असली रूपमा प्रतिगामी ओली
पञ्चायतकालकै प्रसंगबाट सुरु गर्छु । तीसको दशकको झापा विद्रोहपछि पञ्चायती शासकले कडिकडाउ गर्न थाले । विद्रोहमा सहभागी केही कार्यकर्ता मारिए । सो विद्रोहप्रति सुरुदेखि नै आलोचक रहेका केपी ओलीलाई आफू पनि परिने हो कि भन्ने भय भएछ । अनि झापा जिल्ला समितिलाई समेत कुनै सूचना नदिई उनी भागे । अर्थात् क्रान्तिबाट भाग्ने ‘भगौडा’का रूपमा उनको राजनीति सुरु भयो ।
केही समय भारतको नैनीताल गएर बसे । पछि रौतहट आउँदा उनी पक्राउ परे र लगातार १४ वर्ष जेल परे । यहीँनेर एउटा घटना शंकास्पद छ । उनी पञ्चायतकाल उत्कर्षमा रहेको बेला २०४४ सालमा जेलबाट रिहा भए । यद्यपि, सयौं वाम प्रजातान्त्रिक आन्दोलनका बन्दीहरू २०४६ सालको जनआन्दोलन सफल भएपछि मात्र रिहा भएका थिए । ओलीलाई दुई वर्षअघि नै किन रिहा गरियो ? केही राजनीतिक नेता र कार्यकर्ताले यो पंक्तिकारसँग भनेअनुसार ओलीको तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहसँग हिमचिम बढिसकेको थियो ।
मरिचमानले नै बहुदलअगावै उनलाई रिहा गराएका हुन् भन्ने एकथरीको आशंका छ । जे होस्, २०४६ सालको जनआन्दोलनमा ओलीको भूमिका कतै देखिएन, जुन आन्दोलनका एउटा तन्नेरी साक्षी यो पंक्तिकार पनि हो । सीपी मैनाली, झलनाथ खनाल, राधाकृष्ण मैनाली, सहाना प्रधान, तुलसीलाल अमात्य, सिध्दिलाल सिंह, कृष्णदास श्रेष्ठ, विष्णुबहादुर मानन्धर, गोपाल शाक्य, प्रदीप नेपाललगायतका नेताहरू आन्दोलनमा तत्कालीन वाम मोर्चाका तर्फबाट सहभागी हुँदा ओलीको नामोनिसान थिएन । यद्यपि, अति भूमिगत मालेका प्रवक्ताका रूपमा मदन भण्डारीको नामसमेत चर्चामा आइसकेको थियो ।
बहुदल आएपछि राजबन्दीका रूपमा ओलीको चर्चा सुरु भयो । पार्टीमा बडो शंकास्पद भूमिकामा सक्रिय रहने व्यक्तिका रुपमा उनको चर्चा हुन्थ्यो । बहुदल आएयताको एक दिन पिताजीसँगै यो पंक्तिकार नेकपा मालेको बागबजारस्थित पार्टी कार्यालयमा जाँदा माले महासचिव मदन भण्डारी र काठमाडौंका नेता राजेन्द्र श्रेष्ठबीच कुराकानी भइरहेको थियो, कार्यालयकै छतमा । पंक्तिकार त भर्खरको तन्नेरी, त्यो पनि पार्टीकै एक कार्यकर्ताको छोरा । पंक्तिकारकै सामुन्ने कुराकानी गर्न उहाँहरू हच्किनु भएन, आफ्नै ठान्नुभयाे । उहाँहरूबीच के विषयमा कुराकानी भएको थियो । त्यो सन्दर्भ अहिले सम्झना त भएन, तर मदन भण्डारी भन्दै हुनुहुन्थ्यो, ‘ओलीको कुरामा पूर्ण रूपमा भर नपरौं है, उनले घुमाइघुमाइ पार्टीमा फुट ल्याउन सक्छन् ।’
‘बानेश्वरमा कोणसभा गरेर गणतन्त्र आउँदैन । यो आन्दोलनको काम छैन । राजा र संसद्वादीको मिलाप हुनुपर्छ । बयलगाडा चढेर अमेरिका पुगिँदैन ।’
आखिर भयो त्यस्तै । घुमाइघुमाइ एमालेमा व्यापक विभाजनको बीउ रोप्ने काम त ओलीबाटै भयो । पंक्तिकारले पहिलो पटक ओलीलाई बागबजारमै देख्दा निकै दुब्ला र पातला मायालाग्दा थिए । पातलो, तिखो बोली, तर कुरा अलि बटारिएका जस्तो पाराका । धूर्त र चलाख टाइपको बडिल्यांगवेज । सीपी मैनाली र मदन भण्डारीबीच कटुता र तिक्तता बढाउन त्योबेला ओलीको भूमिका के कति थियो, भनिरहनु नपर्ला, त्यसबेलाका कमरेडहरूलाई पक्कै हेक्का छ ।
अध्ययनका मामिलामा ओली खासै गहन चिन्तक पनि हैनन् । उही, बोल्न सिपालु । तर, मदनको ओजपूर्ण भाषणको उचाइसामु यिनको भाषण कर्कश आवाज मात्र थियो । संगठकका रूपमा पनि यिनको खासै भूमिका रहेन । रौतहटमा ओली पक्राउ परेपछि छिन्नभिन्न भएको संगठनलाई मदन भण्डारी, जीवराज आश्रित, सीपी मैनाली, अमृत बोहरा, गोपाल शाक्य, वामदेव गौतम, युवराज ज्ञवाली आदिले सुदृढ गरेका हुन् । पश्चिमको मुक्ति मोर्चा र पूर्वको कोअर्डिनेसन कमिटीलगायतलाई गोलबन्द गरेर सशक्त नेकपा माले बनाउने अभियानमा ओलीको खासै भूमिका रहेन ।
बहुदल आएपछि पनि लामो समयसम्म यिनले १४ वर्ष जेल बसेको पृष्ठभूमि भजाइरहे । कार्यकर्तामा यिनको खासै पकड थिएन । तर, २०५२ सालमा जब माओवादी जनयुध्द सुरु भयो, त्यसपछि चाहिँ ओली उग्र माओवादी विरोधी भएर निस्किए । देशमा जारी द्वन्द्वलाई वार्ताबाट हल गर्नुभन्दा पनि भड्काउनतिरै उनको भूमिका देखियो । विद्रोहरत शक्तिलाई शान्ति अभियानमा ल्याउन उनको कुनै भूमिका रहेन । पक्कै, जिल्लाजिल्लामा एमाले र माओवादीबीच कटुता थियो । यही कटुताले माओवादीप्रति एमाले कार्यकर्तामा वितृष्णा पनि थियो । एमालेको ढुलमुल नीतिबाट वाक्क भएका धेरै कार्यकर्ता माओवादीमा पनि प्रवेश गरे । त्यो अवसरमा ओलीले माओवादीको उछित्तो काढे, यही नकारात्मक सोचको जगमा ओलीले एमालेमा केही हदसम्म आफ्नो वर्चस्व बढाउँदै लगेका हुन् । हैन भने, विचार, सिध्दान्त, संगठनकर्ताका रूपमा एमाले निर्माणमा ओलीको खासै भूमिका थिएन ।
माओवादी विरोधी उनको छविलाई इतिहासले गलत साबित गरिदियो । जतिबेला यो मुलुकमा जनयुध्द चलिरहेको थियो, त्यसबेला ओली भन्ने गर्थे, ‘माओवादी ठेट्नाहरूले केही थ्रिनट थ्री राइफल पड्काउँदैमा गणतन्त्र आउँदैन । माओवादी आतंककारी हुन् । उग्रवामपन्थी भड्कावमा लागेका क्रान्तिकारी रोमाञ्चका खेताला हुन् ।’ आखिर तिनैले जनयुध्द गरेर देखाए, देशमा नयाँ क्रान्ति ल्याए । ओलीको विश्लेषणले हावा खायो ।
‘विदेशी छौंडाहरूले संघीयता लादेर बर्बाद गरे । देश टुक्र्याउने भए । पहिचान भन्दै हिँड्छन्, देश बिगार्ने भए ।’ आखिर यही गणतन्त्र, धर्म निरपेक्षता र संघीयताको ढाडमा टेकेर ओलीले यसकै टाउकोमा हान्ने कुचेष्टा गरेका छन् ।
ओलीको ‘एन्टी माओवादी’ भूमिकाले एमालेकै साख गिरायो । अन्ततः वामदेव गौतमले रोल्पामा पुगेर माओवादीसँग ६ बुँदे सम्झौता गरे । यसले दुई पार्टीबीचको तिक्तता घटायो, जुन कम्युनिस्ट आन्दोलनलाई उचाइमा पुर्याउने कोशेढुंगो थियो । यही बिन्दुबाट बल्ल ओली ओझेलमा पर्दै गए र पार्टीमा वामदेव, झलनाथ हाबी भएका हुन्, जसले दुवै पार्टीको सहकार्यमा शान्ति प्रक्रिया सहज बनाउने बीउ रोप्यो । यसमा माधव नेपालको ऐतिहासिक भूमिकालाई पनि उच्च सम्मान गर्नैपर्छ ।
एमालेका माधव नेपाल र झलनाथ खनाल, कांग्रेसका तर्फबाट गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद सिटौला, एकता केन्द्रका नारायणकाजी श्रेष्ठ प्रकाश र सद्भावना पार्टीका राजेन्द्र महतो (जो त्यतिबेला दिल्लीमै थिए) को पहलमा दिल्लीमा माओवादी अध्यक्ष प्रचण्ड र नेता डा. बाबुराम भट्टराईबीचको मिलापपछि सात संसद्वादी दल र माओवादीबीच बाह्रबुँदे समझदारी भएको हो, ‘माघ १९’को कदमपछि । यही समझदारीले नै ‘निरंकुश राजतन्त्रविरुध्द आन्दोलनको आँधीबेहरी’ ल्याएको हो, राजतन्त्र नै ढालेको हो । अहिले गिरिजाबाबु त हुनुहुन्न, तर इतिहासले फेरि बाह्रबुँदे समझदारिताका तिनै नेताहरूलाई परिवर्तनका एजेन्डा जोगाउन एक ठाउँमा उभ्याएको छ ।
बाह्रबुँदे समझदारीताका खड्ग ओलीको भूमिका पूरै खलनायकी थियो । उनी त्यसबेला राजासँग मिलेर उही पुरानै संवैधानिक राजतन्त्रवाला बासी सडेगलेको संसदीय परिपाटीकै वकालत गर्थे । एमाले नेताहरू खनाल, नेपाल र गौतमले माओवादीसँग सम्पर्क बढाउँदा ओलीले हाकाहाकी ‘माओवादीसँग मिलेर आन्दोलन गर्नु आत्मघाती हुन्छ, कुनै हालतमा माओवादीसँग मिल्नु हुँदैन’ भनेको त्यसबेलाका पत्रिका पल्टाएर हेरे हुन्छ । तत्कालीन अमेरिकी राजदूत जेम्स एफ मोरियार्टीसँग दिनहुँ भेटेर संसद्वादी दल र माओवादीलाई मिल्न नदिने खेलमा ओली लागेको अझै विस्मृतिमा गइसकेको छैन ।
लोकतन्त्र, राष्ट्रियता र जनवादमाथि घात गर्दै आएका ओली चरित्रको पराकाण्ठा हो, अहिलेको संसद् विघटन ।
जतिबेला २०६२/०६३ सालको आन्दोलन चलिरहेको थियो, त्यतिबेला ओली बालकोटस्थित आफ्नो महलमा बसेर रेड वाइनको चुस्की लगाउँदै भानुभक्त ढकाल र विष्णु रिमाललगायतका आफ्ना केही आसेपासेसामु भन्थे, ‘बानेश्वरमा कोणसभा गरेर गणतन्त्र आउँदैन । यो आन्दोलनको काम छैन । राजा र संसद्वादीको मिलाप हुनुपर्छ । बयलगाडा चढेर अमेरिका पुगिँदैन ।’ बयलगाडा चढेर अमेरिका पुुगिँदैन भन्ने ओली आफू चाहिँ अमेरिकी राजदूत मोरियार्टीदेखि राजा ज्ञानेन्द्र नेतृत्वको सरकारका उपाध्यक्ष डा. तुलसी गिरीसँग गोप्य भेटघाट गरेर आन्दोलनकारीका रणनीतिको सुराकी गरिरहेका थिए । उनको भूमिका खासमा विभीषणको जस्तो थियो । विभीषणले त बरु रामको सत्यको पक्षमा रावणको सुराकी गरेका थिए, ओलीले त जनतारूपी रामकै विरुध्द निरंकुशतारूपी रावणसँग चोंचोमोचो मिलाएका थिए ।
गोंगबुमा आन्दोलनकारीको टाउको फुटिरहँदा ओलीले भित्रभित्र ज्ञानेन्द्रसँग संवाद गरेको र ‘आन्दोलन चर्किन नसक्ने’ भनेको समाचार देशान्तरमा लेख्ने यही पंक्तिकार हो, जुन सूचना पंक्तिकारलाई तत्कालीन युवराज दीपेन्द्रका एक सचिवबाट प्राप्त भएको थियो, जसको नाम यहाँ उल्लेख नगरौं । ज्ञानेन्द्रको शासनकालमै ‘प्रतिगमन आधा सच्चियो’ भनेर शाही सरकारको खेताला बन्न जाने काम पनि ओलीकै बरद बाहुलीबाट भएकै हो ।
यसबाट स्पष्ट हुन्छ, ओली अहिलेदेखि हैन, उहिलेदेखि नै प्रतिगामी कित्ताका हुन् । अब उनको नक्कली राष्ट्रवादको चर्चा गरौं । ओलीको राष्ट्रवादी चरित्र त महाकाली सन्धिताकै महाकालीमा बगेर गइसकेको थियो । महाकाली सन्धि पारित हुनुअघिको कुनै दिन ललितपुरको पुल्चोकमा प्ररायुसंंघले आयोजना गरेको एक गोष्ठीमा कान्तिपुर दैनिकको रिपोर्टरका हिसाबले यो पंक्तिकार पनि सहभागी थियो । त्यो गोष्ठीमा ओलीले भनेका थिए, ‘महाकाली सन्धिको समर्थन गर्दा के हामीले गाँजा खाएका थियौं र ?’
तर, न त त्यो सन्धिबाट बिजुली आयो, न पञ्चेश्वर परियोजना बन्यो । आखिर ओलीले गाँजा खाएकै ठहरियो । ओली हर्कतकै कारण एमाले पार्टी नै फुट्यो । कम्युनिस्ट आन्दोलनमा क्षति भयो । ओलीले नै हो, एमालेलाई ‘भाइ कांग्रेस’ बनाएको, एनजीओको दास बनाएको हो । ओलीको धुन्धुकारी भूमिकाकै कारण एमाले लामो समयसम्म नेपाली राजनीतिमा ‘लिंग नछुट्टिएको उभयचर’ भइरह्यो । गणतन्त्र, धर्म निरपेक्षता र संघीयताको पक्षमा एमालेलाई खडा गराउन जब नेपाल, खनाल र गौतमहरूले अग्रणी भूमिका खेले, अनि बल्ल एमाले लिंग छुट्टिएको अर्थात् परिवर्तनका एजेन्डा बोक्ने दल भएको हो ।
प्रतिगामी ओली सर्वांग नग्न भएर जनताको कठघरामा उभिएका छन् ।
संविधान निर्माणताका ओलीको भूमिका प्रतिगामी नै रह्यो । अग्रगामी परिवर्तनका एजेन्डालाई सकेसम्म संकुचित गर्दै उही २०४७ सालको संविधान ब्युँत्याउने खेलमा उनी लागे । उनी संघीयताका कट्टर विरोधी हुन् । संविधान निर्माणताका उनले बारम्बार ‘विदेशीको चलखेलमा नेपालमा संघीयता थोपरिएको’ बताइरहे । तिनताक आफ्नो बालकोटस्थित निवासमा भेला भएका साप्ताहिक सञ्जालका पत्रकारसँग उनले भनेका थिए, ‘विदेशी छौंडाहरूले संघीयता लादेर बर्बाद गरे । देश टुक्र्याउने भए । पहिचान भन्दै हिँड्छन्, देश बिगार्ने भए ।’ आखिर त्यही गणतन्त्र, धर्म निरपेक्षता र संघीयताको ढाडमा टेकेर ओलीले यसकै टाउकोमा हान्ने कुचेष्टा गरेका छन् ।
संविधानले अझै पनि मधेसी, जनजातिलाई पूर्ण रूपमा चित्त बुझाउन सकेको छैन । यसका एकमात्र दोषी ओली नै हुन् । मधेसीलाई ‘उत्तर प्रदेश र बिहारको’ भन्दै हेपे । झापामा तिनै मधेसीको भोटबाट चुनाव जिते, तर संविधानमा मधेसका मागको यथोचित सम्बोधन गर्न उनले बखेडा झिकिरहे । आखिर नाकाबन्दीताका नेपालीमा रहेको राष्ट्रवादी संवेदना भजाएर नक्कली नश्लवादी मण्डले राष्ट्रवादको आडमा त हो नि ओली चम्किएको । चुनावमा एमालेले यही भ्रामक संवेदना भजाएर ल्याएको त हो नि त्यत्रो सिट । अहिले त्यही भावनामाथि पनि ओलीले घात गरे, जुन इतिहासले क्रूरतासाथ मूल्यांकन गर्ने नै छ ।
लोकतन्त्र, राष्ट्रियता र जनवादमाथि घात गर्दै आएका ओली चरित्रको पराकाण्ठा हो, अहिलेको संसद् विघटन । अतः यो घटना हठात भएको हैन, यसको लामो पृष्ठभूमि माथि बयान गरियो । ओलीको हालको भूमिका चित्रण गर्न पञ्चायतकालको एउटा प्रसंग प्रशस्त छ । पञ्चायतकालमा जनपक्षीय कित्ताबाट पनि तत्कालीन राष्ट्रिय पञ्चायतमा उम्मेदवार हुन्थे । पञ्चायतभित्रै छिरेर पञ्चायतकै बदनाम गर्ने र समाप्त गर्ने रणनीतिबमोजिम नेपालका महान् गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहदेखि रूपचन्द विष्ट हुँदै जागृतप्रसाद भेटवालसम्मले राष्ट्रिय पञ्चायतमा जितेका थिए र पञ्चायतको धज्जी उडाएका थिए । यो त जनपक्षीय रणनीति भयो । ओलीले यही रणनीति अपनाए, गणतन्त्र, धर्म निरपेक्षता र संघीयताको बदनाम गर्दै यसलाई सिध्याउने नियतले । नभन्दै, यसै व्यवस्थाको शीर्ष तहमा पुगेर ओलीले यसैलाई ध्वस्त पार्ने षड्यन्त्र रचे ।
धन्य हुन्, आजका सचेत जनता । धन्य छ, आजको सूचना प्रविधि, शिक्षा र जनताको विवेकको विकास । ओलीको धुन्धुकारी भूमिका समयमै पर्दाफास भयो । उनको नकाव उत्रियो । प्रतिगामी ओली यति सर्वांग नग्न भएर जनताको कठघरामा उभिएका छन् । उनले आफ्नो असली प्रतिगामी चरित्र ढाक्न पहिरिएका सारा वस्त्र, आभूषण र परिधानहरू फुक्लिएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया