आर्काइभबाट
बीपी तर्साउने विदेशी वचन, ‘आत्महत्याको बाटो किन रोजेको ?’
म २०३३ पुस १६ मा विश्वेश्वरप्रसाद कोइराला र गणेशमान सिंह ‘मेलमिलापका नीति’ लिँदै नेपाल फर्किने समयमा बनारसमै थिएँ । बीपीसँग मैले सोधेँ, ‘मेरो परीक्षा चल्दैछ, के गरौं ?' बीपीले भन्नुभयो, ‘गिरिजा नेपाल जाँदैन, उसलाई सघाउनू ।’ त्यसपछि मलगायत केही साथीहरू बनारसमै रह्यौं । जनमत संग्रहको घोषणासँगै आममाफी पाएपछि हामी नेपाल फर्किएका हौं । हामी त्यहाँ रहेर तरुण पत्रिका र बुलेटिन लेखनका अतिरिक्त पार्टी साहित्य तयार गर्थ्यौं । म सात वर्ष बनारसमा निर्वासनमा रहेँ ।
मेलमिलाप नीति लिनुमा
बीपी-गणेशमान मेलमिलापको नीति लिएर स्वदेश फर्कनुमा दुई कारण थियो । त्यतिखेर कांग्रेसले सशस्त्र क्रान्तिको लाइन छाड्दै देश फर्किने निर्णय लिएको थियो । पहिलो त, बीपी-गणेशमान सिंहलाई अनुभव भयो कि भारतमा बसेर विदेशी प्रभुत्वसँग लम्पसार नपरेसम्म सशस्त्र संघर्ष सम्भव छैन । मुलुकभित्रै रहेर शान्तिपूर्ण आन्दोलन गर्ने नीति अख्तियार गर्नु उपयुक्त हुन्छ भन्ने थियो । त्यो कुरा ओखलढुंगाको ‘एक्सन’ असफल भइसकेको पृष्ठभूमिले झनै छर्लंङ्ग पारिदिएको थियो ।
अर्कोतर्फ, नेपालमा विदेशी हस्तक्षेपको खतरा पनि उत्तिकै थियो । पहिले नेपाल जोगिनुपर्छ, हाम्रो झगडाको निहुँमा नेपाल विदेशीको क्रीडास्थल बन्नु हुँदैन भन्ने मान्यता रह्यो । बीपी बनारसको रथयात्रा बस्ने समयमा बीपीसँग भेट्न एक जना नेपाली मानिस आए । त्यतिखेर बनारसमा बीपीलाई एक्लै भेट्ने कमै नेपाली आउँथे । यसकारण हामीलाई ती मानिस को होलान् भन्ने जिज्ञासा हुनु स्वाभाविकै थियो । बीपी र तिनीबीच एक घण्टा जति कुराकानी चल्यो । बीपीसँग भेटेपछि ती मानिस फर्किए । हामीले बीपीलाई सोध्यौं, ‘ती मानिस को हुन् ?’
बीपीले भन्नुभयो, ‘यिनी पञ्चायतमा मन्त्री भइसकेका खगेन्द्रजंग गुरुङ हुन् । दिल्लीमा इन्दिरा गान्धीलाई भेटेर फर्किएका हुन् ।’ बीपीले ‘गुरुङ राजा महेन्द्र नजिकका मानिस भएको’ बताउनुभयो । इन्दिरा गान्धीलाई भेटेर बीपीलाई भेट्न आएपछि हामीलाई खुल्दुली लाग्यो ।
‘त्यो मानिस के भन्न आएको रहेछ ?’ हामीले सोध्यौं । बीपीले भन्नुभयो, ‘उसले हामीलाई गुरुङ राज्य छुटाइदिनुस् हामी राजसंस्था फालिदिन्छौं भन्न आएको रहेछ ।’ बीपीले तिनलाई जातीय राज्य या जातिगत राजनीतिका कुनै कुरा नगर्नुस् भनी फिर्ता पठाउनु भएको रहेछ । उसलाई बीपीले भन्नुभयो, ‘बरु प्रजातन्त्र स्थापना गर्न मद्दत गर्न सहयोग गर्नुस् । सक्नुहुन्छ भने यस विषयमा राजासँग कुरा गर्नुस् ।’
त्यसपछि हृषीकेश शाहले पनि जातीय राज्य उल्लेख गरेपछि बीपी झस्किनुभएको थियो । खासमा बीपीले एउटा मान्यता बनाउनु भएको थियो कि दिल्लीको शक्ति केन्द्रमा बस्नेहरू नेपालमा जातिगत नाराको आधारमा अस्थिरता ल्याउन चाहन्छन् । उनीहरू पहिला राजा फाल्ने वा जातिगत राज्य स्थापनाको नाराको माध्यमबाट स्थिति चर्काउने खिचडी पाकिरहेको विश्लेषण उहाँको थियो । पछि माओवादीहरूले त्यही जातिगत राज्यको एजेन्डा कसको इसारामा लिएका रहेछन् आज सबै छताछुल्ल भइसकेको छ ।
जब माओवादीहरूले जातिगत राज्यको विषय उठाउँदै हतियारको राजनीति गरे, बाह्रबुँदे सहमतिसम्म आइपुग्दा जसमा भारतीय संरक्षण रहेकै हुनुपर्छ । त्यो भारतले उहिलेदेखि चाहेकै थियो । त्यो बाह्रबुँदेसम्म आइपुग्दा सबै प्रष्ट हुन गयो । बीपीसम्म अनेक कोणबाट जातीय राज्यका विषयमा यस्ता प्रस्ताव आए हुन् भन्ने मेरो धारणा हो । हृषीकेश शाहले जातीय राज्यकै पक्षमा बीपीसँग वार्ता गर्न आएका थिए । त्यसमा बीपीले अस्वीकार गर्नुभएको थियो । भारत, बीपीलाई बाध्य बनाएर बीपीकै माध्यमबाट त्यो कर्मकाण्ड पूरा गराउन चाहन्थ्यो । बीपी-गणेशमानले त्यो कुरा राम्रोसँग बुझ्नु भएको थियो र त्यो चक्रव्यूहबाट जोगिन सक्नुभयो र देशलाई पनि जोगाउनु भएको थियो ।
सर्वप्रथम राष्ट्रियता अनि मात्रै प्रजातन्त्र
बीपीको नीति थियो, पहिलो राष्ट्र त्यसपछि प्रजातन्त्र अनि मात्रै समाजवाद । कांग्रेसले त्यो बुझेरै ‘क्वाइन’ गरेको हो, ‘राष्ट्रियता, प्रजातन्त्र र समाजवाद ।’ पहिलो नम्बरमा ‘राष्ट्रियता’ राख्नुको कारण नै यही हो । त्यतिखेर यो क्षेत्रमा धेरैखाले क्रियाकलाप भइरहेका थिए । भारतले सिक्किम विलय गराइसकेको थियो । दक्षिण एसियाली मुलुक कुनै खाले आँधीबेहरी आउने हो कि भने जस्तै शान्त थिए ।
बीपी कोइरालाका नजिकका भारतीय साथीहरू फकाउन निकै दिन बनारसमा बसे । उनीहरू भनिरहन्थे, ‘बीपीलाई नेपालमा जोखिम छ ।’ जयप्रकाश नारायण एकमात्र भारतीय नेता हुन् जसले जोखिम भए पनि नेपाल जानैपर्छ भनी सल्लाह दिए ।
यो भू-भागमा चाँडै तुफान आउँदैछ । त्यसबाट देशलाई जोगाउन जसरी पनि नेपाल फर्कनैपर्छ भन्ने सोच नै राष्ट्रिय एकता र मेलमिलाप नीतिको चुरो कुरा हो । बीपी-गणेशमानलाई लाग्यो, ‘विदेशको भूमिमा बसेर देश डुबेको तमासा हेरेर कसरी बस्न सकिन्छ र ?’
बीपी रोक्ने खेल
त्यतिखेर मेलमिलाप नीति लिएर फर्कन खोज्दा बीपीलाई रोक्न अनेकन प्रयास भए । धेरै भारतीय नेताहरूकै दबाब थियो, ‘जानु हुन्न । राजाले मार्छन् । किन आत्महत्याको बाटो रोजेको हो ?’ त्यस अतिरिक्त बीपीका मित्रहरू सम्झाउन दिल्लीबाट सारनाथ आए । बीपीले मान्नु भएन । उल्टो तिनीहरूलाई सम्झाएर फर्काउनु भएको थियो ।
बीपी कोइरालाका नजिकका भारतीय साथीहरू फकाउन निकै दिन बनारसमा बसे । उनीहरू भनिरहन्थे, ‘बीपीलाई नेपालमा जोखिम छ ।’ जयप्रकाश नारायण एकमात्र भारतीय नेता हुन् जस्ले जोखिम भए पनि नेपाल जानैपर्छ भनी सल्लाह दिए ।
त्यतिखेर रामराजाप्रसाद सिंह पनि भेट्न आए । उनी हतियारबन्द राजनीति गर्नुपर्छ भनी उक्साइरहेका थिए । त्यसमा उनीसँग हामी, भनाभनको तहसम्मै उत्रिएका थियौँ । हामीले भन्यौँ, ‘बीपीले जे गर्नुहुन्छ, तपाईं ठीक उल्टो गर्नुहुन्छ । बीपीले सशस्त्र संघर्षको आह्वान गर्दा तपाईं पञ्चायती व्यवस्थामा राष्ट्रिय पञ्चायत प्रवेश गर्न स्नातकचुनाव लड्न जानुभयो । बीपीले मेलमिलाप नीति लिँदा तपाईं सशस्त्र संघर्षको गर्नु राम्रो होइन ।’ त्यो विषयमा सिंहसँगै हाम्रो राम्रै झगडा र भनाभन पर्यो ।
हुन पनि २०४२ मा जब कांग्रेसले सत्याग्रहको घोषणा गर्यो, तब रामराजाप्रसाद सिंहले काठमाडौंमा बम पड्काएर विध्वंश निम्त्याए । त्यसमा कांग्रेसलाई फसाउने योजना थियो । कांग्रेसलाई मुछ्ने खेल थियो । त्यो घटना कांग्रेसले गरायो र कांग्रेसको हात छ भनी हल्ला फिँजाइयो । तर, कांग्रेसले पहिल्यै भनिसकेको थियो, सत्याग्रह हिंसात्मक हुँदैन । यदि कुनै तत्वले हिंसात्मक बनायो भने कांग्रेसको सत्याग्रह स्वत: स्थगित हुनेछ । त्यो बम काण्डसँगै कांग्रेसले सत्याग्रह रोकेको थियो ।
सत्याग्रहपछि रामराजाप्रसाद सिंहका मानिससँग जेलमा सँगै परियो । तिनीहरूसँग कुराकानी हुने नै भयो । मैले उनीहरूसँग सोधेँ, ‘गणतन्त्र ल्याउने रामराजा र उनका मानिसले दोस्रो एक्सन किन गरेनन् ?’ मलाई लाग्छ, त्यो पनि अरू छद्म कारण बाहेक कांग्रेसको सत्याग्रह तुहाउनकै निम्ति पनि रचिएको थियो कि ?
मोहन वैद्यसँग मेरो भेट
बनारसमा एक दिन अचानक कमरेड मोहन वैद्य मेरो डेरामा आउनुभयो । उहाँ हाम्रो पारिवारिक सम्बन्धका मानिस हुनुहुन्छ । २०२९ ताका सल्यानमा ६-७ महिनासँगै जेल बसेका थियौं । म त्यतिखेर २१ वर्षको थिएँ । मोहनजीले त्यही समयमा नै हामीलाई माओवादी क्रान्तिको अवधारणा सुनाउनुभएको थियो ।
उहाँले भन्नुभयो, ‘तपाईँहरू त फर्किन थाल्नु भएछ । हामी त सशस्त्र संघर्षमा जाने नै हो । संगठन विस्तार र हतियारको जोहो कसरी हुन्छ भनी बुझ्न हिँडेको हुँ ।’ मैले भने, ‘तपाईंहरू हतियारको राजनीति सुरु गर्दै हुनुहुन्छ । हामी हतियार छाडेर नेपाल जाँदैछौं । हामीले किन हतियारको राजनीति छाड्दै मेलमिलामको राजनीति लाग्नुपर्यो भनी बुझ्न सक्नु भएन भने तपाईंहरूलाई धोका हुनेछ । सत्य बुझेर नै बीपी-गणेशमान सिंहले मेलमिलापको नीति लिनु भएको हो ।’
मलाई बीपीले ‘मेलमिलाप’बारे मोहन वैद्यको राय बुझ्न लगाउनु भयो । वैद्यले मसँग भने, ‘तपाईंहरूको क्रियाकलाप हेरेपछि मात्रै केही भनौंला ।’ बीपीको नीतिबारे प्राय: सबैको प्रतिक्रिया आए पनि पुष्पलालजीको भने कुनै प्रतिक्रिया आएको थिएन ।
त्यस निम्ति पुष्पलालजीलाई कुराकानी गर्न बोलाइयो । बीपी-पुष्पलाल वार्ता हुँदै गर्दा म पनि छेउमै बसेको थिएँ । बीपीले भन्नुभयो, ‘होइन, मेलमिलापमा तपाईंहरूको कुनै प्रतिक्रिया आएन त ।’ त्यसपछि पुष्पलालले जवाफ दिनुभयो ‘म दिल्लीबाट भर्खर फर्किएँ । एक सातापछि आउँछ ।’
कुराकानी सकिएपछि दुवै एकै रिक्सामा डेरा फर्कियौं । पुष्पलालजी र म बनारसमा एकै गल्लीमा बस्थ्यौं । उहाँसँग भलाकुसारी भइरहन्थ्यो । हामी त्यो गल्लीमा एकै पसलमा चिया पिउँथ्यौ । बीपी-पुष्पलालबीच वार्ता भएको भोलिपल्ट बिहान त्यही चिया पसलमा गएँ । त्यहाँ त पुष्पलालकै पार्टीको नाममा पम्पलेट छरिएको पाएँ । जसमा बीपी कोइराला नेपाल फर्किने विषयमा धुवाँधार विरोध गरिएको थियो ।
बीपीले एउटा मान्यता बनाउनु भएको थियो कि दिल्लीको शक्ति केन्द्रमा बस्नेहरू नेपालमा जातिगत नाराको आधारमा अस्थिरता ल्याउन चाहन्छन् । उनीहरू पहिला राजा फाल्ने वा जातिगत राज्य स्थापनाको नाराको माध्यमबाट स्थिति चर्काउने खिचडी पाकिरहेको विश्लेषण उहाँको थियो । पछि माओवादीहरूले त्यही जातिगत राज्यको एजेन्डा कसको इसारामा लिएका रहेछन् आज सबै छताछुल्ल भइसकेको छ ।
त्यतिखेर राजनीतिक रूपले पुष्पलालजी निकै कमजोर हुनु भएको हो । मलाई लाग्छ, पार्टीको आधिकारिक राय उहाँलाई थाहा रहेनछ या त्यहाँ पनि पुष्पलालजीलाई छलेर बीपीको नीतिको विरोध भएको थियो । नत्र, बीपीसँग भेटेकै भोलिपल्ट त्यस्तो पर्चा छरिने थिएन ।
बीपी युरोपमा रहेको समयमा २०३५ माघमा क्याप्टेन यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठलाई मृत्युदण्ड दिइयो । दुई जना नेपाली क्रान्तिकारी नेतालाई फाँसी दिँदा नेपालमा कुनै ‘चाईंचुर्इं’ भएन । तर २०३५ चैतमा पाकिस्तानमा भुट्टोलाई फासी दिँदा नेपालमा विद्यार्थीको ठूलो आन्दोलन भयो ।
यति ठूलो उदेकलाई नेपालीले गम्भीरतापूर्वक लिएको देखिएन । त्यस समय बेलायतमा रहेका बीपीले बीबीसीको नेपाली कार्यक्रममा भन्नु भएको थियो कि ‘यो आततायी घटना पनि मलाई तर्साएर नेपाल नफर्कियोेस् भन्न निमित्त घटाइएको हो । म फेरि पनि परिणामको वास्ता नगरेर नेपाल फर्कन्छु ।’ कुन शक्ति थियो जो बीपीलाई नेपालबाट बाहिरै राख्न चाहन्थ्यो ? सामान्य राजनीति गर्नेले पनि बुझ्न सक्छ ।
बीपीको भविष्यवाणी अनुसार पाकिस्तानमा जुल्फिकर अली भुट्टोलाई फाँसी भयो, त्यसको प्रतिक्रियामा भएको विरोधले नेपालमा विद्यार्थी आन्दोलन भयो । भारतमा संकटकालको घोषणा हुन गयो । अफगानिस्तानमा रसियन फौजको आगमन आदिले मेलमिलापको नीति लिने समयमा शान्त रहेका मुलुक एकएक गरेर अशान्त हुन पुगे । बीपीले देख्नु भएका कुरालाई मनगढन्ते भन्नेहरूकै सामुन्ने सबै सत्य साबित हुँदै गए ।
ती मानिस को हुन् ?
जनमत संग्रह घोषणाको केही दिनअघि एक जना मानिस बीपी निवास चाबहिलमा आयो । त्यो मानिसले के भन्यो भने गणतन्त्र स्वीकार गर्छौ भने २४ घण्टाभित्र राजा फालिदिन्छु । बीपीलाई त्यसो भन्ने मानिस असामान्य त हुने नै भए । त्यसमा बीपीले भन्नुभयो, ‘यो विषय गम्भीर छ । म साथीहरूसँग छलफल नगरी केही भन्न सक्दिनँ । मलाई एक साता समय दिनुस्, त्यसपछि तपाईंसँग कुरा गर्छु ।’ त्यसको तीन, चार दिनपछि जनमत संग्रह घोषणा भयो । त्यो मानिस फेरि भेट्न आयो । त्यतिखेर बीपीले जवाफ दिनुभयो रे, ‘राजाले जनमत संग्रह घोषणा गरिसकेका छन्, अब हामी त्यसैमा सामेल हुन्छौं ।’
त्यस विषयमा एकदिन मैले बीपीसँग प्रश्न गरेको थिएँ, ‘ती मानिस को हुन् । भारतीय हुन् ? अमेरिकी हुन् ? चिनियाँ हुन् ?’ बीपीबाट जवाफ आयो, ‘ होइनन् ।’ त्यसपछि को हुन् भनी सोध्ने आँट आएन । तर मैले ‘रसियन हुन् ?’ भनेर सोध्न सकिनँ ।
त्यतिखेर भारत-रुसको २० वर्षे सामरिक सम्बन्ध कसिलो थियो । मलाई मनमा लाग्यो, ‘कतै यिनी रसियन त थिएनन् ?’ नेपालीको गणतन्त्रप्रतिको रुझान आफ्नो ठाउँमा होला । तर बाह्य तत्वहरूलाई के थाहा थियो भने ‘नेपालमा जबसम्म राजतन्त्र हटाइँदैन, तबसम्म अनुकूल भूमिका प्राप्त हुँदैन ।’
मैले बीपीसँग उतिखेरै सोधेको थिएँ, ‘राजा फाल्ने कुरा किन नमान्नु भएको, बीपीको जवाफ थियो ‘जो मानिसमा २४ घण्टामा राजसंस्था फाल्ने ताकत छ, भोलि हामीले उसको खटनमा नहिँडे हाम्रो के दशा हुन्छ होला एक छिन कल्पना गर त ।’ त्यसो भए पहिला नै तिनलाई किन स्पष्ट जवाफ नदिनु भएको हो ?’ बीपीले भन्नुभयो, ‘मैले ती व्यक्तिलाई अल्झाएको मात्र हो । त्यो मानिस अर्को नेताकोमा जान्थ्यो अनि नेपाललाई विदेशीको अखडा बन्न नदिने यति ठूलो प्रयास के हुन्थ्यो होला ?’ जनमत संग्रह घोषणापश्चात् पनि त्यो मानिस बीपीलाई भेट्न आएछ । बीपीले अब सन्दर्भ फेरियो भनेर फर्काइ दिनु भएछ ।
बाह्य शक्तिको खेल निरन्तर
नेपालमा भारत मात्र होइन, चीनको पनि उत्तिकै चासो छ । म नेपाली कांग्रेसको संगठन विभाग प्रमुख थिएँ, तारानाथ रानाभाट सभामुख हुनुहुन्थ्यो । हामीसँगै चीन भ्रमणमा गएका थियौं । त्यहाँको संगठन विभाग र हाम्रो संगठन विभागबीच अन्तक्रिया भयो ।
पुष्पलालजी र म बनारसमा एकै गल्लीमा बस्थ्यौं । उहाँसँग भलाकुसारी भइरहन्थ्यो । हामी त्यो गल्लीमा एकै पसलमा चिया पिउँथ्यौ । बीपी-पुष्पलालबीच वार्ता भएको भोलिपल्ट बिहान त्यही चिया पसलमा गएँ । त्यहाँ त पुष्पलालकै पार्टीको नाममा पम्पलेट छरिएको पाएँ । जसमा बीपी कोइराला नेपाल फर्किने विषयमा धुवाँधार विरोध गरिएको थियो ।
उनीहरूले भने, ‘हामी नेपालले समृद्धि हासिल गरोस् भन्ने चाहन्छौं । प्रगति गरोस्, त्यसमा सहयोग गर्न हामी तयार छौं । तर नेपालको भूमि हाम्रोविरुध्द प्रयोग हुन्छ भने हामी नेपाली भन्ने को हुन चिन्दैनौं । तपाईंहरूले भारतसँग सम्बन्ध बढाएर जानैपर्छ । हामी स्वयम् पनि भारतसँग सम्बन्ध बढाएर अघि बढ्ने पक्षमा छौं ।’
नेपालमा बाह्य शक्तिको नेपालमा ‘दूरगामी चलखेल’ जारी छ । नेपाल छलिँदै, धकेलिँदै बचेको हो । २०४६ मा दरबारले प्रजातन्त्र नदिएको भए अर्कै रूप हुन्थ्यो होला । देशलाई जोगाउने हो भने विदेशी चलखेल र दुष्चक्र समाप्त हुनु पर्दछ । भावी पुस्ताले निरन्तर अस्थिरता भोग्नु नपरोस् भन्नेमा सचेत हुनुपर्छ । राष्ट्रियता र लोकतन्त्र गुमाउनु नपरोस् भन्ने ध्येय हुनुपर्छ । जबसम्म विदेशीका स्वार्थसिद्धि हुँदैनन्, तबसम्म चलखेल रहिरहन्छ । यसबाट जोगाउने र जोगिने त हामीले पो हो, आजको देशको बागडोर सम्हाल्नेले हो । विदेशीका कुत्सित स्वार्थका जालोहरू सहनशीलता, बुद्धिमानी एवं चलाखीपूर्वक छिनाल्ने त हामीले नै हो ।
नेपाललाई अफगानिस्तान बन्न दिनु हुन्न । नेतृत्व तहमा रहेकाहरू के सोचिरहेका छन् ? देशका निम्ति कोही सोचिरहेका छैनन् । विदेशीका लागि यस्तो अस्थिरता मलिलो भूमि हुन्छ । त्यसकारण बीपीले मेलमिलाप नीति लिनुमा मुलुक विदेशीको क्रीडास्थल नबनोस् भन्ने नै थियो । यो कुरा आजका नेताहरूले किन नबुझेको हो या बुझ पचाएका हुन् सबै राष्ट्रवादी शक्तिले बुझ्न र चनाखो हुन आवश्यक छ । यसैकारण आजको नेपालको दयनीय अवस्थामा समग्र मेलमिलापको नीति झनै सान्दर्भिक हुन पुगेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया