विचार

पानीकै लागि युद्ध निम्तिने खतरा

उमाकान्त झा |
माघ १४, २०७७ बुधबार ६:५२ बजे

पानी मानव जातिको लागि सबैभन्दा ठूलो स्रोत हो । पानीले बाँच्‍नको लागि मात्र होइन यसले जीवनलाई आनन्ददायक र विलासी बनाउनलाई समेत मद्दत पुर्‍याउँछ । पानीबिना जीवनको कल्पना पनि गर्न सकिँदैन । पानी जीवन हो । मानव शरीरको लागि अक्सिजनपछिको दोस्रो  सबैभन्दा आवश्यक प्राकृतिक स्रोत पानी हो ।

मानव शरीरमा ६५ प्रतिशत पानी हुन्‍छ । मानव शरीरको ७० प्रतिशत वजन पानीको हो । रगतमा ८३ प्रतिशत पानी हुन्‍छ । यसबाट पानी हाम्रो जीवनको लागि कति आवश्यक छ भन्‍ने कुरा देखाउँछ । हामीलाई जन्मकालदेखि मृत्यु पर्यन्त पानीको आवश्यकता पर्छ । धेरैजसो धार्मिक संस्कार नदी किनारामा हुने गर्दछ । मानिसको अन्तिम दाहसंस्कार नदीकिनारामै गरिन्‍छ । पानी कुनै वस्तुलाई शुद्ध पार्ने तत्वको रूपमा लिइन्‍छ । हाम्रो धार्मिक मान्यताअनुसार हामी स्नान गरेपछि आफूलाई शुद्ध भएको ठान्दछौं । त्यसैले कुनै पनि धार्मिक यज्ञ अनुष्ठान गर्दा स्नान गर्ने चलन छ ।


हाम्रा नदीहरूलाई आमासरह मान्‍ने गरिन्‍छ । हाम्रा नदीहरूको धार्मिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक महत्व छ । दुईटा नदी मिल्ने ठाउँलाई दोभान तथा तीनवटा नदी मिसिने स्थानलाई त्रिवेणी भन्‍ने चलन छ । दोभान र त्रिवेणीहरूको आफ्नै किसिमको धार्मिक महत्व छ । उदयपुर जिल्लामा कमला तावा तथा ककरु नदीको संगमका प्रत्येक वर्ष धार्मिक मेला लाग्ने गर्दछ भने नवलपरासी जिल्लाको नारायणी, सोना तथा पञ्चनदी मिसिने ठाउँ त्रिवेणी पनि ठूलो धार्मिक महत्व राख्दछ । चितवनको त्रिशूली र गण्डकीको दोभान देवघाट अति महत्वपूर्ण धार्मिक स्थलको रूपमा प्रख्यात छ ।

भारतको गंगा तथा यमुना नदीको संगम प्रयागको पनि ठूलो धार्मिक महत्व छ । जलदानलाई ठूलो दानको रूपमा लिइएको छ । तराईमा पोखरी, इनार निर्माण गर्नु र पहाडमा ढुंगेधारा निर्माण गर्नुलाई पानीदान गर्ने माध्यमको रूपमा लिइन्‍छ । पानीले भरेको भाँडोलाई कलश गणेशको रूपमा पूजा गर्ने चलन छ । कलश शुभकारक मानिन्‍छ । यसरी पानी, नदी, ताललाई आर्थिक, धार्मिक, सामाजिक महत्वका साथ हेर्ने चलन छ ।

यस  बहुउपयोगी वस्तुको आवश्यकताअनुसार उपयोग गर्ने प्रयास मानव जातिले अनादिकालदेखि गर्दै आएको छ । अन्‍न उब्जाउन सिँचाइ कुलोको निर्माण मानव सभ्यताको विकाससँगसँगै सुरु भएको विश्वास गरिन्‍छ । खानेपानी, जलविद्युत्, जल परिवहन, मत्स्यपालनजस्ता प्रयोग आवश्यकताअनुसार हुने गरेको छ ।

मानव सभ्यताको विकास नदीको किनाराहरूबाट सुरु भएको थियो । झन्डै पाँच हजार वर्ष अगाडि टाइग्रिस र अफ्रेटस नदीको बीचमा विश्वको पहिलो सहरको निर्माण भएको थियो भने इजिप्टको विकास नाइल नदीको कारण भएको थियो । इन्डस भ्यालीको सभ्यता हडप्पा र मोहेजो दारो सिञ्चित क्षेत्रको वरिपरि विकास भएको थियो ।

चीनको एलो रिभर  उपत्यकामा १६०० बी.सी.मा भएको सहरी विकास तथा श्रीलंकाको अनुराधापुरमा सिँचाइ संरचना निर्माण गरी सुक्खा क्षेत्रलाई उब्जाउ कृषि योग्य भूमि बनाई सो ठाउँमा विकास भएको सभ्यताको विकासजस्ता थुप्रै उदाहरणहरू छन् ।

चीनको एलो रिभर  उपत्यकामा १६०० बी.सी.मा भएको सहरी विकास तथा श्रीलंकाको अनुराधापुरमा सिँचाइ संरचना निर्माण गरी सुक्खा क्षेत्रलाई उब्जाउ कृषि योग्य भूमि बनाई सो ठाउँमा विकास भएको सभ्यताको विकासजस्ता थुप्रै उदाहरणहरू छन् । यसरी पानीको खोजीमा मानिस नदी तालजस्ता पानीको स्रोत नजिक गई बसोबास गर्नु र पछि सो ठाउँमा एक प्रकारको सभ्यताको विकास हुँदै जाने क्रम बढ्दै गएको पाइन्‍छ । पानीको सुलभ उपलब्धताले खानेपानीको आवश्यकता अन्‍नबाली उत्पादन गर्न, पशुपालन, माछाको उपलब्धता जल परिवहनजस्ता आवश्यकीय कुराहरूलाई सहज बनाई मानव बस्‍ने आधार सजिलै बन्‍न गयो ।

पृथ्वीमा ३६१० लाख वर्ग कि.मि. सम्पूर्ण रूपले पानीले ढाकेको छ भने बाँकी १४९० लाख वर्ग कि.मि. भूभागका पानी नदी, ताल, हिमताल, सिमसार र भूमिगत जल रहेको छ । प्रकृतिमा रहेको सम्पूर्ण पानीको दुई प्रतिशत मात्र स्वच्छ पानी रहेको छ । जसमध्ये दुई तिहाइ हिउँ, हिमतालको रूपमा पृथ्वीको धु्रवहरूमा रहेको छ । बाँकी पानी जसको परिमाण लगभग एक प्रतिशतको हाराहारीमा छ, जीवजन्तुको लागि उपलब्ध छ । यसरी पृथ्वीको उत्तरी गोलार्धको ४० प्रतिशत भूभाग पानी छ भने ६० प्रतिशत जमिन र दक्षिणी गोलार्धको ८१ प्रतिशत पानी छ भने १९ प्रतिशत जमिन छ ।

पृथ्वीमा पानीको प्रचुरता रहे पनि सबै स्थानमा सबै प्राणीको लागि आवश्यक मात्रामा पानी उपलब्ध नरहेको यथार्थताले गर्दा स्थान विशेषमा प्राणी विशेषको उपस्थिति देखिन्‍छ । प्रकृतिमा रहेका १.४ अर्व घन कि.मि. पानीमध्ये १२,५०० देखि १४,००० घन कि.मि.  मात्र वार्षिक रूपमा मानव जातिको लागि उपलब्ध रहेको छ ।

अर्थात् १९९० को जनसंख्यालाई दृष्टिगत गर्दा प्रतिव्यक्ति प्रतिवर्ष लगभग ९०,०० घनमिटर पानी उपलब्ध छ । सन् १९९० को तुलनामा सन् २०२५ मा जब पृथ्वीको जनसंख्या दुई अर्बले बढ्नेछ, प्रतिव्यक्ति स्वच्छ पानीको उपलब्धता ५,१०० घनमिटरमा झर्नेछ । यदि यो पानी सम्पूर्ण जनसंख्याको लागि बराबर मात्रामा उपलब्ध भएको भए त्यतिबेला पनि यो पानीको मात्रा मानव जातिको लागि पर्याप्त हुन्थ्यो । विश्वमा उपलब्ध भएको स्वच्छ पानी बराबर रूपमा सबै ठाउँमा वर्षभरि र प्रत्येक वर्ष उही मात्रामा उपलब्ध हुँदैन । अर्थात् मानवको लागि आवश्यक पानी आवश्यक स्थान र आवश्यक मात्रामा उपलब्ध हुँदैन । कहीँ आवश्यकताभन्दा बढी हुन्‍छ भने कही कम ।

नवीकरणीय स्वच्छ पानीको उपलब्धता प्रतिव्यक्ति प्रतिवर्ष १,७०० घनमिटरभन्दा कम भयो भने पानी संकट उत्पन्‍न हुन्‍छ ।

पृथ्वीको एक तिहाइ जनसंख्या स्वच्छ पानी पाउँदैन । ४८ देशका २.८ अर्ब जनसंख्याले सन् २०२५ सम्म र ५४ देशका चार अर्ब जनसंख्या सन् २०५० मा पानी संकट भोग्नुपर्ने आकलन गरिएको छ । नवीकरणीय स्वच्छ पानीको उपलब्धता प्रतिव्यक्ति प्रतिवर्ष १,७०० घनमिटरभन्दा कम भयो भने पानी संकट उत्पन्‍न हुन्‍छ । अहिलेको अवस्थामा विश्वको १.१ अर्ब जनसंख्यालाई पर्याप्त मात्रामा स्वच्छ पानी उपलब्ध छैन । अर्थात् झन्डै ६ जनामध्ये एकजनाले पानी संकट भोग्‍नुपरेको अवस्था छ ।

स्वच्छ जलउपलब्ध भए पनि विश्वको २.५. अर्ब जनसंख्यालाई सरसफाइको सुविधाका लागि पानी उपलब्ध छैन । विश्वमा वार्षिक २० हजार बालबालिका पानीको रोगबाट मर्ने गरेको छ । विश्वका ६० करोड जनसंख्या वार्षिक ३०० मिलिभन्दा कम पानी पर्ने ठाउँ (Aridarea)मा बसोबास गर्छन् । समुद्र, ताल, नदी, हिमनदी, जमिन आदि स्थानमा रहेका पानी सूर्यको तापबाट वाष्पीकरण भई आकाशमा जान्‍छ र पुनः त्यो बाफ पानी भई पृथ्वीमा वर्षाको रूपमा झर्छ । केही पानी जमिन मुनि जान्‍छ र बाँकी पानी ताल, नदी हुँदै समुद्रमा पुग्‍ने गर्दछ । पानीको यो चक्रलाई हाइड्रोलोजिकल साइकल भनिन्‍छ ।

समष्टिगत रूपमा पानीको यो चक्रलाई समुद्रबाट स्वच्छ पानीको रूपमा धर्तीमा पुर्‍याउने एउटा ठूलो पम्पको रूपमा हाइड्रोलोजिकल साइकलले काम गर्दछ । तसर्थ पानीलाई नवीकरणीय स्रोत भनिन्‍छ, जसलाई एक पटक प्रयोग गरेपश्चात् शुद्धीकरण गरी पुनः प्रयोग गर्न सकिन्‍छ ।

प्रत्येक वर्ष समुद्रबाट ४,५३,००० घन कि.मि पानी वायुमण्डलमा वाष्पीकरण भई जान्‍छ । यसको ९० प्रतिशत पुनः समुद्रमा वर्षाको रूपमा आइपुग्छ बाँकी ४१,००० घन कि.मि जमिनमा आइपुग्छ र जमिनबाट वाष्पीकरण भई गएको ७२,००० घन कि.मि.सँग पानी मिल्दछ र पुनः जमिनमा पानीको रूपमा आइपुग्छन् । यसरी जमिनमा जम्मा १,१,३००० घन कि.मि. पानी पर्छ ।

विश्वमा खानेपानी, औद्योगिक तथा कृषि प्रयोजन गरी जम्मा पानीको प्रयोग दिनानुदिन बढ्दै गएको अनुभव गरिएको छ । विगत दुई दशकमा पानीको प्रयोगमा देखिएको वृद्धि सोभन्दा अगाडिको प्रयोगभन्दा एकदमै अधिक मात्रामा बढ्दै गएको देखिएको छ । सन् १९०० मा झन्डै पाँच सय घन कि.मि. प्रतिवर्ष पानीको जम्मा उपयोग भएको थियो भने सन् २००० सम्म झन्डै दस गुणा अर्थात् पाँच हजार घनकि.मि. प्रतिवर्ष रहेको अनुमान गरिएको छ । 
विश्वमा पानीको मात्रा सीमित रहेकोले पानीको प्रयोगमा भएको यस्तो वृद्धिले निश्चय पनि अनादिकालसम्म धान्‍न सक्ने अवस्था रहँदैन । हालको पानी प्रयोग, यसरी नै बढ्दै जाने हो भने आगामी एकदेखि चार दशकसम्म विश्वमा उपलब्ध पानीको मात्रा बराबर हुनेछ । मोटामोटी रूपमा अनुमान गर्नलाई जनसंख्या वृद्धिको समानान्तर पानीको जम्मा प्रयोगको मात्रा बढ्ने गरेको अनुमान गरिन्‍छ । जम्मा पानी प्रयोगमा हुने वृद्धि जनसंख्या वृद्धिको अतिरिक्त वातावरणीयजस्ता अन्य कुराहरूबाट प्रभावित हुने गर्दछ ।

विगतको केही दशकहरूको मात्र कुरा गर्ने हो भने पानी प्रयोगमा भएका वृद्धि जनसंख्या वृद्धिदरभन्दा तीन गुणा बढी रहेको देखिन्‍छ यो वृद्धिदर नै कायम रहने हो भने विश्वको जनसंख्या दोब्बर हुँदा जम्मा पानीको प्रयोगको लागि आवश्यक मात्रा ६ औं गुणाले बढ्ने अनुमान गरिन्‍छ । कृषि क्षेत्रको लागि सन् १९०० मा जम्मा पानीको सम्पूर्ण प्रयोगको ९० प्रतिशत आवश्यक थियो भने एक सय वर्षपछि अर्थात् २००० सम्म जम्मा ६२ प्रतिशत मात्र आवश्यक देखियो । एक्काइसौं शताब्दीमा पनि कृषि क्षेत्रमा बढ्दो जनसंख्याको लागि आवश्यक खाद्यान्‍न उत्पादन गर्न अहिलेकै प्रतिशतको हाराहारीमा रहने अनुमान गरिएको छ । यसको विपरीत औद्योगिक क्षेत्रको पानी प्रयोग यो शताब्दीमा ६ प्रतिशतबाट २४ प्रतिशत बढेको छ ।

एक्काइसौं शताब्दीमा पनि यसै क्रममा बढ्दै जाने अनुमान छ । यी तथ्यांकहरू विश्वव्यापी प्रयोगको लागि हो । यो तथ्यांक राष्ट्रराष्ट्रबीच फरक हुन्‍छ । सन् २००० मा एसियाली मुलुकहरूको पानी प्रयोगको मात्रा र जम्मा पानीको उपलब्धताको अनुपात झन्डै २२ प्रतिशत रहेको छ यो विश्वको अन्य सबै महादेशभन्दा बढी रहेको छ ।

युरोप झन्डैझन्डै एसियाको हाराहारीमा छ भने दक्षिणी अमेरिका सबैभन्दा कम रहेको छ । जसरी पानीको विभिन्‍न प्रयोगहरू (खानेपानी, औद्योगिक, कृषि प्रयोग) को लागि आवश्यक पानीको मात्रा बढ्दै जान्‍छ विभिन्‍न प्रयोगकर्ताहरूबीच द्वन्द्व बढ्दै जानेछ । जनसंख्यामा हुने वृद्धिले प्रतिव्यक्ति पानीको उपलब्धता दिनानुदिन घट्दैछन् । एसियामा प्रतिव्यक्ति प्रतिदिन पानीको उपलब्धता ८.५ लिटर छ भने अफ्रिकामा ४ लिटर बेलायत मा ३३४ लिटर छ भने संयुक्त राज्य अमेरिका मा ५८७ लिटर छ ।

पानी प्रयोगहरूको अतिरिक्त हालसम्म कुनै पनि नदीको जीव परिवृत्त पद्धति (Ecosystem)बिग्रन नदिन कति पानीको आवश्यक पर्छ सोबारे अनुमान गरिएको छैन । यसरी पानीको विभिन्‍न प्रयोगको लागि आवश्यक पानीको मात्रा समयअनुसार बढ्दै जाँदा विभिन्‍न मुलुकमा पानीको चरम अभाव देखिन थालेको छ । पानीको प्रयोग सबैभन्दा बढी ७० प्रतिशत सिँचाइको लागि गरिन्‍छ भने दोस्रो स्थानमा उद्योग २४ प्रतिशत र बाँकी ६ प्रतिशत खानेपानीलगायत अन्य प्रयोजनका लागि उपयोग हुने गरेको छ ।

स्वच्छ पानीको कुरा गर्दा सम्पूर्ण उपलब्ध पानीको दुई प्रतिशत मात्र हुने गरेको छ । प्राविधिक र आर्थिक दृष्टिकोणले उपलब्ध सबै पानीलाई प्रयोग गर्न सकिँदैन । उपलब्ध स्वच्छ पानीको परिमाण बढाउन प्राविधिक तथा आर्थिक दृष्टिकोणले प्रायः सम्भव हुँदैन । एकातर्फ स्वच्छ पानीको परिमाण सीमित रहनु र अर्कोतर्फ मानवले गर्ने क्रियाकलापहरू बढ्दै जानुले झन् पानीको प्रतिव्यक्ति उपलब्धता घट्दै गएको छ । यसले पानी व्यवस्थापनलाई झन् झन् चुनौतीपूर्ण बनाउँदै लगेको छ ।

मानवको जीवनशैली दिनानुदिन परिवर्तन हुँदै गएको र परिवर्तित जीवनशैलीअनुसार पानीको आवश्यकता बढ्दै गएको छ । जल उपयोगका लागि आयोजनाहरूको निर्माण लागत दिनानुदिन बढ्दै गएको छ । क्षेत्रगत रूपमा लगानी गर्न लगानीकर्ताको लागि अन्य क्षेत्रहरूमा लगानी गर्दा बढी प्रतिफल प्राप्त गर्न सकिन्‍छ वा जलक्षेत्रमा ? सोच्‍न बाध्य बनाउँछ । दिनानुदिन सतह तथा भूमिगत जलस्रोत दूषित बन्दै गएको छ । दूषित पानीलाई प्रयोग गर्नभन्दा अगाडि उपचार गर्नुपर्ने आवश्यक हुने भएकोले पनि जल क्षेत्रका आयोजनाहरू महँगो हुँदै गएका छन् ।

पानी गरिबी र स्वास्थ्य एकअर्कासँग आवद्ध रहेको र यसको चक्र विश्वका धेरै विकासशील र अतिकम विकसित मुलुकहरूमा ठूलो समस्याको रूपमा देखिएका छन् । खानेपानी तथा सरसफाइको लागि आवश्यक पानीको मात्राका कमीले रोग लाग्ने र अन्ततः गरिबी निम्त्याउने गर्दछ । पानीको उपलब्धताबाट स्वास्थ्यको स्थितिमा सुधार र गरिबी कमगर्ने तथ्य स्थापित भइसकेको छ । संयुक्त राष्ट्रसंघको सहस्राब्दी विकास लक्ष्यले समेत खानेपानीको अवस्थामा सुधारबाट स्वास्थ्य स्थितिमा परिवर्तन भई गरिबी निवारण हुने लक्ष्य लिइएको छ ।

पानीमा पहुँचको कमीबाट प्रत्यक्ष रूपमा रोग लाग्ने एवं अप्रत्यक्ष रूपमा खाद्यान्‍न उत्पादनमा कमी भई कुपोषण हुने गर्दछ । सन् २००० सम्म विश्वका १.१ अर्ब जनसंख्यालाई स्वच्छ पानीको पहुँच १ कि.मि.भन्दा बढी रहने गरेको थियो । यी सम्पूर्ण जनसंख्या विकासशील मुलुकहरूमा रहने गरेकोले र यी देशहरूमा पानी र सरसफाइको अभावबाट हुने रोगहरू सबैभन्दा बढी लाग्‍ने गर्दछन् ।

इजरायलले गोलन हिल्स कब्जा गरेपछि यसको ८० प्रतिशत पानी इजरायलले प्रयोग गरिराखेको र  २० प्रतिशत मात्र प्यालेस्टाइनलाई दिइएको कारणबाट तनाव सिर्जना भएको छ ।

विश्व बैंकका पूर्व उपाध्यक्ष इस्माइल सेराजेल्डिनले धेरै वर्ष अगाडि भविष्यवाणी गरेका थिए कि आगामी शताब्दीमा विश्वमा युद्ध तेलको लागि होइन पानीको लागि हुनेछ । यो भविष्यवाणी सत्य हुने सम्भावना देखिएको छ । विश्वमा यस्ता पाँच स्थानलाई ‘हटस्पट’ भनिएको छ । कुनै समयमा Aral Sea विश्वको सबैभन्दा चौथो ठूलो जल भण्डार रहेको थियो । १९६० को दशकमा यसको पानीको मात्रा घटेर एक तिहाइ भयो ।

आमु दरया  र सिर दरया  नदी, जसले  Aral sea लाई पानी उपलब्ध गराउँथ्यो, को क्षेत्रमा मरुभूमिमा रुई उत्पादन गर्न पानी प्रयोग गर्न थाले । अफगानिस्तान, उज्वेकिस्तान र टर्किस्थानले यो नदीको पानी प्रयोग गर्दै आएकोमा अफगानिस्तानले आफ्नो प्रयोगको लागि बढी पानी प्रयोग गरेमा यस क्षेत्रमा विवाद सिर्जना हुन सक्छ । इन्डस नदीको पानीको प्रयोगबारे भारत र पाकिस्तानबीच विवाद हुने गरेको छ ।

इजरायलले गोलन हिल्स कब्जा गरेपछि यसको ८० प्रतिशत पानी इजरायलले प्रयोग गरिराखेको र  २० प्रतिशत मात्र प्यालेस्टाइनलाई दिइएको कारणबाट तनाव सिर्जना भएको छ । टर्कीले Tigris र Euphrates नदीमा  बाँध बाँधेपछि तल्लो तटीय पानीको मात्रामा कमी हुन गयो । इराक र सिरिया दुवै यसै नदीको पानीमा आश्रित छन् । इराक र सिरिया दुवैले टर्कीसितको सम्झौता तोड्न चाहन्‍छ ।

नाइल नदीको पानीबारे सधैं इजिप्ट, सुडान र इथोपियाको बीच विवाद भइराख्ने गरेको छ । अफ्रिकाको जनसंख्या यसरी नै बढ्दै जाने हो भने पानीकै लागि युद्ध हुने निश्चित छ । यसरी उपलब्ध विश्व जलसम्पदाको परिमाण निश्चित रहेको तर बढ्दो जनसंख्या, पानीका विभिन्‍न उपयोगकर्ताहरूबीच अधिकतम दोहन गर्ने प्रवृत्ति, राष्ट्रहरूबीच आफ्नो सिमानाभित्र पानीको अधिकतम उपयोग गर्ने प्रवृत्ति, वातावरणीय प्रतिकूलताका प्रभाव, जीवनलाई आनन्ददायक एवं विलासी बनाउन मानवका जीवनशैली दिनानुदिन परिवर्तन हुँदै गएको र परिवर्तित जीवन शैलीअनुसार पानी प्रयोगमा भइरहेको वृद्धिका कारण उपलब्ध पानीको मात्रा र आवश्यक मात्राबीच ठूलो अन्तर हुँदै गएको तथ्यलाई हृदयंगम गरी यस अमूल्य सम्पदाको संरक्षण गर्न विश्व समुदाय एक हुनु आवश्यक छ ।

साथै प्रकृतिले पृथ्वीमा बास गर्ने मानवलगायत सम्पूर्ण जीवजन्तुको लागि प्रदान गरेको यस अमूल्य उपहार पानीको बुद्धिमत्तापूर्ण प्रयोगबाट सम्भावित द्वन्द्वबाट बच्‍ने बचाउने प्रयास जिम्मेवार व्यक्ति, राष्ट्र एवं संघसंस्थालाई साझा दायित्वको बोध हुनु जरुरी छ ।


Author

उमाकान्त झा

झा पूर्व सिँचाइमन्त्री तथा जलस्रोतविद् हुन् ।


थप समाचार
x