माग्ने !
‘काम्यो लुगलुग त्यो गरिब बिचरा, त्यसमा दया गर्छ को ?’
भीमनिधि तिवारीको कविताका पंक्ति जति मार्मिक छन् उति नै यथार्थपरक पनि । तर, मैले उठाउन खोजेको विषय यसको अर्को पाटो हो ।
गरिब कस्तोलाई भनिन्छ ? कतिसम्म गरिब भएपछि मान्छे माग्ने बन्छ ? यी प्रश्नको विवेचना गर्ने सामर्थ्य मसँग छैन । न त यो आलेखको उद्देश्य नै हो । बस् आफूसँग जम्काभेट भएका माग्नेसँगका अनुभूति साट्न चाहन्छु । जुन पटक्कै प्रिय छैनन् ।
मैले देखेको पहिलो माग्ने
त्यो एउटा बूढो मान्छे थियो । उसको ढाड कुप्रिएको थियो, सधैँ उही कमिज र हमजाएगा उसको शरीरमा हुन्थे, एक हातमा मुरली बाँसको लौरो, अर्को हातमा कमन्डलु र काँधमा बोरालाई दोबारेर सिएर बनाइएको चामल हाल्ने झोला, जुन मैलिएर, थोत्रिएर अँध्यारिएको थियो उसको अनुहारजस्तै । त्यो बूढो मान्छे हाम्रो घरको नियमित माग्ने थियो ।
यसबाहेक अरू केही अवसरवादी माग्ने र जोगी आउँथे । जोगीलाई अन्य माग्नेको तुलनामा ठूलो इज्जत गरिन्थ्यो । तिनलाई दान दिन पाउँदा पुण्य मिल्ने भावना जो थियो । अरू माग्नेलाई चामल मात्रै दिन पनि झिँझो मान्नेहरू जोगीलाई दाल, नुन, तेल, बेसार गरेर सात थोक ठिक्क पार्थे । उसो त जोगीको मिहिनेत पनि दोब्बर हुन्थ्यो, राति सनई फुक्दै आयो, दिउँसो सिदा उठाउँदै ।
जाडो सुरु भएपछि साधुका झैँ गेरु वस्त्र लगाएर पन्नाहरू आउँथे । ती अलि फरक खालका माग्ने थिए । अवस्था विचार गरेर ज्योतिषीको पनि भूमिका निर्वाह गर्थे । तन्त्रमन्त्र भट्याएर, बुटिसुटी बाँधिदिएर मोटो रकम पनि हात पार्थे । हामी केटाकेटी तिनलाई देखेपछि डराउँथ्यौं ।
ठूलाबडाले हामीलाई सतर्क गराएका हुन्थे, तिनका ठूलठूला झोलामा हामीजस्तै सानासाना केटाकेटीका टाउका छन् । यिनीहरू चामलभन्दा बढी पैसाको आश गर्थे । त्यसैले यिनलाई देख्नेबित्तिकै ठूलामान्छे ओल्टोकोल्टो पर्थे । हामी कहिले लुक्ने गर्थ्यौं कहिले ठूला मान्छे छैनन् भनेर पन्छिने गर्थ्यौं ।
बिस्तारै हुर्किंदै गएँ । घरबाहिर एक्लै हिँड्न सक्ने भएँ । देखेँ सडक छेउमा खुट्टा कुँजिएका, जीउभरि घाउ भएका, परैबाट गनाउने विदीर्ण माग्नेहरू । धेरै तिनको छेवै पर्दैनथे, लोभले भन्दा बढी घिनले । दिनुपर्छ भनेर भन्दा पनि हेर्नुपर्छ भनेर । तिनलाई खाना खाने बेलामा कहीँ सम्झिन पुगेँ भने ‘कुखुराको सुली देख्दा पनि हाँस्नु’ उमेरकी मलाई बान्ता आउन खोज्थ्यो ।
मान्छे भएको नाताले खाने बेलामा त्यस्तो मान्छेलाई सम्झिँदा उसले के खायो होला, भनेर सम्झिनुपर्ने थियो । तर, यस्तो सहानुभूति मेरो अहिलेको परिपक्व मनमा समेत पलाउँदैन । म सामाजिक बेथितिविरुध्द बोल्ने भएकाले खासमा मलाई यस्तो कुरा गर्न शरम लाग्नुपर्ने हो । मलाई किन किन शरम पनि लाग्दैन ।
माग्ने, चोर, लुटेरालगायतका खराब मान्छे भनेर चिनिएकाहरू असलमा हाम्रो समाजका ऐना हुन् । तिनले हामीलाई आफ्नो कुरूप अनुहार देखाइदिन्छन् जसलाई हामी स्वयंबाट समेत लुकाउन चाहन्छौँ । फलस्वरूप तिनलाई झ्यालखानामा थुनेर आफू बाहिर ढुक्कले हिँड्न चाहन्छौँ । दुईचार पैसा दान दिएर आफ्नो दीनताको ढाकछोप गर्न चाहन्छौँ वा नदेखेको बहाना गरेर पन्छिन्छौँ ।
यो अनुभूति एक नम्बरकी बहानेबाजको हो, जसलाई माग्नेहरूसँग सख्त नफरत छ । जो आफ्नो कुरूप पक्षलाई स्वीकार्न असमर्थ छ ।
ती क्याम्पसे दिनहरू
केर्खादेखि दमकसम्मको गाडी भाडा पाँच रुपैयाँ थियो । विद्यार्थी हुनुको छुटले हामी एक रुपैयाँको ढकी तिर्थ्यौं । खाजामा चटपटे पाँच रुपैयाँको । हाम्रो दैनिकी जम्मा सात रुपैयाँमा चल्थ्यो । तै पनि बसमा सात जनाजति केटाकेटी हात पसार्दै आइपुग्थे । नाम सोध्यो नबोल्ने, घर सोध्यो मरिगए नबोल्ने । मुखभरि सिँगानका पाप्रा, जिउमा कहिले नधोइएका लुगा, टाउकोमा कपाल नदेखिने धुलो । उफ् ! बान्ता आउलाजस्तो गन्ध ।
यीबाट बस नगुडुन्जेल पन्छिनै नसकिने । तर, बसबाहिर आफ्ना साथीसँग मस्तले झगडा गरिरहेका हुन्थे । बस कुर्दाकुर्दै हामीले देख्न भ्याएका हुन्थ्यौँ, अरूले खाएर फालेका चुरोटका ठुटा सल्काइरहेको, डेन्ड्राइट सुघिरहेको । तिनले बस स्टपमा उभिउन्जेल हामीलाई देख्दैनथे कि ? या बसभित्र छिर्नासाथ पैसावाल ठान्थे ? तिनलाई पैसा दिनु हाम्रो बुता र रुचिबाहिरको कुरा थियो ।
यस्तै हुलिया भएका तर मुस्किलले हिँड्न मात्रै जानेका केटाकेटीलाई त झन् पन्छाउनै नसकिने । हिँड्दाहिँड्दै कतिबेला खुट्टामा ढोग्न आइपुग्छन् पत्तै नहुने । पैसा नदिउन्जेल खुट्टाबाट काँधै चढ्लान्जस्तो । घाँडो पन्छाउनलाई एउटा ढकी हुत्याइदियो अलि पर हेरिराखेको अर्काे फेरि ढोग्न आइपुगिहाल्ने । पाइला चाल्नै मुस्किल । चप्पलै दिएर खाली खुट्टा कुद्नुजस्तो, गोडा समाएको समाएकै गर्ने कोही । हप्काउँदै, तिनलाई लात्ती नलगाई खुट्टा फट्कारेर हिँड्ने कला सिक्न पनि केही समय लाग्यो । हिँड्न सक्ने केटाकेटी यसरी बाटो छेक्दै आउँथे, नसक्नेलाई तिनका आमाले च्यापेर माग्न हिँड्थे ।
आमाको शरीरमा एकसरो च्यातिसकेको धरो हुन्थ्यो । काखे बालकको त्यस्तै । न टाउकोमा टोपी न खुट्टामा मोजा, न जिउमै जाडो छल्ने लुगा । लाग्थ्यो, त्यो दूधे बालकको जन्म त्यही जाडो भोग्नलाई भएको हो । एउटा जाडो कटायो भने अर्को जाडोमा त ऊ घिसिँरदै भए पनि दुई/चार रुपैयाँ कमाउन थालिहाल्नेछ । त्यतिन्जेलमा उसकी आमाको काखमा पनि सायद अर्कै शिशु बसिसकेको हुनेछ । तिवारीले वर्णन गरेभन्दा मार्मिक दृश्य थियो त्यो । तर, मेरो संवेदनालाई यस्ता मान्छे देखेपछि घिन लाग्छ । यिनको दुःखले पटक्कै छुँदैन । यो सरकारको झैँ ढुंगाको छ मेरो मुटु । मलाई ढुंगाजस्ता चिसा मान्छे देखेर रिस मात्रै उठ्छ । मात्रै रिस उठ्छ ।
माग्ने देखेर भाग्न खोज्ने आफू र शर्माउँदै मागेर दौडिने उनीबीच कत्ति फरक पाउँदिनँ ।
ओशोले एउटा अन्तर्वार्तामा भनेको सम्झिन्छु, प्रश्न थियो— ‘भोकमरीले मर्न लागेको बालक देख्दा तपाईंको हृदयमा कस्तो महसुस हुन्छ ?’ उनी भन्छन् ‘पीडारहित कुनै उपायले उसलाई सधैँका लागि सुताइदिनु उपयुक्त हुन्छ । थोरै खानेकुरा दिएर उसलाई केही दिनका लागि जीवित राख्नु आर्थिक र सामाजिक षडयन्त्र हो ।’
अझ मान्छे भएर मान्छे जसरी पनि बाँच्न नपाउने हो भने उनीहरू बाँच्नु र नबाँच्नुमा फरक नै के भयो र ? दुई छाक खानकै निम्ति त्यतिबिघ्न कष्ट यो एक्काइसौँ शताब्दीमा ? राज्यको आँखा किन फुटेको होला ? तिनलाई बटुलेर कि स्कुल पठाओस् कि कोसीमा बगाओस्, कठ्यांग्रिने जाडोमा बाटोबाटोमा मर्न छोडिदिएर किन हामी माग्ने बन्न नसकेका गरिबलाई अपराधबोध गराउन खोजिरहेछ सरकार ?
हामीले माग्ने केटाकेटीलाई हप्काएजस्तै बसका खलासीले हामीलाई दुरदुर गर्थे । बल्लतल्ल गाडी चढेर दमक पुग्दा क्याम्पसको पहिलो पिरियड आधाउधी छुटिसकेको हुन्थ्यो । आधा भए पनि भ्याउने हतारोमा दगुरिरहेका बेला कहाँकहाँबाट फूलपाती, टीका, चन्दन बोकेर पुजारी बा आउथे । मानौँ उनको आशीर्वादले हामी छुटेको पाठ सर्लक्कै बुझ्नेछौँ ।
त्यसको बदलामा उनलाई एक ढकी चढाउनुपर्थ्यो । टीका, चन्दन बोकेर माग्न आउनेलाई अरू माग्नेलाई जस्तो हप्काउन पनि भएन । उनको सिर्जनशीलताको सम्मान गर्दै हामी घरैबाट टीका लगाएर जान थाल्यौँ । बाजेले टीका लगाइदिन हात उठाउनुअगावै हामी निधारको टीका देखाएर दगुर्थ्यौं ।
कहिलेकाहीँ त दगुरेरै माग्नेखाले माग्नेको पनि सामना गर्नुपर्थ्यो, ‘दिदी एक रुपैयाँ दिनु न ।’ ती चाहिँ दिमागी सन्तुलन गुमाएका हुन्थे । तैपनि दिदी भनेको सुनेर हामी खितखिताउँथ्यौं । तिनलाई छेउमै आएको देखेपछि हाम्रो म्याराथन सुरु हुन्थ्यो ।
यसरी बल्लतल्ल क्याम्पस पुगेर क्लासमा बसेका, एक ढकी जोगाउन अनेक उपाय खोज्ने हाम्रा अघि कहिलेकाहीँ त क्याम्पसमै पनि सहयोग भन्दै कार्टोन बोकेर विद्यार्थी नेताहरू पैसा उठाउन आइपुग्थे । बडो भावुक शैलीमा मन्तव्य दिन्थे । सुनिरहँदा लाग्थ्यो, गोजी टकटक्याइदिहालु । एक दिन पेटमा मुसा दौडिँदा के भयो र ? १०-१२ किलोमिटर पर रहेको घर पनि हिँडेरै पुग्न सकिन्छजस्तो लाग्ने ।
भाषण सकियो, वास्तविकताले गाँजिहाल्थ्यो, गहिरो निद्राबाट बिउँझेजस्तो । जब कार्टोन आफ्नो बेन्च वरपर घुम्न थाल्थे, छेउछाउका साथीले गोजीबाट झिकेर कच्याककुचुक परेका नोट वा डलर खत्र्र्याकखुत्रुक्क खसाल्न थालेपछि बडो सकस पर्थ्यो । त्यसमाथि कहिलेकाहीँ छेउमा बस्ने साथी अलि ठूलो नोट खसाउने खालका पर्थे । तिनको छेउमा आफूसँग भएको सिरिखुरी दिँदा पनि शरम हुने । ओहो यतिबेला केटाकेटीमा जस्तो ठूला मान्छे छैनन् भन्न पाए ।
सरले लिएको टेस्टमा ५० मा ५ नम्बर मात्रै आउँदा पनि त्यति शरम हुँदैनथ्यो । कार्टोन क्लास हलबाहिर नजाउन्जेलसम्म घोसे मुन्टो लगाएर बस्नुको विकल्प थिएन । त्यतिकै घोसेमुन्टो लगाउन पनि कति सकस ! घरी बलपेन भुइँमा झार्यो, घरी किताबै खसाल्यो तैपनि कार्टोन घुमिराख्थ्यो । मानौँ पृथ्वी घुम्नु जत्तिकै अनिवार्य छ कार्टोन घुम्नु । मानौँ बेन्चमा बस्दाबस्दा खुम्चिएको मेरो कुर्थाको पछिल्लो फेरझैँ कुचुक्क पर्नुछ मेरो नियति । धेरै पैसा हुँदै नहुने । थोरै दिन शरम हुने । नदिँदा पनि फेरि शरम हुने । आखिर दिए पनि शरम नदिए पनि शरम हुने भएपछि किन पैसा खेर फाल्नु ?
पैसा दिएर पनि दान गर्नुको सुखानुभूति गर्न सकिँदैन भने के काम त्यस्तो दानको ? कसैले भनेको सम्झिन्थेँ, दिनेलाई थोरै दिएजस्तो लागोस्, पाउनेलाई धेरै पाएजस्तो लागोस् तब मात्र लिनु र दिनुको सार्थकता हुन्छ । कमर्सकी विद्यार्थी हुनुको नाताले हो या सीमित साधनको असीमित उपयोग गर्नुपर्ने भएकाले, म अवसर लाभ उठाउँथेँ । पैसा बचाएर शरमको ताज लगाउथेँ ।
कहिलेकाहीँ कुनै पसलको पेटीमा बसेर सारंगी रेटिरहेका पेटहरू देखिन्थे । तिनको मन छुने आवाजले खल्तीबाट रुमाल झिकेर आँसु पुछ्न बाध्य बनाउँथ्यो तर तिनले भुइँमा ओछ्याएको रुमाललाई नदेखी हिँड्नबाट रोक्न सक्दैनथ्यो ।
कहिलेकाहीँ बाटोमा देखिन्छन् कालो चस्मा लगाएर, सेतो छडी बोकेर उभिएका मायालाग्दा अनुहारहरू । तिनको सुरिलो भाकाले पनि ब्यागको भित्री गोजीको चेन उघार्न सकेन ।
यीबाहेक खान लाउनको समस्या नहुने खाले माग्ने पनि हुन्छन् । कोही साथीहरू हुन्थे, ओई तेरो माला कति राम्रो, तेरो घडी कति राम्रो, मलाई दे न ? कसैलाई आफ्नो लुगाले मात्रै नपुग्ने, जिउमा लुगा मिल्नेसम्मका सबैसँग मागिहाल्नुपर्ने । मागेरै भए पनि नयाँ लुगा फेरिरहनुपर्ने । कोही गाडी नै नचढ्ने, लिफ्ट मागेरै टुंगोमा पुग्ने खाले माग्ने पनि देखिन्छन् । कोही सहयोगी, हितकारी साथीहरू पनि थिए जो अरूलाई सहयोग गर्नका लागि माग्थे ।
दमकमा हामीले तत्काल रगतको आवश्यकता परेका बिरामीका लागि रगत संयोजन गर्न ‘युथ फर ब्लड’ नामको अभियानलाई पछ्यायौँ । त्यहाँ स्वयंसेवी भएपछि पहिलोपटक रगत दान गरेँ । अपरिचित बिरामीका लागि कतिसँग रगत मागेँ । त्यतिबेला दान गर्नुको सुखानुभूति मिल्यो । दान माग्नुको पीडा रत्तिभर भएन । तर, जब अभियानलाई बलियो बनाउन थोरैतिनै रकमको खाँचो पथ्र्यो, कहाँबाट कसलाई सहयोग माग्ने भन्ने विषयमा छलफल हुन्थ्यो, म कुचुक्क पर्न थाल्थेँ ।
आर्थिक सहयोग माग्नु मेरो वशको कुरा थिएन । दमक क्याम्पस साहित्यिक मञ्चमा जिम्मेवार भूमिकामा बस्दा होस् वा दमक पब्लिक लाइब्रेरीमा कार्यक्रम गर्न कहीँ न कहीँ, कतै न कतैबाट सहयोग नमागी धर थिएन । तैपनि म भने कार्यक्रमका अन्य जिम्मेवारी लिएर माग्ने काम (स्रोत संकलन)बाट पन्छिहाल्थेँ । मेरो स्वभावले दिन मात्र होइन माग्न पनि कन्जुस्याइँ देखायो ।
न मन्दिर अगाडि बसेका आशामुखीका अघि मेरो मुठी फुक्न सक्यो न मन्दिर छेउमा राखेको दान पेटिकामा । बरु मन्दिरभित्रका भगवान्का लागि भनेर खुत्रुकेमा खसाउन भुलेको एउटा ढ्याक टक्र्याएर दसौँ कामना पूरा गरिदिन बिन्ती बिसाइन्थ्यो । भगवान्ले किस्ताबन्दीमा माग पूरा गरेपछि भगवान् र माग्नेलाई सरोवर गर्न थालेको पनि निकै भइसक्यो ।
यी तमाम अनुभूतिका बाबजुद अभर पर्दा दुई÷चार पैसा माग्नेका हातमा खसाएको अनुभव छ । तर, त्यसले दान गरेर पाउनुपर्ने आनन्द पटक्कै दिएन ।
अचेल गाउँमा पनि सहरमा झैँ माग्नेहरू गाडी लिएर आउन थालेका छन् । हप्तैपिच्छे कोही न कोही कसै न कसैको सहयोगको लागि भन्दै पैसा संकलन गर्न आउछन् । टोल थर्काउने गरी गीत बजाउँछन्, मर्ने कसैलाई रहर हुँदैन तर नमरेको प्रहर हुँदैन । बीचबीचमा दुःखदायी आवाज बज्छ ( फलानो ठाउँ बस्ने, फलानोको छोरा वा छोरी, फलानो रोगको कारण, कमजोर आर्थिक अवस्था, अकालमै मृत्युको मुखमा । गाडी चोकमा बज्छ । मान्छे घरघर हिँड्छन् ।
कम्तीमा सय रुपैयाँ त दिनुपर्ने होला । म त्यसको आधा रकम दिन मात्रै तत्परता देखाउँछु ।
यसरी आउनेहरू कोही स्याङ्जाबाट आएको भन्छन्, कोही रुपन्देही, कोही कैलालीबाट । सुदूरपूर्वमा सुदूरपश्चिम, मध्यपश्चिमदेखि पनि माग्न आउनुपर्ने उनीहरूको कस्तो बाध्यता होला ? उठेको रकमले बिरामीको उपचार सम्भव हुन्छ, हुन्न होला ? थाहा छैन ।
यसरी आउनेहरू भद्र पारामा सहयोगको याचना गर्छन् । पूर्ण अविश्वासका साथ म रुपैयाँ तिनका हातमा राखिदिन्छु । तिनले हतारोमा मुन्टो बाटातिर र हात मतिर फर्काएर बिदाइको नमस्कार गरेको हेरिरहन्छु । मलाई शंखर लामिछानेले ‘औपन्यासिक पात्र : जीवनको पृष्ठभूमिमा’ निबन्धमा भनेको वाक्यको सम्झना हुन्छ ‘म सम्झिरहन चाहन्छु त्यो अनुहार, जसले भिख माग्नु पनि एक कर्तव्य ठानिसक्यो ।’
यसरी माग्नेका अनेक रूपसँग साक्षात्कार भइरहँदा मेरो खल्तीमा गह्रौँ गरिबसेका चानचुन पैसाहरू या रित्तो गोजीले माग्नेप्रति सहिष्णु हुन कहिले सिकाएन । अचेल त्यो अभाव हुर्केर बानीमा विकसित भइसकेको छ । अद्यापी अभाव पनि कायमै छ । म स्वयं बेरोजगार मान्छे । कत्ति पनि चल, अचल सम्पत्ति नभएकी आइमाई । मजस्तासँग मागेर काम चलाउनेहरूको दीनता देखेर कहिलेकाहीँ बडो दुःख लाग्छ । एउटा कारण वा परिणामलाई लिएर धारणा बनाउने हो भने दान नगरेकैले मेरो अभाव नसकिएको हो, भन्न पनि सकिएला । तर, म यस्ता सतही धारणा निर्माण गरेर बस्ने भावुक परिनँ ।
भर्खरैको एउटा अनुभव सुनाउँछु ।
‘मर्ने कसैलाई रहर हुँदैन
तर नमरेको प्रहर हुँदैन ।।।’
मंसिरको पुच्छरमा सुरु हुँदै गरेको एउटा चिसो बिहान । हुस्सुले फाट्टफुट्ट बाँकी रहेका तोरीका फूललाई छपक्कै छोपेको थियो । पर्दा उघारेर हेर्दा डम्म हुस्सेले ढाकेको झ्यालको सिसा मात्रै देखियो । कानमा अञ्जु पन्तको उध्दृत गीत र तातो पानीसँगै मेरो नित्यकर्म सुरु हुँदै थियो । पानी तताएर बरन्डामा निस्किसक्न नपाई कसैको आवाज सुन्छु (‘घरमा को हुनुहुन्छ ?’ म छु नि । बाहिर निस्किन्छु । बाहिर साढे चार फुट उचाइकी एउटी अपरिचित महिला छिन् ।
कुर्था सुरुवाल माथि ज्याकेट लगाएकी । ‘हाफ’ ज्याकेटसँग उनको उचाइको तारतम्य नमिलेकोले ज्याकेट उनको जिउमा ‘क्वाटर’ टाइपको देखिएको थियो । एकातिरको काँधमा लोग्ने मान्छेले बोक्ने खाले झोला झुन्डिएको थियो । उनको गलामा कागजको चारपाटे टुक्रो लेमिनेसन गरेर झुन्ड्याइएको थियो । उनले अटोमेटिक नमस्कार गरेपछि मेरो दिमागले अटोमेटिक रूपमा ठम्यायो मार्केटिङ गर्न आएकी, आफूलाई विद्यार्थी बताउने र मलाई महाभुस सम्झिने कुनै युवती होलिन् ।
त्यति सोचिसक्दा नसक्दै उनको हातमा एउटा चिर्कटो देखियो । अनि झल्यास्स सम्झिएँ उठ्नेबित्तिकै देखि कानमा परेको गीत । भर्खरैसम्म जिब्रोमा त्यही गीत झुन्डिरहेको थियो । यादै गरेकी थिइनँ, नेपथ्यमा बजिरहेको रहेछ । मर्ने कसैलाई रहर हुँदैन ।
गीत सुन्नासाथ उनलाई चिन्न भ्याएँ । ‘एकबारको जुनीमा मर्नु त परिहाल्छ नि ।’ सोचिभ्याएँ । यस्तो सोच्ने मान्छेको बोलीमा कति नम्रता हुँदो हो ? त्यसैका साथ सोधेँ (कसलाई के भको ? उनलाई सकेसम्म छिटो मेरा प्रश्नहरूबाट फुत्किनु थियो । मलाई उनीसँगै आएको एउटा कक्रक्क परेको बिहानीबाट उन्मुक्ति चाहिएको थियो । उनले भकभकिँदै भनिन्, ‘चितवनकी एउटी बहिनीलाई ।’
जति हतार भए पनि मान्छेले आफ्नो स्वभाव छोड्दैन । यो कोरोनाको महामारीमा चितवनदेखि मोरङसम्म मिर्गौलाको उपचार गर्न सहयोग माग्न आउनुपर्ने हो ? भलै संविधानले हरेक नागरिकले देशभरि जहाँ जे काम पनि गर्न पाउने छुट दिएको होस् । मेरो पारो १० बाट १०० पुगिहाल्यो ।
उनले हतपत चितवन शब्द सुनेर आँट बटुलिन र भनिन्, होइन होइन चितवनबाट होइन । हामी आउन चै बिर्तामोडबाट आएका हौँ । हाम्रो संस्थै छ बिर्तामोडमा । घाँटीमा झुन्ड्याइराखेको कार्डमा देखाउँदै भनिन्, ‘हामी पैसा संकलन गरेर उतै पठाइदिन्छौं ।’ ओहो । यस्तायस्ता संस्था पनि पो खुलिसकेछन् भनेर जिल्ल परेँ ।
सहयोग कहिलेदेखि व्यवसाय बन्न थालेछ ? मलाई झन् भाउन्न भयो । ‘ती बिरामी बहिनी तपाईंको के पर्ने ?, कुन संस्था हो तपाईंको ?’ उनले फेरि कार्ड देखाउँदै भनिन्, ‘जति सक्नुहुन्छ दिनु, हामी यतिउति भन्दैनौँ ।’ कार्डमा पढेर थाहा पाउने कुरा केही थिएन । जाडोमा कक्रिँदै माग्न आउनेसँग गलफत्ती गरिरहनु उचित लागेन ।
यसरी गाडी लिएर, गीत बजाएर, राम्रा लुगा लगाएर, सभ्य तरिकाले बोलेर, नमस्कार गर्दै माग्न आउनेलाई कति पैसा दिनुपर्छ मलाई थाहा छैन । कम्तीमा सय रुपैयाँ त दिनुपर्ने होला । म त्यसको आधा रकम दिन मात्रै तत्परता देखाउँछु । त्योभन्दा बढी म पटक्कै दिन सक्दिनँ । चाहन्न । त्यति मात्रै दिन पनि मलाई शरम लाग्छ । जिब्रोमा चिल्लो घसेर बोल्न नजान्ने मलाई यस्तो बेला बडो फसाद पर्छ । अकस्मात् मेरो मुखबाट निस्कियो, ‘घरमा ठूला मान्छे पनि छैनन्, लु यत्ति नै लानू’ भनिसकेपछि शरमले आफैं कुतकुतिएँ । आफैंसँग मुख छोपेँ । उनको अनुहारमा हेर्न सकिनँ । उनको आँखाको भाव पढ्न सकिनँ ।
रिस, दया, घृणा र संकोचका साथ हतारहतार पैसा उनको हातमा दिएर भित्र छिर्छु । उनी मेरो कुरा सुनेर हाँस्नुपर्थ्यो, थोरै पैसा पाएकाले मुख बिगार्नुपर्थ्यो अथवा मागेकै भरमा अर्काको पैसा पाएकामा मप्रति धन्य हुनुपर्थ्यो । आउँदाझैँ उनको मुहारमा तालिम नपुगेको अप्ठ्यारोबाहेक अरू केही थिएन । यस काममा अभ्यस्त भइसकेपछि त उनी पनि अरूजस्तै माग्नुलाई आफ्नो कर्तव्य सम्झिँदी हुन् । उनको त्यो अनुहार कल्पिने मनस्थिति मसँग थिएन । उनी उस्तै हतारमा बाहिरिन्छिन् ।
म आफैंभित्र भुटभुटिन्छु, उनले बरु भनेकी भए हुन्थ्यो, तँ कहिले ठूली हुन्छेस् हँ ? कहिले धक फुकाएर दिन सक्ने हुन्छेस् ? अथवा मैले भन्न सकेको भए हुन्थ्यो पारिजातले ‘तोरीबारी बाटा र सपनाहरू’मा आफूसँग पाँच रुपैयाँ दाम माग्न आइपुगेको अपरिचितलाई झैँ निर्धक्क, ‘हेर्नुस् मसँग पैसा नभएको होइन तर दिन सक्दिनँ ।’
सायद उनले मेरो ‘ठूला मान्छे छैनन्’ भन्ने महान् उक्ति सुनिनन् कि ? आफैंलाई ढाडस दिन खोज्छु । झ्यालबाट हेर्छु, उनी दौडिएको गतिमा जाँदै छिन् । माग्ने देखेर भाग्न खोज्ने आफू र शर्माउँदै मागेर दौडिने उनीबीच कत्ति फरक पाउँदिनँ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया