नेपालको दिगो आर्थिक विकासको लागि कृषिमा रूपान्तरण
दिगो भन्नाले पुस्तौं पुस्तासम्मलाई पनि सकारात्मक प्रभाव पर्ने भन्ने बुझ्नु पर्दछ । सोझो अर्थमा आर्थिक विकास र दिगो विकासको संयोजन दिगो आर्थिक विकास हो । अहिलेको पुस्ताले गरेको उन्नतिले भविष्यका पुस्तौं पुस्तासम्म सकारात्मक प्रभाव पारिरहनु नै दिगो विकास हो । अहिलेको पुस्ताले गरेको विकास अथवा अहिलेको पुस्ताले प्राप्त प्रतिफल उपभोग गर्ने क्रममा भविष्यका पिँढीहरूको अधिकारलाई कटौती नगरी गरिने विकास नै दिगो विकास हो ।
यसैगरी आर्थिक विकास भन्नाले व्यक्तिगत तथा राष्ट्रिय आम्दानी एवं उत्पादनमा नियमित रूपमा वृद्धि हुनु, आर्थिक पूर्वाधारका साथै आम्दानीका आधार तथा क्षेत्रहरू निरन्तर रूपमा फराकिलो हुँदै जानु हो । व्यक्ति, समाज र राष्ट्रको सामाजिक तथा आर्थिक क्षमता सदाको लागि उपल्लो श्रेणीमा उक्लँदै जानु पर्दछ । वातावरणीय, मानवीय, आर्थिक, सामाजिक र संस्कृतिक दिनचर्या सहज हुँदै जानु पर्दछ । उत्पादनका साधन एवं उत्पादित वस्तु तथा सेवामा उपभोक्ताका छनोट विस्तार हुँदै मानव विकासका सूचकांकहरूमा समेत स्थायी रूपमा सकारात्मक प्रभाव पर्दै जानु भन्ने बुझ्नु पर्दछ ।
सामान्यतया दिगो आर्थिक विकासले ३ पी लाई समेटेको हुन्छ । अथवा पहिलो पी पिपल: मानव सरोकार ! मानव विकास, मानवीय सभ्यता । सामाजिक विकास, सामाजिक न्याय र विकासको प्रत्येक चरणले पुस्तौंपुस्ता लाभान्वित हुनुपर्छ भन्ने बुझ्नु पर्दछ ।
दोस्रो पी प्लानेट: पृथ्वी सरोकार ! स्वच्छ पृथ्वी, तथा वातावरणप्रति संवेदनशील, सम्पूर्ण प्राणीजगत्को उचित संरक्षण र संवद्र्धन, प्रकृति (प्राकृतिक सम्पदा र वातावरणको हानिनोक्सानी नगरी मानवीय हितका निमित्त उपयुक्त व्यवस्थापन गरी युगौंयुगसम्मको निमित्त मानवीय हितमा सदुपयोग गर्नु भन्ने बुझ्नु पर्दछ ।
तेस्रो पी. प्रोफिट: आर्थिक उन्नति सरोकार ! यथेष्ट आर्थिक क्रियाकलाप हुनु, स्थानीय साधन र स्रोतमा स्थानीय स्वामित्व हुनु, आर्थिक उन्नतिको प्रतिफलको ठूलो अंश स्थानीय समुदाय लाभान्वित हुनु, लाभको समानुपातिक एवं न्यायोचित वितरण हुनु भन्ने बुझ्नु पर्दछ । यसरी ३ पी को संयोजन दिगो आर्थिक विकास हो । अथवा आर्थिक बृद्धिको साथमा सामाजिक विकास र वातावरणीय उत्तरदायित्व सँगसंगै विकासको प्रतिफलको न्यायोचित वितरण एवं विकासको प्रतिफल अहिलेको पुस्ताको उन्नतिको साथै पुस्तौं पुस्तासम्म सकारात्मक प्रभाव पर्ने ढंगले हुने आर्थिक विकास दिगो आर्थिक विकास हो ।
अबको पुस्ताले संसारमा उदीयमान कम्तीमा पाँच डरलाग्दा चुनौतीहरूको सामना गर्नुपर्ने हुन्छ :
१. आणविक हतियार र त्यसको उचित व्यवस्थापन गर्नु,
२. सूचना तथा सञ्चारको उचित व्यवस्थापन गर्नु,
३. पेट्रोलियम एवं इन्धन सञ्चितिको उचित व्यवस्थापन गर्नु,
४. खाद्य संकटको उचित व्यवस्थापन गर्नु,
५. विकासको नाममा भएका विनास: वातावारणीय उचित व्यवस्थापन गर्नु र यी पाँच वटा चुनौतीद्वारा नि:सृत प्राकृतिक एवं कृत्रिम नकारात्मक प्रभावहरूको सामना गर्नु पर्नेछ ।
यी पाँचवटै चुनौतीहरूको समाधान भनेको प्रकृतिसँगको सहकार्य नै हो । प्राकृतिक नियमको पालना नै हो । दिगो आर्थिक विकासका पक्षपातीहरू पछिल्ला तीन चुनौतीहरूको समाधान पुन: नवीकरणीय साधन तथा स्रोतको पहिचान, उचित व्यवस्थापन र सही तरिकाको प्रयोग अथवा हरित क्रान्ति र कृषि क्रान्ति अर्थात् दिगो कृषि विकासबाट सम्भव छ भन्ने दावा गर्दछन् ।
एकपटक नेपालको विकास प्रक्रियातर्फ फर्कौं । अझ काठमाडौँ खाल्डोलाई विश्लेषण गरौँ । १००, ५०, २०, १० वर्ष पहिलाको काठमाडौँ उपत्यका । अनि यही गतिले अगाडि बढेको १०, २०, ५०, १००, वर्षपछि के होला ? संसारकै उत्कृष्ट उर्वर कृषि भूमिहरूमध्ये एक थियो । अहिले के भइसक्यो र पछि के हुनेवाला छ ? हाम्रो विकासमा दिगोपन छ या विकासको नाममा विनास ? के हामीले हाम्रो सन्ततिलाई दिने विकास यही हो ?
बच्चैदेखि घोक्दै आएको ‘नेपाल कृषि प्रधान देश हो’, ‘नेपाल कृषि प्रधान देश हो’ अझै पनि यही घोक्दै छौं । सुगा रटाइमा त कण्ठ गर्यौं तर व्यावहारिक रूपमा कहिले सिक्ने ? हो, नेपालको आर्थिक संरचना, भौगोलिक अवस्थिति, श्रम बजार, जलवायु विविधता र समसामयिक परिस्थितिले गर्दा कृषि क्षेत्रको विकास नै आर्थिक विकासको ढोका खोल्न सिकाउने कसी मान्न सकिन्छ । साँच्चै ‘नेपाल कृषि प्रधान देश हो’ बनाउन सकिन्छ । तर अहिलेको अवस्थालाई हेरौं त :
गुजारामुखी कृषि ! लगभग ९५ प्रतिशत कृषिमा निर्भर जनसंख्या सिर्फ दुई छाक टार्नसमेत हम्मे परेको छ । न्यून बचत कृषि उत्पादन गाँस बेचेर बास र कपासको जोहो गर्नु परेको अवस्था छ । परम्परागत कृषि एवं घाटाको कृषि पेसा बनेको छ । कम व्यावसायिक कृषि: राज्यको अत्यन्तै न्यून लगानी हुनुका साथै लगभग पाँच प्रतिशत कृषिमा निर्भर जनसंख्या व्यावसायिक तर अधिक चुनौतीको सामना गर्नु परेको अवस्था छ ।
दुई तिहाइ कृषिमा निर्भर जनसंख्याबाट सिर्फ एक तिहाइ राष्ट्रिय उत्पादनमा योगदान भएको अवस्था छ । कृषि व्यवसायको आर्थिक मूल्य अति न्यून छ । अति ठूलो अन्तर्राष्ट्रिय कृषि व्यापार घाटा अथवा निर्यातभन्दा आयातको गति तीव्र बढिरहेको छ । पेसाप्रति घट्दो चाख: खेती गर्नुभन्दा जतिसुकै तुच्छ काम भए पनि सहरी तथा वैदेशिक श्रमिक हुन राजी हामी नेपालीको मानसिकता बनेको छ ।
विकासको लहर पश्चिमी मुलुकहरूबाट पूर्वतर्फ रूपान्तरण हुँदै गएको अवस्थामा नेपालले आफ्नो सवाल पक्षमा उजागर गरेर विकासको मूल प्रवाहमा हिँडाउनुपर्नेछ ।
हाल विश्व आर्थिक बजारमा ठूला कृषि उत्पादक तथा पूर्तिकर्ता रहेका चीन, अमेरिका, ब्राजिल, भारत, रूस, फ्रान्स, मेक्सिको, जापान, जर्मनी, टर्की क्रमश: पहिलोदेखि दसौँ रहेका छन् भने हल्यान्ड, इजरायल, स्पेन, क्यानडा, अस्ट्रेलिया, न्युजिल्यान्ड, कोरिया, जर्मनीजस्ता मुलुकहरूले पनि आफ्नो अर्थतन्त्र तथा अन्तर्राष्ट्रिय कृषि उत्पादनको बजारमा ठुलो अंश ओगट्न सफल भएका छन् ।
हामीजस्ता ‘कृषि प्रधान देश ?’ नव उदीयमान उपभोक्ता बनेका छौं । खासगरी कुनै पनि कृषि व्यवसायभित्र अन्नबाली, नगदेबाली, तरकारी, फलफूल, पुष्प, जडीबुटी, माहुरी, मत्स्य व्यवसाय, पशुपन्छीपालन व्यवसाय, वनजन्य व्यवसाय, खानी एवं खनिज उद्यम, जडीबुटी, हन्टिङलगायतका उद्योगको निमित्त कच्चापदार्थको संकलन तथा उत्पादन आदि सम्बन्धी अग्रपृष्ठ सम्बन्ध स्थापना गर्ने गतिविधिहरू समेत पर्दछन् ।
विशेषगरी प्राकृतिक संसाधनसम्बन्धी कुनै पनि व्यवसायहरूलाई यस क्षेत्रले समेटेको हुन्छ । हाम्रो देशमा आफ्ना गाउँ÷नगरभित्र भित्र्याउन सकिने लगानी तथा प्रविधिको स्तरअनुसारको प्राथमिक क्षेत्रका व्यवसायबाट उद्यमशीलता सुरु गर्न सहज हुन्छ । हामीसँग रहेका रैथाने उत्पादनलाई आजको विश्व बजारले माग गर्न सक्ने गरी आधुनिक प्रविधिसँग सामञ्जस्य गर्नु आवश्यक भए सो गरेर प्राथमिक क्षेत्रमा उद्यमशीलतामार्फत अन्य क्षेत्रका उद्यमशीलताको निमित्त व्यावसायिक ढोका खोल्ने अवसर सिर्जना गर्न सकिन्छ । वास्तवमा औद्योगिकीकरण गर्ने पहिलो आधार नै यही क्षेत्र हो ।
हामीले पनि कुन क्षेत्र अनाज, तरकारी, फलफूल, पुष्पपत्र, आर्थिक मूल्यका खेती (उपयोगी बोटबिरुवा, जडीबुटी, मसला समेत), पशुपालन र मिश्रित उत्पादनको निमित्त योग्य छन् तिनको उच्च प्रविधिको प्रयोग गरी सो को पहिचान र व्यवस्थापन गर्नु पर्दछ । के कस्ता कृषि उपजको निमित्त कति, कसरी उत्पादन गर्ने हो, पकेट एरिया (विशेष उत्पादन क्षेत्र) पहिचान र विभाजन गर्ने, अग्रपृष्ठ सम्बन्ध स्थापित गर्ने, अत्याधुनिक प्रविधिको प्रयोग र व्यावसायिक खेतीका संरचनागत निर्माण गर्ने पद्धति बसाल्नु जरुरी रहेको छ । खेतीयोग्य जमिनलाई अन्य क्षेत्रमा प्रयोग पटक्कै गर्नु हुँदैन ।
नेपालको अर्थतन्त्रमा किन कृषि नै ? संसारका कुनै पनि देशमा हुने एकमा अनेक मौसम अर्थात् चिसोमा चिसो, गर्मीमा गर्मी सबै प्रकारको हावापानी पाइने जैविक विविधताले धनी देश हो । आधा वर्ष हिउँ जम्ने युरोप वा मरुभूमिले बनेको खाडी एवं अफ्रिकी मुलुकभन्दा वर्षैभरि हरियो रहने कृषि मैत्री हावापानी नेपालमा पाइन्छ । अझै पनि दुई तिहाइ अंश जनसंख्या कृषिमा निर्भर रहेका छन् । कुल गार्हस्थ उत्पादनको एक तिहाइभन्दा बढी कृषि क्षेत्रले नै ओगटेको छ । अत्यधिक कृषिश्रम सञ्चित रहेको तथा सस्तो श्रम उपलब्ध (विकसित मुलुकहरूमा १० देखि २५ अमेरिकी डलर प्रतिघण्टा तर नेपालमा ५ अमेरिकी डलर प्रतिदिनमै कृषि श्रम पाइने) पाइन्छ । कृषि क्षेत्र अझै पनि परम्परागत अवस्थामै रहेको परिवेशमा सानो प्रयासले ठूलो उपलब्धि प्राप्त हुने सम्भावना छ ।
विश्वव्यापी बढ्दो कृषि उत्पादनको माग एवं खाद्य संकटको समाधानमा आफ्नो देशको सबल पक्ष रहने छ । विकासको लहर पश्चिमी मुलुकहरूबाट पूर्वतर्फ रूपान्तरण हुँदै गएको अवस्थामा नेपालले आफ्नो सवाल पक्षमा उजागर गरेर विकासको मूल प्रवाहमा हिँडाउनुपर्नेछ । उदीयमान दुई ठूला अर्थतन्त्र चीन र भारतको बीचमा अवस्थित नेपाल व्यापारिक केन्द्र (बिजिनेस हब) को रूपमा स्थापना गर्न सकिने सम्भावना रहेकोे छ । संसारकै ठूलो उपभोक्ता बजारको भारत, चीन, पाकिस्तान, बंगलादेशजस्ता ठूला जनसंख्याको बीचमा अवस्थित रहेकोले नेपाल कृषि व्यवसायको लागि अत्यन्तै सम्भावना बोकेको मुलुक भएको कुरामा दुईमत छैन ।
एकै पुस्तामा कृषिबाटै छलांग मार्ने कोरियाको त के कुरा गर्नु ? मरुभूमिको देश साउदी अरेबियाको अल साफी डेरी फर्म: एउटा फर्ममा ३७ हजार गाईपालन गरेर दुग्ध उत्पादनमा आत्मनिर्भर बनेको छ भने सदाबहार रहने हाम्रो कृषि किन यत्ति पछाडि ? पृथ्वीको दक्षिण कुनामा अवस्थित, भौगोलिक रूपमा एक्लो एउटा सानो पहाडी मुलुक न्युजिल्यान्डले चार करोड (४० मिलियन) भन्दा बढी भेडा पालेर मासु र ऊन उत्पादन गरी विश्वबजार निर्यात गरेर आफ्नो वर्चस्व कायम गर्न सफल भएको छ भने विश्वको एक तिहाइ उपभोक्ता नै छिमेकमा भएको मुलुक नेपाल किन यत्ति पछाडि ? केही दशक अगाडिसम्म गृहयुद्ध र भोकमरीले जर्जर दरिद्र अफ्रिकी मुलुकहरू इथियोपया र रुवान्डाले कृषिमा औजारको प्रयोग तथा आधुनिक खेती गरेर आर्थिक छलांग मार्न सफल भएका छन् भने हामी मात्र यत्ति पछाडि हुनुपर्ने कारण नै छैन ।
अग्रणी मुलुकहरूले के गरे अनि हामीले के गर्र्यौं त ? अग्रणी मुलुकहरूले पहिला विकासका पूर्वाधार, व्यवसायको बन्दोबस्त त्यसपछि बसोबास गरे तर हामीले पहिला उर्वरभूमिमा निर्वाहमुखी खेती अनि बस्तीको चाप त्यसपछि विकास पुर्र्याउन खोज्यौं, हाम्रो कृषि योग्य जमिन सिमेन्टको कंक्रिटले भरिँदैछ । उनीहरूले समयमै कृषिलाई व्यवसायको रूपमा विकास गरे (कृषि क्रान्ति युरोप, प्रकृतिवाद १८औं शताब्दी) र साथसाथै औद्योगिक क्रान्ति गरेर अगाडि बढे तर हामी अझै पनि गुजाराको लागि मात्र कृषि पेसामा छौं ।
अब कृषिमा दिगो रूपान्तरण (सब्सिस्ट्यान्स टु सस्टेनेबल) गर्नु जरुरी छ । हामीले सर्वप्रथम सोचाइ परिवर्तन गर्नु पर्दछ ।
उनीहरूले समयमै अग्र एवं पृष्ठसम्बन्ध (फर्वार्ड ब्याकवार्ड लिंकेज) विकास गरे र औद्योगिकीकरणमा फड्को मारे तर हामी नितान्त प्राकृतिक उत्पादनमै सीमित रह्यौं अनि जहाँको तहीं छोडियौं । उनीहरूले सुरुमा नै आफ्नो देशको सबल पक्षहरूको पहिचान गरी उचित व्यवस्थापन गरेर तीव्र गतिमा अगाडि बढे तर हामी देशभित्र अथाह साधनस्रोत र जनशक्ति हुँदाहुँदै जीवीका गर्न नसकेर विदेश भास्सिन विवश भयौं । उनीहरू कहिले पनि रुमल्लिएको पाइएन र आर्थिक परनिर्भर भएनन् तर हामी भने अझै कसरी अगाडि बढ्ने भन्ने प्रक्रियागत कुरामा हराइरहेका छौं र उपभोग गर्न मात्र सिक्यौं ।
अब कृषिमा दिगो रूपान्तरण (सब्सिस्ट्यान्स टु सस्टेनेबल) गर्नु जरुरी छ । हामीले सर्वप्रथम सोचाइ परिवर्तन गर्नु पर्दछ । अझ मानसिकतामा निखारपन ल्याउनु जरुरी छ कि हाम्रो आजको कदमले हाम्रा पुस्तौंपुस्तालाई दीर्घकालीन प्रभाव पर्दछ । कृषि व्यवसाय औद्योगिकीकरण को बीउ हो । बीउ नरोपी फलको आस गर्न सकिँदैन ।
भूमिको संरक्षण गर्नुपर्छ : अहिले सहरीकरण र घडेरी प्लटिङको नाममा भएको कृषि योग्य उर्बर भूमिको विनाश रोक्नु जरुरी छ । साथै कुन जमिनमा के के र कति कति मात्रामा उत्पादन सम्भव छ सोहीबमोजिम जमिनको व्यवस्थापन गर्नु पर्दछ । हामीले कृषिलाई व्यावसायिक पेसा बनाउनु पर्दछ । अहिले कृषक छौं तर कृषि व्यवसायी बन्नु जरुरी छ । कृषकमा व्यावसायिक परिवर्तन भए मात्र कृषिमा परिवर्तन आउछ । गुजारामुखी कृषकले ठुला कृषि उद्यमी र नाफा आर्जन गर्ने उद्देश लिनु पर्दछ । ठूला कृषि परियोजना स्थापना गरी ठूलो मात्रामा उत्पादन (मास प्रोडक्सनमा) मार्फत ठूलो नाफा प्राप्त हुन्छ ।
हामीले कृषिको अग्रपृष्ठ सम्बन्ध (फर्वार्ड ब्याकवार्ड लिंकेज) स्थापना गर्नु पर्दछ । जमिनमा बाली लगाउने, गोडमेल गर्ने, हुर्काउने, फलाउने र भित्र्याउने काम मात्र होइन- अनुसन्धान, मल, बीउबिजन, उन्नत प्रविधि, अत्याधुनिक औजार, श्रम, पुँजी अन्य पूर्वाधार- प्रसोधन, उत्पादनका उद्योग, स्थानीय, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय बजार समेतमा उत्तिकै सम्बन्ध हुनु पर्दछ । अब हाम्रो सरकारी संयन्त्र जाग्नुपर्छ, निजी लगानीकर्ता आकर्षित गर्नुपर्छ । कृषि क्षेत्रको विकासका निमित्त सुकिला मुकिलाले ध्यान दिनुपर्छ अर्थात् उच्च राजनैतिक र प्रशासनिक संयन्त्रले उच्च प्राथमिकता दिनु पर्दछ ।
यसैगरी सरकारी निकायहरू कृषि विकास केन्द्र, कृषि अनुसन्धान केन्द्र र कृषि प्रसार केन्द्र एवं अन्य सम्बन्धित संयन्त्रहरूबीच दह्रो अन्तरसम्बन्ध र समन्वय कायम गरी सहयोगी भूमिका खेल्नुपर्छ । कृषि बिमाको व्यवस्था हुनुपर्दछ । साथै स्थानीय सरकारले ठूलो भूमिका खेल्नुपर्छ । प्रविधि हस्तान्तरण गर्नुपर्छ । संसारमा दिगो कृषि विकासको निमित्त जति पनि अध्ययन, अनुसन्धान र प्रविधिको विकास गरिएको छ सोहीबमोजिम प्रविधिको आवश्यकताअनुसार नेपालमा हस्तान्तरण गरेर कृषिलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउनुपर्छ । यसरी जैविक एवं वातावरणीय विविधताको उचित पहिचान र व्यवस्थापनद्वारा नेपालको कृषि क्रान्ति गरी द्रुत र दिगो आर्थिक समृद्धि हासिल गर्न सकिन्छ । (सचिव, अन्तर्राष्ट्रिय समन्वय समिति (हाल, फिनल्यान्ड) अष्ट ज अभियान नेपाल)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया