विचार

दुई दर्जन गोप्य इतिहास

प्रभा बराल |
पुस १८, २०७७ शनिबार १०:४३ बजे

२०६८ सालमा ‘स्वअस्तित्वको खोज’ पुस्तक बजारमा आएको थियो । विजेश्वरी सैनिक महाविद्यालयको नेपाली विषय शिक्षक थिएँ । हरेक आर्थिक वर्षको अन्त्यमा महाविद्यालयको “घाम–जून” पुस्तकालयका लागि पर्याप्त पुस्तक थपिन्थे । नेपाली भाषासाहित्यका सङ्ग्रहयोग्य पुस्तक किन्ने जिम्मा मलाई थियो । 

थुप्रै किनिएका पुस्तकका ठेलीमा ‘स्वअस्तित्वको खोज’ पनि ल्याएँ । जब म यो कृतिभित्र छिरेँ । महिला स्रष्टाहरूका अनुभूति पढेर प्रभावित भएँ  । हरेकका आआफ्नै कथा थिए । अनेक सङ्घर्ष गरेर साहित्यलेखनमा निस्किएका अनुभव त्यसमा लिपिबध्द थिए । ती लेखनले मुटुभित्रै छोयो । हरेक महिला पाठकले ती लेखभित्र कतै न कतै आपूmलाई भेट्थे । नेपाली साहित्यमा यस्ता अनुभूतिजन्य किताब यसअघि पढ्न पाएकी थिइनँ ।  


छोरीहरू मात्र पढाइने उक्त महाविद्यालयमा मेरा विद्यार्थीहरूलाई उक्त पुस्तक पढेर रिभ्यु लेख्न लगाएँ । उनीहरूले आफ्नो बुझाइलाई अत्यन्त मिहिन तरिकाले प्रस्तुत गरे । महिलाको आत्मसम्मान भनेको के हो भन्ने कुरामा थोरै भए पनि जानकारी पाए ।

 मैले पनि पुस्तककी सम्पादक डा.अर्चना थापालाई यस्तै पुस्तकको दोस्रो भाग पनि प्रकाशन गरिदिन अनुरोध गरेँ । पुस्तक पढेर धेरै जना पाठकबाट यस्तो अनुरोध आएको छ । म विचार गर्नेछु भन्ने उत्तर उहाँले दिनुभयो । 

महिलाका धेरैभन्दा धेरै अनुभूति पढ्ने चाहनाको भोक उक्त कृतिले जगाइदिएको थियो । अन्ततः आठ वर्षपछि ‘स्मृतिकथामा सत्व’ नामक कृति प्रकाशन भयो । त्यस कृतिमा यस पङ्क्तिकारको आत्माअनुभूति पनि समेटियो ‘लोग्नेको दर्जा’ । खुसीमाथि खुसी थपियो । 

कोरोना कहरको विषम परिस्थितिले सबै पाठकका माझ पुस्तक परी नसके पनि ढिलोचाँडो सबैले यो पुस्तक पढ्नेछन् भन्ने दह्रो अपेक्षा गर्न सकिन्छ । साहित्यका अरु विधामा जस्तो खुलेर लेख्न सकिने कुरा होइन, आत्मानुभूति । तथ्यमा आधारित घटनालाई ठूलो साहस लिएर लेख्नुपर्छ । मनमा गुम्फिएर रहेका यस्ता अनुभूतिहरू प्रकाशन गर्न निकै जोखिम मोल्नुपर्ने हुन्छ । कति साथीलाई त मैले नै लेख्न पनि अनुरोध गरेँ ।

‘पत्रिकामा पानामा आफ्ना अक्षरहरू सजाउन त कसलाई मन लाग्दैन र ? तर भयो भो नलेख्ने परिवारमा रोइलो मच्चिन्छ । लेखक भए भन्दैमा सारा निजी कुराहरू छताछुल्ल पार्ने भन्ने आरोप लाग्छ ।’ भन्दै उनीहरूले मन मारे । 

पक्कै पनि यो व्यक्तिको गोप्य इतिहास हो । मनले चाहेर पनि व्यक्त गर्न नसकिने हुन सक्छ । जेजति साथीले ‘स्मृतिकथामा सत्व’ पुस्तकमा आफ्ना भावना खन्याए त्यो वास्तवमै प्रेरणायोग्य छ । दुःख, पीडा, तनाव र आपतविपद्बाट गुज्रने को रहेनछ र भन्ने सन्देश यी अनुभूति पढेर हामी महसुस गर्न सक्छौँ । 

२४ जना लेखकका अनुभूतिहरूले समाजको बहुल भोगाइलाई प्रतिविम्बित गर्छ  । समतामूलक समाजको रुपान्तरणका लागि यी अनुभूतिहरू निकै उपयोगी हुन सक्छ । हरेक अनुभूतिका आआफ्नै विशेषता छन् । ती केलाएर पढ्न पुस्तकभित्र नै छिर्नु उपयुक्त हुन्छ । तैपनि मोटामोटी केही प्रसङ्गहरूलाई केलाउने प्रयास म गर्छु ।

यौनिक परिचय खोज्न अनुज पिटर, पिङ्की गुरुङ र सुदीप गौतमले समाजमा गर्नुपरेको लडाइँ अत्यन्त खेदजनक छ । प्रकृतिको सामान्य अवस्थालाई पनि मानिसहरूले असामान्य ढङ्गबाट बुझिदिँदा उनीहरूको मनमा पीडाको गाँठो परेको छ । त्यो गाँठो फुकाउन उनीहरूले गरेको सङ्घर्षले पाठकको मन भारी हुन्छ । यी अनुभूति पढ्दा तपाईंहरूले पक्कै पनि फरक अनुभूति गर्नुहुनेछ । कति धेरै चोट र वेदना लिएर उनीहरूले जीवनको लडाइँमा होमिएका रहेछन् भन्ने भावले हाम्रो मुटु पनि कोक्याउँछ । 

समाजको संरचनाले गरेका विभेदको कुरा पनि पुस्तकले प्रतिनिधित्व गरेको प्रमुख पाटो हो । जातीयताको पर्खालले एउटा मानवले अर्को मानवमाथि वर्र्षौंदेखि गरिरहेको बर्बर हिंसा अत्यन्त निन्दनीय छ । समाजलाई अघि बढ्न बाधक यी तत्व मानव इतिहासका लागि प्रगतिका बाधक हुन् । यिनको समूल नष्ट नभइन्जेल समाजमा विकासको अपेक्षा गर्नु कोरा कल्पना मात्र हो भन्ने कुरा हामी महसुस गर्न सक्छौँ ।  धनकुमारी सुनार र पवित्रा सुनारका आत्मानुभूतिले निक्कै नै झकझकाएका छन् । आपूmहरूलाई समाजले गरेको अपमानविरुध्द उनीहरूले प्रश्न गरेका छन् । 

यी अनुभूतिले समाजको बहुल भोगाइ प्रतिविम्बित गर्छ । समतामूलक समाजको रुपान्तरणका लागि यी अनुभूति निकै उपयोगी छन् ।

पुस्तकभित्र समेटिएका प्रत्येक अनुभूति पठनीय छन् । देवकी विष्टको मध्यवर्तीको यात्रा, दौैलत झाको विस्मृतिमा एक्लो, प्रभादेवी कैनीको अनिच्छित आगन्तुक, प्रमोद मिश्रको जेहिठिना रहले, सेहिठिकार, बिना थिङको म पुतली, बिनिता बरालको बदनाम वाइन, विष्णु सापकोटाको साइकल इपिफेनी शीर्षकका अनुभूतिभित्र पाठकले कहीँ न कहीँ आफूलाई पाउँछ । 

रन्जना निरौलाको भोगाइले पाठकको मन द्रवीभत हुन्छ । पितृसत्तात्मक समाजको आडमा उनलाई आफ्नै ससुरा र जेठाजूले दिएको यातनाको ज्यादती कहालीलाग्दो छ । उनी आफ्ना दुई छोरी र आफ्नो अधिकारको लागि लडिरहेकी छन् । तर हाम्रो देशको कछुवा गतिको न्याय प्रणालीले उनी वर्षौंदेखि अन्यायमा परेकी छन् । प्रत्येक दिन पीडामा बाँचिरहेकी छन् । उनले भोगेको यो दुःसाध्य पलको लेखाजोखा कसले गर्ने ? हाम्रो समाज कतिसम्म निर्दयी र अमानवीय छ भन्ने कुरा बुझ्न यो अनुभूति पर्याप्त छैन र ? 

सरिता तिवारी र नारायणी देवकोटाले जीवनमा भोगेको असफलताबाट निराश भएनन् बरु दोब्बर मिहिनेत गरे । दरिलो आत्मविश्वासको लेपनले आगतलाई सिँगारे । यी अनुभूतिले पाठकलाई प्रेरणाको पाइला टेक्न सघाउँछन् । 

राष्ट्रिय पत्रपत्रिकामा मधेसी समुदायका महिलाका मुद्दारे लेखेर सचेतना जगाउँदै आएकी रीता साहको व्यक्तित्वलाई मानिसहरू कसरी नजर अन्दाज गर्छन् ? उनको व्यक्तित्वलाई कमजोर आकलन गर्दा उनले कस्तो पीडा भोगिन् भन्ने कुराले पाठकको मन पनि कटक्क काटिन्छ ।

आफ्नी आमाको मृत्युपछि किरिया बस्न राधा पौडेलले गरेको सङ्घर्ष कति भयानक छ । पितृसत्तात्मक समाजको उनले कसरी मुकाबिला गरेकी छन् । उनको साहस पनि प्रशंसनीय छ । कुरीति र कुसंस्कारलाई बदल्न राधा पौडेलजस्तै जब्बर भएर आफ्नो लक्ष्यमा अडिग हुन जरुरी छ । 

हिमाल चढ्दाको आँट, साहस र सङ्घर्षको कुरा कति गहिरा छन् भन्नका लागि रोजिता बुध्दाचार्य र लाक्पा फुटी शेर्पालाई पढ्दा थाहा हुन्छ । हामी नारी हौँ । हामी सक्दैनौ । उनीहरूले कहिल्यै भनेनन् । हामी सक्छौँ भन्ने आत्मविश्वासले सफलता दिलाएको कथा कति मीठो छ । यस्तै प्रेरणा र हौसलाको कथा हाम्रा छोरी पुस्तालाई अत्यन्तै खाँचो छ । 

पुरुषप्रति समाजले राख्ने अपेक्षाको भारीले कति मनोवैज्ञानिक दबाब दिन्छ भन्ने कुरा सञ्जीव उप्रेती र रुद्र चुडालका अनुभूतिले पुष्टि गर्छ । आत्मसम्मानको दौरानमा महिला र अल्पसङ्ख्यक समुदाय मात्र एक्लै छैनन्, पितृसत्ताको दरिलो आडमा बसेका पुरुष पनि सत्वको खोजीमा उत्तिकै भाँैतारिइरहेका छन् भन्ने सन्देश उप्रेती र चुडालको लेखनमा पाइन्छ  ।  

यस्ता विविध विषयको सङ्ग्रहले पुस्तक पढूँपढूँ लाग्छ । अस्तित्वका लागि हरेक लेखकले गरेको सङ्घर्षको साक्षी पुस्तक बनेको छ । यो पुस्तक बहुल समाजको ऐना बनेको छ । कुनै पनि व्यक्तिको मनभित्र खाँदिएर रहेका भावनालाई बाहिर निकाल्नु, पुस्तक प्रकाशन गर्नु र पृथक् शैलीको स्वाद पाठकलाई पस्कनु वास्तममै नमनयोग्य कार्य छ । आगामी दिनमा पनि यस्तै पुस्तकको अपेक्षा रहिरहनेछ । 

पुस्तक : स्मृतिकथामा सत्व
प्रकाशक : अक्षर क्रियसन्स
सम्पादक : डा.अर्चना थापा
पृष्ठ : २४८
मूल्य : रु.४५०


Author

थप समाचार
x