आन्तरिक वायुसेवालाई बचाउन पर्यटन पुनर्बहाली योजनामा पुनरावलोकन
कोभिड–१९ महामारीबाट अतिप्रभावित पर्यटन र नागरिक उड्ययन क्षेत्र (आन्तरिक वायु सेवा कम्पनी)लाई बचाउनका लागि सरकारले अघिल्ला वर्षमा प्रदान गरेका सहुलियतहरूको समीक्षा गर्दै थप सहुलियत र प्रोत्साहनको व्यवस्था गर्नुपर्ने आवश्यकता देखिन्छ । किनकी यो वर्षपनि पर्यटकको आगमनमा सुधार हुन सकेन, मार्चदेखि पर्यटकीय सिजन सुरु हुँदैछ । फ्रेबुअरीको दोस्रो सातासम्म बुकिङ्ग आएको छैन, आउने संकेत पनि देखिदैंन ।
अहिले पर्यटकको आवागमनमा सामान्य सुधार भएको नेपाल पर्यटन बोर्डको तथ्यांक छ, यो भारतीय पर्यटकको तथ्यांक हो । उनीहरू प्रायःजसो स्थल मार्गबाट आएका छन् वा हवाई मार्गबाट आएपनि उनीहरू खर्चालु पर्यटक होइनन् । खासगरी हेलिकप्टर व्यवसायका लागि पर्वतारोहण र पदयात्रामा जाने पर्यटक नै आम्दानीका स्रोत हुन् ।
खुम्बु, लाङ्गटाङ्ग, अन्नपूर्ण, धवलागिरी, मनास्लु लगायतका आधार शिविरसम्म पदयात्रामा जाने वा पर्वतारोहणका लागि जाने पर्यटकहरूको बसाइ अवधि लामो हुनुका साथै भरियाहरूको आवश्यकता हुन्छ अनि हिमाली क्षेत्रमा अन्य यातायातका भरपर्दो विकल्प नभएकाले उनीहरू हेलिकप्टरको प्रयोग गर्छन् । पर्वतीय क्षेत्रका होटल तथा रिसोर्टहरूको पनि व्यवसाय बढ्छ । त्यसकारण पर्यटकको आवागमनले पर्यटनसँग सम्बन्धित सबै व्यवसायलाई लाभ पुर्याउँछ ।
सरकारसँग हामीले पर्यटन पुनर्बहाली योजनामा काम पनि पनि गरिरहेका छौं । महामारी आएपछिको पहिलो एक वर्ष त सरकारले यस क्षेत्रका समस्यालाई केही हदसम्म सम्बोधन गर्यो, त्यसपछि पनि पर्यटन क्षेत्रको अवरोह निरन्तर नै छ, तरपनि सरकारले दिएका सुविधाले निरन्तरता पाएनन् । बैंकहरूले पर्यटन व्यवसायीलाई कर्जा तिर्न ताकेता गरिरहेका छन्, धेरैजसो व्यवसायले कर्जाको पुनर्तालिकीकरण र पुनःसंरचना गराइरहेका पनि छन् । ठूलो कर्जा परिचालन गरेका यी कम्पनीहरूलाई बचाइराख्नु बैंकहरूको पनि बाध्यता हो । फेरि कम्पनीहरूसँग पनि अन्य विकल्प छैनन्, श्रीसम्पत्ति नै यसैमा लगाइएको छ । हेलिकप्टर क्षेत्रका कम्पनीहरू निकै ठूलो समस्यामा छन्, तीन दिनमा मुश्किलले एउटा फ्लाइट पाउँछन् । अहिले ११ कम्पनीका ३५ हेलिकप्टर सेवा दिन तयार अवस्थामा छन् । पहिले नै तयारी भएकाले कोभिड–१९ को बीचमा पनि मुस्ताङ्ग हेलिकप्टर कम्पनी थपियो । त्रिलोक र अन्नपूर्णले भने अहिलेको व्यवसायिक अवस्था हेरेर त्यसलाई थाती राख्ने बुद्धिमतापूर्ण निर्णय लिएका छन् ।
आन्तरिक उडानमा ५१ ओटा ‘फिक्स्ड विङ्ग’ जहाज छन् । बुद्ध एयर र श्री एयरलाइन्सले थप्ने क्रम जारी छ, अन्य एयरलाइन्सले पनि थप जहाज ल्याउने तयारी गरिरहेका छन् । यसबीचमा राजनीतिक दलहरूको महाधिवेशनका कारण आवागमन बढेको कारण निश्चित सेक्टरमा जहाजको उडान संख्या र यात्रु संख्या बढेको थियो । कुनै सेक्टरमा दैनिक ४ ओटा जहाज सेड्युलमा रहेकोमा ५–६ ओटा उडानसम्म भए । तर अहिले पुनः जहाजहरू ४०–५० प्रतिशत सीटहरू खाली राखेर उड्न बाध्य छन् ।
यसैबीचमा बुद्ध एयरले क्षेत्रीय तहमा उडान गर्न खोजिरहेको छ । नेपालको पर्यटन क्षेत्रमा सबैभन्दा आकर्षक गन्तव्य पोखरा भएको र पोखरा र भैरहवामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुँदै गरेकाले पनि बुद्धले पोखरा–भैरहवा उडान गर्न खोजेको छ । बुद्धले विगतमा पोखरा र जनकपुरबाट भारतका क्षेत्रीय सहरमा उडान गर्न खोजीरहेको थियो । आन्तरिक यात्रुको आवागमनले मात्रै पनि एयरलाइन्स बाँच्न सक्छ कि भनेर बुद्ध एयरले माहौल पनि सिर्जना गर्यो । हुन त वर्षाका कारण सडकमार्गको यात्रा कठिन र अनुमानयोग्यता कम भएका कारण यात्रुहरूले हवाई यात्रा नै रोज्ने गरेको पाइयो । साथै हवाई टिकटको मूल्य पनि नागरिक उड्ययन प्राधिकरणले तोकेको हवाइ भाडाको तल्लो सिलिङ्गमा टिकट बिक्री गरेका कारण पनि यात्रु जहाजमै उड्न प्रोत्साहीत भएका हुन् । हाम्रो आन्तरिक उडानमा सबैभन्दा लामो रूट धनगढी एक घण्टा अवधिको फ्लाइट हो, तर सडकमार्गबाट जानुपर्यो भने एक दिन भन्दा धेरै समय लाग्छ । समय, सुरक्षित उडान र भाडा पनि सस्तो भएकाले हवाई मार्गको आवागमन आम मानिसको रूचिमा परेको यथार्थ हो ।
अब विवाहको सिजनमा यात्रुको संख्या बढ्छ । कुनै ठूला कार्यक्रम, सभा–सेमिनारले पनि यात्रुको संख्या बढ्छ । अब निर्वाचनमा हुने आवागमनले पनि यात्रुको चाप बढ्ला । तर हेलिकप्टर व्यवसायीले त अघिल्लो पटक निर्वाचनमा सेवा दिएको भुक्तानी कतिपयले अझै पनि पाएका छैनन् ।
कोभिड–१९ महामारी पछि लगातार तेश्रो वर्षसम्म व्यवसाय गुमाएका वायु सेवा कम्पनीहरूलाई बचाउन सरकारले पुनरुत्थान योजनामा पुनरावलोकन गर्नैपर्छ ।
ट्रंक रूटमा यात्रुको संख्या राम्रो भएपनि स्टोलमा धेरै यात्रुको आवागमन हुँदैन, पहिले खाद्यान्न ढुवानी आदिका कारणले पनि व्यवसाय पाउँथे । अहिले त्यो व्यवसाय पनि कम छ । त्यसो त हेलिकप्टर व्यवसायले व्यवसायलाई विविधिकरण गर्न नखोजेको पनि होइन, हामीले मेलामहोत्सवमा हेलिकप्टर राखेर साइटसिइङ्ग (दृश्यावलोकन)का लागि उडाउन थालेका थियौं । यतिबेला कोभिड–१९ले गर्दा मेलामहोत्सव पनि आयोजना भैरहेको छैन । भर्खरैमात्र सुदूरपश्चिमको बढीमालिकामा मेलाका लागि तयारी भैरहेको छ, त्यहाँ हामीले कोभिड–१९ अगाडि पनि मेलामा हेलिकप्टर उडाउने गरेका थियौं । मेला भन्दा तीर्थस्थलको उडान केही दीगो र स्थायित्व देखिएको छ । तीर्थस्थलमा अहिले सबैभन्दा राम्रो चलेको पनि गोसाइकुण्ड नै हो । काठमाडौँबाट २० मिनेटको हवाई यात्रा भएकाले नजिकको र सस्तो गन्तव्य हो । अहिले १८ हजारदेखि २० हजार रुपैयाँमा हेलिकप्टरको टिकट बिक्री भैरहेको सुनिन्छ । एक त उनीहरूले तीन दिनमा एउटा फ्लाइट पाउँछन् त्यसमा पनि घटाघटको स्थिति छ ।
त्यस्तै, पाथिभरामा पनि हेलिकप्टरले उडान गरिरहेका छन् । पहिले हामीले झापाबाट शुरु गर्यौं, त्यसपछि अझै सस्तो बनाउँदै धरान र अहिले भेडेटारबाट उडान गरिरहेका छौं । विहानपखको मौसमले पनि साथ दिने र यात्रुका लागि बस्न होटलको राम्रो व्यवस्था र विराटनगरबाट इन्धन लैजान पनि सहज भएकाले भेडेटारलाई आधार बनाएर उडान भैरहेको छ ।
हेलिकप्टरको सञ्चालन लागत करिब–करिब १,५०० अमेरिकी डलर हुन्छ, त्यसलाई हामीले १,६०० अमेरिकी डलरमा बेच्दै आइरहेका थियौं । अहिले १,१०० डलर, त्यो भन्दा पनि अझै कम १,०५० डलरमा बेचिरहेका छन्, किनकी दैनिक कारोबार, कर्मचारी तथा प्रशासनिक खर्चका लागि पनि नगदप्रवाह हुनुपर्यो । हरेक जहाजको क्यालेन्डर लाइफ, साइकल लाइफ वा सर्भिस लाइफ हुन्छ । एउटा इन्जिन नै नयाँ किन्नुपर्यो भने ९ करोड रुपैयाँ लाग्छ । त्यतिबेला फन्ड कहाँबाट ल्याउने ? त्यो स्थिति यस्तो आउँछ कि जहाँ कम्पनीले धितोबन्धकको माथिल्लो सीमासम्मको ऋण लिइसकेको हुन्छ, त्यसपछि थप ऋण लिनका लागि धितोबन्धक नहुनसक्छ । जहाज ग्राउण्डेड भैसकेको हुन्छ, त्यतिबेला हात उठाउनुबाहेक विकल्प हुँदैन । अहिले सबै कम्पनीको हालत यस्तै छ ।
बैंकको ब्याज र इन्धनको मूल्य बढ्दा वायुसेवा कम्पनीलाई थप संकट परेको् छ । सरकारले यही समयमा हवाई इन्धनको मूल्य बढाएको छ । प्रतिलिटर हवाइ इन्धनमा १८ रुपैयाँ नाफा लिइन्छ । नेपाल आयल निगमसँग कुरा गर्दा पनि उहाँहरू अन्य पेट्रोलियम पदार्थको ‘क्रस–सब्सिडी’का लागि बढी मूल्य निर्धारण गरेको भन्ने तर्क आउँछ । तर अब नागरिक उड्ययन उच्च क्रयशक्ति भएकाहरूको मात्र लागि नभएर सबै मानिसहरूका लागि हो भन्ने निगमले बुझ्न आवश्यक छ ।
सरकारलाई वायु सेवा सञ्चालक संघले मात्र नभएर नेपाल उद्योग वाणिज्य महासंघमार्फत् पनि पुनर्बहालीका स्कीम, सहुलियत/प्रोत्साहन पुनरावलोकनका लागि पहल गरिरहेका छौं । हामीले पुनर्बहाली योजनामा सरकारसँग प्रत्यक्ष सहयोग भन्दा पनि बैंकको ऋणको ब्याजदर, कर, अन्य शुल्क र इन्धनमा ख्याल गर्दिनुस् भनेका छौं । शुरुको वर्ष पुनकर्जाको व्यवस्था पार्किङ्ग शुल्क र नवीकरण शुल्क मिनाहा गरिएको थियो । तर यो व्यवस्थाले निरन्तरता पाउन सकेन, यो बिडम्बनापूर्ण छ ।
सुरुवातमा पर्यटन तथा वायु सेवा क्षेत्रमा दुई वर्षपछिबाट पर्यटकको आवागमन बढ्न थाल्छ र क्रमशः पुनर्बहालीतर्फ अगाडि बढ्नेछ भन्ने लागेको थियो । तर त्यस्तो भएन, सन् २०२२ को पहिलो सिजनको परिदृश्य निराशाजनक छ । खासगरी हेलिकप्टर कम्पनी र पाँचतारे होटलको व्यवसाय पुनर्वहालीका लागि पर्यटकको आवागमनमा सुधार हुनैपर्छ । हेलिकप्टर व्यवसाय त ‘ड्राइ अपरेटिङ्ग कस्ट’मा पनि बेच्न नसकेर अझै घटाइरहेका छन् । केही हेलिकप्टरले सिलिङ्ग अपरेसनमा पनि काम गरिरहेका थिए, केही सामान झुण्ड्याएर लैजाने, जलविद्युत्, प्रसारणलाइनका टावर राख्ने, निर्माण क्षेत्रका काम गर्ने गर्थे, पहाडी र हिमाली क्षेत्रमा हुने निर्माणका लागि सामग्रीहरू लैजाने काम गर्थे । कोभिड–१९ ले निर्माण क्षेत्रमा पनि गतिविधि कम भयो । अहिले सरकारको विकास खर्च अत्यन्त कम छ, यसले सबै क्षेत्रमा प्रभाव परेको छ । अहिले बैंकले फेरि ब्याज बढाउँछु भन्न थालेका छन् । सरकारले सहयोग गर्दैन, पर्यटकको आवागमन छैन; अब वायु सेवा/पर्यटन क्षेत्रका व्यवसायी कहाँ जाने ? हिजोको दिनमा कुल गार्हस्थ उत्पादनमा २–३ प्रतिशत वायु सेवा क्षेत्रले मात्र योगदान गरेको थियो, त्यसलाई कदर गर्दै यो क्षेत्रलाई बचाएर राख्नु सरकारको दायित्व पनि हो ।
अरु धेरै समस्याको हामी व्यवसायिक क्षेत्रबाट समाधान निकाल्न सक्छौं, अहिले हामीले जेजति समस्याहरू व्यहोर्नुपरिरहेको छ, त्यसको समाधान हामीसँग छैन । सरकारले सहयोग नगरी हुँदैन, तसर्थ सरकारले पर्यटन क्षेत्र तथा वायु सेवा क्षेत्रको पुनर्बहाली योजनालाई एकपटक राम्ररी पुनरावलोकन गर्नुपर्छ ।
(कुराकानीमा आधारित)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया