विचार

अधिनायकवाद बाजा बजाएर आउँदैन

राजाराम बर्तौला |
पुस २९, २०७७ बुधबार १७:३७ बजे

लोकतन्त्र भनेको मानिसमा अन्तर्निहित प्राकृतिक चाहना हो । जो, संस्कारका रूपमा विकसित हुन्छ र जीवनको अभिन्‍न अंग भएर बसेको हुन्छ । यस्तो चाहना व्यक्तिले समाजको क्रिया वा प्रतिक्रियाको आधारमा व्यक्त, अव्यक्त वा सांकेतिक रूपमा अभिव्यक्त गरिरहेको हुन्छ ।

 मानिसको चेतनास्तरको विकाससँगै उसको वैयक्तिक स्वतन्त्रता र व्यक्तिगत वा सामाजिक उन्नयनको ध्येय प्रकट वा अप्रकटरूपमा बारम्बार मुखरित हुँदै आएको छ । अधिनायकवादको जञ्‍जिर फोर्न हरेक प्रयत्‍न गरेको छ । चाहे त्यो घर होस् या राज्य, अधिनायकवाद कसैको पनि प्रिय हुन सकेको छैन । यद्यपि, राज्यको सिर्जना पराधीनताबाट गणको रक्षाका लागि भएको भए पनि गणाधिपतिबाट हुने अधिनायकवाद स्वीकार्य थिएन भन्ने कुरो गणभित्रै हुने विद्रोहका कथाहरूले प्रस्ट पारेका छन् । 


जब राज्यले व्यक्तिको नैसर्गिक अधिकारमाथि अवैधानिकरूपमा नियन्त्रण वा नियोजन गर्न थाल्छ, नागरिकहरूको स्वतन्त्रता सीमित वा संकुचन गर्ने प्रयत्‍न गरिन्छ त्यस प्रकारको बन्धनबाट मुक्तिका लागि नागरिक आन्दोलन वा विद्रोह भएका उदाहरण विश्‍व इतिहासमा पढ्न पाइन्छ । पराधीनताबाट रक्षाका लागि बलियो सरकार र राज्य संयन्त्र चाहिने र निरंकुश सत्ताबाट स्वतन्त्रता पनि चाहिने जस्तो द्वन्द्वात्मक अवस्थावाट नागरिक समाज शदीयौंदेखि गुज्रिँदै आएको छ ।
 
लोकतन्त्र एक किसिमको स्वराज हो, जसमा सरकारले लिने हरेक निर्णयमा बहुसंख्यक जनताको प्रभाव रहेको हुन्छ (ब्रियन एस. रोबट, हिस्ट्री अफ डिमोक्रेसी) । यस्तो स्वराजको अभ्यास परापूर्वकालदेखि विभिन्‍न स्वरूपमा हुँदै आएको छ । लोकतन्त्रको इतिहासमा विश्‍वमा तीन किसिमको (एथेनियन, उदार प्रतिनिधिमूलक र समानुपातिक, समावेशी सहभागितामूलक) विशिष्टीकृत लोकतन्त्रको विकास एवं अभ्यास भएको देखिन्छ ।

थाहै नपाई लोकतन्त्र परतन्त्र भइसकेको हुनेछ ।

लोकतान्त्रिक शासन व्यवस्थाको अभ्यास गर्दै जाँदा समयक्रममा यसको पतन एवं पुनरुत्थान भएका छन् । यस किसिमको परिवर्तन समाजमा लगातार भइरहने आन्तरिक एवम् अन्तर्द्वन्द्व र ती अन्तर्द्वन्द्वहरूलाई व्यवस्थापन गर्न नसक्नु नै प्रमुख कारक र कारणका रूपमा देखिएका छन् ।
 
सामाजिक अन्तर्द्वन्द्वलाई समयमा निरुपण एवम् निकास दिन नसक्दाको परिणाम तानाशाहहरूको पुनरुदय भई लोकतन्त्र नासिएका पनि देखिएका छन् । वर्तमान समयको लोकतन्त्रको उदयलाई हेर्ने हो भने पनि मूलतः बेलायती (सन् १६४०-८९), अमेरिका (सन् १७७६-९०) र फ्रेन्च (१७८९-९५) लाई महत्वपूर्ण मानिएका छन् र यी मुलुकमा लोकतन्त्रका लागि भएको संघर्ष र त्यसबाट सिर्जित शासन व्यवस्थाको मूलभूत गुण एवम् ढाँचाको बौध्दिक एवं राजनीतिक प्रभाव संसारभरिको लोकतन्त्रमा कुनै न कुनै अंशमा परेको देखिन्छ । 

बेलायत, जसलाई संसदीय लोकतन्त्रको जननी मानिन्छ, त्यहाँ पनि राजालाई फालेर गणतन्त्रको अभ्यास गरिएको थियो । छोटो अवधिमा नै ‘यद्यपि, राजाको शासन अधिनायकवादी हो तथापि असंख्य सम्भ्रान्तहरूको अधिनायकवादभन्दा कता हो कता उत्तम हुन्छ’ (सन् १६६० मा बेलायती संसदीय भाषण, म्यानिङ २००३ : १९६) भन्दै राजतन्त्र पुनःस्थापना गरिएको थियो ।

फ्रान्सको अहिले भइरहेको गणतन्त्रलाई पाँचौँ गणतन्त्र भनिन्छ । फ्रान्समा राजा फालेर ल्याएको गणतन्त्रले अर्को नेपोलियन बोनापार्टको अधिनायकवाद जन्माएको थियो । जर्मनीमा लोकतान्त्रिक संविधानअन्तर्गत निर्वाचित संसद्ले नै हिटलर जन्माएको थियो ।

लोकतन्त्रमाथि जबजब प्रहार हुन्छ र तानाशाही प्रवृत्तिको उदय हुन्छ, जनताका मूलभूत अधिकार र स्वतन्त्रतामाथि राज्यको हस्तक्षेप र हमला हुन्छ त्यसविरुध्द जनता गोलबन्द भई विरोधमा उत्रनु उसको नैसर्गिक अधिकार र कर्तव्य हुन्छ । लोकतन्त्रमा परिवर्तन र समृध्दिको चाहना अनुभूत गर्न पाएनन् भने उनीहरूमा वर्तमान शासन शैलीसँग बेचैनी, छटपटी र वितृष्णा बढ्छ । यस्तो अवस्थामा मौकाको फाइदा लिन तीक्ष्ण र धूर्त राजनीतिक खेलाडी, भित्री एवं बाहिरी कुटिल असामाजिक तत्वहरूले आफ्नो अभीष्ट साधनाका लागि राजनीतिक धारलाई अव्यवस्था एवम् अशान्ति सिर्जना गरी खेल्ने अवसर प्राप्त गर्छन् । 

मुलुकको बेथितिको अवस्था आँखै अगाडि देखिँदा चेतनशील नागरिक समाज उठ्‍ने बेला भएन र ?

नेपाली जनताले लोकतन्त्रका लागि एकपटक होइन बारम्बार आन्दोलन गरी रगत बगाएका छन् । आफू र आफ्ना सन्ततिहरूका लागि उज्ज्वल भविष्यको कामना गर्दै बगाइएका रगतको सम्मान गर्न राज्य सधैँ चुकेको छ । चाहे त्यो २००७ सालको परिवर्तनले ल्याएको अवसर होस् वा २०४७ र २०६२/६३ कुनै न कुनै बहानामा लोकतन्त्रको चीरहरण भएको छ । लोकतन्त्रको उपहास गरिएको छ । जनताको अभिमतलाई अपमान गरिएको छ । जनताको परिवर्तनप्रतिको चाहना केही सीमित नेताहरूको आत्मरति भएको छ । जनताको विश्‍वसमा घरीघरी आघात हुँदै आएको छ । 

२०६२/६३ को राजनीतिक परिवर्तनले संघीयतासहितको लोकतन्त्र र गणतन्त्रको यात्रा तय गर्‍यो । त्यसैबमोजिम संविधान निर्माण भई सरकार गठन भए । सुखी र समृध्द नेपाल बन्‍ने सपना घरघरमा पुर्‍याइए । परिवर्तनको अनुभूति गर्न नपाएका जनता फेरि एक पटक सडकमा आउन बाध्य पारिएको छ । सडकमा, ‘राजा आऊ, देश बचाऊ’ भन्दै नारा लाग्‍न थालेको छ । परिस्थिति सन् १६६० को बेलायतको संसदीय भाषणमा भनिएकै जस्तो ‘अनेकौं सम्भ्रान्तहरूको अधिनायकवादभन्दा एउटै राजा ठीक’ भन्‍ने अवस्था सिर्जना गर्न खोजिएको छ । मुलुकका लागि र लोकतन्त्रका लागि यो शुभसंकेत अवश्य नै होइन । 

अधिनायकवाद ताली ठोकेर वा ढोलक बजाएर आउने होइन । शासकहरूको शासन गर्ने वृत्ति, मनोकांक्षा, महत्वाकांक्षा, बढ्दै जाँदा नागरिकहरूको मूलभूत अधिकारमाथि नियन्त्रण बढाउँदै लगी मनोवाञ्छित उद्देश्य प्राप्तिका लागि संवैधानिक बाधा-व्यवधानहरू आफू अनुकूल व्याख्या गर्दै अघि बढ्ने हुन्छन् । संविधानले व्यवस्था गरेका स्वतन्त्र नियामक निकायमाथि क्रमशः अतिक्रमण गर्दै त्यस्ता संस्थाहरूलाई निष्क्रिय र निस्तेज गर्दै गई राज्यका अन्य अंगहरूका अधिकारलाई पनि एक व्यक्ति वा सानो कोटरीमा सीमित गरी राज्य सञ्‍चालन गर्ने प्रवृत्ति हाबी हुन्छ ।

यस्तो अवस्थामा पनि त्यसको विपक्षमा आवाज उठेनन् भने, परोक्षरूपमा प्रश्‍नहरू गरिएन भने लोकतान्त्रिक संस्थाहरू निर्बल हुन पुग्छन् जसले अधिनायकवादलाई जन्म दिने अवसर प्रदान गर्छ । जनता सहज पहरेदार भएनन् भने थाहै नपाई अधिनायकवादको पुनरागमन भइसकेको हुनेछ । थाहै नपाई लोकतन्त्र परतन्त्र भइसकेको हुनेछ र जनता विवश र लाचार भएर अर्को अवसरको लामो प्रतीक्षामा बस्‍नुबाहेक अर्को उपाय हुनेछैन ।  
 
नेपाल अहिले यही अवस्थाको चौराहमा खडा भएको छ । कुन दिशा जाने हो, हाइवे वा उबडखाबड कार्ट वे । माई वे वा योर वे ? चुनौती हाम्रो सामु छ । छनोट हाम्रो हो, लोकतन्त्र, परतन्त्र या अधिनायकवाद । यहाँ परतन्त्रवाद भनेको विदेशी चलखेल र हस्तक्षेपलाई भनिएको हो । जतिजति हाम्रो आन्तरिक अवस्था खलबलिन्छ, त्यति त्यति विदेशी चलखेललाई अवसर प्राप्त हुन्छ र त्यो परोक्षरूपमा देखिएको पनि छ ।

आन्तरिक अवस्था र अस्थिरतामा हाम्रो स्वतन्त्रताको, लोकतन्त्रको र विकासको चाहना र त्यसको प्रवर्धनविपरीत विदेशीका निहित एजेन्डाहरूले प्रश्रय पाउने अवस्था आउन दिनु परतन्त्र स्वीकार्नु सरह नै हो । मुलुकको बेथितिको अवस्था आँखै अगाडि देखिँदा चेतनशील नागरिक समाज उठ्ने बेला भएन र ? नेपालको यो लोकतन्त्र तेस्रो भर्सन हो । हामी कतै चौथो भर्सनको लागि प्रतीक्षा गरिरहेका त छैनौं ? 


Author

थप समाचार
x