राजनीतिमा न योग्यता, न सेवा अवधि, न निवृत्ति व्यवस्था !
विश्वविद्यालय परिसरमा उभिएर एक मित्रको प्रतीक्षा गरिरहँदा छेउमा घाम ताप्दै गफमा मग्न दुई युवाहरूको सम्वादले मलाई आकर्षित गर्यो । एउटाले भन्दै थियो ‘यार, अब त गाउँ जानुपर्छ...।’ उसको भनाइ नसकिँदै अर्को बोल्यो ‘किन जानु पर्यो ? भर्खर-भर्खर त कलेजहरू खुल्दैछन् ।’ ‘ल ! तँलाई थाहा छैन ? हाम्रा नेताहरू ताजा जनादेश चाहियो भनेर गाउँ-गाउँ घुम्दैछन् ।
उतिबेला दिएको जनादेश बासी भएछ क्या ! सायद, सडेर कामै लागेन होला अनि त नयाँ जनादेश दिन हामी पनि त जानु पर्यो नि ! ‘अँ ! यो जनादेश भन्ने कुरा पनि अन्न र सागपात हो कि क्या हो पुरानो हुने अनि नयाँ चाहिने ? जनादेश होइन, यिनको मगज पुरानो भयो अनि सड्यो होला यिनीहरूको विचार ! जनताले मत दिएर पाँच वर्षका लागि संसदमा पठाएको त बिचैमा त्यसलाई भङ्ग गरेर ताजा जनादेश खोज्ने ?’
ऊ झनै जङ्गियो, ‘कहिले नयाँ नेपालको नारा लगाएर छँदाछँदैको देशलाई बिरूप बनाए । रुखको चरा हेर्दे हातको चरा उडाएझैँ मुलुकलाई खोत्र्mयाउँदै गए । पाएको जनादेशको अपमान गरेर अहिले नयाँ जनादेश चाहियो रे !’ ‘हुन त हो यार ! यिनीहरू नयाँ र ताजा जनादेश भनिरहेका छन् तर त्यसका लागि उभिने अनुहार चाहिँ उही पुराना र चाउरिएका ! नयाँ जनादेश लिएर त्यसलाई कार्यान्वयनका लागि नयाँ सोच र दृष्टिकोण भएका नयाँ-नयाँ अनुहारहरू पनि त उभिनुपर्ने नि !’ ‘उभिए अब नयाँ अनुहार ! हाम्रो देशको राजनीति त संसारकै नमुना राजनीति पो हो त ।
यहाँ एउटा नेता एक पटक उमेदवार बनेपछि अर्काको पालो आउला भन्नै नपर्ने ! हरेक दलभित्र हेरौँ न कपाल फुलेका, दाँत फुक्लेका र पिण्ड खाने उमेर पुगेकाहरू नै पद र जिम्मेवारीका लागि लडिरहेका छन् । दलभित्र योग्य ता भएका नयाँ पुस्ता नै छैनन् र ?’ ‘त्यही त भन्या ! उनै थोत्रा अनुहार त जाने हुन् नि नयाँ जनादेश माग्न अनि कसरी उन्नति होस् यस देशको !’
यस्तै तीतो यथार्थ अझै कति पोख्थे होला ती युवाहरूले तर मित्रको आगमनका कारण म त्यहाँबाट आफ्नो बाटो लागेँ । मलाई तिनीहरूको उक्त सम्वादले देशको वर्तमान राजनैतिक परिवेशको उपहास गरेझैँ लाग्यो । त्यसैले एकान्तमा म पनि नयाँ र ताजा जनादेशभित्र रुमलिन पुगेँ ।
बुझ्ने भएदेखि मैले पनि सुन्दै आएको शब्द हो ‘जनादेश’ अनि सोही सन्दर्भमा निर्वाचनका बेला मतदान गरेर जनप्रतिनिधि चुनेको पनि सम्झना भयो तर बिडम्वना ! अहिलेसम्म मैले मात्र होइन, मजस्ता असङ्ख्य नेपालीले आफ्ना जनप्रतिनिधिहरूप्रति गर्व गर्दै उनीहरूलाई स्याबासी दिने मौकै पाएनौ ! जनमत लिएर राजधानी छिरेपछि हाम्रा जनप्रतिनिधिले आफ्नो क्षेत्र, मतदाता, त्यहाँका प्राथमिकतातिर ध्यान दिने समय नै पाएनन् ।
आ-आफ्नो दलभित्रको किचलो, सरकार बनाउने र ढलाउने खेल, आम्दानी हुने जिम्मेवारी पाउनका लागि गर्ने दौडधुप आदि व्यस्ततामा नै तिनीहरूलाई अल्झिनुपर्यो । सोही अल्झाइमा उनीहरूमध्य कतिपयले आफूलाई राजधानीका स्थायी बासिन्दा बनाउन र सन्तान-दरसन्तानका लागि सम्पत्ति जोडिदिन पनि सफल भए । आर्थिक रूपले उनीहरू जति-जति बलिया बन्दै गए दलभित्र उनीहरूको प्रभुत्व पनि त्यति नै मजबुत बन्न पुग्यो । त्यसपछि त उनीहरू आ-आफ्नो निर्वाचन क्षेत्रका अघोषित आजीवन उमेदवार बन्न सफल भए ।
प्रजातान्त्रिक अभ्यासले तीन दशक पार गरिसक्दा पनि हाम्रा राजनीतिज्ञहरूमा प्रजातान्त्रिक संस्कारको विकास हुनसकेको देखिँदैन । यही नै हामी नेपालीको दुर्भाग्य हो । त्यसैले त हामीकहाँ औँलामा गन्न सकिने मात्र बहुमतका सरकार बने पनि तिनले आफ्नो कार्यकाल पूरा गर्न पाएनन् । दलभित्रको आन्तरिक किचलो र स्वार्थका कारण पटक-पटक जनमतको हत्या गर्दै निर्वाचित संसद विघटनको खेल खेल्दै आएका हाम्रा नेताहरू यसपटक पनि सोही खेलमा खरो उत्रेका देखिए ।
बाँकी सबै क्षेत्रमा संलग्न व्यक्तिका लागि निश्चित योग्यताको मापदण्ड निर्धारित हुन्छ । सेवा अवधि तोकिएको हुन्छ । निवृत्तिको नियम बनाइएको हुन्छ तर राजनीतिमा ?
देश-जनताको आवश्यकता र प्राथमिकताप्रति आँखा चिम्लेर सत्ता र शक्ति हत्याउने कसरत गरिरहेका हाम्रो राजनीतिका ‘बाहुबली’हरू यतिबेला पनि आ-आफ्नो पक्षमा आउने मत आँकलन गरिरहेका देखिन्छन् । यसबिच उनीहरूले बिर्सिरहेका छन् कि जनताको नजरमा अब उनीहरू उदाङ्गिइसकेका छन् ! अब आम नागरिकले विगतमाझैँ उनीहरूका कुकृत्यलाई क्षमा गर्दै आफ्नो अमूल्य मत दिन तयार पक्कै छैनन् । असङ्ख्य प्रश्नहरू लिएर उभिनेछन् अब जनता उनीहरूका चुनावी लाबालस्कर सामु ।
जसरी उही पुरानो अनुहार नयाँ जनादेशका लागि जनतासामु जाने तयारी गरिरहेको छ, त्यसरी नै आम जनता पनि उनीहरूसँग नयाँ सोच, नयाँ दृष्टि, नयाँ जोश-जाँगर र प्रतिबद्धतासहितका नयाँ अनुहार माग्ने तयारी गरिरहेका छन् । लौरो टेकेर भोट माग्ने नेताहरूदेखि अघाइसकेका छन् उनीहरू । यति मात्र होइन, उनीहरू आफ्नो घर-दैलोमा आउने नेताहरूलाई यसरी प्रश्न गर्नेछन्- ‘विगतको हाम्रो जनादेशमा के त्रुटि थियो र तिमीहरूलाई नयाँ जनादेश चाहियो ?
तिमीहरूको सोच, विचार र धारणा कति ताजा छ र तिमीहरूलाई ताजा जनादेशको खाँचो पर्यो ? विगतका आफ्ना प्रतिबद्धताहरूलाई विजय उत्सवमा पहिरेका मालासँगै सडाएर मिल्क्याएका तिमीहरू अब फेरि कस्तो आदेशका लागि धाइरहेका छौ ? हाम्रो आस्था र विश्वासमाथि निरन्तर कुठाराघात गर्दै आएका तिमीहरू अझै कतिञ्जेल निर्दोषिताको अभिनय गरिरहन्छौ ? जसरी तिमीहरूलाई नयाँ जनादेश चाहिएको छ, त्यसरी नै हामीहरूलाई पनि नयाँ अनुहार चाहिएको छ, दिन सक्छौ ?’
हो, यस्तै असङ्ख्य प्रश्नका झटारोले खेद्ने छन् अबको निर्वाचनमा जनताले दलीय उमेदवारलाई किनकि, उनीहरूको स्वार्थ र महत्वाकांक्षाको भुमरीमा लामो समयदेखि हेलिएका जनता आक्रोशित पनि भएका छन् ।
हामीकहाँ कुनै पनि राजनैतिक दल जनउत्तरदायी बन्न सकेका देखिँदैनन् । त्यसैले त उनीहरू जनचाहना बुझ्ने र त्यसको कदर गर्ने क्षमता राख्दैनन् । नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण उनीहरूको दलीय एजेण्डामै पर्दैन । फलस्वरूप नयाँ पुस्ताका कार्यकर्ताहरू आफ्ना नेताका कारिन्दा बनेर स-सानो स्थान पाउनैका लागि पनि ‘सुमेरु परिक्रमा’को उपक्रममा तल्लिन देखिन्छन् ।
अब भने जनताले उनीहरूसँग पनि प्रश्न गर्नेछन् यसरी- ‘तिमीहरूले आफ्नो युवाशक्ति केका लागि खर्चियौ ? न देश-जनताका लागि केही गर्ने मौका पायौ न त आफ्नै परिवारका लागि केही गर्न सक्यौ ! बी.पी.कोइरालाको ‘दोषी चस्मा’ कथाको केशवराजजस्तै आ-आफ्नो दलका जरसाहेबलाई ‘स्वस्ति’ गर्नकै लागि कतिञ्जेल तिनका दरबार धाइरहन्छौ ?
कसैले युवानेता भनिदिएकै भरमा मख्ख पर्दै दारी-कपाल फुलाएर समय खेर फालिरहेछौ किन ? नयाँ सोच, नयाँ नीति-कार्यक्रम र योजना ल्याऊ साथमा तिनलाई पूरा गर्ने प्रतिबद्धता पनि ! अन्यथा तिनै पुराना, ओइलाएका, मक्किएका अनुहारको स्तुतिगान गर्दै नयाँ जनादेशको अपेक्षा नगर ।’ यसरी नै दुत्कार्नेछन् जनताले अब हरेक दलका नाममात्रका युवा नेताहरूलाई ।
साँच्चै ! बिडम्वना नै छ हाम्रो राजनैतिक क्षेत्रमा । बाँकी सबै क्षेत्रमा संलग्न व्यक्तिका लागि निश्चित योग्यता र अनुभवको मापदण्ड निर्धारित हुन्छ । सेवा अवधि तोकिएको हुन्छ । निवृत्तिको नियम बनाइएको हुन्छ तर राजनीतिमा न योग्यताको मापदण्ड न त सेवा निवृत्तिको व्यवस्था नै !
त्यसैले त सचेत नागरिक अब उनीहरूदेखि अघाएर, उनीहरूको कार्यशैलीले बिरक्तिएर ‘नो भोट’को अधिकार खोज्दैछन् अर्थात् उनीहरू निर्वाचनमा कसैलाई भोट दिन चाहन्नन् । यस्तो विषम परिवेशमा पनि राजनैतिक दलहरूलाई जनचाहनाको कदर गर्न अझै केही पला बाँकी नै छ ।
अतः राजनैतिक दलहरू दलीय स्वार्थभन्दा माथि उठेर राष्ट्रिय स्वार्थमा प्रतिबद्ध हुने अनि विगतका कमीकमजोरीप्रति आत्मालोचना गर्ने हो भने जनताको मन फर्कन सक्छ । यसका लागि हरेक दलभित्र व्यक्तिले पदीय जिम्मेवारी लिनका लागि निश्चित अवधि तोकिनुपर्दछ ।
एउटा व्यक्ति दुई कार्यकालभन्दा बढी जनप्रतिनिधिको उमेदवार बन्न नपाउने, दलभित्रका जिम्मेवारी बहन गर्न पनि यस्तै प्रकारले अवधि तोकेर नयाँ पुस्तालाई जिम्मेवारी दिँदै जाने हो भने मात्र नयाँ जनादेशको उनीहरूको मागलाई जनताले सम्बोधन गर्लान् अन्यथा नयाँ झोली भिरेका पुराना अनुहारलाई उनीहरूले स्वीकार गर्ने छैनन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया