित ढंगले मतदान गर्नेछन् भन्ने आशा छ । उनीहरूको विवेकसम्मत् निर्णयले कांग्रेसको मात्र नभई मुलुककै हित हुनेछ । म र मजस्ता हजारौं कार्यकताले यही भूमिकाको अपेक्षा गरेका छन् । 

कांग्रेसको मन वडा तहदेखि नै भाँचिएको छ, कुँडिएको छ, दुखेको छ । त्यसलाई  कसले समन्वय गरिदिने, कसले मिलाउने भन्ने ठूलो चुनौती छ । महाधिवेशनले जेजस्तो परिणाम दिए पनि निर्वाचित भएर आउने कांग्रेस नेतृत्वले मजस्ता कार्यकर्ताको भावनाको सम्मान गर्‍यो भने भोलि पनि पार्टीमा सहकार्य गर्ने ठाउँ रहनेछ । 

नेतृत्वमा दूरदृष्टि पटक्कै देखिएन । अधिवेशन समयमै गर्नुपथ्र्यो, गर्न सकिएन, अनेक वहानामा रोकिँदै आइयो । अहिले पनि वाध्यात्मक परिस्थितिमा हुँदैछ, नेतृत्वको निर्वाचन गर्नका लागि मात्र । निष्ठावान कार्यकर्ताका लागि यो निक्कै पीडादायी छ । जे भए पनि हामीले स्वीकार्नुपर्ने वाध्यात्मक अवस्था छ । यो  तथ्य र सत्यलाई स्वीकार नगरी धरै छैन । 

लोकतन्त्रमा इमान, चरित्र, निष्ठा, नैतिकता र आचरण भएन । सत्ता र पैसा भए सबैथोक हुन्छ भन्ने प्रवृत्ति हावी छ, यो कांग्रेसमा मात्र नभई सबै पार्टीमा लागू हुन्छ । त्यसका लागि कांग्रेस बढी जिम्मेवार छ । ०४६ को परिवर्तनपछि नै जब गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको भूमिका समाप्त पारियो त्यतिबेलादेखि नै यसको सुरुवात भएको हो । त्यतिबेलै सुरु भएको स्खलन विस्तारै अघि बढेर अहिले झांगिएको छ । 

नयाँ नेतृत्व र युवा पुस्ताले यसलाई कसरी लिन्छ त्यसको अर्थ हुनेछ । नारामा रुपान्तरण भनिएको छ, तर त्यो रुपान्तरणलाई कुन अर्थमा प्रयोग गरिन्छ भन्ने चुनौती पनि त्यत्तिकै गम्भीर छ । रुपान्तरणको अर्थ नैतिक मूल्य मान्यता र निष्ठाको विजय हुनुपर्छ भन्ने हो । राजनीति भनेको बेइमानी र तत्कालको फाइदा होइन भन्ने विषय स्थापित गर्नु आवश्यक छ । जताजतै स्वार्थको, अराष्ट्रिय सोचको र भ्रष्टचारको जगजगी छ । त्यसलाई अन्त्य गर्ने दिशामा अघि बढौं । 

खासगरी महाधिवेशन प्रतिनिधिमा चुनिएर आएका साथीहरूले आफ्नो विवेकको मत सही ठाउँमा उपयोग गरौं । बीपी कोइरालाले भनेझैं ‘अप्ठेरो परिस्थितिमा हातमा एकमुठी माटो लिएर निर्णय गर्नुपर्छ’ भनेर दिएको सन्देश सम्झेर मतदान गरौं । नयाँ मानिस ल्याउन सकिन्न, उपलब्ध उम्मेदवारमध्ये राम्रो छानेर, यो पक्ष वा ऊ पक्ष नभनी, कुनै गुटको पछि नलागेर, कांग्रेस र राष्ट्रका लागि कसको भूमिका आवश्यक हुनसक्छ भन्ने सोचेर विवेकसम्मत् मतको प्रयोग गरुन् भन्ने आग्रह गर्न चाहन्छु ।

 अनुशासन, इमानदारी, सादगी र निस्वार्थी छानेर मतदान गर्न सक्यौं भने भोलि पछुताउनुपर्ने अवस्था आउने छैन । तत्कालको स्वार्थले कांग्रेस र मुलुकको भविष्यमाथि खेलबाड नगरौं । मुलुकलाई उज्ज्वल भविष्यको बाटोमा लैजाने दिशामा एक भएर अघि बढौं । इतिहासको सम्मान गरेर भविष्यको  पुस्तालाई पनि कांग्रेसको नाममा राजनीति गर्ने मैदान फराकिलो बनाऔं । 


Author

थप समाचार
x