विचार

कम्युनिस्टहरू खुत्रुके हुन्थे, अहिले नेपाली कांग्रेस भएको छ

प्रा. डा. पुष्पकमल सुवेदी |
फागुन १५, २०७८ आइतबार ८:२३ बजे

भारतमा कम्युनिस्टहरूलाई विपक्षीहरूले गद्दार भनेर आरोप अहिलेसम्म पनि लगाइन्छ किनभने ब्रिटिसलाई भारत छोडो भन्ने आन्दोलनमा कम्युनिस्टहरू मौन बसेको र यसैलाई लिएर तत्कालीन भारतीय कम्युनिस्ट पार्टीका महासचिव बिटी रणद्विपे बढी आलोचित भएका थिए । हिटलरको विरुद्धमा सोभियत संघ र ब्रिटिस सरकारको गठबन्धन भएकाले भारतीय कम्युनिस्टहरू पनि सोभियत युनियनले खेलेको भूमिकाले गर्दा मौन बस्दा भारतमा कम्युनिस्ट आन्दोलनले धेरै मार खानुपरेको इतिहास पढ्न पाइन्छ । यो प्रसंग नेपालमा उग्र क्रान्तिकारी कुरा गर्ने कम्युनिस्टहरूसँग मेल खाने हुँदा कसरी विपक्षीहरूले यिनीहरूलाई प्रयोग गरेका छन् भनेर केही ऐतिहासिक उदाहरण यहाँ प्रस्तुत गरिएको छ । 

कामरेडीहरूको प्रयोग 
विसं. २०१७ सालमा शिशु संसदीय प्रजातन्त्रविरुद्ध राजाले गरेको संसद्को विघटनमा भरखर उदयमान हुँदै गरेको कम्युनिस्ट शक्ति पनि डा. केशरजंग रायमाझीको नेतृत्वमा संस्थागत रूपमा राजाको उक्त कदमलाई समर्थन गरेको पाइन्छ र सोही कारण सिङ्गो कम्युनिस्ट पार्टी विभाजन भई छिन्नभिन्न भई गुट–उपगुटको नेतृत्वमा धेरै कम्युनिस्ट पार्टीहरू जन्मेका थिए र अहिले पनि अस्तित्वमा छन् । 


जनमत संग्रहमा बहुदलविरुद्ध पञ्चायतलाई सहयोग हुने गरी चुनाव बहिष्कारको कार्यक्रमलाई सशक्त बनाउन भूमिका खेल्ने ज्युँदा नेताहरूमध्ये मोहनविक्रम सिंह, माधवकुमार नेपाल, पुष्पकमल दाहाल, मोहन वैद्य, सिपी मैनाली, झलनाथ खनाल, चित्रबहादुर केसीलगायत धेरै कम्युनिस्ट नेताहरू हाल एमसीसी परियोजनाको विरुद्धमा देखिएका छन् ।

यी नेतृत्वहरूसँग सम्बन्धित पार्टीहरूले सत्ता ब्यालेटबाट हैन, बन्दुकको नालबाट सम्भव हुन्छ भन्ने परम्परावादी कम्युनिस्ट सिद्धान्तबाट निर्देशित भएर जनमत संग्रह बहिष्कार गरेका कारण बहुदलविरुद्ध पञ्चायत जिताउन तत्कालीन दरबार सफल भएको मानिन्छ भलै चुनावको मुखमा यी नेतृत्वहरूका पार्टीहरूले बहुदलको समर्थनमा भोट हाल्न निर्णय गरे तापनि त्यो सफल हुन सकेन किनभने छोटो समयमा बहुदलको समर्थनमा कार्यकर्ताहरूको मानसिकता परिवर्तन हुन असम्भव भयो तसर्थ न बहिष्कार भयो न बहुदलमा मत जाहेर भयो ।

सुधारिएको पञ्चायती व्यवस्थाका लागि स्थापित गर्न बनेको संविधान घोषणापश्चात् बनेको राजनैतिक परिस्थितिमा मोहनविक्रम सिंह नेतृत्व कम्युनिस्ट पार्टी विभाजनतिर उन्मुख हुँदै गएको र भूपू नेकपा (माले)को शक्ति बिस्तारै संगठित हुन थालेको पाइन्छ जसका कारण राष्ट्रिय पञ्चायतको चुनावमा केही सिट जिताउन सफल भएको थियो । 

जब गणेशमान सिंहको नेतृत्वमा पञ्चायती व्यवस्थाविरुद्ध वामपन्थीलाई पनि सँगै लिएर हिँड्न प्रयास गरियो तब कांग्रेस–वामपन्थी गठबन्धन भत्काउन तत्कालीन पञ्चायती सरकारले झापा आन्दोलनका राजबन्दीहरू रिहा गर्न सुरु गर्न थाल्यो तर तत्कालीन नेकपा (माले) र निर्मल लामा नेतृत्व नेकपा विगतमा जनमत संग्रहमा गरेको गल्ती सुधार्दै गणेशमानको नेतृत्वमा बहुदलीय पुनस्थापना आन्दोलनमा सहभागी भई सो आन्दोलनको अपनत्व गर्‍यो तर मोहनविक्रम सिंह नेतृत्व नेकपा (मशाल/मसाल) राजा कांग्रेस र वामपन्थीबीचको सम्झौताविरुद्ध प्रत्यक्ष वा अप्रत्यक्ष आन्दोनल सुरु गरेको थियो जसको प्रतिफल अन्तत्वगत्वा माओवादी जनयुद्ध सुरुवात गर्ने नेतृत्व बन्न पुगेको थियो । 

बहुदलीय व्यवस्थाको पुनःथापना भएपश्चात् छिन्नभिन्न भएका पुराना मसाल/मशालका नेता तथा कार्यकर्ताहरूबाट मोहनविक्रम सिंहको नेतृत्वमा पुनः पार्टी एकीकरण भएको केही समयको अन्तरालमा प्रचण्ड वैद्यलगायतहरू सो पार्टीलाई पुनर्गठन गर्दै नेकपा (माओवादी) पार्टी निर्माण गरेर नेपालमा स्थापित हुन लागेको संसदीय व्यवस्थाविरुद्ध संघर्षको नेतृत्व गरेका थिए । भारतमा बसेर भारतलाई विस्तारवादी र अन्तराष्ट्रिय प्रमुख शत्रुसमेत भन्न पछि नपर्ने नेपालको फुच्चे राजनैतिक पार्टी माओवादी जसले कम्युनिस्ट राज्य सत्ताका लागि जनसंघर्ष सुरु गरेको छ त्यसैलाई भारतले कसरी प्रयोग गरी नेपालमा राजनैतिक अस्थिरता बनाएको हालसम्मको घटनाक्रमले स्पष्ट बनाउँछ ।

कोशी र गण्डक सम्झौतालाई राष्ट्रघात देख्ने नेकपा (एमाले) उस्तै खालको महाकाली सन्धि गर्न प्रमुख भूमिका खेलेको थियो । विगतमा भारतलाई विस्तारवादी भनी अति राष्ट्रवादी बन्न खोज्ने कम्युनिस्टहरू भारतको संस्थापन पक्षसँग कति नजिक छन् भनेर बुझ्न महाकाली सन्धि र माओवादी आन्दोलनले उब्जाएको वर्तमान परिस्थितिको मात्र मूल्याङ्कन गर्दा हुन्छ ।  

जनमत संग्रहको दौरानमा बहुदल निर्दल एउटै ड्याङका मुला भनी माले/मसालेले निरंकुश राजतन्त्रलाई फाइदा हुने राजनीति गरेको र बहुदलको आगमनपश्चात् हिजोका मसाल/एकता केन्द्र आजका माओवादी जनसंघर्षको नाममा भारतको गोटीका रूपमा प्रयोग भएको विगतका घटनाक्रमले प्रस्ट्याउँछ । यसका साथै क्रिस्चियन मिसिनरीले माओवादी जनसंघर्षलाई प्रयोग गरी नेपालको परम्परागत सामाजिक संरचना भत्काउन लागेको पनि स्पष्ट देखिन्छ । इसाईहरू र गिर्जाघरहरूको संख्या बढ्नुमा माओवादी आन्दोलनको भूमिका छ किनभने हिन्दू धर्मले गाँजेको नेपाली समाज नभत्काई आफ्नो अस्तित्व कायम गर्न सक्ने अवस्था माओवादीले बुझेको थियो । यसै स्वरूप नेकपा (माओवादी)ले सशस्त्र आन्दोलनको दौरानमा धर्म परिवर्तन गर्न प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोगी भएको पाइन्छ ।

कम्युनिस्टहरूको परम्परागत शैली
यो यथार्थ हो कि अमेरिका कम्युनिस्ट विरोधी देश हो जहाँ जान कम्युनिस्ट सदस्य नभएको जानकारी निवेदनमा भर्नुपर्छ । शीतयुद्धकालीन समयमा सोभियत संघले व्याख्या गरेको अमेरिकी साम्राज्यवादको नारा विश्वका प्रायः कम्युनिस्ट पार्टीहरूले अंगिकार गरेको पाइन्छ । तत्कालीन सोभियत संघ र चीनमा प्रतिक्रान्ति भयो भनेर सामाजिक साम्राज्यवादको समेत व्याख्या गर्ने मोहनविक्रमदेखि वैद्यलगायत चीनको नजिक बन्न खोज्ने प्रचण्ड र अन्य ससाना कम्युनिस्ट पार्टीहरू अमेरिकन परियोजना एमसीसीको विरुद्धमा कार्यकर्ताहरू सडकमा उचालेर विरोध गर्नु स्वाभाविक छ । एमसीसीलाई गिज्याएर अमेरिका र चीनलाई जबर्जस्ती भिडाउने वातावरण तयार गर्न नेपाली कम्युनिस्टहरूकै प्रमुख भूमिका छ । 

कुनै पनि मित्रराष्ट्रहरूको सहयोग र अनुदान उनीहरूको स्वार्थसँग जोडिएको हुन्छ यो ध्रुवसत्य हो । विगतका प्रायः कम्युनिस्ट तथा गैरकम्युनिस्ट नेतृत्व सरकारले बुझेर सम्झौताको विभिन्न अवस्था पूरा गरेर एमसीसी परियोजना अगाडि बढाएको देखिन्छ भने अहिले आएर सत्तामा बसेर सडकमा विरोधमा उत्रनु नैतिकता पनि होइन । वैधानिक विधि प्रयोग गरी सम्झौतासँग जोडिएको सर्तमा एमसीसी स्वीकार्ने वा नस्वीकार्ने संसद्मा छलफल गरेर निर्णयार्थसहित टुङ्गयाउनु सकिन्छ तर एकातिर कम्युनिस्ट सभामुख तगारो बनेका छन् भने अर्कोतिर प्रतिपक्ष उही सभामुखको विरोधमा सदन अवरोध गरिराखेका छन् । 

अन्त्यमा,
चाहेर वा सत्ता स्वार्थका लागि वामपन्थी एकताको नाममा नजिक भएर एकीकृत बनेको नेकपा तीन वर्षको अन्तरालमा पुनः नेकपा (एमाले) र नेकपा (माओवादी)को पुरानै शत्रुतामा फर्केको थियो जसका लागि एमसीसी एक मुख्य मुद्दा बनाएको थियो । फलस्वरूप ओलीले पहिलो मध्यावधि निर्वाचन घोषणा गरेका थिए । यी मिल्न नसकेका दुवै कम्युनिस्ट पार्टीहरूलाई भिन्न–भिन्न प्रक्रियाबाट प्रयोग भई आफैँले मागेको एमसीसी परियोजनाका नाममा आपसमा लड्दै थिए ।

नेकपा फुटको तत्कालीन प्रभाव र कम्युनिस्टहरूबीचको कमजोरीलाई जनताबीचमा लाने उत्तम विकल्प मध्यावधि निर्वाचन थियो र नेपाली कांग्रेसले यसबाट फाइदा लिन सक्थ्यो तर उसले मध्यावधि निर्वाचनलाई ओलीको व्यक्तिगत महत्वाकांक्षासँग दाँजेर नयाँ निर्वाचनमा जानुभन्दा माओवादीको प्रयोग नीतिमा प्रभावित भयो । विगतमा नेपालका कम्युनिस्टहरूलाई धेरै शक्तिहरूले प्रयोगशाला बनाएका थिए आज नेपाली कांग्रेस कम्युनिस्टहरूको खुत्रुके भएको छ ।


 


Author

थप समाचार
x