विचार

कांग्रेस प्रतिनिधिलाई हरि शर्माको अपिल:

सत्ता छोड्नुस्, पहिला पार्टी त बचाउनुस्

प्रकाशमान सिंह र विमलेन्द्र निधिकाे भाषणको अर्थ छैन

हरि शर्मा |
मंसिर २८, २०७८ मंगलबार १४:१३ बजे

नेपाली कांग्रेसको चौधौँ महाधिवेशनअन्तर्गत सभापतिको नतिजा भर्खरै आयो । अब सभापतिको प्रतिस्पर्धा दोस्रो चरणमा प्रवेश गरेको छ । केही बेरमा दोस्रो चरणको मतदान पनि सुरु होला । तर, त्यसअघि मेरो मनमा लागेका केही ससाना कुरा यहाँ बाँड्न चाहन्छु । मैले केही दिन पहिले नै सेतोपाटीमा लेखिसकेको थिएँ- महाधिवेशन विचारशून्य हुँदै छ ।

अहिलेको समयका जटिलतामा स्पष्ट दृष्टिकोण नबनाई पार्टी कसरी पार्टी रहन सक्छ ? दलले आफ्नो विचार बनाउने हो । त्यही विचारअनुसारका कार्यक्रम लिएर आम मतदातासँग जाने हो । 


आफू व्यवस्थापिका र कार्यपालिकामा गएपछि यसरी यसरी काम गर्छौँ भनेर आश्वस्त पार्ने हो । आश्वस्त पार्ने मात्र होइन, पूरा गर्ने प्रयास गर्ने हो । तर, यस्तो कुनै सम्भावना थिएन र भएन पनि । त्यसैले म त्यतातिर नलागी पहिलो चरणबाट देखिएको नतिजा र त्यस वरपरको सानो कुरा गर्छु । 

एकातिर बहालवाला प्रधानमन्त्री । प्रधानमन्त्री पनि पाँच पाँच पटक भइसकेको व्यक्ति । पार्टी नेतृत्वमा लामै समयदेखि रहेको व्यक्ति । झन्‍नै तीन दशकअघि नै मन्त्री भइसकेको व्यक्ति । अनि अर्कोतिर कहिल्यै पनि पार्टीको कार्यकारी नभएको व्यक्ति । मन्त्री नभएको व्यक्ति । अहिले त सांसद पनि छैनन् । उनलाई अहिले आफ्नो थर ‘कोइराला’ हुनुबाहेक कोइराला विरासतबाट कुनै सहयोग पनि भएन ।

बीपी कोइरालाका सुपुत्र शशांक कोइराला अघोषित र गिरिजाबाबुकी सुपुत्री सुजाता घोषित रुपमै उनीसँग रहेनन् । शेखरका बुवा केशव कोइराला पार्टीमा बीपी वा गिरिजाबाबु जसरी नेतृत्वमा रहनुभएन तर प्रजातन्त्र र स्वतन्त्रताका लागि लो प्रोफाइलमा बसेर उहाँले गरेको योगदान कुनै कोइरालाभन्दा कम थिएन । केशव कोइरालाको चर्चा अहिले कोही गर्दैन ।

यसअघिको तेह्रौँ महाधिवेशनमा आफू केन्द्रीय सदस्य मात्र भएर आफूले सभापतिमा अघि सारेका र सम्पूर्ण सहयोग गरेका रामचन्द्र पौडेल र महामन्त्रीमा अघि सारेका भाइ शशांकबाट अहिले शेखरले पाएको ‘सहयोग’ नेपाली कांग्रेसको इतिहासमा नैतिक स्खलनको नमुना हो । र, कांग्रेस बिग्रियो भनेर रुवाबासी गर्ने, गनगन गर्ने अधिकार पनि उहाँहरूले गुमाउनुभएको छ ।

‘आफूले हारे गठबन्धन सरकारबाट आफू निस्किनुपर्छ त्यसैले सभापतिमा जिताइदिनुस्’ भनेर आफ्नो घोषणापत्र प्रस्तुत गरेका देउवासामु एउटा साधारण केन्द्रीय सदस्य शेखरले यो स्तरको मत पाउनु भने आफैँमा सुखद संकेत पनि हो । सत्ता-शक्तिको साम, दाम, दण्ड, भेदसामु गणितीय हिसाबले शेखरको पराजय भए पनि यो उनको राजनीतिक-नैतिक जित हो । अनि शेखरले जसरी आफ्नो टिम बनाए र त्यस टिमबाट केही पदाधिकारी निर्वाचित पनि हुँदै छन्, यो कांग्रेसमा पुनर्जागरणको संकेत हो । महामन्त्रीमा गगन थापाको जित लगभग सुनिश्चित नै छ । यो पनि सत्ताको पराजय र सत्यको जितको अंश हो । 

यति बेला नेपाली कांग्रेसका प्रतिनिधिसामु केही अनिवार्य प्रश्न छन्- सरकार बचाउने कि पार्टी बचाउने ? पार्टीलाई अहिले जसरी पिछलग्गु, प्रतिपक्षमा रहेर पनि सत्तापक्षीय, सिंहदरबार-बालुवाटार केन्द्रित बनाउने कि नयाँ र जीवन्त भरोसायोग्य पार्टी बनाउने ? अन्य पार्टीबाट हुने प्रोपगान्डा चिर्दै लोकतन्त्र, समाजवाद र स्वतन्त्रताका पक्षमा पार्टीलाई जीवन्त बनाउने कि लोकतन्त्रको लय खुम्च्याउनेहरूसँग साँठगाँठ गर्ने ? 

आज किन एमाले, माओवादी जस्ता प्रतिस्पर्धी पार्टी शेरबहादुर देउवाको पक्षमा बोलिरहेका छन् ? किन जिल्लाजिल्लाका कांग्रेस शुभेच्छुकहरू आफ्नो जिल्लाबाट भोेट हाल्न आएका प्रतिनिधिलाई यस्तो प्रश्न गर्दैछन्- पार्टीको ड्राइभर लाइसेन्समा प्वालैप्वाल परेको अक्षम हुने कि नयाँ हुने ? तपाईंहरू नेपाली कांग्रेस नामको बसलाई पटकपटक दुर्घटना गराउने चालकलाई नै फेरि स्टेरिङ थमाउनु हुन्छ भने हामी त्यस्तो थोत्रोमोत्रो, भयग्रस्त गाडीमा किन चढ्ने ? चर्काे प्रचारप्रसार गर्दै छेउछाउबाट गुडिरहेका नयाँ नयाँ गाडीमा चढ्नबाट यात्रुलाई रोक्ने तपाईंका योजना के छन् ? 

जब पार्टी नै कमजोर हुन्छ भने हार्नलाई तपाईंहरूले पाउने आम निर्वाचनको टिकटको के अर्थ ? हिजो प्रकाशमान सिंह र विमलेन्द्र निधिले नेतृत्व परिवर्तनका पक्षमा गरेका भाषणको केही अर्थ छैन ? राजनीतिमा बोलीस्फिति यति तल पुग्नु कांग्रेस स्वयं र लोकतन्त्रका लागि सुखद् संकेत होइन । 


Author

हरि शर्मा

शर्मा राजनीतिशास्त्री तथा अध्येता हुन् ।


थप समाचार
x