विचार

के नेपाल षड्यन्त्रको प्रयोगशाला हो ?

इकागज |
पुस १३, २०७७ सोमबार १६:५० बजे

राजनीति सरलभन्दा बक्र रेखामा हिँड्न रुचाउँछ । यतिखेरका घटनाक्रम हेर्दा यस्तो लाग्छ कि यी परिदृश्य सिर्फ कम्युनिस्टको आन्तरिक किचलोले मात्र हुन गएका हुन् । तर होइन, यसको पर्दापछाडि अनेक शक्ति केन्द्रहरू पनि लागेका छन् । परापूर्वकालदेखि दक्षिण भारतको राजनीतिमा नेपाल एक महत्वपूर्ण हिस्साका रूपमा रहिआएको छ । नेपालको आन्तरिक राजनीतिलाई अस्थिरतामा धकेली त्यसबाट फाइदा लिन भारत सधैं लालायित थियो र छ पनि । यो त २००७ सालपछिको घटनाक्रम हेर्दा पनि पुष्टि हुन्छ ।

राजतन्त्र अन्त्य गर्न महत्वपूर्ण भूमिका निभाएको भारत नेपालको आन्तरिक राजनीतिमा फेरि २००७ सालपछिको भूमिकामा फर्कन चाहन्थ्यो । तर राजनीति उसले चाहेजस्तो अगाडि बढेन । किनकि अरू राजनीतिक खेलाडीहरू (चीन, अमेरिका, युरोपियन युनियन) पनि यसमा सामेल भए ।


नेपालको आन्तरिक राजनीति थोरै बलियो हुँदा भारत सन् १९५० को सन्धि पुनर्मूल्यांकन गर्न बाध्यतावश राजी त भयो, तर उसले यसलाई भित्री मनबाट कहिल्यै पनि स्विकारेन र पछि पनि स्विकार्ने अवस्थामा छैन । यो हरेक व्यक्तिका साथै देशको गुण पनि हो । किनकि खाइपाइआएको अधिकार कोही पनि गुमाउन चाहँदैन । यी कुरा त हामी हाम्रो आन्तरिक राजनीति र नेताहरूलाई हेरेर पनि थाहा पाउँछौं भने यो त एउटा देशले अर्को देशलाई वशमा राख्ने कुरा हो, जसले अन्तर्राष्ट्रिय राजनीतिमा धेरै माने राख्छ ।

भारतलाई नेपालको पानी र जवानीको महत्व पहिल्यैदेखि थाहा थियो र छ पनि । त्यसैले त उसले आफ्नो चाहना नेपालको संसद्मै आएर बोलेको थियो । यसलाई नेपालका नेताहरूले जानीनजानीकनै थपडी बजाएर स्वागत गरेका थिए र भारत पनि यसबाट हौसिएको थियो । तर यसपछिको नेपालको राजनीति भारतको चाहनाअनुसार गएन ।

जीवनको उत्तराध्र्दमा केही गरौं भन्ने भावना जागृत भए पनि गलत सारथिका कारण प्रधानमन्त्रीको रथ सही बाटोमा अगाडि बढ्न सकेन ।
 

गणतन्त्रमा गएका नेताहरूमा जनताका पेलाईबाट रातारात पलाएको देशभक्तिबाट सन् १९५० को सन्धि पुनर्मूल्यांकन गर्न खोज्नु, संविधान निर्माणमा भारतलाई उपेक्षा गर्नु, आन्तरिक राजनीतिमा भारतलाई धेरै महत्व नदिनु र कालापानी क्षेत्र आफ्नो भनी संसद्बाट नक्सा पास गर्नु, जसले गर्दा भारत नेपालसँग चिढिएको थियो । तर उसले देखिने गरी केही गर्न सक्ने अवस्थामा थिएन । किनकि उसले सन् २०१५ को नाकाबन्दीबाट ठूलो पाठ सिकेको थियो । त्यसैले ऊ मौकाको ताकमा बसिरहेको थियो र छ पनि ।

अब नेपालको आन्तरिक राजनीति हेरौं । नेकपामा माधवकुमार नेपाल लामो समयसम्म नेपालको राजनीतिको शीर्षस्थानमा रही हालिमुहाली गरिसकेका व्यक्ति हुन्, जसलाई आफूले खाइपाइआएको पद गुमाउनुपर्दा ठूलो पीडा तथा छट्पटाहट छ । चुनाव हारेर पनि गिरिजाप्रसादको सहयोगमा प्रधानमन्त्री बन्न पाएका यिनी कुर्चीका लागि तत्कालीन राजाको दरबारमा निवेदन चढाउन गए । झलनाथ र वामदेव आफैंमा ठूलो शक्ति नभए पनि आन्तरिक राजनीतिमा उलटपुलट हुँदा चौका लागेका र फेरि पनि बुढ्यौलीमा मौका ढुकेर बसेका व्यक्ति हुन् ।

बहालवाला प्रधानमन्त्री केपी ओली लामो समयदेखि माधव नेपालको पेलाइमा परेका र २०६२/६३ को आन्दोलनपछि भएको चुनावमा तत्कालीन एमालेको पत्तासापपछि वाणी चातुर्यबाट उदाएका त्यस समयका भारतभक्त नेता हुन् । माओवादीले एमालेको राजनीति नै धरापमा पारिदिने हो कि भन्ने डरबाट सत्तालाभ लिइसकेका एमालेका नेताहरू र माओवादीको पेलाइ खाएका कार्यकर्ताले यिनलाई पूर्णरूपमा साथ दिए । संविधानसभाको घोषणापछि माओवादी निगाहमा प्राप्त प्रधानमन्त्री पद माओवादीले नै साथ छाडेपछि गुमाएका केपी नाकाबन्दीको सशक्त विरोध गरी राष्ट्रवादी छवि निर्माण गर्न सफल भए र नेपालको राजनीतिमा जबर्जस्त रूपमा उदाए ।

आफ्नो आयुको दिनगन्ती आफैंलाई थाहा भएको र जीवनको उत्तराध्र्दमा केही गरौं भन्ने भावना जागृत भए पनि गलत सारथिका कारण यिनको रथ सही बाटोमा अगाडि बढ्न सकेन । अरू सबैलाई किनारा लगाई ‘हामी’बाट ‘म’मा केन्द्रित हुन पुगेका जीर्ण शरीरका केपी र सत्ता स्वाद चाखिसकेका भोका सारथिहरूका साथ अघि बढेका यिनी अरू खेमाका नेताहरूलाई आफ्नो गुटका नेताले गरेको तामझाम टुलुटुलु हेर्न बाध्य बनाए ।

फुटेको माटोको भाँडो भइसकेको नेकपा बाहिरी लेप लगाएर एकछिन अड्याउन त सकिएला तर थोरै चाप पर्ने बित्तिकै फेरि फुटिहाल्नेछ ।
 

भौतिकवादमा रमाउने उग्र कम्युनिस्टहरू गरिब जनतालाई भौतिक कारबाही गरी भौतिक सुखसुविधामा रमाइरहेका उच्च दर्जाका नागरिकमा पर्छन् । हत्या राजनीतिबाट सत्ता राजनीतिमा आएका यिनीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको कोपभाजन बन्न सक्ने त्रासका कारण लामो समयदेखि देश बाहिर जान नसकी देशमै खुम्चिन बाध्य भएका थिए । त्यसैले यिनीहरू जीवन रक्षाका लागि पनि विभिन्न शक्ति केन्द्रको गुलाम बन्न बाध्य थिए र छन् ।

सत्ता र भत्ताले गर्दा माओवादी राजनीति धरापमा परेको, ओलीको राष्ट्रवादी छविका कारण सत्ता राजनीति कांग्रेसबाट पार नलाग्ने र सत्तामा रहन नसके जतिखेर पनि जेल जानुपर्ने जीर्ण मनोवैज्ञानिक कारणले माओवादी तत्कालीन सत्ता साझेदार कांग्रेससँग सत्तामा रही एमालेसँग लगनगाँठो कस्न गयो ।

पुष्पकमल दाहालसहित माओवादी नेताको ज्यान मोह र ओलीको प्रधानमन्त्रीबाट निकालिनुको बदलाभावमा दुई पार्टीको मिलन सम्भव भयो । सिध्दान्तमा भन्दा व्यक्ति प्रधानमा आधारित भएर जन्मेको पार्टी पूर्वएमालेका नेता माधव नेपालले यसको भेउसमेत पाउन सकेनन् । पर्याप्त गृहकार्यविना सत्ताका लागि एमालेसँग पार्टी जोड्न पुगेका पुष्पकमल बिस्तारै अर्का अध्यक्षको उपेक्षाभाव, पेलाई र जतिखेर पनि जेल जानुपर्ने डरले डरैडरको जिन्दगी गुजारा गरिरहेका थिए र छन् । यी कुरा त यिनले विभिन्न सञ्चारमाध्यमबाट भन्दै पनि आएका छन् ।

शुध्द मनले पार्टी एकीकरण गरेका भए दुवै अध्यक्षले सुरुदेखि नै माधव नेपाललाई पनि साथै लिएर अगाडि बढ्ने थिए । दुवैजना ओलीको पेलाइले गर्दा एक ठाउँमा आउन बाध्य थिए तर केपी टेरपुच्छर लाउनेवाला थिएनन् । किनकि उनमा पनि सत्ताको मात थियो ।

यी दुवै खेमाका गतिविधि सूक्ष्मरूपमा अध्ययन गरिरहेको भारत मौकाको ताकमा लामो समयदेखि सुषुप्त अवस्थामा बसेको थियो । त्यसैले उसले दुवै पक्षका नेताहरूलाई पर्दा पछाडिबाट साथ दिँदै आइरहेको पनि थियो र छ पनि । भारत राजनीतिमा परिपक्व छ र उसलाई राजनीतिमा चाहिने धैर्य र धैर्यका साथ कदम चाल्न आउँछ । जब उसले अवस्था परिपक्क हुँदै गएको अनुभव गर्‍याे अनि दूतका रूपमा ‘रअ’ का एजेन्टलाई नेपाल पठायो । उसलाई थाहा थियो– यसले सत्तारूढ दलमा सत्ता हल्लाउन मद्दत गर्नेछ । नत्र उसले अरू कूटनीतिज्ञलाई पनि पठाउन सक्थ्यो ।

उसलाई थाह छ– कहाँ, कतिखेर के कदम चाल्नुपर्छ । नेकपालाई फुटाउन सकेमा नेपालको राजनीति लामो समयसम्म अस्थिरतातर्फ धकेलिनेछ र आन्तरिक राजनीतिमा खेल्ने अवसर पाउनेछ । जसले गर्दा सन् १९५० को सन्धिदेखि कालापानीको मुद्दा ओझेलमा पर्नेछ । यसका साथै उसले नेपालका अरू नदीनाला र नेपाललाई उसको सुरक्षा छाताभित्र राख्ने सपना पूरा हुन सक्छ । 

अन्त्यमा, देश, जनता र पार्टीको भलो चाहने हो भने यी दुवै गुट मिल्नुको विकल्प छैन । फुटेको माटोको भाँडो भइसकेको नेकपा बाहिरी लेप लगाएर एकछिन अड्याउन त सकिएला तर थोरै चाप पर्नेबित्तिकै फेरि फुटिहाल्नेछ ।
 
(ड्याम इन्जिनियर डा. थापा क्यानडामा कार्यरत छन् ।)


Author

थप समाचार
x