विचार

आयुर्वेद भनेपछि नाक खुम्च्याउने `आधुनिक´हरूका नाममा

नारायण घिमिरे |
पुस २१, २०७७ मंगलबार ९:५६ बजे

कोभिड-१९ को महामारीको भुक्तभोगी संसारका २४ देशहरूका १२ हजार मानिसमा उनीहरूको स्वास्थ्य र पोषणप्रतिको चासोको सन्दर्भमा परिवर्तित अवस्थाले विकास गरेको दृष्टिकोणबारे हालै एक विश्वव्यापी सर्वेक्षण गरियो । सर्वेक्षणका अनुसार ६५ प्रतिशत व्यक्तिहरूको आफ्नो स्वास्थ्य र पोषण सम्बन्धका धेरै चिन्ताहरूमध्ये शीर्ष तीन स्थानमा रहेको चिन्तामा आफ्नो शरीरको प्रतिरक्षा क्षमता बनेको बताए ।

सबै उमेर समूहका मानिसहरूमा आफ्नो प्रतिरक्षा क्षमता बारेको चिन्ता समान देखिन्थ्यो । ३० वर्ष उमेरसमूह माथिका मानिसहरू भने तुलनात्मक रूपमा रोग र बिरामीको जोखिमबारे अन्य उमेरसमूहको मानिसहरूभन्दा धेरै चिन्तित रहेको सर्वेक्षणले देखायो ।


विश्वव्यापी सर्वेक्षणमा सहभागी प्रायः सबै नै मानिसहरूले आफूले हाल आफ्नो खाना वा पेयमा प्रतिरक्षा प्रणाली अभिवृध्दि गर्ने पोषण तत्वहरू समावेश हुने गरी खान कोसिस गरेको बताए । संसारभरका मानिसहरूको हालको गतिविधि अनुरूप कोभिड-१९ पछाडि उनीहरूको खानपान र व्यवहारमा आएको गहिरो र दिगो प्रभावहरूले आगामी दिनमा बजारमा रोग प्रतिरोधी क्षमता अभिवृध्दि गर्ने जडीबुटी र वैकल्पिक हिलिङ खाद्यको माग अत्यधिक बढाउने बुझाउँथ्यो ।

हुन पनि कोभिड–१९ को महामारीले मानिसको जीवनका धेरै गतिविधिहरूमा परिवर्तन गरिदिएको छ । असाध्यै ठूलो जनसंख्या खानपान र जीवनशैलीमा अत्यन्त सावधानीपूर्वक स्वास्थ्य र स्वास्थ्य स्थितिमा सुधार पुगोस् भन्‍ने स्वकेन्द्रित दृष्टिकोणसहित जीवन जिउने क्रम बढिरहेको छ ।

मानिसहरू शरीरको प्रतिरक्षा क्षमता विषयमा आफ्नो चेतना अभिवृध्दि गर्न लालायित भेटिने गर्छन् । उनीहरूले बिस्तारै कमसल रोग प्रतिरक्षा क्षमता नै आफूमा विकास हुने पाचनका समस्या, निर्बलता, अल्छीपन, एलर्जी, मानसिक रोग, सरुवा रोग आदिको प्रमुख कारक हुने महसुस गरिरहेका भेटिन्‍छन् ।

खाना वा पेय वा सप्लिमेन्‍ट वा ओखतीका उपभोक्ताहरू पैसा महँगो हुँदैमा र प्रभावकारी विज्ञापन देखिँदैमा प्रभावकारी नरहने गहिरो अनुभूति गरिरहेको भेटिन्‍छ । पश्चिमा इन्जिनियरिङको जडीबुटीको सारतत्वहरू निकाली बनाएको सप्लिमेन्‍ट वा भिटामिन, मिनिरल आदिका क्याप्सुल होस वा चक्की सबैसँग निराश बन्दै गएको देखिन्‍छ ।

आज आएर प्रमाणित भएको तथ्य के हो भने पश्चिमा इन्जिनियरिङ भएका खाद्य सप्लिमेन्‍टका क्याप्सुल वा चक्कीहरू सैध्दान्तिक रूपमा मात्र उपयोगी तत्वहरू युक्त भेटिन्‍छ । ल्याबका टेस्टहरूमा तिनीहरूमा शरीरको लागि जरुरत हुने भनिएका पदार्थहरू देखिने पनि गर्छन् । तर तिनीहरू मानिसको आफ्नो पाचन प्रणाली मैत्री नरहेकाले शरीरको वास्तविक प्रयोजनमा भने आउने अत्यन्त झिनो सम्भावना रहन्‍छ । 
 
शरीरले खानामार्फत आफूलाई जरुरत हुने प्राकृतिक सारतत्वहरू (अर्थात् पोषण तत्व, औषधीय तत्व र ओज तत्व) उक्त खाना प्राकृतिक पाचन प्रक्रियाबाट गुज्रेर मात्र प्राप्त गर्ने गर्छ । पश्चिमाहरूले विकास गरेको हालका भिटामिन, मिनिरल र अन्य तागत दिने पदार्थहरू एवम् खाद्य सप्लिमेन्‍टहरूमा रहेका सार तत्वहरू शरीरको आवश्यकताको जरुरत पूर्ति गर्न सक्ने हैसियत च्युत बनेको यथार्थ संसारले भर्खरै बुझ्दै छ ।

त्यो सन्दर्भमा आफूलाई चाहिने तत्व पाइने आसमा ठूलो धनराशि खर्चेर आफूले खरिद गरेर उपभोग गरेको वस्तुमा बताइए अनुरूपको क्षमता स्खलित भएको र प्रभावकारी नतिजा पाउन नसकेकोबाट उपभोक्ताहरू निराश देखिन्‍छन् । 

तोकिए अनुरूपको गुणस्तर पुगेको भनि वैज्ञानिक नामकरण गरिएको तर पूर्ण अवैज्ञानिक कानुनी र गुणस्तरीय मापदण्ड पुर्‍याएको भरमा बजारमा पुगेका यस्ता पदार्थहरू भनिएका र दाबी गरिएका नतिजा दिन सक्ने अवस्थामा रहन सक्ने स्थिति नै होइन । कर्म क्षेत्रको यथार्थता मात्र के हो भने प्रयोगशालामा परीक्षण गर्दा तिनीहरूमा भनिएका तत्वहरूको उपस्थिति भनिए अनुरूप भेटिने गर्छ । 

प्रडक्ट डेभलपमेन्‍टको क्रममा तिनीहरूले अत्यन्त साँघुरो घेराभित्र अपनाएको नियन्त्रित अनुसन्धानमा आएको नतिजाको भरमा तिनीहरूलाई बजारमा जाने अनुमति दिइएको हो । तिनीहरू प्रायःजसो आयुर्वेदिक औषधि र सप्लिमेन्‍टहरूजस्तो परम्परागत रूपमा पुस्तौंपुस्ता मानिसले सेवन गरी अब्बल प्रमाणित भएका समेत हुने गर्दैनन् ।

आयुर्वेदिक प्रणालीको महत्व अब भने संसारले महसुस गरिसकेको छ ।

अनुसन्धानको क्रममा देखिएको सबैभन्दा चाखलाग्दो विषय के रहेको छ भने बजारमा आज उपभोक्ताहरू आफ्नो शरीरको माग पूर्ति गर्ने पोषण तत्व, औषधीय तत्व र ओज तत्वयुक्त खानाहरू खोजिरहेका छन् । उनीहरूमा उनीहरूले दैनिक खाने खाना पूर्ति गर्ने उद्यमहरूले स्वास्थ्यकर खाना उत्पादनका लागि प्राकृतिक पदार्थहरूको प्रयोग गरी खाद्य पदार्थ उत्पादन गर्न ध्यान केन्द्रित गर्न जरुरी रहेको धारणा विकास भएको छ ।

मानिसको सर्वांगीण विकासमा भूमिका पुर्‍याउने र प्रतिरक्षा प्रणालीलाई सुदृढ बनाउने प्रकृतिको स्वस्थ खाना बनाउन अनिवार्य हुने ‘स्वास्थ्यका लागि समग्र दृष्टिकोण’युक्त प्रणाली सम्बन्धित खाद्य उद्यमहरूमा अनिवार्य लागू हुनुपर्ने धारणा अघि सार्ने गरेको भेटिन्‍छन् ।

कोषिकाका झिल्लीहरू पार गरी माइकोकोन्ड्रिया नामक ससाना कोषिकाका इन्जिनहरूमा जब श्वासप्रश्वास प्रक्रियाबाट आउने अक्सिजन र पाचन प्रक्रियाबाट आउने खाना पुग्छ, ती सूष्म इन्जिनहरूले चिनीलाई कार्बनडाइअक्साइड र ऊर्जामा परिणत गरिदिन्‍छ । उक्त क्रममा प्राप्त हुने ऊर्जाले नै जीवनलाई जरुरी हुने इन्धन दिन्‍छ ।

शरीरमा खाना टुक्रने, अवशोषण हुने, पाचन हुने र त्योबापत प्राप्त शक्तिबाट शरीरका गतिविधिहरू सञ्चालित बनी शरीर जीवित रहने गर्छ । जुन कुरा यहाँ उल्लेख गरिए जस्तो सहज र सरल भने देखिँदैन । किनकि त्यहाँ नितान्त जटिल संयन्त्र र बहुआयमिक प्रक्रियाको संलग्‍नता भेटिन्‍छ ।

पाचन प्रक्रियाका लागि खाना र अक्सिजनको अतिरिक्त नकारात्मक चार्जका कणहरू अथवा इलेक्ट्रोनहरूको प्रवाह अनिवार्य हुन्‍छ । जसको जोहो शरीरले गर्ने गर्छ । माइकोकोन्ड्रियाको आन्तरिक झिल्लीभित्र रहने चार वटा प्रोटिनहरूमा प्रवाह गरिने इलेक्ट्रोनको सहयोगबाट माइकोकोन्ड्रियाभित्र खानाबाट ऊर्जा उत्पन्‍न हुन जरुरी ऊर्जाको आपूर्ति गरिन्‍छ ।

खानाको वास्तविक पाचन प्रक्रिया ठानिने यो शक्ति उत्पादन प्रक्रियाबाट प्राप्त हुने ऊर्जाले शरीर सञ्चालनको तागतको काम गर्दछ । माइकोकोन्ड्रियाभित्रको सेलुलर पानी मिललाई खाना पचाउन उपलब्ध गराइएको सबै इलेक्ट्रोनहरूको खपत गर्न सकेको देखिँदैन । प्रोटिनका पानी मिलहरूले खपत खपत गर्न नसकेका इलेक्ट्रोनहरूको चुहावट भइदिन्‍छ । चुहावट भएका इलेक्ट्रोनहरू नजिकैको अक्सिजनका अणुहरूसँग ठोक्किन पुग्छ । जसले गर्दा अक्सिजन टुक्रिएर स्वतन्त्र अक्सिजन पैदा गरिदिन्‍छ । स्वतन्त्र अक्सिजनमा फ्री इलेक्ट्रोन रहने हुँदा अत्यन्त रियाक्टिब प्रकृतिको हुने भएकाले यसलाई फ्रि-रेडिकल भन्‍ने गरिन्‍छ ।

यसरी उत्पन्‍न भएको फ्रि-रेडिकलहरूले आफूलाई सन्तुलनमा ल्याउन वरपरको संरचनाहरूमा रहेको डीएनए र प्रोटिनका अणुहरूबाट इलेक्ट्रोनहरू जबर्जस्ती खिचेर लिइदिन्‍छ । यो क्रम शरीरको सबै भागमा नियमित रहन्‍छ ।

फ्रि-रेडिकलहरूले डीएनए र प्रोटिनका अणुहरूबाट आफूलाई जरुरत इलेक्ट्रोनहरू जबर्जस्ती खिचेर लिइदिने क्रम जारी रहँदा लामो समयमा शरीरमा बुढेसकाल निम्त्याउने, उमेर सम्बन्धित रोगहरू विकास हुने, इलेक्ट्रोनहरूको चुहावट अधिक हुने क्रमले हद नाघेमा म्युटेसनका कारणले हुने क्यान्सरजस्ता दुर्भाग्य निम्त्याउन सक्छ ।

जीवनलाई हृष्टपुष्ट राखी पलपल जीवित राख्‍ने अक्सिजन खाना नपचाउने क्रममा लिक भएको बिजुली नियन्त्रण गरी संवेदनशील अंगहरूलाई हानि गर्न नदिने क्रममा आफैं रेडिकलाइज बन्‍न पुगी शरीरलाई बूढो बनाउने, कमजोर तुल्याउने, क्यान्सर पैदा गराउने र इहलीलासमेत समाप्त पार्ने कारक बनिदिने गर्छ । यो अर्थमा अक्सिजनले हाम्रो स्वास्थ्यको लागि दुवैतर्फ धार बोकेको खुकुरी जस्तो फाइदा र बेफाइदाको भूमिका निभाउँछ ।

सिध्दान्तगत रूपमा उल्लेख गर्दा शरीरमा फ्रिरेडिकल्स पैदा हुने स्थितिमा कमी ल्याएर तथा उत्पन्‍न हुने फ्रि रेडिकल्सबाट शरीरलाई पुग्‍ने हानि न्यून गर्न सक्दा हामीले आशा गरिएअनुरूप पूरा उमेर स्वस्थ जीवन जिउन, स्फूर्त रहेर छिट्टै बुढ्यौलीपन लाग्‍न नदिन र लामो समय आफ्नो आयु बढाउन सक्छौँ ।

आयुर्वेदको सिध्दान्त अनुरूप खानपान र जीवन पध्दतिमा सुधार गरेर शरीरमा फ्रिरेडिकल्स पैदा हुने स्थितिमा कमी ल्याउन तथा उत्पन्‍न हुने फ्रिरेडिकल्सबाट शरीरलाई पुग्‍ने हानि न्यून गर्न सम्भव बन्‍छ ।

आयुर्वेदको सिध्दान्त अनुरूप खानपान र जीवन पध्दतिमा सुधार गरेर शरीरमा फ्रिरेडिकल्स पैदा हुने स्थितिमा कमी ल्याउन तथा उत्पन्‍न हुने फ्रिरेडिकल्सबाट शरीरलाई पुग्‍ने हानि न्यून गर्न सम्भव बन्‍छ । यो अर्थमा आयुर्वेदमा खानाबाट पोषण, ओजस्वी तागत र औषधीय क्षमताको पूर्तिको समेत परिकल्पना गरिएको हो ।

आयुर्वेदिक मान्यतामा ओजस्वी तागत वृध्दि गर्न सक्दा पाचन प्रक्रियामा हुने इलेक्ट्रोनको चुहावट घटाउन मद्दत पुग्छ । जस्तै गाँजामा हुने टीएचसी र सीबीडीजस्ता क्यानाबिनोइडहरूको नियन्त्रित सेवनले शरीरले आफैं बनाउने ओजस्वी सारतत्व आनन्दमाइडको कमीको पूर्ति गरी प्रोटिनका पानीमिलहरूलाई प्रभावकारी सञ्चालनमा सहयोग पुर्‍याएर इलेक्ट्रोनको चुहावटमा कमी ल्याउन सकिन्‍छ । त्यस्तै योग तथा मेडिटेसनजस्ता उपायहरूबाट समेत फ्रिरेडिकल्स उत्पन्‍न हुने स्थितिमा कमी ल्याउन सकिन्‍छ ।

चुहावट भएको इलेक्ट्रोनका कारण रेडिकलाइज बनेको अक्सिजनलाई खानामा एन्‍टिअक्सिडेन्‍टहरू उपलब्ध गराएर शान्त बनाउन सकिन्‍छ । जब खानामा एन्‍टिअक्सिडेन्‍टहरू उपलब्ध हुन्‍छ तब फ्रि रेडिकल्सहरू पैदा हुनासाथ एन्‍टिअक्सिडेन्‍टहरूले रेडिकल अक्सिजनलाई जरुरी हुने इलेक्ट्रोन उपलब्ध गराइदिन्‍छ । जसले गर्दा रेडिकल आयोन सन्तुलनमा आई अन्य कुनै हानिनोक्सानी पुर्‍याउन सक्दैन । रेडिकल्स आयोनले शरीरका लागि अत्यन्त संवेदनशील मानिने डीएनए र प्रोटिनका अणुहरूबाट जबर्जस्ती इलेक्ट्रोनहरू खिचेर लिन पर्ने अवस्थाको अन्त हुन्‍छ । आयुर्वेदिक जडीबुटी र अन्य उपायहरू प्राकृतिक रूपमा खानामा एन्‍टीअक्सिडेन्‍टहरू उपलब्ध गराउने एक उत्कृष्ट विधि हो ।

यो बारेमा गहिरिएर बुझ्न केही तथ्यगत परीक्षणका नतिजाहरू हेरौँ । १९७० देखि १९८० सम्म मुसामा एन्‍टिअक्सिडेन्‍टको प्रभावहरूबारे धेरै अनुसन्धानहरू गरियो । जसमा टेस्ट गर्न चाहेको एन्‍टिअक्सिडेन्‍टहरू वैज्ञानिक प्रोटोकल अनुरूप मुसालाई खानामा दिने, जेनेटिकल्ली मोडिफाई गरी दिने । कुनै टेस्टमा सुई लगाएर सीधै रगतमा पनि दिइयो ।

अधिकांश अनुसन्धानहरूमा जीवनको स्फूर्ति बढाउने, रोग नलगाउने वा उमेर तन्काउने काममा उक्त एन्‍टीअक्सिडेन्‍टका सप्लिमेन्‍टहरूको प्रभावकारी भूमिका खेलेको भेटिएन । मान्‍छेमा चाहिँ यसको प्रभाव होला कि त भन्‍ने परीक्षण गर्न १९९४ मा ५० वर्ष समूहका २९ हजार १ सय ३३ फिनल्यान्डका नागरिकमा बिटाक्यारोटिन सप्लिमेन्‍ट दिइयो । बिटाक्यारोटिन सप्लिमेन्‍ट खाने १६५ मा उल्टो फोक्सोको क्यान्सरको जोखिम बढेको देखायो ।

१० वर्ष लगाएर अमेरिकामा फोलिक एसिड नामको एक प्रकारको भिटामिन ‘बी’ सेवन गराइएका महिलाहरूमा स्तनको क्यान्सरको जोखिम झन् २०५ ले बढेको देखायो । १९९६ मा एक हजार जना अधिक धूमपान गर्ने मानिसमा भिटामिन ‘ए’ र बिटाक्यारोटिन सप्लिमेन्‍ट दिई गरिएको परीक्षणमा २८५ मा क्यान्सरको जोखिम बढाएको र १७५ ले मृत्युदर बढेको दुर्भाग्य बेहोर्न पर्‍यो ।

२००७ मा अमेरिकन नेसनल क्यान्सर इन्स्टिच्युटले मल्टिभिटामिन लिने मानिसको नलिनेको भन्दा दुई गुना बढी मृत्युदर भेटिएको कुरा सार्वजनिक गर्‍यो । २०११ मा ३५ हजार ५३३ स्वस्थ मानिसमा दिइएको भिटामिन ‘ई’ र ‘सेलेनियम’ सप्लिमेन्‍टले उनीहरूमा १७५ ले प्रोस्टेट क्यान्सरको जोखिम बढाएको भेटायो ।

भिटामिन ‘सी’ हकमा ठिक्क मात्रामा हुँदा त्यसले एन्‍टिअक्सिडेन्‍टको केही भूमिका निभाएको भेटिएको हो । तर फ्रिइलेक्ट्रोंन लिने क्रममा भिटामिन सी आफंै रेडिकलाइज भइदिने र त्यसलाई नियन्त्रण गर्न कि त अस्वाभाबिक रूपमा धेरै भिटामिन सी खानुपर्ने कि त्यसको खति शरीरले बेहोर्नुपर्ने अवस्था सिर्जना हुने देखियो ।

२०१२ मा गरिएको २७ क्लिनिकल ट्रायलहरूको विविध प्रकारको निष्कर्षको मुख्य निष्कर्ष के रह्यो भने एन्‍टिअक्सिडेन्‍टहरूको प्रभावकारिता सप्लिमेन्‍टहरूमा रहेका तत्वहरू शरीरको पाचनप्रक्रिया मैत्री अनुरूपको नरहेकाले प्रभावकारी नभएको बरु धेरै अवस्थामा प्रत्युत्पादक बन्‍ने गरेको निष्कर्ष निक्लियो ।

यस्ता सबै प्रकारका वैज्ञानिक परीक्षणका निचोड के हो भने खानामा शरीरको लागि चाहिने तत्व शरीरलाई उपलब्ध हुने अवस्थामा हुनुपर्छ । हाम्रो नियमित खानामा पाइने तत्वहरू हाम्रो पाचनप्रक्रिया मैत्री रूपमा रहन्‍छन् । जब हामी शरीरको कुनै विशेष अवस्थाको समस्या निवारणमा विशेष तत्वहरू शरीरलाई उपलब्ध गराउन चाहन्‍छौ भने त्यो खानाकै प्रकृतिको रहँदा चाहिने तत्व शरीरलाई उपलब्ध हुने अवस्थामा हुने निश्चित गर्न सकिन्‍छ ।

खाद्य तथा ओखतीहरू आयुर्वेद, सिध्द, युनानी र चिनियाँ परम्परागत औषधि विज्ञानमा उपलब्ध छ भन्‍ने पर्याप्त ज्ञान भेटिन्‍छ ।

हाम्रा आयुर्वेदिक फर्मुलेसनहरूको अत्यन्त शक्तिशाली र प्रभावकारी तागत भनेकै शरीरको कुनै विशेष अवस्थाको समस्या निवारणमा विशेष तत्वहरू शरीरलाई उपलब्ध गराउन खानाकै प्रकृतिको औषधीय पदार्थको विकास गरिनु हो जहाँ जुनजुन तत्वहरूको खाँचो शरीरलाई परिरहेको छ त्यो शरीरलाई उपलब्ध हुने अवस्थामा रहने निश्चित हुने गरी डिजाइनको अवस्थामै इन्जिनियरिङ गरिएको हुन्‍छ ।

समग्रमा सर्वेक्षणहरूले उजागर गरेको चुरो कुरा के हो भने कोभिड-१९ जस्ता महामारीले संसारका मानिसलाई स्वस्थ्य जीवनयापनको लागि आयुर्वेदिक जीवनशैलीले बताउने प्रकृतिमैत्री जीविका, खानपान र औषधिमुलोको फाइदा र प्रभावकारिताबारे धेरै सकारात्मक पाठहरू सिकाएको छ ।

हामी आफूले र संसारलाई आयुर्वेदिक पध्दतिको महत्व र दर्शन राम्रोसँग बुझाउन नसक्नु हाम्रा कमजोरी आफ्नै ठाउँमा होलान् । तर आयुर्वेदिक प्रणालीको स्वास्थ्यका लागि समग्र दृष्टिकोणको उपयोग गरिने प्रमुख विशेषताको महत्व अब भने संसारले महसुस गरिसकेको छ ।

कोरोनाले ढाड सेकेपछि संसारभरका खाद्यवस्तुका उपभोक्ताहरूको आयुर्वेदिक दृष्टिकोणको खाद्य तथा औषधीय पदार्थहरूतर्फ चरम आकर्षण भेटिएको छ । विश्वव्यापी रूपमा खोपहरू विकासको क्रम पूरा भएर वितरण र प्रयोग भइरहेको अवस्था आए पनि कोभिड-१९ ले उपभोक्ताहरूमा पैदा गरेको खानाको स्वच्छता र त्यसका सारतत्वहरूको शरीरमा उपलब्धता एवं अनुकूलन प्रतिरक्षा प्रणालीको बारेको जागरुकताका कारण बजारमा आयुर्वेदिक दृष्टिकोणको खाद्य तथा औषधीय पदार्थहरूको चरम माग बढ्दो क्रममा हुने सुनिश्चित गराएको छ ।

यस्तो अनुकूल परिस्थितिमा समेत न त माग गर्ने उपभोक्ताहरूमा यस्तो प्रकृतिका खाद्य तथा ओखतीहरू आयुर्वेद, सिध्द, युनानी र चिनियाँ परम्परागत औषधि विज्ञानमा उपलब्ध छ भन्‍ने पर्याप्त ज्ञान भेटिन्‍छ । न त्यस्ता उत्पादन गर्ने क्षमता भएका मुलुक र उद्यमीहरू आफैंले स्थितिको सही आकलन गरी मौकामा चौका हान्‍न सुवर्ण अवसरको प्रयोग गरी आफ्नो आर्थिक उन्‍नति गर्न सकिने अवसरको सदुपयोग गर्नेतर्फ ध्यान नै पुर्‍याउन सकेको देखिन्‍छ ।


Author

नारायण घिमिरे

घिमिरे क्यानडामा खाद्य तथा औषधि विज्ञका रुपमा कार्यरत छन् ।


थप समाचार
x