विचार

आफैँलाई प्रश्‍न गर्ने ढंगले जानुपर्छ भन्दा प्रचण्डले कहिल्यै सुन्‍नु भएन

डा. बाबुराम भट्टराई |
पुस ११, २०७८ आइतबार १३:४३ बजे

माओवादी एउटा आन्दोलन थियो । आन्दोलनलाई हामी सबैले लोकतान्त्रिक गणतन्त्रसम्म पुर्‍यायौँ। नेपाली जनतालाई सार्वभौम बनाएर संविधान जारी गर्‍यौँ  । त्यो एउटा मौलिक र ऐतिहासिक थियो । त्यसमा सबैको योगदान छ र गर्व छ । अब त्यसको अर्को चरण सुरु भइसक्यो । त्यसैले समयानुसार विचार, नीति, कार्यक्रम, योजना, संगठन, नेतृत्व परिवर्तित र परिमार्जन हुँदै जानुपर्छ । हामी त्यही अभियानमा छौँ । पुराना साथीहरूलाई पुरानै ढंगले अल्झाइरहनु भएको छ । त्यसले उहाँलाई कही पुर्‍याउँदैन । केही समय त अल्झाउला माओवादी आन्दोलनको उपलब्धिलाई जोगाएर नेपाललाई समृद्धि हुँदै समाजवादको दिशामा लाने हो भने त्योभन्दा अगाडि जानुको विकल्प छैन । मेरो स्पष्ट धारणा यही हो । अधिवेशनमा भएका साथीहरूले गम्भीरतापूर्वक पुनर्विचार गर्दा राम्रो हुन्छ । 

माओवाद बिसौँ शताब्दीको सबैभन्दा क्रान्तिकारी विम्बको प्रतीक थियो । संसारमा राष्ट्रियमुक्ति आन्दोलन र आन्तरिक सामन्तवादविरुद्ध जुन आन्दोलन बाँकी थिए  त्यसैलाई नेपाल, अफ्रिका र एसियाका केही देशमा आवश्यकता थियो । त्यसलाई पूर्ति गर्ने क्रममा माओवादको संश्लेषण गरेकाले नेपालमा सफलतापूर्वक आन्दोलन गर्‍यौँ ।


२१औँ शताब्दीमा विश्व परिवेश र नेपाल पनि बदलियो । त्यसैले अब माओवादले हिजो काम गरेको थियो भनेर अब फेरि बाजेले घ्यू खाएथे मेरो हात सुँघ भनेजस्तो हुँदैन । अब माओवादभन्दा अगाडि बढ्नुपर्‍यो । त्यसलाई टाँसेर, एउटा लोगो बनाएर ब्राण्ड भजाएर व्यापार गरे जस्तोको कुनै अर्थ छैन । जसरी एमाले सन् १९६० को दशकमा एउटा क्रान्तिकारी धार थियो । अहिले पनि केपी ओलीले त्यसैलाई भजाइरहेका छन् । जनतालाई ढाँटछल हो भन्ने पुष्टि भइसक्यो । त्यसैले माओवाद  पनि १९८० र ०९० को दशकको एउटा क्रान्तिकारी विम्ब हो । त्यसले आफ्नो काम पूरा गरिस्क्यो । फेरि त्यही ब्रान्ड बोकेर जनतालाई भ्रम पार्नुको अर्थ छैन । सबैभन्दा पहिले त्योभन्दा अगाडि जाने साहस गर्नुपर्छ । 

परम्परागत माओवादी ब्राण्‍ड बोकेर जनतामा भ्रम छर्नुको अर्थ छैन ।

सांगठानिक नेतृत्व प्रणाली पनि अहिले एउटा उन्नत लोकतन्त्रको युग हो । हिजो एउटा उदरवादी लोकतन्त्रले त व्यक्तिगत स्वतन्त्रताको कुरा गर्‍यो । औपचारिक ढंगले खुला लोकतन्त्र र अर्थतन्त्रको कुरा गर्‍यो । पैरवी गर्‍यो । तर, त्यो अपूर्ण छ भनेर समाजवाद भनेको उन्नत किसिमको लोकतन्त्र थियो ।

तर, स्टालिनको पालामा जसरी समाजवादी लक्ष्य राख्ने भनियो कम्युनिस्ट पार्टीलाई । एउटा व्यक्तिको महत्वाकांक्षा पूर्ति गर्ने, व्यक्ति केन्द्रित हतियार कम्युनिस्ट पार्टीमा प्रयोग भयो । संसारभरका कम्युनिस्टका पार्टी त्यसबाट उन्मुक्त हुन सकेनन् । एउटा प्रमुख नेता र त्यसैको वरिपरि एस म्यानको झुण्डजस्तो मात्रै कम्युनिस्ट पार्टी बने ।ती पतन भएर गए । अब नेपालमा अहिले पनि त्यही स्टालिन स्टाइको कम्युनिस्ट पार्टी नेतृत्व प्रणालीको कुनै अर्थ छैन । उहाँहरू त्योभन्दा उन्नत खालको लोकतन्त्रमा आधारित अर्थात् समावेशी र सहभागितामूलक लोकतन्त्रको अभ्यास गर्नेतिर जानुपर्छ । त्यो नगरेसम्म पुरानो ढाँचाको कम्युनिस्ट पार्टीको कुनै भविष्य छैन ।

नेपाल अत्यन्त पिछडिएको सामाजिक, आर्थिक, सामाजिक संरचनामा छ । नेपाल चीन र भारतबीचमा छ । ठूला शक्तिको एउटा आर्थिक दबाब हामीमाथि छ  । यी सबै कुरालाई ध्यान दिँदै हामीले आफ्नो नीति र कार्यक्रम समयानुकूल परिवर्तन गरेर जानुपर्छ । त्यो भनेको लोकतन्त्रलाई अझै समृद्ध बनाउँदै समावेशिताका मुद्दालाई अझै गहिरोसँग उठाउँदै संविधानलाई परिमार्जन गर्दै मुख्यतः आर्थिक विकास र समृद्धिको एजेन्डामा केन्द्रित भएर अगाडि जानुपर्छ । 

नीतिगतरूपमा पनि यो स्पष्टता नभएसम्म हुँदैन । त्यसका निम्ति अब माओवादी, एमाले वा कम्युनिस्ट पार्टी भनेर अहिलेको युगमा यी विकास र समृद्धिको एजेन्डा पूरा पनि हुँदैन । लागू पनि हुँदैन । नेपालको भूराजनीतिक धरातलसँग मेल पनि खाँदैन । यी कुरा उहाँहरूले गम्भीरतापूर्व सोच्न र नयाँ ढंगले फेरि एउटा समावेशी र सहभागितामूलक लोकतन्त्रमा आधारिक समुन्नत समाज वा नयाँ ढंगको समाजवादको कुरा लिएर आउनुपर्छ । त्यस्ता पार्टीहरू समाजवादी केन्द्र, प्रगतिशील, लोकतान्त्रिक गठबन्धन निर्माण गर्नेतिर उहाँहरू आउनुभयो भने उपयुक्त हुन्छ । देशको आवश्यकता पूर्ति हुन्छ । नत्र भने यो बसिबियाँलोले जनतालाई भ्रम मात्रै पार्टी उहाँहरू कहीँ पनि पुग्नुहुन्न । 

पहिले बहस गर्नुपर्‍यो । कम्युनिस्ट पार्टीमा समस्या के रह्यो भने रचनात्मक चेत छैन । भौतिकवादी, आलोचनात्मक ढंगले क्रिटिकल ढंगले द्वन्द्वात्मक भौतिकवादको एउटा मान्यताले पनि के भन्छ भने हामीले निरन्तर र परिवर्तनशीलतामा बुझ्नुपर्छ र आलोचनात्मक चेतसहित समाजलाई अगाडि लिएर जान पार्टी, नेता कार्यकर्ता पनि आलोचनात्मक चेतले आफैँलाई प्रश्न गर्ने, पार्टीलाई प्रश्न गर्ने, नेतालाई प्रश्न गर्ने यो ढंगले जानुपर्छ ।

यो प्रश्न मैले पहिले पनि उठाउँथेँ । त्यतिबेला पनि प्रचण्डले सुन्नु भएन । तर, अब पार्टीलाई पुरानो कम्युनिस्ट पार्टीजस्तो बन्द पिँजडाजस्तो राखिएको छ । त्यस्तोले काम गर्दैन । यसमा माओवादीले सोच्नुपर्छ । महाधिवेशनमा साथीहरूले गम्भीर प्रश्न गर्नुपर्छ । आज मार्क्स भएको भए कसरी जान्थे होलान्, के सोच्थे होलान् भन्ने सोच्नुपर्छ । हिजोका क्रान्तिकारीहरू फेरि उपस्थित भएको भए के गर्थे होलान् । त्यो सोच्न सकिन्छ । त्योभन्दा बढी अपेक्षा गर्दिनँ । 
(पूर्वप्रधानमन्त्री भट्टराईसँग विनोद देवकोटाल गरेको कुराकानीका आधारमा)


Author

थप समाचार
x