विचार

पाठ्यपुस्तकमा सिर्जना, सर्जक र रोयल्टी

निशान निष्कर्ष |
माघ १०, २०७७ शनिबार ७:३६ बजे

मैले शिक्षण पेसा अँगालेको नौ वर्ष भयो । यो नौ वर्ष मैले निजी विद्यालयमा नै आफूलाई क्रियाशील राखेको छु । कक्षा २ देखि +२ सम्मका कक्षामा पढाएको छु । त्यहाँ समाविष्ट पाठहरूलाई मैले राम्रोसँग नियालेको छु । त्यस्तै विद्यालयमा विभिन्‍न साहित्यिक कार्यक्रम पनि सञ्चालन गरेको छु । यसरी पुस्तक नियाल्नु भनेको नेपाली साहित्यका सर्जक, पुस्तक प्रकाशक र नेपाली साहित्यको गुणस्तरलाई पनि चियाउनु हो भन्‍ने लाग्न थालेको छ ।

नेपालको शिक्षामा कुनै पनि तहमा पठनपाठन गराउने पहिलो आधार भनेको नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालयको मातहातमा रहेको पाठ्यक्रम विकास केन्द्रले तयार पारेको पाठ्यक्रमअनुसार नै हो । पाठ्यक्रम विकास केन्द्रले सरकारी विद्यालयमा जनक शिक्षा सामग्री केन्द्रलाई विद्यालय तहको पुस्तक छाप्ने अधिकार दिई विद्यालयहरूमा पुस्तक प्रदान गर्दछ भने निजी विद्यालयहरूलाई उक्त पुस्तक नै पढाउनुपर्ने अनिवार्यता र अपरिहार्यता छैन अर्थात् पाठ्यक्रम विकास केन्द्रले तयार पारेको पाठ्यक्रममा रही निजी प्रकाशकहरूले प्रकाशन गरेको पुस्तक पढाउन पाउने अधिकार दिइएको छ ।


यसलाई यसरी भनौँ, पाठ्यपुस्तकमा सहजै व्यापार गर्न पाउने अधिकार उपलब्ध गराइएको छ । कक्षा ८, १० र ११ मा भने नेपाली विषयको पाठ्यपुस्तक नेपाल सरकारद्वारा प्रकाशित पुस्तक नै पढ्नुपर्ने भएकाले व्यापार कम भएको छ । त्यतिमात्र होइन, कक्षा ११ भन्दा माथिका ऐच्छिक नेपाली विषयको पाठ्यक्रममात्र तयार पारिएको छ र पुस्तक निकाल्न निजी प्रकाशकहरूलाई अधिकार दिइएको छ । तथापि पुस्तकको वितरण र प्रकाशन जसरी गरे पनि र गराए पनि सन्दर्भ पुस्तकमा समावेश गरिएको सिर्जना र त्यस सिर्जनाबापत सर्जकले रोयल्टी पाइरहेका छन् ?    

सुरुमा एउटा सन्दर्भ जोडिहालौँ । लीलालेखनका प्रवर्धक तथा साहित्यकार कृष्ण धरावासीसँग कुरा हुँदा उहाँले भन्‍नुभएको थियो, ‘लेखकलाई एउटा सिर्जना गर्न कति समय लाग्छ ? हामीले कति कुराको त्याग गर्न सक्नुपर्छ ? यता जागिर, यता घरपरिवार, यता जीवनका धेरै उतारचढावलाई बिर्सिएर सिर्जनामा लागेका हुन्‍छौँ । बल्ल बल्ल एउटा सिर्जना गरियो, त्यसले अब के पाउने त ? उसले त्यो त कतै न कतै छपाउनुपर्छ । लेखेर राखेर मात्र भएन । तर त्यो छपाउँदै गर्दा सर्जकले पाउने के ? उसलाई कम्तीमा सिर्जनाको रोयल्टीका रूपमा केही न केही त पक्कै दिनुपर्ने हो तर नेपाली साहित्यमा त्यस्तो देखिँदैन ।’

उहाँको शरणार्थी उपन्यास त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा पठनका लागि राखेको रहेछ । उहाँ यस विषयमा आफूलाई सुरुमा केही जानकारी नभएको बताउनुहुन्‍छ । रमाइलो कुरा त के भने विद्यार्थीहरूले उहाँलाई तपाईंको उपन्यास पढ्नुपर्ने रहेछ, यसको बारेमा भनिदिनुहुन्थ्यो कि भन्दा पो थाहा पाएँ भन्‍नुहुन्‍छ । उहाँ थप्‍नुहुन्‍छ, ‘मैले मेरो उक्त उपन्यास विश्वविद्यालयमा पढाइ भइरहेको छ भन्‍ने कुरा त्यहाँ पढ्‌ने विद्यार्थीहरूले उक्त उपन्यासमाथि उसलाई उठेको जिज्ञासा सोध्नलाई फोन गरे र मैले थाहा पाएँ ।’

पछिल्लो समय निजी क्षेत्रहरूले पनि यस्तो हालीमुहाली गरिरहेको पाइन्‍छ । विशेष गरेर स्कुल तहको निजी विद्यालयहरूमा राखिएका पुस्तक पनि निजी प्रकाशनले प्रकाशित गरेको पुस्तक नै हुन्‍छ । ती पुस्तकमा राखिएका सिर्जना सबै किताबका सम्पादक र लेखकका मात्र त हुँदैनन् । उनीहरूले त अरु साहित्यकारहरूको नै राखेका हुन्‍छन् । ती सर्जकहरूमध्ये कतिलाई त यो कुरा पनि थाहा हुन्‍न कि मेरो सिर्जना कसैले उनीहरूको निजी प्रकाशनबाट प्रकाशित पुस्तकमा राखिदिएको छ ।

नाम नखुलाउने सर्तमा एकजना निजी क्षेत्रका पुस्तकका लेखक तथा सम्पादकले भन्‍नुभएको छ कि कुनै पनि लेखकलाई सोधेर राखेका छैनौँ । कसैले थाहा पाएर किटानी जारी गरिहाल्यो भने उसलाई केही रकम दिएका छौँ होेइन भने त्यसरी सोधेर हाल्ने र उनीहरूलाई रोयल्टी नै दिने काम चाहिँ गरेको छैन प्रकाशकले पनि र हामी पुस्तक लेखकले पनि । यो त एउटा उदाहरण मात्र हो ।

यहाँ यस्तै प्रकारका लेखक र प्रकाशक धेरै छन् । तर उनीहरूले यसरी नै लेखकमाथि अन्याय गरिरहेका छन् । त्यस्तै बाल साहित्यमा र नेपाली पद्य कवितामा राम्रोसँग कलम चलाउँदै आउनुभएकी स्रष्टा प्रभा भट्टराईको जनक शिक्षा सामग्री केन्द्रबाट प्रकाशित नेपालको सरकारी नेपाली पाठ्यपुस्तकमा कक्षा ७ र ८ मा एक एक कविता छन् । उहाँको कविता राख्नलाई सम्झौता गरिएको तर आजसम्म रोयल्टी भने नदिएको उहाँको पनि गुनासो छ । उहाँ भन्‍नुहुन्‍छ, ‘कविता पुस्तकमा राख्न सम्झौता भएको हो तर यसको रोयल्टीबारे केही कुरा भएको छैन र मैले आजसम्म ती दुई कविताको रोयल्टी पाएकी पनि छैन ।’ यस प्रकारको कार्यले के स्रष्टाको सम्मान होला र ?

विद्यालयमा वार्षिकोत्सव तथा अभिभावक दिवसमा नायक-नायिका वा गायक-गायिका बोलाउँदा पारिश्रमिक दिने तर लेखकहरूलाई चाहिँ ?

नेपाली साहित्यका मेरुदण्ड हुन्, महाकवि लक्ष्मीप्रसाद देवकोटा । उनका रचना पछिल्लो समय विद्यालय तहमा केही घटेका छन् । होइन भने हामीले पढ्ने समयमा कक्षा १ देखि स्नातकोत्तर तहसम्म उनको कुनै न कुनै रचना नेपाली पाठ्यपुस्तकमा समावेश गरिएको थियो । उनको रचनाहरूले रोयल्टी नपाएको धेरै भएको प्राध्यापक डा. पद्मप्रसाद देवकोटा (महाकविका पुत्र हुनुहुन्‍छ) ले जनाउनुभएको छ । देवकोटा भन्‍नुहुन्‍छ, “हिजो आमा रहनुहुँदा त केही मात्रामा केही संस्थाहरूले दिएका थिए । आजभोलि त कुनै पनि संस्थाहरूले रोयल्टी भनेर दिने गरेका छैनन् । खै रचना प्रकाशित भएको ५० वर्ष वा सर्जकको मृत्यु भएको ५० वर्षपछि त्यसमा उनीहरूको प्रतिलिपि अधिकार हुँदैन भन्‍ने रहेछ । हामीले पनि खोजेका छैनौँ ।’

सिर्जना त्यसै जन्मँदैन । सर्जक त्यतिकै बाँच्न गाह्रो छ । हाम्रो साहित्य विश्वबजारमा पुग्न सकेको छैन । हामीले साहित्यलाई कसरी अझ प्रभावकारी बनाउने भन्‍ने कुरामा ध्यान दिनुपर्ने हो भन्‍ने लाग्छ तर यहाँ त साहित्यलाई सर्जकको बाँच्ने आधारभन्दा पनि व्यापारीले गरिखाने भाँडो बनाएको भान हुन्‍छ । त्यतिमात्र होइन, सरकारी निकायबाट पुस्तकमा राखिएका सिर्जनाहरूको पनि रोयल्टी राम्रो छैन ।

कक्षा ११ र १२ को नेपाली पुस्तकका सम्पादन मण्डलका एक सम्पादक तथा साहित्यकार डा. रामप्रसाद ज्ञवालीका अनुसार यस्ता रचनाहरूको रोयल्टी दिइयो भने पनि सुरुको वर्षमा पाँच सय रुपैयाँ वा एक हजार रुपैयाँसम्म दिइन्‍छ र पछि कुनै पनि रोयल्टी उपलब्ध गराउने प्रचलन छैन । उहाँ भन्‍नुहुन्‍छ, 'कुनै सिर्जना पुस्तकमा समावेश गर्दा पहिलो कुरा त अनुमतिपत्रमा सम्झौता गर्ने गरिएको छ । केही सर्जकहरूले रोयल्टीबारे सोधेमा केही रकम उपलब्ध गराउने हो । त्यसभन्दा अरु कुनै प्रकारको रोयल्टी भने हुँदैन । अर्को कुरा, कुनै पनि सर्जकको पुस्तक प्रकाशन भएको ५० वर्षपछि त्यस पुस्तकमा कसैको हक लाग्दैन । त्यो जसले प्रकाशन गरे पनि हुन्‍छ । त्यसैले पुराना साहित्यकारहरूको सिर्जना समावेश गर्दा त न अनुमति लिन पर्छ, न रोयल्टीकै कुरा आउँछ ।’

पुस्तकमा समावेश गरिएका रचनाहरूको रोयल्टीका कुरा त छँदै छन्र । यहाँ धेरै निजी विद्यालयहरूले साहित्यिक कार्यक्रमको आयोजना गरेका हुन्‍छन् र सर्जकलाई बोलाउँछन् । नेपाली शिक्षकहरूले नै प्रायः सर्जकहरूलाई बोलाएका हुन्‍छन् । विद्यालयले सकेसम्म सर्जकलाई बिनापारिश्रमिक बोलाउन पाए उनीहरू खुसी हुन्‍छन् । तर विद्यालयमा वार्षिकोत्सव तथा अभिभावक दिवसमा नायकनायिका वा गायकगायिका बोलाउँदा खर्चने रकम देखेर चाहिँ अचम्म लाग्छ । यसको मतलब यो होइन कि उनीहरूलाई पनि पारिश्रमिकबिना बोलाइयोस् ।

उनीहरूलाई पारिश्रमिक दिएर राम्रो काम गरेको हो तर साहित्यकारहरू चाहिँ काम नभएर जाने पक्कै होइन । साहित्यकारहरूलाई पनि पारिश्रमिक दिएर बोलाउने हो भने जो पनि आउँछन् र बालबालिकाहरूलाई राम्रोसँग साहित्यको ज्ञान दिन सक्छन् । एउटा नमीठो अनुभव छ, चार वर्ष पहिलेको कुरा हो, मैले अध्यापन गराउने विद्यालयको कार्यक्रममा केही साहित्यकारहरूलाई बोलाउने कुरा भयो ।

मैले स्कुलको योजनालाई सहयोग पुगोस् भन्‍ने हेतुले तीन जना साहित्यकारहरूलाई विद्यालयमा बोलाएँ । उहाँहरू मेरो निमन्त्रणालाई स्वीकार गरेर आउनुभयो । मलाई थाहा थिएन कि विद्यालयले उहाँहरूलाई रित्तो हात फर्काउला । तर विडम्बना विद्यालयले उहाँहरूलाई एउटा खादामा नै टारेछ । उहाँहरू त नेपाली साहित्यलाई उजागर गराउन सदा सदा लाग्‍नुभएका व्यक्तित्व । विद्यालयले त्यसरी रित्तो हात फर्काउन हुँदैन थियो । दुःखको साथ आज भन्दै छु, मैले ती स्रष्टाहरूलाई अब कुनै कार्यक्रममा बोलाउन सक्ने अवस्थामा नै छैन ।

अर्को कुरा, साहित्य लेख्‍ने सर्जक पनि यस विषयमा अलि सचेत हुनुपर्ने हो भन्‍ने विचार साहित्यकार अमर न्यौपानेको छ । उहाँ भन्‍नुहुन्‍छ, ‘हामी पनि बिनापारिश्रमिक जहाँ बोलायो त्यहीँ जानुहुँदैन । हामी होल टाइम राइटर भन्‍छौँ अनि आफ्नो पारिश्रमिकको कुरा गर्न डराउँछौँ । त्यसैले पनि साहित्यकारहरूलाई सकेसम्म बिनापारिश्रमिक बोलाउने प्रचलन बसेको हो ।’ साहित्यकार न्यौपानेले भन्‍नुभएजस्तै अब सर्जकहरूले पनि आफ्नो एउटा बलियो संस्था बनाएर कुनै पनि रचनाहरूको रोयल्टी र कुनै पनि कार्यक्रममा सहभागी भएको पारिश्रमिक लिने प्रचलन भएन भने स्रष्टा अझ पनि मारमा पर्ने नै देखिन्‍छ । 


Author

थप समाचार
x