मध्यरातमा राजदूतको चालक बन्दा...
पहिले लकडाउन र अहिले निषेधाज्ञाको पालना गर्दै घरमै रहँदा दराजमा खोतलखातल गर्न पुगेछु । त्यही क्रममा एउटा पुरानो टिसर्ट फेला पर्यो । अनि सम्झेँ, यो त घर बस्दा लगाउन भनेर सन् २००८ मा बेइजिङमा किनेको । झसंग भएँ, नछोएकै १२ वर्ष भएछ, यो टिसर्ट । चमक उस्तै भए पनि केही खुम्चिएकोले मन पनि खुम्चियो । टिसर्टसँगै बेइजिङ बसाइ र त्यो मध्यरात सम्झन पुगेँ ।
त्यतिबेला म बेइजिङको नेपाली दूतावासमा प्रथम सचिवका रूपमा कार्यरत थिएँ । राजदूत हुनुहुन्थ्यो, टंक कार्की । २००८ मा बेइजिङमा ओलम्पिक आयोजना हुने हुँदा कामको चटारोसँगै बेइजिङलाई प्रदूषणमुक्त पार्न खोजिएको थियो । सहरलाई सुन्दर बनाउन चिनियाँ सरकार कम्मर कसेर लागेको थियो । यसले गर्दा दूतावासको काममा पनि धेरथोर चाप थियो नै ।
मार्चको महिना भए पनि बेइजिङको जाडो घट्ने सुरसार थिएन । जनवरी र फेब्रुअरीमा त हिउँभित्र लुकेको हुन्छ बेइजिङ सहर । कठ्यांग्रिने सिरेटो र चिसोको त कुरै नगरौं । नोभेम्बरदेखि घरघरमा हिटिङ सिस्टम सुरु हुन्छ र मार्च महिनाको आधाआधीपछि बन्द गरिन्छ । नोभेम्बरदेखि मार्चसम्म चिसोको एकछत्र राज चल्छ, बेइजिङमा ।
‘बर्तौला सर, वाईज्यापु (चिनियाँ परराष्ट्र मन्त्रालय) बाट अहिले भेट्न आउनू भनेर फोन आयो । कसरी जाने होला ? गाडी चालकलाई बोलाऊँ भने घरबाट ऊ यहाँ आइपुग्न नै दुई घण्टा लाग्छ । यतिखेर न पब्लिक बस चल्छ, न मेट्रो । ट्याक्सी पनि भनेको बेलामा पाइन्न । फेरि राजदूत ट्याक्सी चढेर जाने कुरा पनि त भएन । गाह्रो पर्यो, तपाईंले मलाई त्यहाँसम्म लगिदिनुपर्यो ।’
यस्तै चिसो कठ्यांग्रिएको एकदिन खाना खाइवरी सुतिसकेको थिएँ । रात छिप्पिसकेको थियो । सहर नियोन लाइट र सडकका बत्तीहरूले उज्यालो नै थिए । मोबाइलको घण्टी बज्यो । रातको सन्नाटालाई चिर्दै आएको कर्कस आवाजले ब्युँझिएर फोनमा हेरेँ । १२ बजेको रहेछ, अनि नम्बर राजदूतज्यूको ।
यो मध्यरातमा राजदूतको फोन देखेर एकछिन असमञ्जस भयो । केही अभर पो परेछ कि राजदूतलाई भनेर सोचेँ । हुन पनि निकै गाह्रो–साह्रो नपरी यति राति कसले फोन गर्छ र ? अब उठेर हिँड्नुपर्ने भयो भनेर सोच्दै थिएँ । उताबाट राजदूतज्यूको आवाज आयो, ‘बर्तौला सर, वाईज्यापु (चिनियाँ परराष्ट्र मन्त्रालय) बाट अहिले भेट्न आउनू भनेर फोन आयो । कसरी जाने होला ? गाडी चालकलाई बोलाऊँ भने घरबाट ऊ यहाँ आइपुग्न नै दुई घण्टा लाग्छ । यतिखेर न पब्लिक बस चल्छ, न मेट्रो । ट्याक्सी पनि भनेको बेलामा पाइन्न । फेरि राजदूत ट्याक्सी चढेर जाने कुरा पनि त भएन । गाह्रो पर्यो, तपाईले मलाई त्यहाँसम्म लगिदिनुपर्यो ।’
वाईज्यापुमा परराष्ट्र मन्त्रीले भेट्ने भनेर राजदूतलाई बोलाएपछि राजदूतले जतिखेर र जस्तो अवस्थामा भए पनि भेट्नुपर्ने उसको कर्तव्य नै हो । केही अपर्झट नपरी रातको समयमा किन बेलाएको होला र ? राजदूतका लागि चालक बन्नुपर्ने अवस्था आइलाग्यो । हतारहतारमा सुट लगाएर निस्केँ । राजदूतावासमा पुग्दा राजदूतज्यू तयार भएर बसिरहनुभएको रहेछ । ग्यारेजबाट गाडी निकालेर तयार गरें । कहिलेकाहीँ सानो गाडी चलाए पनि मर्सडिज बेन्ज चलाएको थिइनँ र पहिलो चोटि चलाउँदै थिएँ ।
परिआएपछि सक्दिनँ भनेर सुख नपाइने रहेछ । टाईसुट लगाएको आफ्नै कूटनीतिक कर्मचारी चालकले चलाएको गाडीमा सवार हुँदा राजदूतलाई आनन्द आउनुपर्ने हो, तर उहाँ चिन्तित हुनुहुन्थ्यो । नहुनु पनि कसरी, यो अपर्झटको बोलावट । कुनै अनिष्टको संकेत त थिएन तर सजिलै अनुमान लगाउन सकिने विषय पनि थिएन । वाईज्यापुतर्फ जाँदै गर्दा राजदूतज्यूले सोध्नुभयो, ‘के सूचना दिन यति राति बोलाएको होला, बर्तौला सर ?’
किन यति राति बोलाइयो होला ? सायद शक्तिसम्पन्न राष्ट्रहरूका लागि रात र दिनमा केही भेद रहन्न होला ।
कूटनीतिमा कुनै राम्रो कुराको जानकारी मित्रराष्ट्रलाई दिनुपर्यो भने आफ्नो नियोगका राजदूतमार्फत दिइन्छ । अप्रिय र असहज कुराहरू भन्नुपर्यो भने मित्रराष्ट्रको राजदूतलाई बोलाएर भनिन्छ । त्यसैले यो समयको चयन र बोलावट हेर्दा प्रिय कुरो भन्न बोलाइएको चाहिँ पक्कै होइन भन्ने अनुमान गर्न गाह्रो भएन । चीनसँग हाम्रो मित्रतामा कहीँ कतैबाट बाधा अवरोध नभएको अवस्थामा त्यति धेरै अप्रिय कुरा पनि होइन होला, तर कुराको गाम्भीर्य भने पक्कै छ भन्नेसम्मको अनुमान गरियो ।
उहिले चीन र भारतको लडाइँ हुँदा पनि यसैगरी बोलाएर नेपाली राजदूतलाई जानकारी गराइएको थियो भन्ने सुनेको थिएँ । तर अहिले बेइजिङ आफैँ ओलम्पिकको तयारीमा रहेको समयमा यस्तो घटना दोहोरिन सक्ला भनेर सोच्न पनि भएन । हामी दुईबीचको संवाद नसकिँदै वाइज्यापु आइपुग्यो ।
कति व्यवस्थित छ चिनियाँ परराष्ट्र मन्त्रालय भने यो हरहमेसा तयार । मुख्य प्रवेशद्वारमा सुरक्षा कर्मचारीहरू बाहेक केही पत्रकारहरू र क्यामेरापर्सनहरू अतिथिहरूको आगमन र प्रस्थानको दृश्य लिन सधैं तयार । हामी यति राति त्यहाँ पुग्दा पनि यिनीहरू तयार नै थिए । जस्तो मूल गेटको दृश्य त्यस्तै तयारी भवन प्रवेश गर्ने प्रवेशद्वारमा पनि देखियो । राजदूतको स्वागतका लागि कर्मचारीहरू तयार भएर बसेका ।
चिनियाँ परराष्ट्र मन्त्रालयको भुइँतलामा विदेशी अतिथिहरूलाई भेट्न विभिन्न बैठक कक्ष बनाइएका छन् । सबै किसिमका भेटघाट यिनै बैठक कक्षमा गरिन्छन् । परराष्ट्रका अधिकारीले हामीहरूलाई स्वागत गर्दै बैठक कक्षमा लिएर गए । भेटघाट कक्षमा जाँदै गर्दा एउटा बैठक कक्षमा चीनका लागि भारतका राजदूत निरूपमा राव बसिरहनुभएको देख्यौं । यो कुरा प्रस्ट भयो कि भेटघाटको प्रसंग भारतँग पनि जोडिएको छ । भनेपछि कुरा अलि गम्भीर नै हुनुपर्छ भन्ने बुझियो । निरूपमा पछि गएर भारतको परराष्ट्र सचिव र अमेरिकाको राजदूत पनि हुनुभयो ।
हामीलाई बैठक कक्षमा राखेपछि तपाईंहरू एकैछिन बस्दै गर्नुहोला है म मन्त्रीज्यूलाई तपार्इंहरू आउनुभएको खबर पुर्याउँछु भन्दै ती अधिकारी गएको केही समयमा नै परराष्ट्रमन्त्री याङ जेइची हाम्रोसामु उपस्थित हुनुभयो । हामीलाई लागेको थियो कि उहाँले हामीभन्दा पहिला आएकी भारतीय राजदूतसँग भेटघाट गर्नु हुनेछ । अनि हाम्रो पालो आउला ? सामान्यतः कूटनीतिमा यस्तै शिष्टाचारको चलन रहेको छ । तर यहाँ त यस्तो भएन । उहाँ पहिला हामीसँग भेट्न आउनुभयो ।
कूटनीतिमा कुनै राम्रो कुराको जानकारी मित्रराष्ट्रलाई दिनुपर्यो भने आफ्नो नियोगका राजदूतमार्फत दिइन्छ । अप्रिय र असहज कुराहरू भन्नुपर्यो भने मित्रराष्ट्रको राजदूतलाई बोलाएर भनिन्छ ।
तत्कालीन चिनियाँ परराष्ट्रमन्त्री याङ अनुवादकका रूपमा परराष्ट्र सेवामा प्रवेश गरेको र कूटनीतिक अनुभवले खारिँदै गएर परराष्ट्रमन्त्री भएको चिनियाँ सरकारको महत्वपूर्ण व्यक्ति हुुनुहुन्छ । शिष्टाचारको आदानप्रदानपछि यति राति पनि तपार्इंहरूलाई कष्ट दिन परेकामा दुःख व्यक्त गर्दछु भनेर भन्नु हुँदै केहीबेर ओलम्पिक तयारीको चर्चासहित चिनियाँ सरकारले विकासका लागि गरेका प्रयासहरूबारे कुरा गर्नुभयो र तिब्बतियनहरूको केही समूहले विद्रोह सुरु गरेको र त्यसलाई साम्य पार्न चिनियाँ सरकारले लिएका उपयुक्त कदमहरूारे पनि जानकारी गराउनु भयो । विकसित घटनाक्रमहरूलाई तपाईंको सरकारसमक्ष जानकारी गराइदिन हुन भन्दै कुराको बिट मार्नुभयो ।
परराष्ट्रमन्त्रीसँग बिदाबारी भई राजदूतावास आइपुग्दा रातको दुई पनि कटिसकेको थियो । गाडीलाई ग्यारेजमा राख्दै म आफ्नो डेरातर्फ प्रस्थान गरें । बाहिरको चिसो सिरेटोलाई छेक्दै मनभित्र अनेक ताता कुराहरूका पोको बोक्दै डेरा पुगेँ । अनि मनलाई नै सोधेँ, यही कुरा भोलि बिहान गरेको भए पनि हुने थियो ? किन यति राति बोलाइयो होला ? सायद शक्ति सम्पन्न राष्ट्रहरूका लागि रात र दिनमा केही भेद रहन्न होला भन्ने अर्को मनले भन्यो । आफैं गमेँ । त्यसपछि भुसुक्कै निदाएछु । उठेँ । फेरि त्यही हिजोको प्रश्न उत्तरमै थियो मन भने । तर, उत्तर मिलेन । किन यसरी बोलाइएको हो अझै गम्दै छु । चाउरी परेको यो गन्जीले झन् त्यो गमाइलाई थप बल दिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया