विचार

प्रतिबद्ध राजनीतिक नेतृत्वलाई कुशल व्यवस्थापकको साथले मात्र बदलिन्छ मुलुक

विनोद चौधरी |
पुस ३, २०७८ शनिबार ७:११ बजे

मैले सधै भन्ने गरेको छु– राजनीतिबाट म टाढा जान खोजे पनि राजनीति मबाट टाढा हुन सकेन । जीवनमा म कुनै न कुनै रूपमा राजनीतिमा जोडिइरहे, यसलाई अपनाइरहे ।

व्यावसायिक संस्थामा रहेर काम गर्दा होस् वा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) जस्ता नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल उद्योग परिसंघ (सीएनआई) जस्ता संगठनमा आबद्ध हुँदा नै किन नहोस, मैले राजनीतिलाई निकटबाट अनुभव गर्ने अवसर पाएँ ।


एफएनसीसीआई र सीएनआईमा बसेर मैले देशको आर्थिक रूपान्तरणका लागि पहल गरें, प्रयास सन्तोषजनक काम गर्न सकें । सीएनआईको अध्यक्ष हुँदाकै कुरा गरौं, नेपालमा दोहोरो अंकको आर्थिक वृद्धिदरको परिकल्पना त्यतिबेला नै अघि सारेको हुँ । निजी क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउन सफल भएँ । संस्थागत विकासमा राजनीति र सरकारहरूसँग नजिक रहेर काम गरें ।

आर्थिक वृद्धि हासिल गर्न सम्भव छ भनेर अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरें । तर यी संस्थामा रहँदाबस्दा मैले सोचे जति काम गर्न सकिन । म जे गर्न चाहन्थे, त्यहाँबाट मात्र सम्भव थिएन भएन । 

त्यसपछि मैले आफैलाई प्रश्न गरें–के गर्दा सम्भव होला त ? के गर्दा नेपालको आर्थिक समृद्धिको यात्रालाई एकोहोरो रूपमा अगाडि बढाउन सकिएला ?
र, आफैलाई उत्तर दिएँ– राजनीतिबाट मात्रै यो अभियानलाई सम्भव तुल्याउन सकिन्छ ।

हो, विकासको मेरो त्यही दृढ चाहना र योजनालाई साकार रुप दिन सकिन्छ भन्ने आत्मविश्वासका कारण म राजनीतिमा आएको हुँ ।

मेरो सपना छ, समृद्ध नेपाल निर्माण गर्ने । मलाई कत्ति पनि द्विविधा छैन कि समृद्ध नेपाल निर्माण गर्न नसकिएला भन्ने । राजनीतिको मेरो अनुभवबाट म प्रस्ट छ– राजनीतिक नेतृत्व र आर्थिक विकासको व्यवस्थापनमा अब्बल सावित भएकाहरूबीचको संयोजनबाट हामी आर्थिक समृद्धिको यात्रालाई अघि बढाउन सक्छौं । 
निकै नै सुस्त रहेको र पछाडि परेको हाम्रो विकासको यात्रामा नयाँ उत्साह भर्न राजनीतिक तहमा यस्तो टिम निर्माण गरेर अगाडि बढ्नु अहिलेको आवश्यकता हो ।

फेरि दोहोर्‍याउँ, यदि मैले नेपालको आर्थिक विकासमा योगदान पुयाउन मन भने राजनीतिमा बिताएको समयको अर्थ रहनेछ । प्रत्येक पल मेरा लागि निकै नै महत्वपूर्ण रहन्छन् ति पलहरूलाई मैले विकासका एजेण्डाहरू वास्तविकतामा परिणत भएको अवसरका रूपमा व्यतीत गर्न चाहान्छु । राजनीतिक प्रयोजनका लागि नाम, दाम र प्रतिष्ठा मलाई चाहिएको होइन । 

किनभने मेरो स्वभाव नै यस्तो छ, कुनै पनि काम सुरु गरेपछि, त्यसलाई सम्पन्न नगरी मलाई चित्त बुझदैन । निद्रा नै पर्दैन ।

मलाई लाग्छ, विविध विधामा ‘ट्रयाक रेकर्ड’ कायम गरेका, आफना कामलाई परीक्षणको भट्टीमा हालेर सफलता हासिल गरेका व्यक्तिहरू राजनीतिमा आउनुपर्छ । र समग्र देशको विकासमा हातेमालो गर्नुपर्छ । अनि मात्र देशले विकासको बाटोमा कोल्टे फेर्छ । म त भन्छु,– देशका अपार सम्भावनालाई जरैदेखि बुझेका र ति सम्भावनालाई वास्तविकतामा परिणत गर्ने सपना बोकेका मानिसहरु राजनीतिमा आउनुपर्छ । देशका समस्यालाई जरैदेखि बुझेको र ति समस्यामाथि समाधान दिन सक्ने मानिस पनि राजनीतिमा नभई हुँदैन ।

आर्थिक समृद्धिको यात्रामा हाम्रा राजनीतिक नेताहरू र विकासका यी आर्किटेक्टहरू सँगसँगै हुनुपर्छ । विकासका दीर्घकालिन सोच र कार्यान्वयन क्षमता अब्बल भएका व्यक्तिहरु राजनीतिमा आउने प्रचलन विश्वभर नै छ । त्यसले मुलुकको दीर्घकालीन विकासमा सघाउँछ भन्ने मेरो मान्यता हो ।

दूरगामी सोच व्यक्तिले देशलाई समृद्धिको बाटोमा अघि लैजान सक्छ । हाम्र छिमेकी देशहरूलाई हेरौं । एसियन टाइगरहरुको उदय होस् वा पूर्व सोभियत संघ वा भियतनामदेखि केही अफ्रिकी देशको विकासको रफ्तारमा यही कुरा प्रतिबिम्बित भएको छ । 

भारतमा सन् १९९१ मा पीभी नरसिंह राव प्रधानमन्त्री बनेपछि उनले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)मा काम गरिरहेका मनमोहन सिंह (जो पछि भारतका प्रधानमन्त्री बने)लाई अर्थ मन्त्री नियुक्त गरे । रावले मनमोहन सिंहलाई सँगै काम गर्न प्रस्ताव गर्दा सरकार असफल भए, त्यसको जिम्मेवारी मेरो काँधमा आउँछ, सफल भयौं भने त्यो हाम्रो साझा सफलता हुनेछ । 

व्यापार, लगानी, प्रविधि र श्रमको खुला आवागमनको लाभ लिदैं विश्वका धेरै मुलुकले पछिल्लो तीन दशकमा विकास र समृद्धितर्फ फड्को मारेका छन् ।  हाम्रो मुलुक समृद्ध हुन नसक्नुमा हाम्रो समाजले अक्सर राजनीतिक नेतृत्व पंक्तिमाथि दोष दिन्छ । सरकारको नेतृत्वमा हुनुले उनीहरूलाई जस र अपजसको भागिदार बनाउनु, जवाफदेही बनाउन खोज्नु लोकतान्त्रिक समाजको चरित्र हो । यद्यपि, कुनै पनि नेतृत्वले देश विकास गर्न चाहेकै हुन्छ, काम गरेर देखाउने उत्कट चाहना सबैलाई हुन्छ । तर भाषण गरेजस्तो या घोषणापत्रमा लेखेजस्तो काम गर्न सहज हुँदैन । 

कुनै पनि सोच कार्यान्वयन गर्नका लागि पुँजीगत स्रोत, मानव संशाधन र संस्थागत संयन्त्र विकास गर्नुपर्छ भन्नेमा नेतृत्वपंक्तिको ध्यान गएको देखिन्न । उनीहरू परिणाममुखी व्यवस्थापकीय कौशलसँग पूरापुर अपरिचित देखिन्छन् । 

म आफू युवा उमेरमै नेपाल उद्योग वाणिज्य महासंघमा प्रवेश गरेर ३८ वर्षमा त्यस संस्थाको नेतृत्व लिएको र सधैं अलिकति ठूलो सपना देखेर हिंडेको व्यक्ति हुँ । हामी रातदिन कसरी व्यवसाय र औद्योगिकरण गर्ने, त्यसलाई कसरी दीगो बनाउन सकिन्छ भन्ने धरातलीय यथार्थसँग परिचित छौं । मेरो अनुभव के रह्यो भने जो पूर्णकालीन राजनीतिबाट आए प्राज्ञिक पृष्ठभूमि भएकाहरू पनि उनीहरू यो धरातलीय यथार्थसँग परिचित हुनै पाएनन् । 

धरातलीय वस्तुस्थितिसँग परिचित नभएकै कारण नीतिगत व्यवस्थाहरू उद्योग–व्यवसाय र लगानीमैत्री हुन पाएनन् । पूर्णकालीन राजनीतिकर्मीहरूले जनतालाई ठूला–ठूला सपना त बाँड्यौं तर जब कार्यान्वयन गर्ने बेला भयो तब फसाद पर्ने स्थिति आजपर्यन्त कायमै छ । 

भाषण त गरिन्छ, तर नेतृत्वले जुन सपना (सोच) बाँडेको छ त्यसका लागि पुँजीगत स्रोत, मानव संशाधन र संस्थागत संयन्त्र (ब्याक इन्ड) तयार भएकै हुँदैन । फलतः दुई तिहाइकै सरकार हुँदा पनि प्रशासनिक संयन्त्रको काम गर्ने क्षमता दुई तिहाईले त बढ्दो रहेनछ । 

पूर्णकालीन राजनीतिकर्मीहरूलाई म सम्मान गर्छु, लोकतन्त्र, वैयक्तिक स्वतन्त्रता, मानव अधिकार, सम्पत्तिको अधिकार जस्ता राजनीतिक तथा आर्थिक अधिकार स्थापित गर्न उनीहरूले योगदान गरेका छन् । तर धरातलीय यथार्थ नबुझी कुनै राजनीतिकर्मी उर्जा, उद्योग वा अर्थ मन्त्री भयो भने यसरी लगानी गर्नुपर्छ, उद्योग यसरी चलाउनुपर्छ, जलविद्युत् आयोजना नदीप्रवाहीमात्र होइन पिकिङ वा जलाशययुक्त मात्र बनाउनुपर्छ भनेर भाषण शुरु भैहाल्छ । यसका सरोकारवालाले कसरी काम गरिरहेका छन्, वस्तुस्थिति के छ भनेर बुझ्नसम्म पनि प्रयास गरिदैंन । 

उदाहरणका लागि देशमा यति हजार वा लाख उद्यमशीलता सिर्जना गरिनेछ भन्ने नीतिगत घोषणा हुन्छ । यस्ता कति घोषणा त्यसको ‘ब्याक–इन्ड’ तयार नगरी मृतप्राय हुन्छन् वा तयार गर्न प्रयास गरेपनि अनुभव र ज्ञानको संयोजनबिना तयार भएर काम हुन नसक्ने गरी तयार गरिन्छन् । फलतः तीनले परिणाम दिन सक्दैनन् । 

यस आर्थिक वर्षको बजेट (प्रतिस्थापन) को बुँदा २७ मा युवा, महिला, दलित तथा विदेशबाट फर्केकालाई स्वरोजगार बनाउने उद्देश्यले लघु, साना, मझौला उद्यममा वाणिज्य बैंकका शाखाहरूमार्फत् सहुलियत कर्जा प्रदान गरी ५०० उद्यम स्थापना गराउने नीतिगत घोषणा छ । 

यसलाई कार्यान्वयनका लागि बैंकबाट सहुलियत कर्जा दिएरमात्र हुँदैन । सम्पूर्ण इकोसिस्टम (पारिस्थितिकीतन्त्र) आवश्यक पर्छ । सबैभन्दा पहिले स्थानीय सम्भाव्यताका आधारमा परियोजना पहिचान गर्नुपर्‍यो, काम गर्ने/उद्यमी बन्न चाहाने व्यक्तिसँग सीप चाहियो, त्यसपछि बल्ल उसलाई पुँजी र प्रविधिको आवश्यकता पर्छ । त्यससँगै बीमाको सुविधा हुनुपर्‍यो । बजारसँग उत्पादनलाई जोड्नुपर्‍यो । बजारसँग उत्पादनलाई जोड्ने भन्न सजिलो छ, तर उत्पादन परिणाम अनुसार त्यसको खपत कहाँ–कहाँ गराउने भन्ने तथ्यांक संकलन गरी बजारसँग समन्वय गर्नुपर्‍यो । 

त्यसभन्दा अघि त उत्पादन संकलन गरी भण्डारण गर्ने पर्याप्त व्यवस्था हुनुपर्‍यो । त्यस्ता भण्डारण केन्द्र र शीतभण्डारहरू निजी क्षेत्रलाई सहुलियत दिएर बनाउन लगाउने हो कि, स्थानीय सरकारले विकास गर्ने हो त्यो यकिन गर्नुपर्छ । कतिपय स्थानीय स्तरमै अर्ध–प्रशोधन (सेमी प्रोसेसिङ) गर्न सकिने वस्तुको उत्पादन छ भने निजी क्षेत्रलाई त्यसमा आकर्षित गर्नुपर्ने हुन्छ अनि स्थानीय बजारले खपत गर्न सक्दैन भने निर्यातका सम्भावना खोज्नुपर्छ । 

अर्कोतर्फ, हाम्रा उत्पादनलाई भारत र चीनका सहुलियतपूर्ण उत्पादनसँग प्रतिस्पर्धी बनाउनुपर्ने चुनौती छ । विगत एक वर्षदेखि ‘गरिखाने अभियान’मार्फत् ‘ब्याक–इन्ड’मा काम गरेको अनुभवले म यो धरातलीय यथार्थसँग परिचित छु । म उद्यमी बन्न चाहाने एउटा युवाको आकांक्षादेखि हरेक चरणमा उसले कस्ता चुनौतीसँग जुझ्नुपर्छ भन्ने सहजै महशुष गर्न सक्छु । 

यो यथार्थमा गहिरिएर म विगतमा हामीले सञ्चालन गरेका लघु उद्यम विकास कार्यक्रम (मेडेप), युवा स्वरोजगार कार्यक्रम लगायत यावत् कार्यक्रमले किन सफलता प्राप्त गर्न सकेनन् भन्ने बुझ्न सक्छु । 

म आफू दुनियाँ देखेकै मान्छे हुँ, आ–आफ्नो हिसाबले उद्यम र व्यवसाय विकासमा दुःख–सुख गरेकै व्यक्ति हुँ । उत्पादनलाई प्रतिस्पर्धी बनाउन सकेनौं भने हामीले उद्यमशीलता विकासका जतिसुकै गफ गरेपनि त्यो खोक्रो हुनजान्छ । 

छिमेकी भारतकै उदाहरण लिउँ । भारतमा पिछडिएको उत्तरपूर्वी भागहरू जम्मू–कश्मिर, हिमाञ्चलमा औद्योगिकरणका लागि सरकारले विशेष आर्थिक क्षेत्रहरू निर्माण गर्‍यो । त्यहाँ विद्युत्मा सहुलियत छ, पुँजी लगानीको एक तिहाई नगद अनुदानको व्यवस्था छ भने ढुवानीमा ७५ प्रतिशत अनुदान दिइएको छ । त्यहाँका उत्पादनलाई बजारीकरणका लागि विभिन्न फुड–पार्कसँग अन्तरआवद्धता विकास गरिएको छ । 

भारत र चीनको सहुलियतपूर्ण उत्पादन, उत्पादनको स्केलका कारण हामी तिनको बजारमा रूपान्तरण भएका छौं । उत्पादनभन्दा व्यापार सस्तो भएको छ, यस्तो अवस्थामा उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्नु कम चानचुने विषय होइन । तर सबै सरोकारवालाको भूमिका पहिचान गरी विभिन्न तहका सरकार, निजी क्षेत्र र सहकारी क्षेत्रले सामूहिक पहल गरेमा असम्भव भने छैन ।  

घोषणा, योजना र नीतिगत व्यवस्थाका ठेलीमा हुने कागजी विकासलाई वास्तविकतासँग जोड्ने भनेको त्यसको कार्यान्वयन नै हो । राजनीतिक व्यवस्थाहरू बदलिए, २६ वर्षमा २५ ओटा सरकार बदलिए तर काम नगर्ने परम्परा भने बदलिएन । यो परम्परा हाम्रो नियति बनेको छ, नियत असल भयो भने यो नियति पक्कै बदलिनेछ । 

राजनीतिक नेतृत्वबाट त्यो संयन्त्रलाई काम गर्न सक्ने बनाउनका लागि नेतृत्वको व्यवस्थापन कौशल र जसरी पनि परिणाम निकाल्ने दृढ इच्छाशक्ति चाहिन्छ । यसको एउटा उदाहरण दिऊँ, भारतमा सन् १९९१ मा पीभी नरसिंह राव प्रधानमन्त्री बनेपछि उनले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)मा काम गरिरहेका मनमोहन सिंह (जो पछि भारतका प्रधानमन्त्री बने)लाई अर्थ मन्त्री नियुक्त गरे । रावले मनमोहन सिंहलाई सँगै काम गर्न प्रस्ताव गर्दा सरकार असफल भए, त्यसको जिम्मेवारी मेरो काँधमा आउँछ, सफल भयौं भने त्यो हाम्रो साझा सफलता हुनेछ । 

त्यो हार्दीकताले मनमोहन सिंह सरकारका आएका थिए । उनले भारतीय अर्थतन्त्रमा संरचनात्मक परिवर्तन गरे । त्यो सुधार नभएको भए भारत संसारमा मोबाइल फोनको ठूलो निर्यातकर्ता बन्नुको सट्टा आज पनि एम्बेसडर गाडीमै गुडीरहेको हुन्थ्यो होला । 

भारतमा मनमोहन सिंहकै प्रसङ्गमा चर्चा गर्दा दुनियाँभर नै कस्ता व्यक्तिले राजनीति गर्ने वा राजनीतिमा कस्ता व्यक्ति आउने भन्ने कुनै स्थापित नियम छैन । विभिन्न क्षेत्रबाट समाजलाई प्रतिनिधित्व गरेर आफूलाई पुष्टी गरेका, देशका लागि केही योगदान गर्न सक्छु भन्ने दृढ इच्छाशक्ति बोकेका र मूलतः समाजमा स्वीकार्यता भएका व्यक्तिहरू राजनीतिमा आउँदा त्यसले राजनीतिप्रति जनताको विश्वास र भरोसा वृद्धि हुन्छ । 

हिजो एउटा कालखण्डमा मुलुकमा प्रजातन्त्र प्राप्तिको संघर्ष शुरु हुँदा समाज निकै पिछडीएको थियो, उक्त समयमा नेतृत्वको कुशलता, कुशाग्रताले समाजमा विचार निर्माण भयो । त्यसका आधारमा राजनीतिक दलहरू बने, सबैजसो प्रमुख राजनीतिक दलहरू सरकारमा रहेर पनि काम गरिसकेका छन् । 

विश्वव्यापीकरण, दूरसञ्चार क्रान्ति, पूर्वाधार विकासको तीव्रताले पछिल्लो तीन दशकमा विश्वमा अभूतपूर्व परिवर्तन भएको छ । त्यसको धेरथोर लाभ हामीले पनि लिएका छौं, तर पर्याप्त लाभ लिन सकेका छैनौं । आजपर्यन्त हाम्रो मुलुक आज पनि गरिब मुलुकको सूचीमा अग्रस्थानमा छ, गरिब भएर बाँच्न नेपालीहरू अभिशप्त छन् । परिवर्तित समाजले आज जुनसुकै दलको सरकार बनेपनि त्यसबाट ‘डेलिभरी’ खोजेका छन् ।

अपवादबाहेक धेरैजसो उदाहरणहरूले के देखाएका छन् भने राजनीतिज्ञ सँगै विज्ञ, व्यवस्थापनको राम्रो ज्ञान भएको र इच्छाशक्ति भएको मानिसहरूको ‘फ्युजन’ भयो भने त्यसले आर्थिक–सामाजिक रूपान्तरण ल्याउन सक्छ । हामीकहाँ नै पनि राज्यनियन्त्रित अर्थव्यवस्थाबाट आर्थिक उदारीकरणमा प्रवेश गर्न प्रतिवद्ध नेतृत्व र त्यसलाई कार्यान्वयन गर्ने ‘ब्रेन’ हरूको ‘फ्युजन’ले नै सम्भव भएको हो । 

गन्तव्य किटान सहित सरकारको यो कार्यकालभित्र हामी यी–यी उपलब्धि हासिल गर्दैछौं भन्ने प्रष्ट मार्गचित्र (रोडम्याप)सहित २०४८ देखि २०५१ मा भएका कामले नै आधुनिक नेपालको अर्थतन्त्रको जग बनेको हो । उक्त सुधारले आज मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा झण्डै ३५ प्रतिशत योगदान गर्ने दूरसञ्चार, एभिएसन, हस्पिट्यालिटी, वित्तीय क्षेत्र तथा शिक्षा र स्वास्थ्य क्षेत्रको विकास भएको छ ।  राजनीतिक ध्रुवीकरण, द्वन्द्व  र लामो संक्रमणकालीन राजनीतिको चपेटामा नपरेको भए हाम्रो वास्तविकता फरक भइसक्ने थियो भन्नेमा कुनै सन्देह छैन । 

संविधान निर्माण भइ २०७४ मा सम्पन्न आम निर्वाचनबाट झण्डै दुई तिहाई बहुमतसहित आएको सरकारका लागि देशको रूपान्तरणकारी विकासका लागि स्वर्णीम समय प्राप्त थियो । त्यसको पनि सदुयोग हुन सकेन । 

समाजले रूपान्तरणकारी विकास खोजेको छ, भोलि जो सुकै सरकारमा आएपनि कार्यान्वयन संरचनामा सुधारका लागि काम गर्न सक्ने मानिसहरू ल्याउन सकेनौं भने भोलिको अवस्थामा पनि तात्विक फरक नहोला । ‘डेलिभरी’ दिन नसक्ने हो भने को सत्तामा थियो वा थिएन भन्ने विषयले खासै ठूलो अर्थ राख्दैन । 

शुरुवातमा मैंले कस्ता व्यक्तिले राजनीति गर्ने भन्ने प्रश्नबाट पाठकलाई डोर्‍याएको थिएँ । वास्तवमा हाम्रो समाजको सतही बहसले कस्ता व्यत्तिले राजनीति गर्ने भन्ने सम्बन्धमा एकखालको गलत छाप आम जनमानसमा पारेको देख्छु । शुरु देखि नै राजनीति गर्न विद्यार्थी राजनीति वा कुनै पनि पेशागत संघसंगठनमा लामो समय काम गरेको अझै पूर्णकालीन राजनीतिमै सहभागी भएको व्यक्ति वा सबैभन्दा ठूलो मानकका रूपमा कति वर्ष जेल जीवन व्यतीत गरेको हो भन्ने विषयलाई बनायौं । त्यो कति सही वा गलत हो भनेर हामीले हाम्रो आलोचनात्मक चेतलाई शायदै प्रयोग गरेका छौं । 

दिनभर सामाजिक सञ्जालमा झुण्डिएर बस्ने, समाजमा खासै योगदान नभएका र आफूलाई निर्णायक ‘एजेण्डा–सेटर’ ठान्ने एउटा समूहले कहिल्यै पनि गुण र दोषका आधारमा भन्दा पनि गलत ढङ्गले निष्ठावान् र इमान्दार व्यक्तिहरूमाथि पनि आक्रमण गरिरहेको हुन्छ । 

पूर्णकालीन राजनीतिज्ञ, तर ‘डेलिभरी’ को नाममा माखो नमार्नेहरूलाई राम्रो र जसले इमानदारीसाथ काम गरेको छ, काम गर्न खोजेको छ भने ऊ माथि पनि आक्रमण गर्ने शैली त्यो समूहले अपनाइरहेको छ, जो सामाजिक सञ्जालमा आफ्नो नाम नै पनि खुलाएर देखिने हिम्मत गर्दैनन् । केही अनुहारसँगै तिनीहरूलाई ‘एलर्जी’छ भने यो भ्रम कहाँबाट सिर्जना भैरहेको छ । आलोचनात्मक चेत राख्ने हरेक विवेकशील नेपालीले गम्भीरतापूर्वक सोच्नुपर्छ । 

राजनीतिका सम्बन्धमा अरस्तु (एरिस्टोटल) ले बडो सान्दर्भिक र मार्मिक विचार व्यक्त गरेका छन्, ‘यदि तिमी राजनीतिमा प्रवेश गर्न इन्कार गर्छौ भने त्यसको एउटा दण्ड के हो भने तिमी आफूभन्दा कमसल मानिसहरूबाट शासित हुनुपर्छ ।’

वास्तवमा आफ्नो सोच र कौशलबाट आम जनताको जीवनस्तर विकासमा योगदान गर्नसक्छु भन्ने विश्वास (कन्भिक्सन) बोकेका व्यक्तिहरू राजनीतिमा आउनुपर्छ । 

योग्य व्यक्तिहरू समाजमा राजनीतिमा होलान्, पेशाकर्मी, विज्ञ विशेषज्ञ, उद्यमी व्यवसायी जुनसुकै स्वरूपमा छन्, तिनीहरू राजनीतिमा आउनुपर्छ । मुलुकलाई बदल्नका लागि तिनीहरू राजनीतिमा आउनैपर्छ र राजनीतिक नेतृत्वले पनि सकेसम्म धेरै व्यवस्थापकलाई आफ्नो टीममा राखेर परिणाममुखी काममा केन्द्रित गरेको खण्डमा रूपान्तरण सम्भव छ । 

अब विकास भाषणमा, योजनाका ठेलीमा वा सिंहदरबारभित्रका नीतिगत बहसमा मात्र प्राप्त हुन गाह्रो छ । यसका लागि विकासको सोच र सोच कार्यान्वयन गर्ने रणनीतिका साथ विकासको मैदानमा डटिरहेको राजनीतिक नेतृत्वको खाँचो छ । 

राजनीतिक प्रयोजनका लागि नाम, दाम र प्रतिष्ठा मलाई चाहिएको होइन । म आफू पनि त्यही विशुद्ध कर्मयोद्धाबीचको एक सदस्य बन्न चाहन्छु । बोलीले मात्र होइन, व्यवहारले । प्रतिबद्धताले । र, आफ्ना कर्मले । 

म सामान्य परिवारबाट आएको व्यक्ति हुँ । मेरो शिक्षादीक्षा पनि सामान्य रुपमै भयो । कसैलाई भ्रम नपरोस्, म सुनको थालमा चाँदीको चम्चाले खाएर हुर्किएको व्यक्ति होइन । सरकारी स्कुल पढेर आएको सामान्य नागरिक हुँ । रत्नपार्कबाट सार्वजनिक बस चढेर भक्तपुरको सरकारी स्कुलबाट विद्यालय शिक्षा हासिल गरेको हुँ । र सरस्वती क्याम्पसबाट उच्चशिक्षा लिएको हुँ । मैले आफ्नो जीवनमा प्राप्त गरेको सफलतामा कुनै रहस्य लुकेको छैन । प्रष्ट सोच, सोच कार्यान्वयन गर्ने दृढता र त्यसका लागि आवश्यक पर्ने संगठन निर्माण । कुनै कामको लक्ष्य लिएपछि लक्ष्यमा नपुग्दासम्म

त्यसलाई पछ्याइरहने मेरो स्वभाव नै यस्तै बन्यो । यत्ति गर्ने जो कसैले पनि आफूलाई सफल व्यक्ति बनाउन सक्छ ।

मैले समृद्ध नेपाल निर्माण गर्ने सपना देखेको छ र त्यो सपना पुरा नभएसम्म म त्यसलाई पछ्याइरहनेछु ।

मैले जीवनमा कहिल्यै पनि आफूले देखेको सपनालाई विचैमा अलपत्र पारेको छैन । मलाई नेपालका गाउँगाउँ अनि कुनाकन्दराको अवस्थाबारे थाहा छ । जनताको जीवनस्तरको बारेमा गहिरो ज्ञान छ । र, साना साना उपलब्धिले पनि उनीहरुको जीवनमा कति ठूलो परिवर्तनको महसुस गराउनेछन् भन्ने बारेमा पनि उत्तिकै हेक्का छ । र, साना–साना उपलब्धिले पनि उनीहरूको जीवनमा कति ठूलो परिवर्तन महसुस गराउनेछन् भन्ने बारेमा पनि उत्तिकै हेक्का छ ।

पछिल्लो समय राजनीतिक कार्यक्रममा सहभागी हुँदा होस् वा महासंघको राजनीतिका क्रममा या सिएनआईको कामका सिलसिला होस् वा व्यवसाय विस्तारका लागि देशका कुनाकाप्चामा जाँदा नै किन नहोस्, मैले नेपाली माटोको सुगन्ध चिन्ने मौका पाएको छु । र यहाँ रहेको प्रचुर सम्भावनाको ’कस्तूरी’ चिन्ने सौभाग्य पाएको छ ।

चाहे त्यो ‘कस्तूरी’ नेपालको पर्यटनको होस् या जडीबुटी क्षेत्रको, अथवा उद्यम व्यवसाय आदिकै किन नहोस् । यस्ता सम्भावनालाई हामीले देशभित्रै उजागर गर्नु छ, तिनको सही दोहन गरेर देशलाई तीव्र विकासको बाटोमा अघि बढाउनु छ । यसमा सच्चा कर्मयोद्धाको खाँचो छ । मैले राजनीतिमा त्यस्ता कर्मशीलहरूबीच सहकार्यको वातावरण बनोस् भन्ने चाहेको छु ।

हो, म आफू पनि त्यही विशुद्ध कर्मयोद्धाबीचको एक सदस्य बन्न चाहन्छु । बोलीले मात्र होइन, व्यवहारले । प्रतिबद्धताले । र, आफ्ना कर्मले । 

(समृद्धिका लागि राजनीतिबाट)


Author

विनोद चौधरी

चौधरी सांसद् एवं उद्योगपति हुन् ।


थप समाचार
x