नौ दिन हिँडेर आएपछि मैले जमिनमा पनि तारा देखेँ
काठमाडौँ लाजिम्पाटको सानो कोठाबाट सुरु भएको काठमाडौँ विश्वविद्यालयले आज जुन स्वरूप लिएको छ, त्यसलाई देख्ता ‘असम्भव काम के होला र’ भन्ने कुरा मनमा आउँछ । सुरुको अवस्थामा यसका प्रवध्र्दक डा. सुरेशराज शर्मा र उहाँका सीमित सहयोगीहरूसँग संवाद भएको कुरा पनि म सम्झन्छु । विश्वविद्यालयसँग संलग्न विभिन्न व्यक्तिहरूका साथै धुलिखेल नगरपालिकाको नेतृत्व गर्ने समूह र स्थानीय बासिन्दाले गरेको योगदानका आधारमा यस विश्वविद्यालयको गहिरो जग बसेर अहिलेको अवस्थामा आइपुगेको देख्ता सबैप्रति ससम्मान आभार व्यक्त गर्छु ।
आजको पुस्ताका नेपाली युवकयुवतीहरू आफ्नो अध्ययन समापन गरेर प्रमाणित हुने अवसरमा सर्वप्रथम म सबै छात्रछात्राहरूलाई बधाई र शुभकामनाबाट आफ्नो मन्तव्य सुरु गर्न चाहन्छु । यो समूहसँग संवाद गर्दा भन्नुपर्ने विषयबारे सोच्ने क्रममा राष्ट्रले व्यहोरेको चुनौतीको सामना गर्न नयाँ पहरेदारका रूपमा मैले आजका सबै छात्रछात्राहरूलाई देखेको हुनाले आफ्नो जीवनको लामो यात्राको अनुभवका आधारमा केही मन्तव्य राख्ने विचार गरेको छु ।
मैले बाल्यकालदेखि देखेको, भोगेको र व्यहोरेको नेपाल विशाल छ र फराकिलो छ । विश्वका राष्ट्रहरूको समूहमा सम्मानित भूमिका खेल्ने राष्ट्रका रूपमा हामीले यसलाई पाएका छौँ । आजको स्थानसम्म आइपुग्न विभिन्न पुस्ताले इँटा थप्तै यसको संरचनाको पूर्णताका लागि योगदान गरेका छन् । तपाईंहरू र भावी पुस्ताको काँधमा नेपालको भविष्यको जुन चुनौती छ, त्यसलाई अगाडि बढाउने दायित्व र जिम्मेवारी अब तपाईंहरूकै काँधमा आइपुगेको छ ।
म नेपालको मध्यभागको पहाडी जिल्लामा जन्मेको हुँ । पढाइको खोजीमा जीवनको पहिलो यात्रा गर्दा ९ दिनसम्म लगातार पैदल हिँडेर काठमाडौँ उत्रेको थिएँ । त्यस बेला जीतपुर फेदीबाट काठमाडौँ उपत्यकालाई हेर्दा जताततै तारा छरिएको जस्तो लाग्थ्यो । दरबारियाका केही घरहरूमा बलेको बिजुली बत्ती बाँकी नेपालीले देख्न पाएका थिएनन् । टुकीको प्रकाश मात्र देखेको व्यक्तिले पहिलोपटक त्यो दृश्य देख्ता तारा आकाशमा मात्र हुन्छन् भन्ने कुरा बिर्सिएर जमिनमा पनि देख्न पाइँदो रहेछ भन्ने सोचाइ आएको थियो । आजको नेपालमा विद्युतीय प्रकाश देशव्यापी छ । आजको नेपालको निर्माण र प्रविधि हेर्ने क्रममा आफ्नै जीवनकालमा राष्ट्रले व्यापक छलाङ मारेको र विश्वव्यापी रूपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय जगत्मा सफल र सक्षम भएको देख्ता हर्षित हुनु स्वाभाविकै हो ।
नेपालको इतिहासलाई मैले तीन खण्डमा देखेको र विभाजित गरेको छु । पृथ्वीनारायण शाहले गोरखाबाट सुरु गरेको अभियानको विस्तारका क्रममा पृथक् अस्तित्वको अवधारणा अगाडि बढाउँदै सुगौली सन्धिसम्मलाई राष्ट्रनिर्माणको पहिलो र महत्वपूर्ण चरणमा लिन सकिन्छ । त्यसपछिको चरणमा जङ्गबहादुर कुँवरले शासन हडप गरेको र पारिवारिक जहानियाँ शासनको स्थापना भई एक शताब्दीसम्म राष्ट्र कुण्ठित रहेको देख्न सकिन्छ । त्यस अवधिलाई नेपालले साम्राज्यसँग मिलेर, लुकेर र सहवास गरेर आफ्नो राष्ट्रको अस्तित्वलाई निश्चित आकारमा पुर्याउने अवसरका रूपमा उपयोग गरेको थियो ।
तेस्रो अभ्यास छिमेकी राष्ट्रमा साम्राज्यको अन्त्यको हाराहारीमा सचेत नेपालीहरूले जहानिया शासनको अन्त्यका लागि गरेको प्रयासको सफलतापछि प्रजातान्त्रिक पध्दतिको प्रवध्र्दन र राजनीतिक परिवर्तनको सिलसिलाबाट सुरु हुन्छ । यी सबै चरणहरूमा नेपालले चातुर्यपूर्वक आफ्नो अस्तित्वलाई निरन्तरता दिएको र स्वतन्त्र राष्ट्रका रूपमा साम्राज्यको प्रभावलाई न्यूनीकरण गरेको पाइन्छ । आजको नेपालको भूभाग यिनै ऐतिहासिक घटना–सन्दर्भहरूको परिणाम हो । यसलाई तपाईं–हामी सबैले देखेका, भोगेका र अपनत्व ग्रहण गरेका छौँ ।
प्रजातान्त्रिक पध्दति अपनाएर सत्ता प्राप्त गर्नेले अप्रजातान्त्रिक व्यवहार देखाएर पुर्याएको अवरोध र क्षति विश्वले नै देखेको छ ।
आधुनिक नेपालको सुरुवातलाई नेपालको प्रजातन्त्रीकरणको अभ्यासबाट हेर्न सकिन्छ । प्रजातान्त्रिक आन्दोलनको सफलता २००७ सालमा भएपछि नेपालको राजनीतिले दरबार छोडेर जनताको हातमा ल्याएको इतिहासबाट हामी सबै लाभान्वित भएका छौँ । त्यो प्रजातान्त्रिक आन्दोलनको सफलताले सीमित रूपमा विश्वव्यापी भूमिका खेलेको नेपाल विश्वको पर्दामा सार्वजनिक भयो र आन्तरिक रूपमा मुलुकको निर्माण र विकास गर्ने, बाह्य जगत्सँग सम्पर्क, समन्वय र सद्भाव अभिवृध्दि गर्ने अवसर नेपालीको काँधमा आयो ।
बाल्यकालमा अध्ययनका लागि ९ दिन लगाएर गरेको यात्रा आज तीन घण्टामा पूरा गर्न सकिन्छ । कहाँको नेपाल कहाँ पुग्यो भन्ने कुराको व्यक्तिगत अनुभूतिका आधारमा मैले यो मापदण्ड बनाएको हुँ ।
राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रका आन्तरिक उपलब्धि आजको पुस्ताका नेपालीले भोगेको र त्यसबाट लाभान्वित भएको वास्तविकता हामी सबैलाई थाहा छ । विभिन्न राजमार्गको विकास, शैक्षिक क्षेत्रको व्यापक वृध्दि, आर्थिक क्षेत्रका आधारभूत संरचनाहरूको निर्माण आदिदेखि लिएर नेपाल आज विश्वका अगाडि सक्षम र सहकार्य गर्ने क्षमता राखेको राष्ट्रका रूपमा खडा छ । यी उपलब्धिहरू पर्याप्त छैनन् भन्ने कुरा एकातिर छ भने अर्कातिर सबै पुस्ताको अथक प्रयासबाट हामी यात्रामा सफलता हासिल गर्दै अगाडि बढिरहेका छौँ भन्ने तथ्य पनि उत्तिकै प्रबल देखिन्छ । आगामी दिनका चुनौतीहरू अझ ठूला छन् । ती चुनौतीलाई समाधान गर्ने पुस्ताका रूपमा तपाईंहरू हुनुहुन्छ । चुनौतीलाई हाँकका रूपमा स्वीकार गरेर अगाडि बढ्न व्यक्तिगत र सामूहिक प्रयास गर्नुपर्ने सुझाव अघिल्लो पुस्ताले तपाईंहरूको पुस्तालाई हस्तान्तरण गरेको छ भन्ने कुरा ग्रहण गरिदिन म तपाईंहरूसँग आग्रह गर्दछु ।
आन्तरिक तहबारे यति विवेचना गरिसकेपछि अब अन्तर्राष्ट्रिय क्षेत्रबारे पनि केही विचार गर्नु आवश्यक छ ।
नेपाल आज विश्वव्यापी रूपमा सहकार्य गर्न सक्षम राष्ट्रका रूपमा देखापरिसकेको छ । २००७ सालपछिको राजनीतिक चेतना, बाँकी विश्वमा उपनिवेशको अन्त्य र दुई विश्वयुध्दबाट शान्ति र प्रगतिको खोजीमा लागेको विश्वले जुटाएको संरचनाबाट यसको सुरुवात भएको छ । संयुक्त राष्ट्रसङ्घको स्थापनाबाट अर्को युध्द नहुने संरचनाको खोजी र प्रगतिको आधारको जग बसेको थियो ।
त्यसैको हाराहारीमा विश्वयुध्दपछि सुरु भएको शीतयुध्दलाई कसरी अन्त्य गर्ने भन्ने कुराको खोजी गर्न थालिएको थियो । त्यसै क्रममा एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका मुलुकहरूले आफू जोगिने र असंलग्न रहने प्रक्रियाको खोजी गरे । त्यसैको फलस्वरूप बाङडुङमा भएको बृहत् अभ्यासको सुरुवातले विश्वमा नयाँ तरंग पैदा गर्यो । त्यही समयको हाराहारीमा नेपालले आजसम्म कायम भएको असंलग्न राष्ट्रहरूको समूहमा प्रवेश गरेर पञ्चशीलका आधारमा आफ्नो विदेशनीतिलाई भित्र र बाहिर अङ्गिकार गरेको परिचय र लगनशीलता देखायो ।
त्यो अभ्यास र त्यसपछि भएका घटनाहरूलाई हेर्दा नेपालको विदेशनीतिमा विगतका बोझहरूबाट छुटकारा पाउन अथक प्रयास भएको, नेपालले संयुक्त राष्ट्रसङ्घको परिषद्को चुनावमा सफलता पाएको र सबै अन्तर्राष्ट्रिय संरचनाहरूमा सक्रिय सहभागी हुँदै आएको देखिन्छ । यस कुरामा विभिन्न पुस्ताका नेपालीहरूले गर्व गर्ने गरेका छन् ।
बाह्य अग्रसरता, अतिक्रमण र आन्तरिक विवादले गर्दा बेलाबखत विचलित हुने सम्भावनाबाट नेपाललाई जोगाउनुपर्ने खाँचो पनि छ ।
विदेशनीतिको सारको केन्द्रविन्दुमा आफ्नो राष्ट्र, त्यसपछि छिमेकीहरू, त्यसपछि विश्वका शक्तिकेन्द्रहरूलाई प्राथमिकता दिई सम्बन्धमा सुधार र प्रगति ल्याउने अनि त्यसलाई परिमार्जन गर्दै लैजाने चुनौती भावी पुस्ताको काँधमा आएको छ । यो अवधारणाले नीतिमा ठाउँ पाए तापनि बाह्य अग्रसरता, अतिक्रमण र आन्तरिक विवादले गर्दा बेलाबखत विचलित हुने सम्भावनाबाट नेपाललाई जोगाउनुपर्ने खाँचो पनि छ ।
आजको पुस्तालाई घचघच्याउने र स्मरण गराउने प्रयत्नका रूपमा मैले यो विवेचना प्रस्तुत गरेको हुँ ।
आजको विश्वमा शान्ति, मानव–अधिकार र वातावरणमा सुधारदेखि लिएर अशस्त्रीकरणको क्रमबाट शान्तिबहाली लगायत धेरै ठूला चुनौती छन् । हिजोसम्म भएको अभियान र प्रगतिले नयाँ चुनौतीहरूलाई पनि अगाडि ल्याएको छ । यस क्रममा आफ्ना नागरिकको हकहितको सुरक्षा गर्ने र अन्तर्राष्ट्रिय अभियानमा क्रियाशील भूमिका खेल्ने चुनौती हरेक राष्ट्रका सामुन्ने छ । आज दीक्षित हुने स्नातकहरू त्यस चुनौतीलाई हाँक गर्ने योध्दाका रूपमा आफूलाई सक्षम र परिचित गराउन सक्नुहुनेछ भन्ने मेरो विश्वास छ ।
हालसालै विश्वमा देखिएको चिन्ताजनक प्रवृत्तिलाई पनि म अगाडि सार्दछु । प्रजातन्त्रको परिभाषा विभिन्न मुलुकले विभिन्न तहबाट अगाडि बढाएका छन् । सक्षम नागरिक, भूभागको अखण्डता र भूभागले ओगटेको प्राकृतिक सम्पदाको सुरक्षा र प्रवध्र्दन नै राष्ट्रको सार्वभौमिक मापदण्ड रहेको कुराले निरन्तरता पाएको छ र पाइरहनेछ ।
आज विश्वका केही भागमा प्रजातान्त्रिक पध्दति अपनाएर सत्ता प्राप्त गर्नेले अप्रजातान्त्रिक व्यवहार गरेर पुर्याएको अवरोध र क्षति व्यहोरेको अनुभव विश्वले नै देखेको छ । यो प्रवृत्तिबाट राष्ट्रलाई मुक्त गर्ने जिम्मेवारी पनि तपाईंहरूको पुस्ताका अगाडि चुनौतीका रूपमा रहेको छ ।
यस्ता अनेक विषयहरूमा विवाद हुन सक्छ । तर विवादलाई संवादबाट सामना गर्ने बुध्दिमत्ता तपाईंहरू सबैमा देखापरोस् भन्ने म चाहन्छु । आज दीक्षित हुन लाग्नुभएका स्नातकहरूले आजको विश्वलाई हरेक पक्षमा अझ समुन्नत र अझ सभ्य बनाउन आआफ्नो विधाबाट सकारात्मक क्रियाशीलता निर्वाह गर्न आग्रह गर्छु ।
(काठमाडौँ विश्वविद्यालयको २६ औँ दीक्षान्त समारोहमा प्रमुख अतिथिको आसनबाट अर्थविद् एवं परराष्ट्रविद् डा. भेषबहादुर थापाले दिएको सम्भाषणको संक्षिप्तीकरण ।)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया