विचार

जसलाई भेटे पनि कुराकानीको थालनी हुन्‍छ- मुलुक त खत्तम भयो नि !

बीचैमा पागलपन रोजेँ

भोजराज पोखरेल |
पुस २२, २०७७ बुधबार १४:२० बजे

सार्वजनिक सेवामा रहँदा होस् या निजी जीवन-निर्वाहका क्रममा, बद्री पहाडी यस्तो व्यक्तित्व हो, जसको सक्रियता सदैव समाजलाई सकारात्मक बाटोमा हिँडाउने भूमिकामै केन्द्रित रह्यो । सोही परिवेशमा उहाँ म जस्ता कैयौँ युवाको उत्प्रेरकका रूपमा रहनुभयो । आफूले सम्मान गरेको अग्रज व्यक्तिको नाममा स्थापित ‘कर्मयोगी’ पुरस्कारबाट सम्मान लिन पाउँदा एकातिर खुसी छु भने अर्कोतर्फ केही अप्ठेरो पनि महसुस गर्दै छु ।

अप्ठेरो यस अर्थमा कि कुशासनले आक्रान्त आजको मुलुक व्यापक निराशाको जुन अवस्थाबाट गुज्रँदो छ, यसमा हिजोका दिनमा लामो समयसम्म सार्वजनिक जिम्मेवारीमा रही निर्वाह गर्दाको मेरो भूमिका पनि जिम्मेवार रहे, भएको भए यसै अवसरमा ज्ञाताज्ञात ती कमजोरीप्रति क्षमायाचना गर्दै यो सम्मान स्वीकार गर्छु । 


देशभित्र वा बाहिर, जिम्मेवारी निर्वाह गर्दाका बखत यो सम्मान पाउनयोग्य बनाउन मलाई सदा साथ, सहयोग र सद्भावका साथ निर्देशित वा सजग गर्ने गराउने क्रममा मेरो परिवार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, व्यक्तिहरू, जसले विभिन्‍न भूमिका निर्वाह गरे, यो सम्मान मार्फत उनीहरू सबैले प्राप्त गरेको सम्मानका रूपमा मैले ठानेको छु ।  
कर्मयोगीको कुरा गर्दा मलाई एउटा कथाको याद आयो— कुनै जंगलमा ठूलो आगो लागेको थियो । त्यो आगलागीबाट बच्‍न जंगलका सबै जनावरमा भागाभाग भयो । जंगलको राजा सिंह पनि बेतोडसँग भाग्दै गर्दा एउटा कुनै सानू चरो आगोको लप्कोतिर हान्‍निदै उडेको देख्छ । सबै जनावर आगोबाट बच्‍न भाग्‍ने, चरो भने आगोतिरै हान्‍निएको देख्दा डढेलोप्रति सचेष्ट गराउँदै उसले चरोलाई पनि भाग्‍न सुझाव दिन्छ ।

चरोको कुरो अर्कै रहेछ— चरो त चुच्चोमा पानी बोकेर आगो निभाउन पो हिंडेको रहेछ । चराको मूर्खताप्रति सिंह हाँस्यो तर चराको जवाफले उसलाई एकपटक सोच्‍न बाध्य तुल्यायो-चराले जवाफ दियो— ‘परिणाम आफ्‍नो ठाउँमा छ, प्रयास मेरो हो ।’ बद्री पहाडीको योगदानलाई सोही चराको विम्बात्मक श्रुतिसँग जोड्न चाहन्छु । वास्तवमा जताततै दूषित रहेको वर्तमान समाजमा यस्तै निष्ठावान र निःस्वार्थ चरोको अपेक्षा यो मुलुकले गर्दै छ— निःस्वार्थ कर्मयोगीको खाँचो झनै खट्किएको छ । 

एसएलसी पास गरेपछि दुर्गमको प्राथमिक विद्यालयको शिक्षकबाट १५ वर्षको उमेरदेखि सुरु भएको हो, मेरो सार्वजनिक जीवन । देशभित्रको सबैभन्दा पछिल्लो जिम्मेवारी द्वन्द्व-व्यवस्थापनसँग जोडिएको २०६४ को पहिलो संविधानसभा निर्वाचन सम्पन्‍न गरी मुलुकलाई निकास दिनु रहेको थियो । त्यो निर्वाचन कति जटिल र कठिन अवस्थामा सम्पन्‍न हुन सक्यो, सो कुराको विश्लेषण गर्न यहाँ उचित ठान्दिनँ, जुन इतिहासको विषय बनिसकेको छ । 

संविधानसभाको त्यो पहिलो निर्वाचन अरू नियमित निर्वाचन जस्तो कसले सरकार बनाउने भन्‍नेमा मात्र सीमित थिएन । कुनै दलको हार-जीतभन्दा पनि देशलाई शान्तिको बाटोमा लाने कि द्वन्द्वमै फर्काउने भन्‍ने पेचिलो सवालमा केन्द्रित थियो । सबै खालका प्रतिकूल पृष्ठभूमिमा नेपालभित्र वा बाहिरी संसारले समेत चुनाव असम्भव छ भनिरहेको अवस्थामा मेरो नेतृत्वमा रहेको निर्वाचन आयोगले सबैको साथ र सहयोगमा सफलतापूर्वक निर्वाचन सम्पन्‍न मात्र गरेन, अपितु, यो निर्वाचनले दशक लामो द्वन्द्वको अन्तसमेत गरायो ।

नेपालमा समावेशी प्रतिनिधित्वको नयाँ इतिहास स्थापित गर्‍यो । निर्वाचित निकायलाई मुलुककै प्रतिविम्बित हुनेगरी समावेशी बनाउन तथा सदियौँदेखि प्रतिनिधित्वबाट वञ्‍चित रहेको लिङ्ग, वर्ग, समूह, क्षेत्रको समानुपातिक प्रतिनिधित्वको जग बसाउन पनि सक्यो । नयाँ इतिहास निर्माणका क्रममा आफ्‍नू पक्षबाट जो सकेको भूमिका निर्वाह गर्न पाएँ, त्यसमा गौरव लाग्छ । साथै, ती दिन सम्झँदा कहिलेकाहीँ सपना देखे जस्तो पनि लाग्छ । 

अन्तरआत्माको आवाजअनुसार बीचैमा पागलपन रोजेँ, पदविना पनि सम्मानसाथ बाँचिन्छ ।

यो पदमा मेरो नियुक्ति भएपछि मसँग दुई भिन्‍न विकल्प थिए : पहिलो, सरकारले निर्वाचनसम्बन्धी कानुन, प्रणाली र तिथिमिति तोकेपछि तदनुसार प्राविधिक तयारी गरी निर्वाचन सम्पन्‍न गर्ने तथा दोस्रो, जताततै व्याप्त प्रतिकूलताको पृष्ठभूमिमा निर्वाचनको वातावरण निर्माणका लागि थप प्रोआक्टिभ भूमिका पनि निर्वाह गर्ने । दोस्रो थप भूमिका पनि म आफैँले रोजेँ जुन जोखिमपूर्ण र कठिन थियो ।

नियुक्ति भएको दिनदेखि नै प्रणाली तथा कानुन-निर्माणका साथै निर्वाचन-तिथि तोक्न सरकारलाई निरन्तर दबाब दिनुपर्‍यो । दल तथा सरकारकै अलमलले संविधानद्वारा तोकिएको मितिमा चुनाव नहुने परिस्थिति देखिएपछि अब यो सम्भव छैन भन्‍न अग्रसर हुनु पर्यो । त्यतिखेर मिडियाले हेडलाइन नै बनाएका थिए, ‘राजनीतिक दललाई भन्दा निर्वाचन आयोगलाई निर्वाचनको हतारो’ भनेर । 

राष्ट्रलाई अप्ठेरो परेको बखत पाएको यो जिम्मेवारीको निर्वाह गर्दा संविधान र प्रचलित कानुनबाहेक कसैलाई पनि चिन्न जरुरी ठानिएन । एक किसिमको मूर्ख्याइँ नै जस्तो देखिने गरी तत्कालीन कार्यवाहक राष्ट्रप्रमुखको समेत भूमिकामा रहेका प्रधानमन्त्रीलगायत सबै दलका शीर्ष नेतृत्वलाई पटकपटक आयोगमा बोलाई मिडियालाई साक्षी राखी समयमै आ–आफ्नो क्षेत्रबाट निर्वाह गर्नुपर्ने काम सम्पन्न गर्न सम्झाउने वा नगरेमा परिणाम भोग्‍न चेतावनी दिने समेतका काम भए निर्वाचनको वातावरण बनाउने सो क्रममा ।

त्यस्तै, निर्वाचन कानुन बनाउँदाका बखत पनि संसदीय समितिमा निर्वाचित निकायमा समानुपातिक प्रतिनिधित्वको सुनिश्‍चित गर्न निकै रस्साकस्सी गर्नुपर्‍यो । परिणाममा समावेशी सुनिश्‍चित नहुने कानुनले समस्या समाधान नहुने र त्यस प्रकृतिको चुनावले मुलुकलाई फेरि द्वन्द्वमा धकेल्ने कटु यथार्थ प्रस्ट थियो । त्यस्तो कानुनको आधारमा गरिएको चुनावको औचित्य नभएको प्रस्ट्याउँदै आफूबाट त्यस्तो निर्वाचन हुन नसक्ने, बरु राजीनामा दिएर अर्कै टिम नियुक्तिका लागि मार्गप्रशस्त गरिदिनेसम्मका अडान दोहर्‍याउनुपरेको थियो । 

मूलतः निष्पक्ष, तटस्थ र पूर्ण पारदर्शी हुँदै सबैलाई साथ-साथ लिएर गरिएका प्रयासले नै त्यस्तो कठिन परिस्थितिलाई सहज रूपमा व्यवस्थापन गर्न सकियो । सबैको अपनत्वको अनुभूत हुने वातावरण निर्माण, बोलेका कुरालाई परिणामबाट देखाउने काम, आफूभन्दा माथि उठेर गरिएको प्रयत्न तथा खासगरी संस्थाको उच्च साख राख्‍न गरिएका प्रयास पनि यस सफलताका पक्ष थिए । आम नागरिकको मन जित्‍न नागरिकसँग नजिक हुन जरुरी छ भन्‍ने मेरो अटुट मान्यता थियो । 

निर्वाचनलाई संसारभरि नै अपजसे कर्म हो भनिन्छ । थोरैले जित्छन्, हार्ने धेरै हुन्छन् । जित्‍नेले जितिहाले, हार्नेले किन हारेँ भनेर स्वमूल्याङ्कन नगरी आफूलाई आयोगले हराएको भन्‍ने पगरी गुथाइदिन्छन् । २०६४ को निर्वाचनबाट यो तथ्यको अनुभव म स्वयंले गरेँ ।

निर्वाचनका दिन मतदान नसकिँदैदेखि देश-विदेशबाट यस्तो असम्भव काम पूरा गराएको भन्दै बधाइ दिनेको तँछाड-मछाड थियो । आयोगको तारिफ गर्नेको ओइरो थियो । हामीलाई धन्यवाद ज्ञापन गर्न भ्याइनभ्याई थियो । अनि, जब परिणाम आउन थाल्यो, तब धेरैको भाषा, बोली र व्यवहारमा यूटर्न आउन थाल्यो । मलाई कुनै नौलो लागेन, आफ्‍नो प्रतिबध्दता पूरा गर्न सकेकामा म सन्तुष्ट थिएँ । 

सत्ता, शक्ति र पैसा भए जे गर्दा पनि हुन्छ भन्‍ने मानसिकता व्याप्त छ ।  

यो पदमा मेरो ६ वर्षको नियुक्ति थियो तर उपनिर्वाचन लगायतका सबै काम सकाएर सो निर्वाचनबाट समेत प्राप्त अनुभवलाई समेटी निर्वाचनको समुच्च पाटोमा सुधार गर्न ५ वर्षे दीर्घकालीन रणनीति तथा त्यसलाई कार्यान्वयन गर्ने मोटामोटी स्रोत र साधनको समेत व्यवस्था गरी साढे तीन वर्ष कार्यकाल बाँकी छँदै राजीनामा गरी पदबाट अलग भई स्वतन्त्र जीवन निर्वाह गर्ने बाटो रोजेँ । नेपालको समकालीन पदीय दुनियाँमा यसरी यति ठूलो पद त्यागेर बीचैमा बहिर्गमनको बाटो रोज्‍नु एउटा पागलपन नै थियो । पद नभए पनि सम्मानका साथ बाँचिन्छ भन्‍ने सन्देश मेरो अन्तरात्माले दिई नै रह्यो र सोही प्रेरणामा मैले पद त्यागेँ । 

माथिल्लो पदमा पुगेको मानिस सर्वज्ञ हुन्छ र उसले थप अध्ययन गर्नुपर्दैन भन्ने सोचले जकडेको मान्यता विपरीत मैले यो बहिर्गमनसँगै थप पढाइको कठिन बाटो रोजेँ । यो पद छाडेर मलाई घाटा भएन, बरु व्यावसायिक जीवनको अर्को आयामको उजागर भयो । परिणामतः विश्‍वशान्ति तथा निर्वाचन शुध्दीकरणको अभियानको भूमिकामा संसारका विभिन्‍न भागमा संलग्‍न हुने मौका अहिलेसम्म नै मिलिराखेको छ । विश्‍वप्रशिध्द शान्तिदूत र शान्ति र स्थिरताका संवाहकहरूसँग सहकार्य गर्ने-सिक्ने मौका मिल्यो । यो संलग्‍नताले मलाई अन्तर्राष्ट्रिय समुदायसँग परिचित मात्र गराएन कि, कतिपय अवसरमा नेपाललाई पनि चिनायो । 

यसै क्रममा समसामयिक नेपाली परिवेश र परिस्थितिलाई हेर्न सहायक हुने केही प्रतिनिधिमूलक पात्रको सामान्य चित्रण गर्न चाहन्छु : 

जुन बखत नेपालमा भूतपूर्व पदाधिकारीले के पाउने, के नपाउने वा थोरै-धेरै जस्ता विवाद उत्कर्षमा थिए, त्यो समयमा म जेनेभामा स्विट्जरल्यान्डकी पूर्वराष्ट्रपति रुथ ड्रेइफसलगायत अन्य पूर्वसरकार प्रमुख वा राष्ट्र प्रमुखसँगको एउटा कार्यक्रममा थिएँ । कुनै एक दिन, साँझको कार्यक्रम सकिएपछि उनै पूर्वराष्ट्रपति र म सँगै निस्कियौँ । बाहिर आएपछि उनीसँग बिदा हुनुअगाडि एउटा सामान्य शिष्टाचारवश उनी गएपछि बाटो लाग्छु भनेर उनीसँगै अडिएँ ।

पूर्वराष्ट्रपतिको हैसियतले उनलाई लिन सरकारी गाडी आउला भन्‍ने मैले ठानेको थिएँ । त्यहाँ भएको एकैछिनको भलाकुसारीपछि पो म छक्क परेँ– उनी त्यहाँबाट १० मिनेट पैदल हिँडी २० मिनेटको रेलयात्राबाट घर जाने रहिछन् । मेरो जिज्ञासामा उनले त्यतिखेर आफू सार्वजनिक जिम्मेवारीमा नभएकाले जनताको राजस्वको उपभोग गर्ने अधिकार पनि आफूमा नभएको कुरो प्रस्ट पारिन् । स्विट्जरल्यान्ड जस्तो अति सम्पन्‍न मुलुकले पूर्वराष्ट्र प्रमुखहरूलाई नसकेर यो सुविधा नदिएको पक्कै होइन । 

आयरल्यान्डकी पूर्वराष्ट्रपति मेरी रविन्सन र म एउटा मिसनमा सहअध्यक्षको हैसियतले संलग्न थियौँ । उहाँको सादगीपन, सरलता, सामान्य जीवन, गहन अध्ययन र रहनसहन देख्ता उनी पूर्वराष्ट्रपति हुन् भनेर कल्पनासम्म पनि गर्न नसकिने पाउँथेँ म । अरूलाई अह्राउने हैन, जुनसुकै काम पनि आफैँले गर्न अग्रसर हुने न कुनै अहं, न कुनै बडप्पन ! अन्तरात्मादेखि नै त्यसै श्रध्दा जाग्‍ने व्यक्तित्व थियो उनको ।

 बिनालगामको घोडाजस्तै जुनसकै अपराध गरे पनि दण्डित हुनुनपर्ने जस्ता प्रवृत्ति मौलाए । 

यो क्रममा मैले सर्वाधिक आदर गरेका र सहकार्यसमेत गरेका स्वर्गीय कोफी आननको विषयमा केही थोरै नै भए पनि यहाँ उल्लेख गर्न चाहन्छु : आननलाई म एउटा आदर्श पात्रका रूपमा हेर्छु, जसले मलाई विश्‍वास गरेर उनको टिममा समावेश भई केही योगदान दिने मौका पनि दिए । उनमा सरलता, सहजता, विवेचनाको अद्भुत क्षमताजस्ता अनेकौँ दुर्लभ गुण उदाहरणीय छन् ।

आफ्नो सुख र सुविधाको वास्ता नगरी अरूको समस्या र दुःखलाई प्राथमिकता दिने उनको नैसर्गिक प्रकृति नै थियो । सधैँ विश्‍व-शान्तिबारे सोच्‍ने आननलाई राष्ट्र संघको महासचिवबाट निवृत्त भएपछि आफ्नो मुलुकको राष्ट्रपतिको पद स्वीकार गर्न अनुरोध गरिएको थियो । यस्तो उत्कृष्ट अवसरलाई पनि अत्यन्त सहजताका साथ त्यागी सामान्य नागरिकका हैसियतले विश्‍व-शान्तिका काममा आजीवन आफूलाई समर्पण गरे उनले । त्यागीको खडेरी परेका बखत त्यस्ता नेताको सम्झना मात्रले पनि केही शीतलता दिन्छ । 

विभिन्‍न मुलुकमा काम गर्दा वा यात्राको दौरानमा कतिपय सरकार प्रमुखले यात्राको व्यवस्थापन आफैँ गरेको, जहाजमा सामान्य नागरिकसरह जहाँ जुन सिट खाली छ त्यसैमा बसेको, सार्वजनिक सवारी प्रयोग गरेको, आफ्नो व्यक्तिगत काममा सरकारी साधन र स्रोत प्रयोग नगरेको वा आफ्ना सामानको आफैँले बोकेको वा व्यवस्थापन गरेको जस्ता कुरा सम्झँदा हामी र हाम्रामा त्यो चेत छिटो आओस् भनेर प्रार्थना गर्नेबाहेकको विकल्प के नै छ र ? 

हाम्रोमा जीवनको प्रत्येक पाइलामा राजनीतिक दलसँग आबध्द नभई बाँच्‍न मुस्किल पर्ने मात्र होइन कि मर्दाका मलामीसमेत नपाउने जस्तो अवस्था छ । हाम्रो जस्तै प्रजातान्त्रिक प्रणाली सयौँ वर्षदेखि प्रयोग गर्दै आएका मुलुकमा निर्वाचनको समय वा विशेष कारण परेको बखतबाहेक अरू सामान्य अवस्थामा दलहरू प्राय अदृश्य अवस्थामा हुन्छन् शीतनिद्रामा सुतेका सर्पजस्तै । सन् २००९-१० ताक हार्वर्ड विश्‍वविद्यालयमा विद्यार्थी भएर बस्ता त्यहाँका प्रमुख दलका नेता वा अध्यक्ष को छन् भनेर सोधनी गर्दा ९९ प्रतिशत अमेरिकी साथीबाट थाह छैन भन्‍ने जवाफ मिल्थ्यो । 

त्यस्तै, आफ्नो कार्यकाल सकिएपछि त्यस्ता पदाधिकारी फेरि त्यही सत्ता र राजनीतिक तानामानामा नलागी आ-आफ्ना व्यवसाय सम्हाल्न वा निवृत्त जीवनतर्फ लागेको देखें । जटिल अवस्थामा बाहेक आफूपछि सत्तामा आएका दल वा व्यक्ति विशेषबारे टीका-टिप्पणी गरेको विरलै सुन्‍न, देख्‍न पाइन्छ । दुःखका साथ भन्‍नुपर्छ, केही अपवादबाहेक हाम्रो नेतृत्व नाङ्गो बादशाहको स्थितिमा पुग्दासम्म सत्तामै रमाउन खोज्छ । 

क्यानडाका जो क्लर्क ४० वर्षकै उमेरमा प्रधानमन्त्री बनेका थिए तर एक वर्ष नबित्तै प्रधानमन्त्री पदबाट हात धुन पुगे । त्यसपछि उनी कहिल्यै त्यो पद पुनर्प्राप्तिमा लागेनन्, बरु आफूलाई अध्ययन, अध्यापन र अन्तर्राष्ट्रिय शान्तिको कार्यमा लगाएर अहिले ८१ वर्षको उमेरमा पनि उत्तिकै सक्रिय छन् ।

त्यति कलिलै उमेरमा प्रमबाट बाहिरिएपछि फेरि त्यसमा किन चाहना भएन भन्‍ने मेरो जिज्ञासामा क्षमतावान् र योग्य व्यक्ति मुलुकले पायो भने आफू किन बाधक बन्‍ने भन्‍ने उनको जवाफ थियो । विकसित मुलुकको मात्र होइन, अफ्रिका लगायतका अन्य गरिब मुलुकका पनि यस्ता उदाहरण छन् । प्रार्थना गरौँ, ढिलो-चाँडो हाम्रो नेतृत्व वर्गमा पनि यस्तो भावना जागृत हुन सकोस् । 

साढे तीन वर्ष कार्यकाल बाँकी छँदै राजीनामा गरी पदबाट अलग भई स्वतन्त्र जीवन निर्वाह गर्ने बाटो रोजेँ ।

वामपन्थी आन्दोलनबाट राष्ट्रपति भएका उरुग्वेका पूर्वराष्ट्रपति होसे मुजिकाले सरकारी निवास मात्र होइन, सबै खालका सान सौकात त्यागेर आफ्नो पूर्ववत् अवस्थालाई निरन्तरता दिने उदाहरण प्रस्तुत गरेको समाचार हामीमध्ये धेरैलाई ज्ञात छ । हाम्रै सार्कको कुरा गर्दा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्रीका लागि भनी व्यवस्था गरिएका महँगा गाडी र हेलिकप्टर लिलाम गरेर सोको पैसा राजस्वमा जम्मा गराए । स्वीडेन जस्तो सम्पन्न मुलुकका प्रधानमन्त्री सामान्य एउटा अपार्टमेन्टलाई आफ्नो सरकारी निवास बनाउनमै खुसी देखिन्छन् ।

अगुवा वा विशेष पात्रको व्यवहार र भूमिकाले कस्तो फरक पार्छ भन्ने यी केही उदाहरण मात्र हुन् । हालैको अमेरिकी राष्ट्रपतिको निर्वाचन त्यहीं रहेर यो निर्वाचनको विविध पाटो नजिकैबाट हेर्ने र बुझ्‍ने मौका पाएँ । त्यसको पनि एउटा प्रतिनिधि विम्ब यहाँ उल्लेखनीय ठान्छु : निर्वाचन नजिकै भएको सन्दर्भमा सर्वोच्च अदालतको रिक्त न्यायाधीश नियुक्त गर्न हुन्‍न भन्‍ने तीव्र विरोध हुँदाहुँदै पनि ट्रम्पले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त मात्र गरेनन्, आफ्नो मान्यताको पक्षमा बहुमत पनि पुर्‍याए । 

परेको बेलामा आफूले नियुक्ति गरेको न्यायाधीशले आफूलाई सहयोग गर्ला भनेर उनले यो नियुक्तिमा हतार गरेका थिए । निर्वाचनपछि मतगणनाका क्रममा उनले गैरप्रजातान्त्रिक अनेकौँ हर्कत देखाएको कुरा सर्वत्र जाहेरै छ । आफ्‍नो पराजय हुन थालेको थाह पाउँदै जाँदा केही राज्यको मतको वैधतालाई चुनौती दिँदै उनको तर्फबाट सर्वोच्च गुहारियो । अदालत आफ्‍नै पक्षमा छ भनेर ट्रम्प ढुक्क देखिन्थे तर अदालतले रत्तिभर पनि ढिला नगरी ट्रम्पको माग अस्वीकार गरिदियो र प्रजातन्त्रको मर्म बचायो । अदालत संविधान, कानुन र प्रजातन्त्रको पक्षमा उभियो, ट्रम्प हेरेको हेर्यै भए । यसले देखाउँछ, कुनै बखत निर्वाचित पदाधिकारीमा सनक चढेर सर्वसत्तावादी हुन खोज्‍ने प्रवृत्तिलाई दुत्कार गरी प्रजातन्त्रको मर्म मर्न नदिन अदालतले कसरी भूमिका खेल्न सक्छ भन्‍ने । स्मरणीय छ, यतिखेर हाम्रो अदालत यस्तै परीक्षाको घडीमा छ ।

अब थोरै नेपाल सन्दर्भका कुरा गरौँ । विगत केही दशकको दौरानमा हामीले अत्यन्त कठिन र अस्थिर राजनीतिक अवस्थामा समेत धैरै सकारात्मक उपलब्धि हासिल गरेका छौँ । मुलुकमा पटक्कै केही नभएको होइन । हाम्रा आर्थिक वा सामाजिक सूचकांक द्वन्द्वको समयमा समेत सकारात्मक रहन सके । शिक्षा र स्वास्थ्यको छेत्रमा हामीले ठूलै फड्को मारेका छौँ ।

मरुभूमीकरणको बाटोमा लागेको मुलुकलाई हरियालीयुक्त बनायौँ । भौतिक पूर्वाधारको सञ्‍जालभित्र करिबकरिब मुलुकको सबै भागलाई जोड्ने अवस्थामा पुग्न लागेका छौँ । नयाँ पुस्ताको नेतृत्वदायी भूमिकामा अनेकौँ नवीनतम सोचले आकार ग्रहण गरी सेवा र उत्पादनका क्षेत्रमा महत्वपूर्ण योगदान दिन थालेको छ । आम नागरिकमा जागरणको स्तर ह्वात्तै बढेको छ । नागरिक समाज सशक्त बनेको छ । 

समावेशी प्रजातन्त्रलाई अभ्यासमा ल्याउन सकिएको छ । मुलुकसामु देखापरेका ठूल्ठूला चुनौतीको आफैँले व्यवस्थापन गर्ने हैसियतमा रह्यौँ । सिंहदरबारको अधिकार गाउँ-गाउँसम्म पुर्‍याउन सक्यौँ । यी र यस्तै तमाम उपलब्धिका बाबजुद पनि मुलुकमा व्याप्त कुशासन र नेतृत्वको गैरजिम्मेवारपनाले गर्दा यी उपलब्धि पनि छायाँमा परेका छन् । गरिबी र बेरोजगारीले मुलुक आक्रान्त छ । अधिकांश युवा यो मुलुकमा भविष्य नदेखेर विदेशिन बाध्य छन् । जसलाई भेटे पनि पहिलो भनाइ नै मुलुक त खत्तम भयो भन्‍ने वाक्यांशबाट कुराकानीको थालनी हुन्छ । निराशा, असन्तुष्टि र आक्रोशको ज्वाला क्रमशः थामी नसक्ने मोडतर्फ लागेको संकेत देखापर्छ । 

यसो हुनुमा मुख्यतया माथिल्लो तहको र त्यसमा पनि राजनीतिक वृत्तको जिम्मेवारीमा रहने व्यक्तिले जवाफदेही नबनी आफूले जे गरे पनि हुने भन्‍ने प्रवृत्तिको विकास नै प्रमुख कारक मानिन्छ । बिनालगामको घोडाजस्तै जुनसकै अपराध गरे पनि दण्डित हुनुनपर्ने जस्ता प्रवृत्ति मौलाए । भ्रष्टाचार र भ्रष्ट आचरणको सम्मान तथा, इमानदार र नैतिकवानको चीरहरण हुनु तथा निष्ठावान नागरिकले अपमानित हुनुपर्ने अवस्था पनि यहाँको दुर्नियति हो । सरकार सबै जनताको होइन, केवल दल वा गुटको मात्र भएको अनुभूत आम नागरिकमा पाइन्छ ।
 
जवाफदेहिता र पारदर्शिता नीतिमा मात्र सीमित हुनु, दण्डहीनताले प्रश्रय पाउनु, कानुनी राज्यको धज्जी उडाइनु, असल शासन भाषणमा मात्र सीमित रहनु आदि यहाँका संस्थागत अभ्यास भइसके । हरेक क्षेत्रको अति राजनीतीकरण, प्रजातन्त्रको खम्बाका रूपमा रहेका संस्थाहरूको अति क्षयीकरण तथा तेजोवध समेत यो मुलुकको अवनतिको कारण हुँदै छ । सत्ता, शक्ति र पैसा भए जे गर्दा पनि हुन्छ भन्‍ने मानसिकता व्याप्त छ ।

राज्य सञ्चालनमा ननस्टेट एक्टर्सहरूको नियन्त्रण यो मुलुकका लागि अर्को दुर्भाग्य हो । यस्ता अवस्थाले आम नागरिकमा कल्पनै गर्न नसकिने नैराश्य बढाएको छ । अन्तर्राष्ट्रिय स्तरमा हामी ज्यादै बदनाम भएका छौँ । यसैले हाम्रो साख पनि गिरेको छ । व्यवस्था र व्यक्तिको परिवर्तन भए पनि उही मानसिकताको निरन्तरता नै यी परिणामको कारक तत्व हो भन्‍ने मेरो बुझाइ छ । त्यो समयको मीठो कल्पना र अहिलेको अवस्था हेर्दा मनमा अनेकौँ प्रश्‍न उठ्ने गर्छन् । के यस्तै समय देख्‍नका लागि त्यो प्रयास गरिएको थियो त ? 

विश्‍वका दुई ठूला बजारबीच छौँ हामी । नेपालप्रति सारा संसारको माया छ ।

गतिलो नेतृत्व यो मुलुकले पाउने हो भने मुलुकको चौतर्फी सुधार गर्न त्यति गाह्रो पनि देख्तिनँ म । संसारमा हामी जस्ता विरलै मुलुक छन्, जहाँ एउटा सानो भूगोलमा अपार प्राकृतिक स्रोत-साधन पाइन्छन् । विश्‍वका दुई ठूला बजारबीच छौँ हामी । नेपालप्रति सारा संसारको माया छ । नेपालको भलो भएको देख्‍न र त्यसमा सहभागी हुन चाहनेको संख्या उल्लेख्य छ । नेतृत्वले बाटो बिराउन खोजे पनि निर्वाचन प्रक्रियाबाट सत्ता हस्तान्तरणको सुन्दर पक्ष हामीले अभ्यास गर्दै आएका छौँ । आपसमा जतिसुकै कटुतापूर्ण व्यवहार भए पनि हाम्रा राजनीतिक दलका नेताहरूबीच आपसी भेटघाट, छलफल र संवादबाट समस्याको सम्बोधन गर्न अभ्यस्त छन् ।

नयाँ र युवा पुस्ताले विविध क्षेत्रमा आशाका किरण देखाएका छन् । राज्य सञ्‍चालन गर्न चाहिने न्यूनतम संस्थागत संरचना मुलुकभर रहेका र क्रियाशील पनि छन् । नागरिक जागरणको पाटो सशक्त छ, युवा जनसंख्याको बाहुल्य रहेको छ । सबैभन्दा ठूलो कुरा भनेको भरपर्दो र विश्‍वास गर्न लायकले नेतृत्व लिने अवस्था पाएमा उसको नेतृत्वमा समाहित भई मुलुकको विकासमा प्रतिबध्दतापूर्वक लाग्‍ने नेपालीको ठूलो विशेषता छ । 

माथिका यावत् धरातलीय यथार्थमा अब, यतिखेर मुलुकमा एउटा इमानदार, आफूभन्दा माथि उठेर सोच्‍न र काम गर्न सक्ने, नेपाल र नेपालीलाई उच्च प्राथमिकतामा राखी सुशासन प्रत्याभूत गर्ने भरोसामन्द कर्मयोगी नेतृत्वको खाँचो छ । यसका लागि समेत हाम्रा केही संरचना, प्रक्रिया र प्रणालीमा रहेका अवरोध हटाई सुशासनको बाटोमा लैजाने प्रतिबध्दतासहित सुधारको कदम अविलम्ब उठाउनु अपरिहार्य भइसकेको छ । हाम्रो आफ्नै अनुभवले देखायो कि– व्यवस्था वा व्यक्ति परिवर्तनमात्र पर्याप्त रहेनछ, पात्रको प्रवृत्ति पनि ठूलो रहेछ ।

देशमा व्याप्त अव्यवस्थाको सुधारका क्षेत्र धेरै छन् तापनि तत्काल प्राथमिकता दिनुपर्ने थोरै कुराको संकेत गर्न चाहन्छु ।

हालको निर्वाचन प्रणाली र प्रक्रिया सक्षम, ऊर्जाशील, युवा नेतृत्वले शासकीय नेतृत्व पाउन सहयोगी छैन । त्यस्तै, हालको निर्वाचन प्रणाली मुलुकले धान्‍ने नसक्ने महँगो एवं क्षेत्रमुखी रह्यो, यसमा तत्काल सुधारको खाँचो छ । त्यस्तै, सबै क्षेत्रलाई जिम्मेवार बनाउने संसद् स्वयं साह्रै कमजोर रह्यो, दलको छायाँमा बिलायो । खासगरी मतदाता तथा नेतामुखी हालको अवस्थाले संसद् र सांसदलाई कमजोर बनायो, तसर्थ त्यस्तो निर्वाचन प्रणाली परिवर्तनका साथै, सांसदबाट मन्त्री नबनाउने र दलको संसद्‍मा न्यून नियन्त्रणको व्यवस्था गर्न आवश्यक देख्तछु ।
     
त्यस्तै, राजनैतिक दल नुध्रिएसम्म सुशासन सपनामात्र रहने भयो, त्यसैले दलभित्रैको सुशासनको पूर्ण प्रत्याभूति, सोको पालनाको अनुगमन तथा कारबाहीका लागि थप कानुनी व्यवस्था गर्न र समाजका हरेक क्षेत्रमा भएको अति राजनीतीकरणको अन्त्य गर्न-गराउन जरुरी छ ।

प्रजातन्त्रका आधार स्तम्भ तथा सन्तुलन र नियन्त्रणको भूमिकामा रहेका संवैधानिक आयोग, निकाय वा अदालतले स्वतन्त्र भूमिका निर्वाह गर्न सक्ने गरी त्यस्ता संस्थामा सक्षमहरूको नियुक्ति हुने निश्‍चित गर्न तीनको छनौट प्रणलीमा सुधार र मुलुकमा व्याप्त विसङ्गतिबाट भावी पुस्तालाई बचाउन सदाचार र नागरिक कर्तव्य विषयक शिक्षा प्राथमिक तहदेखि नै पाठ्यक्रममा समावेश गरी लागू हुनुपर्छ । 

यी र यस्तै सुधारका लागि समुच्च राष्ट्र र खासगरी नागरिक समाजले उच्च दवावमूलक भूमिका बढाउनुपर्ने देख्छु । 

अन्त्यमा, आजको यो सम्मानका साथै पुरस्कार स्वरूप मलाई दिइएको एक लाख दश हजार रुपैयाँ राशिले मेरो जीवनमा ठूलो महत्व राख्छ तापनि मेरो दैनिकीमा भन्दा यस राशिलाई ज्यादै पछाडि परेको चेपाङ समुदायमा शिक्षाको ज्योति फैलाउने समेत कार्यमा क्रियाशील लक्ष्मी प्रतिष्ठानलाई मैले पाएको पुरस्कार राशिमा आफ्नो तर्फबाट त्यति नै थप गरी दुई लाख बीस हजार रुपैयाँ यसै समारोहका बीच सो संस्थाका अध्यक्ष आदरणीय विष्णु गौतमज्यूलाई हस्तान्तरण गर्ने अनुमति चाहन्छु । साथै, यो सहयोग स्वीकार गरिदिनु भएकामा प्रतिष्ठानप्रति आभार व्यक्त गर्छु । 

यस पुनीत अवसरमा आदरणीय बद्री पहाडीज्यूको नामबाट यो पुरस्कारको स्थापना गरी उहाँ र उहाँले राष्ट्रप्रति पुर्‍याउनु भएको योगदानको सम्मान गरी उदाहरणीय पहल गर्ने उहाँका परिवारजन र सम्बध्द अन्य व्यक्ति वा संस्थाहरूलाई विशेष धन्यवाद दिन चाहन्छु । सबैको जय होस् । धन्यवाद ।

(आज कर्मयोगी बद्री पहाडी पुरस्कार समारोहमा व्यक्त मन्तव्यको सम्पादित रूप ।)

 


Author

भोजराज पोखरेल

पोखरेल पूर्वप्रमुख निर्वाचन आयुक्त हुन् ।


थप समाचार
x