मरीचमानले भने, ‘म तपैँ जस्तो काठमाडौँको कुलीन होइन, भैँसी आहाल बस्ने पानी खाएर हुर्केको हुँ’
व्यक्तिगत कमजोरीका कारण हो वा पारिवारिक संस्कार, संस्कृति र बृहत् काठमाडौँ समाजको अवस्थाकोे देन हो, बाल्यकाल, किशोरकाल, युवाकाल मात्र होइन, अधबैँसे उमेर पार गर्ने बेलासम्म पनि काठमाडौँको भूगोल र मानसिकता दुवैको साँघुरो घेराभित्र हुर्केबढेको अनि सायद रमाएको समुदायभित्र म परेँ । काठमाडौँबाहिरको नेपाललाई नबुझ्ने, नसम्झने ज्ञानसीमा र मनोवृत्ति मेरो पनि संस्कार हुन गयो ।
अहिले एउटा घटना सम्झना भइरहेछ । २०४६ को जनआन्दोलनका दिन थिए । सुरुमै केही आन्दोलनकारीलाई सरकारले बन्दुकको सिकार बनाइसकेको र सहिदहरुको लाससमेत परिवारलाई नदिएका सूचना हामीकहाँ आइरहे । त्यसबारे सरकारलाई खबरदारी गर्न नागरिकहरुको टोलीको अगुवाइ गर्दै म प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेको थिएँ । नरहरि आचार्यले हतारमा तयार पारेको एउटा ज्ञापनपत्र पनि हामीसँग थियो ।
प्रधानमन्त्री मरीचमानसिंह श्रेष्ठ थिए । साथमा दमननाथ ढुङ्गाना, लक्ष्मण अर्याल, राधेश्याम अधिकारी जस्ता वरिष्ठ अधिवक्ता मित्र पनि थिए । तर ‘अगुवा’कै नाताले मैले प्रधानमन्त्रीसमक्ष सुरूमै एक छोटो प्रस्तुति गर्नुपथ्र्यो । गरेँ । मेरो कुरा सिद्धिनेबित्तिकै मरीचमानजीले मलाई कटु वचनले रोके, ‘म तपैँ जस्तो पाण्डे, काठमाडौँको कुलीन होइन, भैँसी आहाल बस्ने पानी खाएर हुर्केको हुँ । मसँग तपाईंले जनताको कुरा गर्नुपर्दैन ।’
आफ्नैबारे त उनले ठीकै भने होलान् । तर पनि चाखलाग्दो कुरा, पहिले आफ्नो थर ‘सिंह’ लेख्ने मरिचमान त्यस बेलासम्म काठमाडौँ मानसिकताको आकर्षणले ‘श्रेष्ठ’समेत लेख्ने भइसकेका थिए । मेरो संस्कार, सामाजिक स्थितिबारे उनको भनाइ पनि अरु धेरैले सोचेभन्दा फरक नहुन सक्छ । वंश वा पुर्खाको कुरा गर्दा म काठमाडौँको ‘कुलीन’ वा ‘सम्भ्रान्त’ होइन भन्न गाह्रो हुन्छ ।
मेरा आमाबुबा, दिदीबहिनी, दाजुभाइसँगै बस्दा, हुर्कंदा, खेल्दा मेरो जीवनको सुरूको कालखण्डमा हाम्रो पारिवारिक आर्थिक स्थिति जेजस्तो देखेभोगे पनि हाम्रो ‘पाण्डे’ कुलवृक्षको हाँगाबिँगाहरुमा फलेका, फुलेका परिवारहरुमा सम्भ्रान्त जीवनशैली निर्वाह गर्ने धेरै पाण्डेहरु शासनशक्तिमा पुगे- गुरूपुरोहित, धर्माधिकारी, ‘बाबुसाहेब’ आदि भएर ।
आर्थिक पक्षका हिसाबले यस्ता परिवारमा झन्डै आमतवरको राणा परिवारसँग प्रतिस्पर्धा गर्न सक्ने हैसियतका पनि भेटिन्छन् । बाँकी पाण्डे खलकमध्ये पनि केही हाम्रो जस्तै तीनचार पुस्ताअघिदेखि राणा दरबार र तिनले गर्ने राज्य सञ्चालनसँग गाँसिएका छन् । सायद सोही सन्दर्भमा पाएको वा जोडिएका हाम्रो मौजा बिर्ता केके हुन्, पहाडमा पाल्पादेखि तराईमा भैरहवा, हालको रुपन्देहीमा धेरथोर भएको मैले पनि थाहा पाएकै हुँ ।
कहिले मावली, कहिले घर बस्ने क्रममा बुबा बेलायतबाट आएपछि पनि केटाकेटीमा कम से कम चार ठाउँमा डेरा सरेको सम्झन्छु ।
मेरा जिजुबाजे नन्दराज, रणद्वीप सिंहकै पालामा कुमारी चोकमा सुब्बा थिए । पछि वीरशमशेरको प्रधानमन्त्रीकालमा मुलुकभर न्यायनिसाफ जाँच्ने अदालत गोस्वारामा ‘जज’ भए । त्यस बेला उनको शक्ति र प्रतिष्ठा उच्चस्तरको थियो । मर्यादाक्रममा पाण्डे वंशभित्रकै उल्लिखित गुरूपुरोहितपछि हाम्रा जिजुबाजेको नाम आउँथ्यो । उनका छोरानातिहरु त्यत्तिकै शक्तिशाली नभए पनि यीमध्ये धेरैजसो कुनै न कुनै सरकारी जागिरमा आबद्ध भएकै हुन् ।
मेरा आफ्नै बाजे लीलाराज छोटो जीवनकालमा भीम शमेशरको थाना अड्डामा सुब्बा थिए । त्यति बेला सहिद शुक्रराज शास्त्रीका पिता माधवराज शास्त्रीलाई राणाहरुले दिएको दण्ड कार्यान्वयन गर्नेमध्ये बाजे पनि थिए भन्ने सुनेको छु । गाली पनि खाएको छु । हालको बाल मन्दिरको पूरा कम्पाउन्ड मात्र होइन, त्यसको बाहिरपट्टिको केही जमिन पनि हाम्रै परिवारको थियो ।
घरहरु केकस्ता थिए कुन्नि, जिजुबाजे जज (उनको दर्जा ‘जज’ नै थियो । सो शब्दको हुन सक्ने नेपाली भाषामा रुपान्तरण गरिएको थिएन)का धेरै सन्तान काठमाडौँमा त्यहीँ जन्मेहुर्केका हुन् । सायद मेरा जेठा दाजु डा. मृगेन्द्रराज पाण्डेसम्म ।
पछि भीमशमशेरलाई उनकी ‘सीता महारानी’लाई दरबार बनाउन त्यो जग्गा चाहियो, अधिग्रहणमा जिजुबाजेले जोडेको जमिन, आवास सबै गुम्यो । त्यसपछि जज नन्दराजका परिवार डिल्लीबजार, गैह्रीधारा, धोबीधारा र ज्ञानेश्वरमा छिन्नभिन्न भएर बसे । मैले देखेको अवस्था चाहिँ त्यही हो । मेरा बुबा बेलायत गएर फर्कंदा हाम्रो बाजेले किनेको ज्ञानेश्वरको घर काकाको भागमा परेको थियो । हाम्रो घर थिएन । कहिले मावली, कहिले घर बस्ने क्रममा बुबा बेलायतबाट आएपछि पनि केटाकेटीमा कम से कम चार ठाउँमा डेरा सरेको सम्झन्छु ।
मपछिको भाइ आरआर पाण्डे कमलपोखरीको ऐतिहासिक कृष्ण पाउरोटी भण्डार भएको घरमा जन्मिएको हो । २०७३ को भूकम्पमा त्यो घर भत्कियो । पछि ज्ञानेश्वरमै घर किनियो । ठूलो बारी, बगैँचा भएको रमाइलो घर थियो । आमा वर्षामा मकै र हिउँदमा थरीथरीका तरकारी खेती गर्नुहुन्थ्यो । हामी सघाउँथ्यौँ । कहिलेकाहीँ गाई पनि हुन्थे । आमाले बनाएको मही, घिउ पनि खाइयो, सायद पहाड, मधेसमा जस्तै ।
सेक्सपियरका कृतिसँग मेरो पहिलो चिनारी बुबाले अनुवाद गरेको त्यही टेल्स फ्रम सेक्सपियरबाट भएको थियो । ती धरोहरलाई हाम्रो परिवारले संरक्षण गरेर राख्न भने सकेन ।
बाल्यकालमै पिता गुमाउनुभएका मेरो बुबा खगेन्द्रराज पढाइमा तेज हुनुहुन्थ्यो । संस्कृतमा कुनै औपचारिक पढाइ गरेको त मलाई थाहा छैन । तर हिन्दू धर्म, संस्कृतिसम्बन्धी ग्रन्थ र आम रुपले आध्यात्मिक विषयमा उहाँको विशेष रूचि थियो । यो यथार्थ उहाँका पुस्तक खासगरी भारत, उत्तरप्रदेशको गीताप्रेसबाट प्रकाशित धार्मिक विषयका ग्रन्थहरुको सङ्ग्रहबाट थाहा हुन्थ्यो । कल्याण पत्रिका मात्र होइन, गीताप्रेसबाट प्रकाशित अङ्ग्रेजी भाषाको मासिक पत्रिका कल्याण कल्पतरुको पनि उहाँ नियमित ग्राहक हुनुहुन्थ्यो । प्रबुद्ध भारत भन्ने अङ्ग्रेजी प्रकाशनको पनि ग्राहक हुनुहुन्थ्यो ।
अङ्ग्रेजी भाषामा छापिएका अध्यात्मदर्शनबारे मात्र होइन, अङ्ग्रेजी साहित्यका पुस्तकबाट पनि उहाँको बहुआयामिक ज्ञानतर्फको रौस प्रस्ट देखिन्थ्यो । नेपालीमा पनि बुबाको उत्तिकै रूचि थियो । दराजभरि शारदा, पूर्णिमाका अङ्क खातका खात हुन्थे । उहाँका आफ्नै केही रचना थिए । मलाई पछुतो छ, बुबासँग बसेर उहाँको जीवन, यी ज्ञानभण्डार र उहाँ हुर्केबढेको वातावरण आदि विषयमा राम्ररी कहिल्यै कुरा गरिनँ । सिक्नुपर्ने कुरा सिकिनँ । थोरै जे गरियो, तपसिलका कुरा (मेरी आमा ‘गन्हाउने कुरा’ भन्नुहुन्थ्यो)मा लागियो । त्यो कालखण्डभरि ।
बुबाको औपचारिक पढाइ दरबार हाइस्कुल र त्रिचन्द्र कलेजमा भएको हो, जहाँबाट उहाँले पहिले आइएससी अनि बिए गर्नुभयो । त्यस बेला नेपालमा विज्ञानमा स्नातकस्तरको पढाइ हुन्नथ्यो । बुबा स्कुलकलेजमा पढाइमा कति तेज हुनुहुन्थ्यो भन्ने कुराको केही औपचारिक प्रमाण हालैसम्म मेरो संरक्षणमा थिए । त्यस बेला दरबार स्कुल पढ्न विद्यार्थीलाई समेत कक्षामा राम्रो गरेबापत इनाम दिइने रहेछ ।
अङ्ग्रेजी भाषामा प्रकाशित पुस्तकका रुपमा । मेरा बुबाले प्राप्त गर्नुभएका पुस्तकमा धेरै ‘दोस्रो इनाम’ लेखिएको हुन्थ्यो । अर्थात् उहाँ हरेक कक्षाको परीक्षामा दोस्रो हुनुहुन्थ्यो । सेकेन्ड क्लास (अर्थात् हालको कक्षा नौ) वा फर्स्ट क्लास (कक्षा १०)मा उहाँले इनाम पाएको पुस्तकमध्ये अलेक्जेन्डर डुमास, रबर्ट लुई स्टेभेन्सन, जेम्स बसवेल र स्यामुयल जोन्सनआदि चिन्तक, सर्जकसम्बन्धी पुस्तक थिए । दरबार स्कुलमा मैले पढ्दाताका यस्ता इनामको चलन हराइसकेको थियो । नहराएको भए पनि इनाम पाउने योग्यता मसँग थिएन ।
सिक्नुपर्ने कुरा सिकिनँ । थोरै जे गरियो, तपसिलका कुरा (मेरी आमा ‘गन्हाउने कुरा’ भन्नुहुन्थ्यो)मा लागियो । त्यो कालखण्डभरि ।
अहिले हाम्रा स्कुले विद्यार्थीलाई यस किसिमका पुस्तक इनाममा दिइन्छ, दिइँदैन वा उनीहरुले यस्ता पुस्तक पढ्छन्, पढ्दैनन्, कुन्नि ! चाखलाग्दो चाहिँ के भने माध्यमिक तहमा पनि त्यस बेला बहुआयामिक शिक्षा लिबरल आर्टस् भनिने शिक्षाको प्रारम्भिक जग बसाल्ने प्रयास हुने रहेछ । तर त्यो यस्तो युग पनि थियो, जहाँ लक्ष्मीप्रसाद देवकोटा जस्ता विद्वान्ले पुस्तकालय स्थापना गर्न लागेको अपराधमा सजाय पनि भोग्नुपरेको थियो । कृष्णलाल अधिकारीले मकैको खेती पुस्तक प्रकाशन गरेबापत कठोर जेल सजाय भोग्नुपरेको थियो ।
यो स्थिति वा विरोधाभासलाई राणाशासनमा नियन्त्रण शैलीको विशेषता भन्नु सही होला । जे भए पनि यो कठोर युग हराइसक्दा पनि हाल धेरै वर्षदेखि शिक्षा प्रशासन र शिक्षण विधिविधानमा फराकिलो शिक्षण, ज्ञानलाई किन गौण मानिन्छ भन्ने प्रश्न महङ्खवपूर्ण हुन आउँछ ।
बुबा पछि पटनामा गणित विषयमा स्नातकोत्तर पढ्न जानुभयो । तर बिरामी परेर फर्कन बाध्य भएपछि त्यस बेलाको भक्तपुर हाइस्कुलमा मास्टर हुनुभयो । र केही वर्ष बितेपछि दरबार स्कुलमा । विज्ञान, गणित र अङ्ग्रेजीमा विशेष रुपमा पोख्त हुनुहुन्थ्यो । हाम्रो परिवारको आर्थिक स्थिति औसत हुँदा उहाँले यी विषयमा गर्ने ट्युसनको आर्जन परिवारका निम्ति विशेष महङ्खव र भरोसाको भएको कुरा म आफैले देख्न, भोग्न पाएको छु । बुबाको ट्युसन जति चम्कियो, उति बढी मासुभात खान पाइन्थ्यो ।
तर बुबाको निधारमा पनि राणा दरबार पस्नैपर्ने, तिनको चाकडी गर्नैपर्ने लेखिएको रहेछ । उहाँ भक्तपुरमा मास्टरी गरिरहेका बेला चन्द्रशमशेरका साइँला पुत्र सिंहशमशेर बेलायतका लागि राजदूत नियुक्त भए । सँगै बेलायत लैजान उनलाई अङ्ग्रेजी भाषामा दखल राख्ने एक निजी सहायकको आवश्यकता परेछ । मेरा बुबामाथि शासकवृत्तको आँखा पर्यो । बुबा भक्तपुरको जागिर छाडेर बेलायत जानुपर्यो । र अध्यापन जस्तो उत्तम पेसाको ठाउँमा राणा परिवारको निजी सेवक हुन पुग्नुभयो ।
हुन त त्यति बेलै बेलायत जस्तो मुलुक जान पाएपछि केको पछुतो भन्ने प्रश्न उठ्छ होला । त्यो पनि ‘जज नन्दराजको नाति’ भएर नै सम्भव भएको थियो होला । तर वास्तवमा बुबाले भोग्नुपरेको दुःखको कथा धेरै जटिल छ ।
त्यो बेलासम्म सफल बाटोमा हिँडेको उहाँको जीवन एकाएक अलिकति उल्टो दिशामा मोडिने बिन्दु त्यही भयो कि जस्तो लाग्छ । त्यही कारणले पनि होला, आफ्ना बाबुबाजे, जिजुबाजे जस्तो राणा दरबार वा कुनै दरबारप्रति म आसक्त भइनँ । नियतिले जे गरायो वा गर्न पुगेँ, त्यो छोटो इतिहास आफ्नो ठाउँमा छ ।
दोस्रो विश्वयुद्ध सुरू हुने बेला थियो । बुबा बेलायत हिँड्दा म जन्मिएको थिइनँ, आमाको पेटमा थिएँ । दिदीदाजुहरु साना थिए । बुबा परदेश लगिएपछि आमालगायत पूरा परिवार केही हदसम्म मामाघरको जिम्मामा आयो । करिब ३० वर्षको उमेरमा लालाबाला छाडेर समुद्रपार, त्यो पनि लामो अवधिका लागि जाँदा बुबाको मनमा के बित्यो होला, बुझ्न गाह्रो नहोला ।
छोरीबेटीले माइतीघरमा बच्चा जन्माउनु हुन्न भन्ने रुढीबुढीका कारण म भने नजिकै ठूलीआमाको घरमा जन्मन पुगेँ । बुबाले बेलायतबाट फर्केपछि चार वर्ष पुगेको बालक मलाई पहिलो पटक देख्नुभयो । त्यो बेलासम्म बुबाको शारीरिक, मानसिक स्थिति केही बिरामी भइसकेको थियो । बेलायतमा बुबालाई तिघ्रातिर टिबी भएछ । राणा मालिकहरुले औषधि गरिदिनु सट्टा उहाँलाई एक्लै जहाजमा राखेर घर फर्काइदिएछन् । त्यस्ता मालिकहरुप्रति बफादार हुन बुबाले छाड्नुभएन ।
अरु दाइभाइ जस्तै मलाई ज्ञानेश्वरदेखि थापाथलीसम्म डोर्याउँदै तिनीहरुबाट टीका थाप्न लगेको सम्झन्छु । बेलायतबाट फर्केपछि धेरै वर्षसम्म उहाँ दरबार स्कुलमा मास्टर हुनुभयो । खुट्टामा रोग थियो, खोच्याउँदै पढाउन जानुहुन्थ्यो एउटा लौरोको सहायताले । १२० रूपैयाँ मासिकमा परिवार पाल्नुभयो । बुबा एकदुई हप्ता नै थला पर्दा उहाँको ठाउँमा पढाउन स्वर्गीय दाजु नरेन्द्रराज जानुहुन्थ्यो । साइन्स पढेका कारण बुबाले पढाउने विषयमा यी दाजु पनि निपुण हुनुहुन्थ्यो । खर्च गर्ने र परिवार चलाउने जम्मै जिम्मा आमाको थियो ।
बुबा भक्तपुरको जागिर छाडेर बेलायत जानुपर्यो । र अध्यापन जस्तो उत्तम पेसाको ठाउँमा राणा परिवारको निजी सेवक हुन पुग्नुभयो ।
बेलायतमा युद्धका क्रममा हिटलरका लडाकू हवाईजहाजहरुले खसाल्ने बम कुन बेला कहाँ झर्छ भन्ने डर थियो । बम नझरे पनि निरन्तर बजिरहने साइरनको आवाज र राणा मालिकको गर्नुपर्ने चाकडीबीच बुबाका दिन गुज्रे । तर पनि उहाँले कति पुस्तक किन्न, पढ्न भ्याउनुभएको हो, पछि हामीलाई उदेक लाग्थ्यो । उहाँले नेपाल ल्याएका पुस्तक सङ्कलनमा हिटलरको मैन क्याम्पदेखि टैगोरका गीताञ्जलीलगायत कृतिसम्म, राधाकृष्णनका पूर्वीय दर्शन विवेचनादेखि मैले नाम नसुनेका, सुनेका थुप्रै रचनाकारका अङ्ग्रेजी साहित्यिक कृति र विभिन्न विधाका अरु पुस्तक थिए ।
सेक्सपियरका ड्रामा र तिनका समालोचनासम्बन्धी कृतिहरुलगायत बुबाको अङ्ग्रेजी साहित्य पठनपाठनको सानो नमुना हालैसम्म मेरो सङ्कलनमा जोगिएको थियो । हाल ती विराटनगरको एक संस्थाअन्तर्गत पुस्तकालयमा छन् । हिन्दी वा संस्कृत भाषाका धार्मिक, आध्यात्मिक विषयमा पुस्तक, पत्रपत्रिकाको सङ्कलन देवघाट आश्रमको पुस्तकालयलाई केही वर्षअघि प्रदान गरेका थियौँ । अङ्ग्रेजी, नेपाली, हिन्दी र संस्कृत भाषामा लेखिएका आख्यान, गैरआख्यानदेखि भाषा, गणितसम्म यति चासो कि बेलायतमा नै बस्दा फ्रेन्च भाषा सिक्न किनिएको पुस्तक पनि मैले देखेको छु ।
अहिलेको युगमा यस्ता पठनपाठनलाई सामान्य लाग्छ कि थाहा छैन । तर म ८० वर्षअघिको बेलायतमा लडाइँ र बमवर्षाबीच राणाहरुको एउटा कारिन्दाको कुरा गर्दै छु । बुबाका केही मोटामोटा कापी पनि थिए, जसमा छापा जस्तो अक्षरमा सेक्सपियर नाटकका केही कथाको नेपालीमा गर्नुभएको अनुवाद हामी पढ्थ्यौँ । सेक्सपियरका कृतिसँग मेरो पहिलो चिनारी बुबाले अनुवाद गरेको त्यही टेल्स फ्रम सेक्सपियरबाट भएको थियो । ती धरोहरलाई हाम्रो परिवारले संरक्षण गरेर राख्न भने सकेन ।
मेरो आफ्नो कुरा गर्दा यो वृत्तान्तले उभ्याउन खोजेको एउटा यक्ष प्रश्न अगाडि आउँछ । त्यस्ता बाबुका छोरा, पिएचडी गरेको ‘विद्वान्’ तर पनि यही संस्मरणमा ठाउँठाउँमा कबुल गरे जस्तो आफूमा अध्ययनशीलता, विद्याप्रति लगन किन उचित मात्रामा देखापरेन होला !
हुन त बुबा जति विद्याप्रेमी, तीक्ष्ण बुद्धि, लगनशील भए पनि उहाँका सन्तान हामी अध्ययनशीलता, लगनशीलतामा औसत थियौँ । अपवाद हुनुहुन्थ्यो, जेठो दाजु डा. मृगेन्द्रराज पाण्डे, जसलाई यहाँ चिनाइरहनुपर्दैन । उहाँ जहिले पनि पढाइमा तेज । आइएसएसीमा नेपालबाट उत्तीर्ण हुने विद्यार्थीहरुमा पहिलो वा दोस्रो स्थानमा पर्नुभएको दाजुलाई कोलकाता विश्वविद्यालयमा मेडिकल पढ्न जाने अवसर मिल्यो, राणाकालमा दिइने छात्रवृत्ति प्राप्त गरेर । पढाइ सकेर नेपाल फर्किएलगत्तै बेलायतमा एमआरसिपी, एफआरसिपी केके हो, पढ्न जानुभयो । नेपालको पहिलो कार्डियोलोजिस्ट भएर फर्कनुभयो । र धेरै स्वास्थ्यकर्मीका निम्ति प्रेरणाको स्रोत बन्नुभयो ।
बुबाको ट्युसन जति चम्कियो, उति बढी मासुभात खान पाइन्थ्यो ।
त्यसपछि पनि दिनप्रतिदिन उहाँको उन्नति जारी रह्यो । आफ्नो ज्ञान र लगनका आधारमा चाहिने नाम, दाम कमाएपछि उमेर छँदै समाजसेवामा लाग्न पाउनुभयो । उहाँको नाम नसुन्ने, काम थाहा नपाउने पाठक कोही छैनन् होला, धेरै भनिरहनु परेन । शाही चिकित्सक भएकै बेला दाजुबाट राजनीतिक क्षेत्रमा पनि चिकित्सक धर्मअनुरुप एउटा महङ्खवपूर्ण योगदान हुन सक्यो । २०३४ सालमा त्यस बेलाका प्रधानमन्त्री मात्र होइन, दरबारभित्रकै एउटा पक्षको विपरीत रायका बाबजुद दाइकै सल्लाहमा राजा वीरेन्द्रबाट जेलबाट मुक्त भएर बीपी कोइराला सरकारी खर्चमा औपधोपचारका निम्ति विदेश जान पाए । त्यस बेला म अर्थ मन्त्रालयमा अतिरिक्त सचिव थिएँ । मन्त्रालयमा आश्चर्यचकित कर्मचारीवृत्तबीच रकम निकासा गर्न भएको दौडधुप सम्झन्छु ।
त्यसो त मेरा माइला दाजु नरेन्द्रराज पनि तेज बुद्धिका थिए । त्रिचन्द्र कलेजबाट आइएससी पास गरेर बाहिर पढ्ने अवसर पाइसक्दा पनि नियतिले उनका निम्ति अर्कै बाटो तय गरेको रहेछ । पछि आर्ट्स पढेर बिए पास गरेपछि फुलब्राइट छात्रवृत्ति पाएर अमेरिकाको विश्वविद्यालयबाट राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर गरे । जागिरमा रेडियो नेपाल हुँदै राजदरबार सचिवालयमा समेत आफ्नो ज्ञानगुण प्रदर्शन गर्न सफल भए ।
बाँकी दुई भाइ पनि आफ्नो पेसामा क्रियाशील हुँदै आवश्यक निपुणता देखाए । त्यस्तै दिदीबहिनीले पनि सबै पढाइ राम्रोसँग सम्पन्न गरेर सफल पेसागत जीवन निर्वाह गरे । मेरो ठूलो परिवारमा छोरी, ज्वाइँ, बुहारीहरुसमेत सबै गणना गर्दा आमाबाहेक न्यूनतममा स्नातक तहको पढाइ नसक्ने कोही भएनन् । सबै जनाले पुर्खाको सम्पत्तिको भरमा होइन, आफ्नै प्रयास र परिश्रमले उन्नति गरेका हुन् । हाल यो सामान्य कुरा होला । तर म मेरो पुस्ता वरपरको सम्भ्रान्त देखिने परिवारको कुरा यहाँ गर्दै छु ।
यस पृष्ठभूमिमा बाल्यकाल, अध्ययन र जीवनमा समातेका उल्टासुल्टा बाटा, गरेका सङ्गत र पोखेका विचारले आफू कुन विशेष वर्ग वा काठमाडौँका सम्भ्रान्तमध्ये पर्छु, पर्दिनँ भन्नेबारे म आफंै अन्योलमा छु । यो आत्मअन्वेषणलाई अरुले कसरी बुझ्छन् वा बुझ्लान् भन्नेमा चाहिँ मलाई केही ज्ञान छ ।
एक त नजिकका साथीहरुसँग हल्काफुल्का गफ मार्दा पनि उनीहरुमध्ये केहीबाट मायालु कटाक्ष सुनेको छु । कट्टर वामपन्थी वा कम्युनिस्ट खेमाभित्र त उनीहरुको शिक्षादीक्षाभित्र म जस्तालाई ‘वर्गशत्रु’ मान्नुपर्ने निष्कर्ष छँदै छ । एउटा उदाहरण मोहनविक्रम पक्षका एक व्यक्तिले मलाई नै लक्ष्य गरेर बाबुराम भट्टराईको आलोचना गरेको घटनामा छ । यहाँ कतै उल्लिखित जनादेश साप्ताहिकमा प्रकाशित अन्तर्वार्तालाई लिएर बाबुरामले सीधै मलाई सम्बोधन गर्दै प्रतिक्रिया लेखेका थिए, जसमा मप्रति थोरै सद्भाव व्यक्त गरिएको थियो ।
गैरवामपन्थीलाई उच्च सम्मानका साथ प्रशंसा गरिनुले डा. बाबुराम भट्टराईलाई व्यक्तिवादी, निम्न पुँजीवादी र सामन्तवादको पूजक भएको तथ्यलाई सहजै प्रमाणित गर्दछ ।’
त्यसैलाई समातेर यी कम्युनिस्ट लेख्छन्, ‘गैरवाम खेमाबाट डा. देवेन्द्रराजलाई सर्वोच्च बनाउन सम्मान गर्न र मन पराउने पद्धतिलाई नितान्त व्यक्तिगत र वर्गदृष्टिकोणहीन स्तरमा गिराइनु मनोगतवादी सोचाइ राख्नु र मूल रुपमा भन्नुपर्दा गैरवामपन्थीलाई उच्च सम्मानका साथ प्रशंसा गरिनुले डा. बाबुराम भट्टराईलाई व्यक्तिवादी, निम्न पुँजीवादी र सामन्तवादको पूजक भएको तथ्यलाई सहजै प्रमाणित गर्दछ ।’
(‘काठमाडौँ मानसिकता’सहित एउटा मध्यमवर्गीय परिवारमा हुर्केका, पढेका र २०१७ सालमा अधिकृतबाट जागिरे भई त्यसको १८ वर्षमै जनमत संग्रहका बेला देशप्रतिको निष्ठाका कारण अर्थ मन्त्रालयको सचिवबाट राजीनामा दिएका पाण्डेको आत्ममन्थन ‘एक ज्यान दुई जुनी’ भोलि आइतबार सार्वजनिक हुँदै छ । ०४६ सालपछि अर्थमन्त्रीसमेत भएका पाण्डे नागरिक नेताका रुपमा पनि सुपरिचित छन् । यो पुस्तक फाइनप्रिन्टले बजारमा ल्याएको हो ।)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया