दास दिमाग
नेपाली राजनीतिमा एउटा भनाइ नै स्थापित भएको थियो, ‘सभामुख पद सुवास नेम्वाङका लागि बनेको हो ।’ शालीन, भद्र मात्रै होइन, कानुनको विज्ञसमेत भएका नेम्वाङ पदमा रहँदासम्म खासै चिप्लिएनन् पनि । कतै पनि नचिप्लिए विवादित हुने त कुरै भएन । पार्टीभित्र कानुनी अड्चन आउँदा नेम्वाङले मार्गनिर्देश गर्थे । उनले बोलेपछि त्यसै सही छाप लाग्थ्यो । यिनै नेम्वाङ केही दिनयता निकै आलोचनाको सिकार भएका छन् । मेरो दिमागको आयतनमा अटाएसम्म सायद यति चर्कोसँग उनी विवादमा आएको यो पहिलो घटना हो । खैर, यो अंकगणित छाडौं ।
प्रधानमन्त्रीले अनुचित अधिकार प्रयोग गर्ने भएकाले संसद् भंग गर्ने अधिकारलाई संविधानले निस्तेज गरेको अभिव्यक्ति दिने नेम्वाङले किन प्रधानमन्त्रीको कदमलाई भरथेग गर्ने गरी अभिव्यक्ति दिए ? एकाएक उनलाई यो कदम किन ठीक लाग्यो ? कानुनलाई सूक्ष्मतम ढंगले छान्ने खुबी भएका व्यक्ति किन यसरी हडबडाए ? प्रधानमन्त्रीले चालेको कदमको यहाँ चिन्ता नगरौं । कुरोको चुरो हो, दास दिमाग ।
मुलुकमा आफूलाई होनहार वामपन्थी (?) भन्नेहरू अहिले दुई कित्तामा उभिएका छन् । उनीहरू सामाजिक सञ्जालमा यसरी लागेका छन् मानौं यो निमेषभरका लागि पनि बन्द हुने हो भने सारा नेपाल चुर्लुम्म डुब्छ । नेपाल नामको पहाडी भूगोललाई यिनका स्ट्याटसले टेकासो दिएका छन् भन्ने यिनमा नमीठो भ्रम छन् ।
आजका युवा पढेका छन्, संसार बुझेका छन्, भर्चुअल रूपमै भए पनि देश दुनियाँ हेरेका छन् । ती युवाहरूले देशको परिवर्तित अवस्थामा विचारको खेती गर्नु किमार्थ बढी मान्न सकिँदैन । तर जुन तहबाट विचारको छेडछाड भएको छ, के त्यसले साँच्चै अहिलेको विषमतालाई सम्बोधन गर्ने गरी समीकरणको नयाँ विचार निर्माण गर्न सक्छ ?
मेरा एकजना अनन्य मित्र छन् । राजनीतिशास्त्रमा नै उनले स्नातकोत्तर गरेका हुन् । केपी ओली उनलाई निकै मनपर्ने नेता । एकाध महिना पहिलेसम्म केपी ओलीबारे कसैले चिया गफमा आलोचना गर्न थाल्यो भने राजनीतिका विभिन्न वाद झिकेर त्यसको चर्को प्रतिकार गर्थे ।
हिजो प्रचण्डलाई एक शब्द कसैले नराम्रो भने एक मिटर उफ्रिने युवा किन आज त्यही प्रचण्डलाई स्खलित देखिरहेको छ ?
माओवादी पृष्ठभूमिका उनी अहिले अनेक वाद झिकेर उनको प्रशंसा गर्नेलाई ठहरै पार्छन् । संसद् विघटनपछि ओलीबारे उनको दृष्टिकोण बदलिन अर्थपूर्ण हुन सक्ला तर उनले हिजो गरेका जुन कामलाई उनी स्तुतिगान गर्थे आज त्यही कुरा उनका लागि आलोचनाको ‘कि नोट’ बनेको छ । मलाई ताजुब लाग्छ राजनीति पढेको एउटा युवाको विचारको रङ पार्टी विभाजनले कसरी फिक्का बनाउँदो रहेछ, कति कमजोर बनाउँदो रहेछ ।
हिजो प्रचण्डलाई एक शब्द कसैले नराम्रो भने एक मिटर उफ्रिने युवा किन आज त्यही प्रचण्डलाई स्खलित देखिरहेको छ ? श्रीमतीलाई रोगले च्यापेर मन दुखाउँदा सिनेमाको दृश्यसँग जोडेको छ । केही ओलीलाई नेता होइन ‘बा’ भन्ने मान्छे किन उनलाई अमूक व्यक्तिको श्रीमान् भनेर भृकृटीमण्डप नै थर्काउने गरी कराएको छ ? कहिले कसको पछाडि, कहिले कसको पछाडि यस्तै कबड्डी खेल्दाखेल्दै आफूले हिँड्ने बाटो नै आजको युवाले भुलेको त होइन ? दुईवटा रङमात्रै मिलायो भने पनि नयाँ रङ बन्छ तर कयौं विचार मिलाउँदा पनि किन हाम्रा युवाको नयाँ विचार बन्न सकेन ? यो प्रश्न अहिलेको संकटसँग प्रत्यक्षरूपमा जोडिएको छ ।
प्रसंग अर्को पनि जोडौँ, अनि फेरि मन्थन गरौंला । प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि चर्को बोल्नेमा पर्छन्, प्रभु साह । प्रधानमन्त्रीको कदमविरुद्ध उनले लेखेको स्ट्याटसमा लाइक र कमेन्ट आइरहेका थिए । अचानक उनको विचारले ३६० डिग्री फन्को मार्यो । अर्थात् ओलीको असंवैधानिक कदम उनका लागि एकाएक संवैधानिक मात्रै लागेन देश डुब्न लाग्दा बचाउने नाउँजस्तो लाग्यो । के ठीक, के बेठीक त्यो फरक कुरा हो तर मन्त्री पदले उनको विचारमा स्खलन गरेको कुरा भने दिमागी दासबाहेक केही होइन ।
भगवान् नमान्ने कम्युनिस्टहरू मान्छे नामको ‘भगवान्’ निर्माण गरेर दिमागी दास बनिरहेका छन् ।
हामी चर्का बोल्छौं मात्रै होइन लेख्छौं पनि । ‘युवाको नेतृत्व यो देशका लागि नितान्त आवश्यक छ’ तर के हामीले सोचे जसरी नयाँ पुस्ता वैचारिक दृष्टिले बलियो हुँदै गएको छ त ? नेकपाको अहिलेको संकटलाई हामीले आशा गरेका युवा नेताहरूले खेलेको भूमिका हेरौं । आफूले ‘बा’ या ‘दाइ’ मानेको नेताले के भन्छ र त्यसैलाई तन्काउँदै लैजाउँला भनेर कुरिरहेको हुन्छ । कुनै एउटा कित्तामा उभिएर कसरी समीकरण हुन सक्छ ? प्रचण्डको यो कमजोरी अनि ओलीको यो कमजोरी छ भनेर अरूले भन्न नसके पनि कम्तीमा आजको युवा पिँढीले त भन्न सक्नुपर्यो ।
कुरा मिल्दा चमत्कार, बिग्रे बलात्कार भन्ने उक्ति जस्तै यो देशका महानायक मानिएका व्यक्ति अचानक कसरी खलनायक हुन्छ ? दुई किनारामा उभिएर धारेहात लगाउने हामी किन नदी बनेर दुई किनारा जोड्ने साहस गर्दैनौं ? अहिलेको विभाजनको मूलकारण कोही हो भने त्यो अहिलेको उद्दण्ड युवा नै हो । विवेकलाई झ्यालखानामा राखेर सधैं अरूका आँखाले मात्रै घटनालाई हेर्ने हो भने हामी के रह्यौँ ? भोलि कुनै दैवी चमत्कार भएर पार्टी एक भयो भने फेरि यी युवाका विचार के होलान् ? सोच्दा मात्र पनि टिठ लाग्छ ।
भगवान् नमान्ने कम्युनिस्टहरूले मान्छे नामको ‘भगवान्’ निर्माण गरेर दिमागी दास बनिरहेका छन् ।
हरेक मान्छेसँग सोच्ने अलगअलग दिमाग छ । करोडौं दिमागमा करोडौं विचार निर्माण हुुनुपर्ने तर गुटको नेतालाई भगवान् मानेर एउटै विचारलाई काठमाडौंदेखि कालीकोटसम्मका दिमागमा राख्नु अहिलेको विडम्बना हो । भगवान् नमान्ने कम्युनिस्टहरूले मान्छे नामको ‘भगवान्’ निर्माण गरेर दिमागी दास बनिरहेका छन् । कयौं वर्ष विश्वविद्यालयमा पढाएको, अनुसन्धान गरेको मानिससमेत नेताको दिमागी दास बनेको छ । आफूले मानेका नेताले भनेको ‘तथ्यपूर्ण गलत’ कुरालाई पनि सही पुष्टि गर्न लालायित देखिन्छ भने हस्ताक्षर गर्न पनि पाँच मिनेट लगाउने यो देशका नागरिकको वैचारिक अवस्था के होला ? सहजै अनुमान लगाउन सकिन्छ ।
नेकपाको अहिलेको विवाद नेताहरूबीचको ‘इगो’को देखिन्छ । मूल पार्टीका नेताहरू झगडा गरे पनि हामीले पार्टीलाई एकजुट बनाएर लैजान्छौं भनेर भ्रातृ संगठनहरू लाग्नुपर्ने होइन ? तर दृश्य त्यसो छैन । मूल पार्टीको विवाद मिल्न सक्ला तर भ्रातृ संगठनको विवाद मिलाउन हम्मेहम्मे देखिन्छ । उज्यालो भविष्य बोकेको युवा किन डाँडापारिका जून भइसकेका नेताको फेरो समातेर भविष्य बिगारिरहेका छन् ? यही पाराले राजनीतिमा पुस्तान्तरण हुन नसकेको हो ।
दुई धारमा बाँडिनुभन्दा कुनै एक मध्यधार बनाएर युवा नेताहरूले यो पटक नयाँ सन्देश प्रवाह गर्न सक्थे । तर भएन त्यसो । एक अंश पनि भएन । नेताका चर्का नारामा थप नुन थपेर चर्को बनाउनुभन्दा युवा नेताहरूको अन्य भूमिका देखिएन । सधैँ लडिरहने, पार्टीलाई टुक्राटुक्रा बनाउने, वैचारिकरूपले स्खलित भइरहने नेताको पछाडि लागेर आजको युवा पुस्ता कहीँ पनि कतै पनि पुग्न सक्दैन ।
नेताको तागत भनेको नै युवा पुस्ता हो । यही युवा पुस्ताका नेताले जे भन्छन् त्यहीलाई सही मानेर जाने हो भने कसरी नेता परिवर्तन हुन सक्छन् ? आजका युवामा भएको आलोचनात्मक चेत पार्टीको अझ भनौं गुटको आँखाले एकपाखे बनाएको छ । गलतै भए पनि आफ्नाले गरेको ठीक र अर्काले गरेको गलत भन्ने भ्रम र द्वेषपूर्ण विचारका शृंखलाले उनीहरूको भविष्यलाई ओरालोतर्फ लगिरहेको छ ।
फिनल्यान्डमा ३४ वर्षीया साना मरिन प्रधानमन्त्री हुँदा नेपालमा त्यो उमेरका नेताले मन्त्रीसम्म बन्ने सोच राख्न सक्दैनन् । अनि केको युवा नेता ? केको विचार ? केको चर्काचर्का भाषण ? साराका सारा दिमागी दासहरू !
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया