चाइना जर्नल
बेइजिङमा छैन वायु प्रदूषण, कसरी ?
हिउँद ऋतुसँगै काठमाडौँलगायत नेपालका विभिन्न सहरहरूमा वायु प्रदूषणको मात्रा बढेको छ । यसैको सेरोफेरोमा गत साता विशेषत काठमाडौँले विश्वका सहरहरूमा सबैभन्दा प्रदूषित हावाको सूचीमा पहिलो स्थान नै ओगट्यो । यसैकारण काठमाडौँ सहर नम्बर एकको हल्लाले नेपालीबीच तहल्का नै पिटेको थियो । आखिर विश्वका सहरबीच केहीमा त नम्बर एक बनेको थियो । तर सघन र गहन रूपमा केलाउने हो भने असंख्य मुद्दामा काठमाडौँले धेरै सहरलाई पछाडि पार्ने छ ।
यस्ता विविध सर्भेक्षण भइरहनु पर्छ । यस्ता सर्भेक्षणबाट बाहिरिने नतिजाबाट धेरै अपत्यारिला कुरा प्रकट हुने छन् । र त सबैको ध्यानाकर्षण हुने छ । तर भइरहेका यस्ता सर्भेक्षणहरूप्रति विषयगत विद्यार्थी, अध्येता, विद्वानको खतरासूचक चेतावनीलाई आमजनतादेखि सरकारद्वारा हल्का रूपमा लिइएको देखिन्छ ।
विषाक्त वायुको सहरमा काठमाडौँ नम्बर एकमा देखिएपछि झस्किनुपर्ने हो तर सहर बिन्दास छ । जसरी अघिल्ला वर्षहरूका यस्ता तथ्यांकलाई नजरअन्दाज गरिदिएको थियो । त्यसमाथि गरिबी रेखामुनीका जनताले झन् के पो गरोस् ।
अहिले हिउँदको महिना, त्यसमाथि काठमाडौँ उपत्यकामा तापक्रमले ओरालो लाग्दै नयाँ किर्तिमान बनाउने छाँट नि देखिन्छ । यता चीनमा पनि उत्तर, पूर्व र मध्य भागमा न्यून तापक्रमले २०, ३० वर्षअघिको रेकर्ड नै तोडेको छ । यस्तै जाडो भए पनि उत्तरपूर्वी चीनमा हिटिङ प्रणालीको व्यवस्थाका कारण घरभित्र खप्नै नसक्ने त्यो चिसोले छुन पाउँदैन । तर यो हिटिङ प्रणालीका लागि कोइलाको खपत हुँदैआएकोमा पछिल्ला केही वर्षहरूमा स्वच्छ ऊर्जाको प्रयोग गरिएको छ । यसैले बेइजिङमा हिउँदमा वायु प्रदूषण निकै कम भएको छ ।
काठमाडौँमा वायु प्रदूषण भयावह बन्दै गएको दिन नै अर्थात् जनवरी ४ तारिख बेइजिङको पर्यावरणीय ब्युरोले एक पत्रकार सम्मेलनको आयोजना गरेको थियो । सम्मेलनमा ब्युरोको अनुगमन केन्द्रका निर्देशक लिऊ पाओस्येनले सन् २०२० मा बेइजिङको पिएम २.५ औसत रूपमा ३८ माइक्रोग्राम प्रति घनमिटर रहेको बताए । उनका अनुसार यो सन् २०१३ यता कै न्यून हो । साथै बेइजिङले सोही वर्षदेखि वायु प्रदूषण तथ्यांक संकलन थालेको थियो ।
सन् २०२० को ३६५ दिनमा बेइजिङले २७६ दिन स्वच्छ श्वास फेर्न पाएको थियो भने मात्र १० दिन गम्भिर वायु प्रदूषणको समाना गर्नुपरेको थियो । सन् २०१९ को तुलनामा बेइजिङले ३६ दिन बढी निलो आकाश पाएको थियो । यसै गरी सन् २०१३ को तुलनामा ४८ दिन कम गम्भिर वायु प्रदूषणको सामना गरेको थियो । ब्युरोका अनुसार, २०१३ को तुलनामा गत साल बेइजिङको पिएम २.५ को सघनता ५७.५ प्रतिशतले घटेको छ ।
वातावरण मैत्री प्रविधि तथा नीति अपनाएर अघि बढ्ने हो भने आमनेपालीबाट समृध्दि टाढा रहन्न ।
चीनले ७ वर्षभित्रै अर्को कमाल गरेर देखाएको छ । केही वर्षअघिसम्म बेइजिङसँगै चीनका धेरै सहरहरू वायु प्रदूषणको विश्व सूचीमा अग्रस्थानमा आउँथे । बेइजिङवासीले हिउँदमा मात्रै होइन ग्रीष्ममा पनि कमै निलो आकाश देख्न पाउँथे । अहिले यस्तो अवस्थाबाट मुक्त भएको छ । केही वर्षभित्रै समस्याको पहिचान, समस्या स्रोतको निरोध, आवश्यक स्रोतको प्रतिस्थापन, परिवर्तन, वातावरण अनुकुल समन्वय, समायोजन गर्दै चीनले तरक्की गरेको छ । चीनले कोइलाको प्रयोगमा सिमितता र क्रमिक रूपमा विस्थापनको नीति, औद्योगिक तथा कृषि क्षेत्रमा नवप्रविधि तथा वातावरण मैत्री प्रविधि भित्र्याउने नीति, वातावरण मैत्री सवारी साधनको प्रयोगमा जोड र सहुलियतको नीति अवलम्बन गरेको छ ।
नेपाल र विशेषत काठमाडौँ धेरै वर्षअघिदेखि विश्वकै एक प्रदूषित सहरको रूपमा सूचीबध्द हुँदैआइरहेको सर्वविदितै छ । झन् सन् २०२१ को पहिलो मङ्गलबार त काठमाडौँ विश्वका प्रदूषित सहरमा एक्यूआई वायु गुणस्तर सचकाङ्कमा ४३७ अङ्कसहित पहिलो नम्बरमै आयो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को वायु गुणस्तर मापन सूचकाङ्कको मानक स्तर २५ रहेको छ । डब्लूएचओका अनुसार प्रदूषणको कणको औसत सघनता जसलाई पिएम २.५ भनिन्छ, यसको मात्रा हावामा २५ माइक्रोग्राम प्रति घनमिटर या एक व्यासमा २.५ माइक्रोन भन्दा बढी हुनुहुँदैन । यो अति नै सूक्ष्म र घातक हुन्छ ।
यसको मात्रा १०० माइक्रोग्राम भए वातावरण प्रदूषित बन्छ र ३०० नाघ्यो भने सम्पूर्ण प्राणीलाई नै घातकसिद्ध हुन्छ । ३०० एक्यूआई नाघेपछि जनस्वास्थ्य सङ्कट घोषणा गर्दै बालबालिका, रोगी तथा वृद्धवृद्धालाई बाहिर जान रोक लगाउनुका साथै विद्यालय, कार्यालय जाने तथा अरू बाहिरी काम ठप्प गर्नुपर्ने हुन्छ ।
नेपाल सरकारले मानक स्तर ४० माइक्रोग्राम प्रति घनमिटर तोकेको देखिन्छ । पिएम १० को मात्रा १ सय २० माइक्रोग्राम प्रति घनमिटर निर्धारण गरेको छ । साथै वि.स. २०७६ माघ ३ गते बसेको मन्त्री परिषद् बैठकले काठमाडौँ उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना अनुसार एक्यूआई ३०० भन्दा बढी भए विपद्को रुपमा लिने निर्णय गरेको थियो ।
चीनले पछिल्ला वर्षहरूमा आर्थिक विकासमा फड्को मारेसँगै चीनसँगै विश्वभर स्वच्छ वातावरणका लागि वकालत पनि गर्दैआएको छ ।
चीनले भने आफ्नो वायु गुणस्तर मानक स्तर ३५ माइक्रोग्राम तोकेको छ । हाल चीनले ठाउँठाउँमा वायु प्रदूषण मनिटर यूनिट स्थापना गर्नुबाहेक प्रदूषणको मात्रा अनुसार अलर्ट जारी समेत गर्दैआएको छ जसबाट आमजनतालाई सचेत गराउनुका साथै प्रदूषणमुक्त वातावरण बनाउन सहभागी गराइएको छ ।
सन् २०१३ मा वायु प्रदूषणका लागि आकस्मिक प्रतिक्रिया लागू गरेपछि पैचिङले पहिलो पल्ट सन् २०१५ डिसम्बर ७ तारिखदेखि ९ तारिखसम्म रेड अलर्ट जारी गरेको थियो । रेड अलर्टसँगै पैचिङ शिक्षा आयोगले तीन दिनका लागि प्राथमिक तथा माध्यामिक तहको विद्यालय बन्द गरेको थियो । बाह्य गतिविधिसँग सम्बन्धित कामहरू धेरै मात्रामा स्थगन गरेको थियो । त्यसै गरी जोड बेजोड गाडी सञ्चालनसँगै यस समयावधिका लागि पैचिङसहित वरपरका सहरका २१ हजार वटा वातावरण ह्रास ल्याउने उच्च वायु प्रदूषक उद्योग तथा ३५ सय वटा निर्माण-स्थलहरू बन्द गराएको थियो । सन् २०१३ मा चीनले प्रदूषणबाट मुक्ति पाउनका लागि "प्रदूषणविरुद्ध युद्ध" योजना अघि सारेको थियो ।
सन् २०१४ फेब्रवरीमा चिनियाँ राष्ट्रपति सी चिनफिङले बेइजिङ सहरको भ्रमण गर्दै पिएम २.५ तथा प्रदूषण नियन्त्रणका लागि निर्देशन नै दिएका थिए । बेइजिङमा मुख्यत पिएम २.५ को समस्या थियो र यसको स्रोतको व्यवस्थापनका लागि कोइला खपतमा कमी ल्याउनु, पेट्रोल, डिजेलका सवारी साधनको विस्थापन तथा वायु प्रदूषक उद्योगलाई वातानुकूल बनाउने या सार्ने उपायहरू हुन् । प्रदूषण नियन्त्रण गर्न बेइजिङले सात सय वटा गाउँमा कोइलाको साटो स्वच्छ ऊर्जा स्रोतको प्रयोग तथा उद्योगहरूमा अनुकूल उपाय तथा यन्त्रको जडान र उद्योगलाई बेइजिङबाट अन्यत्र सार्ने काम गरेको थियो ।
गत वर्ष मात्र सहरको वायु प्रदूषित गर्ने खालका ११३ वटा कम्पनीलाई अन्यत्र सारिएको थियो । हाल बेइजिङ सहरसँग ४ लाख बढी नव ऊर्जा सवारी साधन छन्, जसमध्ये अधिकाँश विद्युतीय गाडीहरू छन् । यसै गरी बेइजिङ तथा समग्र चीनलाई प्रदूषणमुक्त बनाउने क्रममा तेह्रौं पञ्च वर्षीय योजना (२०१६-२०२०) ले महत्त्वपूर्ण भूमिका खेलेको छ ।
बेइजिङमा मुख्यत पिएम २.५ को समस्या थियो र यसको स्रोतको व्यवस्थापनका लागि कोइला खपतमा कमी ल्याउनु, पेट्रोल, डिजेलका सवारी साधनको विस्थापन तथा वायु प्रदूषक उद्योगलाई वातानुकूल बनाउने या सार्ने उपायहरू हुन् ।
सो क्रममा चीनले बनाएको स्पष्ट नीति, सम्बन्धित विभागको प्रभावकारी भूमिका र बेइजिङवासीको समर्थनबाट धेरै वर्षको प्रयासपछि उपलब्धि हासिल भएको छ । साथै चीनले पछिल्ला वर्षहरूमा आर्थिक विकासमा फड्को मारेसँगै चीनसँगै विश्वभर स्वच्छ वातावरणका लागि वकालत पनि गर्दैआएको छ । साथै चिनियाँ राष्ट्रपति सीले १२ औं ब्रिक्स सम्मेलनमा चीनले सन् २०६० सम्ममा कार्बोन उत्सर्जनमा तटस्थता प्राप्त गर्ने बचनलाई निभाउने बताएका थिए ।
चीनले यी विविध कदमहरू चालेर ६, ७ वर्षको हाराहारीमा आफ्ना अति प्रदूषित सहरहरूलाई स्वच्छ सहरमा रूपान्तरण गरेको छ । धूलोमाण्डु र हिलोमाण्डुको संज्ञा पाएको काठमाडौँले आजैबाट चीनले अपनाएका केही उपायहरू मात्र अवलम्बन गर्ने हो भने पनि आफ्नो स्वरूपमा आउन समय लाग्दैन । हुन त दुई वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकाको बढ्दो प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले साझा यातायातद्वारा सञ्चालनमा ल्याइएका केही विद्युतीय बसको उद्घाटन पनि गरेका थिए ।
सरकारले विद्युतीय बसलाई प्राथमिकताका साथै प्रोत्साहन गर्ने भनेको पनि थियो तर त्यसै बेला नै चार्जिङ स्टेसनको अभाव अर्थात् भौतिक पूर्वाधार तथा योजनाको कमी स्पष्ट देखिन्थ्यो । यस बाहेक सरकारले पेट्रोलियम पदार्थमा उपभोक्ताबाट प्रदूषण न्यूनीकरणका लागि कर पनि असुल्दै आएको छ । सरकारसँग योजना छ तर जनताले अनुभूत हुने गरी उपलब्धि प्राप्त गरेका छैनन् ।
यसै बीच काठमाडौँको अर्को समस्या अव्यवस्थित रहनु हो र मानिसको चाप थेग्ने पूर्वाधारको अभाव हो । देश संघीयतामा गए तापनि यसप्रति अभ्यस्त नहुँदा काठमाडौँमा जनघनत्व दिनप्रति दिन बढ्दै गएको छ । कचौरा आकारको काठमाडौँमा हावा नचल्दा वातावरणमा रहिरहेका प्रदूषणले विकराल रूप लिने गरेको विज्ञको भनाइ छ ।
यस कारण केही मात्राको प्रदूषणले पनि हिउँदमा मानिसहरूका लागि विकराल समस्या निम्त्याउने गरेको छ । यो वायु प्रदूषणले मानिसको स्वास्थ्यमा ठूलै समस्या निम्त्याउने भएकोले समृद्ध नेपाल सुखी नेपालीको नारालाई भेट्ने हो भने यस्ता प्रदूषणको अन्त पहिलो सर्त हो । वातावरण मैत्री प्रविधि तथा नीति अपनाएर अघि बढ्ने हो भने आमनेपालीबाट समृध्दि टाढा रहन्न ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया