विचार

मोदीलाई पूजा गराउने टेकनारायण

सञ्जय पन्थी |
पुस १८, २०७७ शनिवार १०:६ बजे

काशीको प्रसिध्द विश्वनाथ मन्दिरमा २१ जना पुजारी छन् । तीमध्ये ११ जनाले मात्र गर्भगृहमा पूजा गर्ने गराउने सौभाग्य पाएका छन् । त्यी ११ मध्ये शौभाग्यशाली नेपाली हुन्– आचार्य टेकनारायण पौडेल ।

बागलुङबाट २०४४ सालमा अध्ययनका लागि काशी पुगेका आचार्य पौडेल खुला प्रतिस्पर्धाका आधारमा विश्वनाथको मूल पुरोहित छनोट भएका हुन् । मूल पुरोहित भएकै कारणले उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पटक–पटक पूजा गराउन सफल छन् । उनलाई मन्दिरका समकक्षी पुजारीहरूले प्रम मोदीको निजी पुजारी भन्दै क्षणसमेत हान्न पछि पर्दैनन् ।


प्रधानमन्त्री मोदी सन् २०१४ मा पहिलो पटक काशी निर्वाचन क्षेत्रमा उम्मेदवार बनेदेखि नै विश्वनाथ मन्दिरमा पूजा आराधना गर्न निरन्तर आउने गरेका छन् । गतसाता पनि प्रम मोदी काशी आउँदा विश्वनाथ मन्दिरमा पूजा आराधना गरे । यस पटक पनि उनलाई पूजा गराउने अवसर उनै पौडेललाई प्राप्त भयो । ‘पटकपटक प्रम मोदीलाई विश्वनाथको पूजा र काशीघाटमा आरती गराएको छु ।’ उनले भने ‘संयोग भनौँ या अवसर प्रम मोदीलाई पूजा गराउने अवसर मेरै भागमा पर्ने गरेको छ ।’

काशी आएपछिका मेरो संघर्ष र जीवनकथा छुट्टै चमत्कारिक छ । बनारसका गल्ली र आश्रम उनका घर मात्र नभएर आश्रयस्थल बने । तर पनि लक्ष्यबाट विचलित भएनन् । अध्ययनलाई निरन्तरता दिइरहे । उनलाई काशी हिन्दु विश्वविद्यालयमा पढ्ने अवसर जु¥यो । त्यहीबाट वेद विषयमा आचार्य (स्नातकोत्तर) गरे । त्यति बेला म काशी–नरेशको घरमा नित्य वेद पाठ गर्थें । कर्मकाण्ड मेरो आम्दानीको स्रोत बन्यो ।

त्यसैबेला भारतीय सेनामा गुरु–पुरोहित पदका लागि विज्ञापन खुल्यो । कलकत्ता गएर परीक्षा दिए । नाम निस्कियो । नियुक्ति लिने बेला घरमा फोन गरेर बुवालाई सुनाए । तर उनका पिता खुसी भएनन् । ‘तिमीले जीवनमा सुखसुविधा र सम्पन्नता त प्राप्त गरौला तर त्यहाँको भक्ष–अभक्ष संस्कारका कारण तिमीले दिएको पिण्ड मैले प्राप्त गर्ने बाटो खुला रहँदैन,’ उनका पितालाई स्मरण गर्दै पौडेलले उद्धृत गरे, ‘त्यसपछि बुबाको इच्छालाई चुनौती दिन सकिनँ । मध्यममार्ग अपनाउँदै नियुक्ति नै लिन गइनँ ।’

राजस्थानस्थित एक वेद विद्यालयमा प्राचार्यका लागि विज्ञापन खुलेको थियो । त्यहाँ पनि उनी छनोट भए तर छाडिदिए । त्यति बेलै विश्वनाथ मन्दिरमा पहिलोपटक पुजारी पदका लागि खुला प्रतिस्पर्धाको विज्ञापन निस्कियो । सन् १९८३ मा मन्दिरमा चोरी भएकाले खुला प्रतिस्पर्धाबाट पुजारी नियुक्त गर्ने निर्णय भएको थियो ।

तर उनी नेपाली भएकाले भर्न पाउने कि नपाउने भन्ने द्विविधा थियो । काशी–नरेशसँग जिज्ञासा राखे । काशी नरेशले ‘फारम सबैका लागि हो, तिमी पनि भर’ भन्ने जवाफ दिए । उनी काशी नरेशको परिवारका सदस्य जस्तै थिए । काशी विश्वविद्यालयको ‘गोल्ड मेडलिस्ट’ पनि थिए पौडेल । काशी नरेश उनको प्रतिभाबारे जानकार थिए ।

फाराम भर्ने ४ सय ८० जनामध्ये पाँच जनाको नाम निस्कियो । उनको नाम दोस्रो नम्बरमा रहेछ । उनमा खुसीको सीमा नै रहेन । मन्दिर प्रशासनले पहिलोपटक गरेको खुला प्रतिस्पर्धामा सफल भएर दोस्रो नम्बरमा पर्न सफल भए, त्यो पनि नेपाली । सन् २००० यता उनलाई बाबा विश्वनाथको निरन्तर पूजा–अनुष्ठान गर्ने अवसर प्राप्त छ ।

भारतमा १२ (द्वादश) ज्योतिर्लिंग छन्, त्यसैमध्ये एक हुन्– बाबा विश्वनाथ । काशी आफैंमा प्राचीन धर्म र शिक्षाको नगरी हो । छुट्टै महिमा र गरिमा छ । मन्दिरमा पूजाका आफ्नै विधिविधान र नीतिनियम छन् । बिहान साढे २ मा द्वार खुल्छ । राति ११:३० मा बन्द हुन्छ । त्यहाँको विधिविधानअनुसार नित्यपूजा हुन्छ । छनोटपछि उनी ६ महिनाको प्रशिक्षणकालमा रहे ।

वेदपाठ र कर्मकाण्डको पूर्वाभ्यास र ज्ञान भएकाले प्रशिक्षणकाल राम्रैसँग गुज्रियो । पूजापध्दतिमा पारंगत भएपछि भित्र मन्दिरमा अन्य पुजारीसरह पूजा गर्न सुरु गरे । नेपाली हुनुको कारणले मन्दिरमा पूजा गर्न र गराउन कुनै विभेद छैन । बरु प्रमलगायत उच्च व्यक्तित्वलाई पूजा गराउने अवसर पछिल्ला वर्षमा उनैलाई नै प्राप्त हुने गरेको छ । त्यसो त नेपालको पशुपति मन्दिरमा दक्षिण भारतका नागरिकलाई पुजारी हुने अवसर प्राप्त छ, त्यसैगरी यहाँ मलाई त्यो अवसर मलाई प्राप्त भएको छ । तर प्रतिस्पर्धाका आधारमा ।

मन्दिरमा हुने विशेष पूजा

ज्योतिर्लिंग भएकाले शिवरात्रिमा यहाँ विशेष पूजा हुने गरेको छ । त्यसैगरी ठूलो एकादशी, तिहारको औंसीको भोलिपल्ट विशेष भोगसहित अन्नपूर्णाको पूजा हुन्छ । साउने सोमबारमा पनि विशेष पूजा हुन्छ । बिहान २ः३० बजे खुल्ने मन्दिरको द्वार मध्याह्न १२ बजे एक घण्टालाई बन्द हुन्छ । दिउँसो १ बजे खुलेपछि राति साढे ११ मा शृंगार–आरतीसँगै बन्द हुन्छ ।

प्रधानमन्त्री मोदी बनारस आउँदा विश्वनाथ मन्दिर

सबैभन्दा पछिल्लो पटक गत नोभेम्बर ३० तारिख काशी आउँदा प्रम मोदीलाई आचार्य पौडेलले नै विशेष पूजा गराए । त्यसो त सन् २०१४ देखि प्रम मोदीलाई पटकपटक पूजा गराउने अवसर पाएका छन् । मोदी काशीका जनप्रतिनिधि पनि हुन् । त्यसैले काशी आउँदा सम्भव भएसम्म प्रम मोदी विश्वनाथ मन्दिर पुग्छन् । तर विशेष अवसरमा काशी आउँदा मोदी सकेसम्म गंगाघाट वा मन्दिरमा पुग्छन् । मोदी आउँदा मन्दिर क्षेत्रमा सुरक्षा व्यवस्था अत्यन्तै कडा हुन्छ । तर त्यसका लागि स्थानीय प्रशासनले अनुमति दिएको हुनुपर्छ । कहिलेकाहीँ नदिएका घटना पनि छन् ।

विशेषगरी निर्वाचनमा उम्मेदवारी मनोनयन गर्न आउँदा र निर्वाचन सम्पन्न भएपछिका क्षण भने निरन्तर भएका छन् । कतिपय अवस्थामा पौडेलले नै मोदीलाई बसेको स्थानमा गएर चन्दन, फूलप्रसाद र दोपट्टा हस्तान्तरण गर्छन् । त्यसका लागि उहाँको सचिवालयले त्यो जानकारी र व्यवस्था मिलाएको हुन्छ । गंगा सफाइका अवसरमा असीघाट गंगातटमा पनि पौडेलले पटक–पटक आरती र पूजा गराउने अवसर पाएको बताए । प्रधानमन्त्री भएपछि पहिलो पटक काशी आएर जनैपूर्णिमाको दिन राखी बान्दा नेपाली धर्मशालाकी एक नेपाली महिलासँग पनि बाँध्नु भएको थियो ।

नेपालका तीन प्रधानमन्त्री बीपी कोइराला, किसुनजी र मनमोहन अधिकारी बनारस विश्वविद्यालयका पूर्वविद्यार्थी हुन् । त्यसले पनि काशी र नेपालको राजनीतिक सम्बन्ध प्रस्ट पार्छ ।

अहिलेसम्म उनले पाँच पटक त विशेष पूजा गराएका छन् । पहिलो पाँच वर्षे पाँचवर्षे कार्यकालमा मोदी २१ पटक काशी आएको विगत छ । मोदी प्रधानमन्त्री र काशीको जनप्रतिनिधि पनि हो । त्यसैले पनि मोदीलाई पटक–पटक भेट गर्ने अवसर उनलाई पनि प्राप्त हुने गरेको छ ।

मोदी राष्ट्रिय स्वयंसेवक संघको स्वयंसेवक (भाजपाको भ्रातृ संगठन) पनि भएकाले धर्म र संस्कृतिका बारेमा धेरै जानकार छन् । नेपालको मौलिक धर्म र संस्कृतिबारे पनि राम्रै अवगत छन् । प्रधानमन्त्री भएपछि पनि भारतीय प्रधानमन्त्री मोदीले पटकपटक नेपाल भ्रमण गरिसकेका छन् । जनकपुर र मुक्तिनाथसम्म पुगेका छन् ।

भेटमा कहिलेकाहीँ अनौपचारिक रूपमा मोदीले पौडेललाई ‘तपाईंको नेपालको हालखबर के छ ?’ भनेर पनि सोध्छन् । त्यतिबेला उनले ‘मभन्दा जानकार तपाईं नै हुनुहुन्छ’ भनेर जवाफ दिने गरेका छन् । पहिलोपटक पूजापछि दक्षिणा दिँदा उनले त्यो नलिएर नेपाल र नेपालीको पहिचानसहितको हित हुने मार्गका लागि चिन्तन मनन गर्न आग्रह गरेको थिए । त्यसबखत मोदीले आचार्य पौडेललाई यो पद पनि नेपाल र नेपालीको सदिच्छा हो भनेर जवाफ दिएका थिए ।

मोदी नेपालप्रति सधैं स्नेही र कहिलेकाहीँ चिन्तितसमेत भएको पाएका छन् । मोदी शालीन र सभ्य व्यक्ति भएको उनी बताउँछन् । उनी मोदीलाई उच्च संस्कारित प्रधानमन्त्री भन्छन् । भारतीय प्रधानमन्त्री जस्तो उच्च शिखरमा पुगेको व्यक्ति पूजाआजामा हामीसँगै मन्त्रोच्चारण गर्दै विधिविधान विनम्रतासाथ पालना गर्छन् । कतिसम्म भने, हामी ब्राह्मणले मस्तकमा चन्दन लगाइदिँदा मोदी आफ्नो दाहिने हात शिरमा राखेर मन्त्रोच्चारण गर्छन् । कैयौं पटक त्यो दृष्टान्तको आफैं साक्षी छन् आचार्य ।

‘मैले पूजा गराउँदा मोदीमा भावात्मक तेजस्विता पाउँछु तर अरूमा त्यस्तो तेजस्विता पाएको छैन् । त्यो अनुभूत गर्ने कुरा हो । त्यो अनुभव शब्दमा सायदै वर्णन गर्न सकिएला,’ आचार्य पौडेल भन्छन्,  ‘मन्दिर सवारी हुँदा गाडीबाट ओर्लेदेखि मन्दिरसम्म पुग्दा हात जोडिरहेकै पाउँछु । धर्म र संस्कारप्रतिको उहाँको झुकाव अवर्णनीय लाग्छ ।’

मोदीलाई देश विकास जत्तिकै धर्म र संस्कृतिबारे पनि चिन्ता भएको उनको बुझाइ छ । मोदी बनारसको जनप्रतिनिधि भएपछि गरेका काम र योजनाका कारण उनी दोस्रो पटक निर्वाचित भएको भन्दै उनले मोदीको अगुवाइमा विश्वनाथ करिडोर, गंगा सफाइ योजना अघि बढेको बताए । यी योजनाले काशीको मुहार मात्र नभएर स्वरूपमै बदलाव ल्याइदिएका छन् । शा

न्तिसुरक्षादेखि सडक यातायातको अवस्थामा परिवर्तन भएको देख्न सकिन्छ । मोदीको पहिलो कार्यकालमा देशले नै परिवर्तन महसुस गरिरहँदा काशीले झन् ठूलो परिवर्तन महसुस गरेको दोस्रो कार्यकालमा पनि विकासले गति पाएको उनको भनाइ छ ।

कतिसम्म भने तत्कालीन नेपाली महाराज रणबहादुर शाहले बनाएको गंगा तट ललिताघाटको पशुपति मन्दिर र उक्त घाटको पुनर्निर्माणमा समेत मोदीको दृष्टि परेको छ । विश्वनाथ कोरिडोरमा परेका अन्य स्थल मुआब्जा दिएर हटाइरहँदा नेपाली धर्मशाला र पशुपति मन्दिर सुरक्षित राखिएको छ । उक्त मन्दिर सुरक्षित राख्न प्रम मोदीबाट निर्देशन भएको हो । त्यहाँ जाने जो कोहीले यो देख्न र महसुस गर्न सक्छ ।

विश्वनाथ र पशुपतिनाथबीचको सम्बन्ध

विश्वनाथ र पशुपतिनाथबीच शदीयौं पुरानो सम्बन्ध छ । विश्वनाथ मुख्य मन्दिरमा नेपालबाट चढाएको घण्ट छ । त्यहाँ स्पष्ट नेपाली भाषामा कहिले र कसले चढाएको भन्ने स्पष्ट उल्लेख छ । साथै पौराणिक सभ्यता यहाँका कला र मठमन्दिर अध्ययन गर्दा प्रस्ट हुन्छ । काठमाडौंलाई पनि मन्दिरैमन्दिरको सहर भनिन्छ । काशीलाई धर्म र शिक्षाको नगरी भनिन्छ । त्यो सम्बन्धलाई यति बेला आएर कसैले मैले बनाएँ भन्छ भने अफवाह मात्र हो ।

भारत वर्षमा रहेका द्वादश ज्योतिर्लिंगमध्ये साढे ११ भारतमा र आधा नेपालमा छ । नेपालको आधा भागले नै द्वादशको पूर्णता गराउँछ भन्ने मान्यता छ । आधा भन्नुको तात्पर्य केदारनाथ र पशुपतिनाथ आधाआधा हुन् । त्यसको आफ्नै महिमा र किंवदन्ती छ । भारतमा सबै ज्योतिर्लिंगको दर्शन गरे पनि नेपाल पुगेर पशुपतिनाथ दर्शन नगरी पूर्ण हुँदैन । त्यो जानकारी आचार्य पौडेलले त्यहाँबाट गराउँदै आएका छन् ।

विश्वनाथ आएका दर्शनार्थी पशुपतिनाथसम्म पुग्ने गरेका छन् । पशुपतिनाथ पशुहरूका नाथ हुनुहुन्छ । ‘पशुपतिनाथ पापानाम् नाशम्’ पनि भन्ने गरिन्छ । जबसम्म पशुपतिनाथ दर्शन गरिँदैन तबसम्म पाप नासध हुँदैन भन्ने मान्यता छ ।

नेपाल र काशीको सम्बन्ध पौराणिक मात्र नभएर पारिवारिक पनि छ । राजा पृथ्वीनारायण शाहका दुई रानीमध्ये एक नरेन्द्रलक्ष्मी काशीकै थिइन् । जंगबहादुर बेलायत भ्रमण गरेर फर्किंदा बम्बई बन्दरगाहबाट गुजरातस्थित द्वारका मन्दिर पुगेर पतिता (चोख निध) गरेर काशी फिरेर यहाँ पनि गंगा स्नान र पूजाआजा गरेर नेपाल फर्किएको इतिहास छ ।

नेपालको आधुनिक राजनीतिक परिवर्तनका सूत्रधार मानिने बीपी कोइरालाको जन्मस्थान पनि काशी नै हो । सन्तनेता कृष्णप्रसाद भट्टराई पनि काशीमै हुर्किए । काशी शिक्षा र धर्मको नगरी रहेको अवगतै छ । नेपालको शिक्षा र राजनीतिको विकासमा यो ठाउँले पु¥याएको योगदानबारे कसैैले विद्यावारिधि गर्न सक्छ । त्यति तथ्य र प्रमाण छन् ।

काशी र नेपाल सम्बन्ध

नेपालका तीन प्रधानमन्त्री बीपी कोइराला, किसुनजी र मनमोहन अधिकारी बनारस विश्वविद्यालयका पूर्वविद्यार्थी हुन् । त्यसले पनि काशी र नेपालको राजनीतिक सम्बन्ध प्रस्ट पार्छ । नेपालको उच्च तहमा पुग्ने यसअघिका अधिकांश प्रशासक वा नेतागण काशीकै शैक्षिक संस्थाका विद्यार्थी हुन् भन्दा फरक पर्दैन ।

त्यसैले काशी–नेपालबीच अन्योन्याश्रित सम्बन्ध छ । नेपाल एक मात्र हिन्दू राष्ट्र रहुन्जेल काशीका राजादेखि उच्च पदस्थ परिवारका घरमा पूजा गराउन नेपाली ब्राह्मण नै खोजी गरिन्थ्यो । आचार्य पौडेल एक उदाहरण हुन् । नेपाली भएकै कारण काशी–नरेशको परिवारमा गुरु–पुरोहित हुने अवसर पाए । उनी ‘काशी–नरेश’ लाई अभिभावक मान्छन् ।

काशी विश्वनाथका यी नेपाली पुजारीलाई यतिबेला भारतमा पनि नेपालीप्रतिको बदलिँदो दृष्टिकोणले चिन्तित तुल्याएको छ । विगतको जस्तो नेपालीहरूप्रति भारतीयहरूमा भाइचारा र सदिच्छा छैन । राजनीतिक चरित्र र अप्रत्याशित राजनीतिक परिवर्तनले आपसी विश्वास क्षय गराउँदै लगेको छ ।

नेपालका राजनीतिक घटनाक्रम, धर्म र छिमेकीलाई हेर्ने दृष्टिकोण र व्यवहार अनि भारतबाट नेपालमाथि भएको थिचोमिचोले दुई राष्ट्रबीच जनस्तरसम्म नकारात्मक भावना पैदा भएको छ । विगतमा दुई देशका राजनीतिक तहमा देखिने उतारचढाव यसरी जनस्तरसम्म आइपुग्नु राम्रो होइन ।

नेपालको हिन्दुत्वलाई काशीले सधैं सम्मान गर्दै आएको छ । नेपाल भएका परिवर्तनको योजना काशीमा बस्ने परिवर्तनकामी नेताहरूले बुनेका हुन् । नेपालको परिवर्तनको सूत्रधार काशीलाई नै मान्ने पुस्ता अझै नेपालको राजनीतिको शीर्ष तहमा छन् ।


Author

थप समाचार
x