मेरो क्यामरामा ती तीन दिन : आर्काइभबाट
त्यो सम्मेलनपछि म फोटो पत्रकारितातिर तानिएँ
म त्यतिखेर कुनै मिडियासँग आबध्द थिइनँ । म स्वतन्त्र फोटोग्राफर थिएँ । दुई वर्ष पहिलेदेखि फोटोग्राफीमा लागेको थिएँ । २०४४ मा पदम ठकुराठीको हत्यामा संलग्न भएको तस्बिर खिचेको थिए । त्यो तस्बिर द कमनरमा छापिइसकेको थियो । त्यसपछि रंगशालाको दुःखद् घटनाको तस्बिर पनि सधैँभरि दिमागमा आइरहन्छ । तर पनि फोटो पत्रकारिताबारे मेरो त्यति अनुभव थिएन ।
२०४६ माघ ५-७ को तीन दिने नेपाली कांग्रेसको राष्ट्रिय सम्मेलनबारे पीएल दाइ (पीएल सिंह)ले जानकारी गराइसकेको हुँदा म निकै उत्साहित थिएँ । त्यो दिन म बिहान छ बजे गणेशमान सिंहको निवास चाक्सीबारी पुगेको थिएँ । त्यो माहौलले मलाई निकै उत्साहित बनाएको थियो ।
त्यति ठूलो राजनीतिक सम्मेलन मैले पहिलोचोटि देखेको हुँ । त्यहाँ ठूला नेताहरू, विदेशी नेताहरू र कांग्रेसका जिल्ला तहबाट पनि नेताहरू आएका थिए । त्यतिखेर लेन्स पनि सीमित थियो, वाइड थिएन । त्यो मास कसरी फ्रेमभित्र पार्ने भन्ने सोचेँ । छेउ-कुना गर्दै तस्बिरमा मास क्याप्चर गरी फोटोहरू लिएँ । त्यो सम्मेलनमा भारतका समाजवादी, कांग्रेस आई, जनता दल, कम्युनिस्ट पार्टीका नेताहरू सामेल थिए ।
जब भाषण सुरु भयो, बीच-बीचमा खिचिएका तस्बिर नेगेटिभ पनि धुलाउन दिन्थेँ । फेरि खिच्थेँ । कार्यक्रम सकिँदा नसकिँदै फोटो धुलाइसकेको थिएँ । कतिपय नेताहरू त्यो तस्बिर पनि उपलब्ध गराएको थिएँ । पीएल दाइले भनेअनुरूप मिडियाहरूलाई पनि फोटो उपलब्ध गराएको थिएँ । त्यतिखेर मैले मलाई त्यही माहौलमा भिजाएको थिएँ । त्यतिखेर कम्युनिस्टका नेता मनमोहन अधिकारी, साहना प्रधान पनि हुनुहुन्थ्यो । तर कतिपय नेता म चिन्दिन थिएँ ।
हुन पनि प्रजातन्त्रका निम्ति कांग्रेस र वाम घटक भएको माहौल पनि क्याप्चर गर्नु थियो । त्यतिखेर पञ्चायत विरोधीहरूको त्यसरी कार्यक्रम भएको थिएन । मानिसहरू चाक्सीबारीको आँगनमा नअटेकाहरू त्यस वरपर माइकबाट पनि भाषण सुनिरहेका हुन्थे । मानिसहरू त्यो सम्मेलनलाई नैतिक समर्थन गर्न पनि त्यो क्षेत्रमा पुगेका भेटिन्थे ।
मैले सानैदेखि गणेशमान सिंहको नाम सुनेको थिएँ । पीएल दाइसँग चिनजान थियो । त्यो सम्मेलनपछि म फोटो पत्रकारितातिर तानिएँ । मैले महात्मा गान्धी, इन्दिरा गान्धी, मार्गरेट थ्याचरका व्यक्तिगत तस्बिर बुक हेरेको थिएँ । सार्वजनिक व्यक्तित्व नियमित फलोअप गरी ‘पिक्टोरियल बुक’ साह्रै प्रभावकारी हुँदो रहेछ भन्ने लाग्यो । त्यस्ता फोटो संकलन गर्ने रहर थियो ।
२०४६ माघ ५-७ को त्यो राजनीतिक सम्मेलन मेरो रहिरहनेमध्येको एक राजनीतिक घटना हो । मलाई चाहिँ कांग्रेसको त्यो सम्मेलनले फोटोग्राफीका निम्ति धेरै ऊर्जा र उत्साह दियो । त्यसपछि गणेशमान सिंहको नियमित फोटो खिच्ने अवसर मिल्यो । उहाँको विश्वासको मानिस बन्न पुगेँ । मलाई उहाँको हिँड्नेदेखि तस्बिर खिच्ने मौका मिल्यो । हुँदाहुँदा संयुक्त राष्ट्र संघ र अमेरिका भ्रमणको तस्बिर खिच्ने मौका पनि मिल्यो । त्यो तस्बिर त धेरैतिर छापियो पनि ।
र, यो पनि
- चाक्सीबारीमा चन्द्रशेखर : नेपालमा प्रजातन्त्र छ कि छैन ? जवाफ चन्द्रशेखर दिँदैन
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया