विचार

एक इमानदार इन्जिनियरको अस्त

कुलमान घिसिङ : उहाँको निष्ठा र इमानदारिता फूलको बास्‍नाझैं फैलिएको सुनेको छु ।

विकास थापा |
माघ १५, २०७७ बिहीबार १८:५६ बजे

एकपटक एउटा अत्यन्त जरुरी कार्यवश नियाज अहमद साँझपख निबुवाटार (कुलेखानी तेस्रो निर्माणस्थल) बाट अचानक गैरीगाउँस्थित विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक रामेश्वर यादवको घरमा आए । एक, डेढ घण्टाको बातचितपछि उनी यादवको घरबाट निस्के ।

उनका चालक तिलक रानाले भने, ‘सर, म तपाईंलाई तपाईंको डेरामा छाडिदिन्छ, म पनि बानेश्वरस्थित डेरामा गाडी राख्छु ।’


अहमदले भने, ‘डेरामा होइन, सिँधै कुलेखानी जाऔं ।’ राना ट्‍वा परे ।

निबुवाटारस्थित कुलेखानी तेस्रोको निर्माणस्थल पुग्दा रातको साढे १२ बजेको थियो । रानाले पुनः सोचे कि अब क्वार्टर (निवास) मा जाने होला । तर अहमदले भने, ‘आज दिनभरि मैले साइट हेर्न पाएको छैन, एकपटक सरर्र साइट हेरेर क्‍वार्टरमा जाऔं न ।’

हातमा टर्च बालेर अहमदले सुरुङ, विद्युत्गृह आदि निर्माण भइरहेका संरचना हेरे । रातिको साढे दुई बज्यो । अनि बल्ल सुत्‍न गए ।

कुलेखानी दोस्रो बन्दै थियो । नियाज ३२ वर्षका थिए । तर बिबाह गरेका थिएनन् । त्यतिखेर ३० छोएपछि बिहे नगर्ने वा नहुनेलाई ‘बूढो भयो’ भन्‍ने चलन थियो । अहमदको बिहेको कुरा गर्न आयो भने जाँदै जाँदैनथे र भन्थे, ‘बिहे गर्‍यो भने काममा बाधा पुग्छ ।’ पछि उनले ४२ वर्ष पुगेपछि बल्ल बिहे गरे । 

यी दुई घटनाले अहमदको कामप्रतिको निष्ठा कुन हदसम्म रहेछ छर्लंग पार्छ । काम भनेपछि मरिहत्ते गर्ने यिनै अहमद हिजो बिहीबार भक्तपुर क्यान्सर अस्पतालमा सदाका लागि अस्त भए ।

अहमदसँग दशकौं काम गरेका अर्का सिभिल इन्जिनियर शिवबालक गिरीका अनुसार उनको श्रीमती हुसना बानो बिरामी परेको खबर आयो । अहमदले फोन गरेर पैसा छ कि छैन भनेर सोधे । उताबाट पैसा छ भन्‍ने जवाफ आयो । ‘त्यसपछि नियाज सरले भाउजु (नियाजकी श्रीमती) लाई अस्पताल गएर उपचार गराएर आऊ भने’ गिरी सम्झन्छन् ।

श्रीमती बिरामी हुँदा पनि अहमद साइट छाड्न मान्दैनथे । पैसा नभए उनले कसैलाई भनेर बन्दोबस्त गर्थे । तर सितिमिति काम छाड्ने बानी थिएन ।

अहमद अत्यन्तै इमानदार, सत्यनिष्ठा र मेहेनती थिए । उनले तलबबाहेक अरु तवरले पैसा लिंदैनथे । गिरीका अनुसार, पदमा भएका बेला उपहार लिएर आउनेलाई फर्काइदिन्थे । आफूभन्दा मुनिका कर्मचारी तथा अधिकृतलाई पनि यस्ता उपहार लिनु हुँदैन भनेर भन्थे ।

अहमदलाई एउटा कुराको अगाध विश्‍वास थियो, एकदिन नेपालमा तीव्र विकास निर्माण हुन्छ । उनका सहकर्मी गिरीले अहमदको मृत्यु भएपछि फेसबुक वालमा लेखेका छन्, ‘गिरीजी, सबै नेपाली विदेश गए भने देश कसरी बन्छ ?’ यो कुरा अहमदले बारम्बार आफ्ना साथीभाईलाई भन्‍ने गर्थे ।

‘उहाँ जहिले पनि सकारात्मक मात्र सोच्‍नु हुन्थ्यो, नकारात्मकता भन्‍ने लेस मात्र पनि थिएन’ गिरीले भने, ‘यो देशको बागडोर एकदिन गतिलो नेताको हातमा पर्नेछ । यहाँ (नेपालमा) धेरै निर्माण गर्नुपर्नेछ, हामी इन्जिनियरहरू सबैको योगदान आवश्यक पर्छ, हामीहरुलाई घरमा बसे पनि सरकारले बोलाउने दिन आउँछ ।’

उनले कुलेखानी तेस्रोमा १८ महिना एकल व्यक्ति परामर्शदाताको रुपमा काम गरे । सुरुमा नियुक्त परामर्शदाताले काम गर्न नसकेपछि उसलाई हटाएर अहमदलाई राखेका थिए, तत्कालीन ऊर्जा सचिव हरिराम कोइरालाले । अहमदले १८ महिनाको अवधिमा १७ प्रतिशत मात्र काम सकिएको कुलेखानी तेस्रोलाई ७४ प्रतिशत पूरा गराए ।

‘नियाजबारेमा मैले सुनेको थिएँ कि उहाँ अत्यन्त सत्यनिष्ठा व्यक्ति हो,’ पूर्व ऊर्जा सचिव तथा विद्युत् प्राधिकरणका तत्कालीन अध्यक्ष कोइरालाले भने, ‘मैले उहाँलाई परामर्शदातामा नियुक्त गरेपछि कुलेखानी तेस्रोको निर्माण कार्य निकै अघि बढ्यो ।’

सुरुमा नियुक्त परामर्शदातालाई मासिक करोडौं रुपैयाँ तलब, भत्ता (ठेक्कामै) दिइएको थियो । तर अहमदले मासिक एक लाख रुपैयाँ तलब खाएर करोडौं रुपैयाँ जोगाइदिएको कोइराला सम्झन्छन् । 

अहमदको व्यक्तित्व र आनीबानीबारे कोइरालाको शब्दमा, ‘राम्रोसँग काम गर्ने, पैसाको लोभ नगर्ने, समाजमा हराउँदै गएको सत्यनिष्ठासँग नजिक, सकारात्मक कुरा मात्र गर्ने, नकारात्मक कुरा गर्दै नगर्ने, कहिले नरिसाउने, सबै इन्जिनियर समुदायलाई साथ लिएर जानुपर्छ भन्‍ने सोच राख्‍ने व्यक्ति थिए ।’

अहमदलाई दिइएको जिम्मेवारी पूरा गरेर मात्र छाड्थे, त्यो पनि पक्कासाथ । लटरपटर नगरी जे गर्नुपर्ने हुन्छ, गरेरै छाड्ने । कोइरालाका अनुसार, आजभोलि इन्जिनियरिङ समुदायमा इमानदारिता र सत्य निष्ठाको अभाव छ । इन्जिनियरहरुले गर्व गर्न सक्ने अवस्था छैन । समाज कमजोर छ । सडक, खानेपानी, सिंचाइ, विद्युत् लगायत इन्जिनियरिङ क्षेत्रमा गरिएका काम गुणस्तरयुक्त छैनन् । 

‘बिजुलीको पोल टेढो छाड्ने, सडक पीच गरेलगत्तै भत्कने, नहर बनायो पानी नआउने, लगायतका गुणस्तर ह्रास भएका छन्,’ कोइराला भन्छन्, ‘इन्जिनियरमाथि ठेकेदार हावी, ठेकेदारमाथि नेता हावी भएपछि गुणस्तर खस्केका हुन् । यस्तो बेलामा नियाज मात्र त्यस्तो इन्जिनियर थियो, जो इमानसँग कहिल्यै सम्झौता गरेन ।’

कुलेखानी तेस्रोमा अहमदलाई टिक्न दिएनन् । हटाउनु परेको कारण पनि रोचक छ । ठेकेदारले सुरुङ खन्ने क्रममा हार्ड रक (कडा चट्टान) भेट्टायो र भन्‍न थाल्यो, यस्तो ठाउँमा लाइनिङ (ढलान) गर्नुपर्दैन । यो लाइनिङ गर्ने खर्च भागबन्डा गरौं । तत्कालीन आयोजना प्रमुखले लाइनिङ बापतको रकम ठेकेदारलाई भुक्तानी दिने गरी सिफारिस गर्न भने । नियाजले मानेन् । डिजाइन अनुसार नै हुनेमा अडान लिए । 

तर आयोजना प्रमुखले कार्यकारी निर्देशक (रामेश्वर यादव) ले नै भन्नुभएको छ भनेर निर्देशन दिन खोजे । नियाज दौडेर काठमाडौं आएर सोधे, ‘तपाईंलाई चाहिएको हो ?’ यादवले आफूले त्यस्तो कहिल्यै नभनेको, त्यो आयोजना प्रमुखलाई मेरो अगाडि ल्याउनोस् । त्यसपछि नियाजलाई अरु चाहिएन । तपाईंले नभनेको भए सक्किगो नि भन्दै फर्के । पछि डिजाइन अनुसार नै गर्न लगाए । यो लाइनिङको खर्च पाँच करोड जति थियो ।

यही प्रकरणले नियाजलाई कुलेखानी तेस्रोबाट हटाइयो । हटाउँदा प्रक्रिया पूरा गर्न लगाइयो । सुरुको परामर्शदाताले काम गर्न नसकेर (डिजाइन नै दिन नसकेर) १७ प्रतिशतभन्दा बढी प्रगति हुन नसकेपछि प्राधिकरणले अर्को परामर्शदाता नियुक्त गर्न सूचना निकाल्यो । भारतीय कम्पनी वाप्कोस पूर्वयोग्यता सूचीमा पर्‍यो ।

यता नियाजले काम गर्न सक्छन् भन्नेमा तत्कालीन ऊर्जा सचिव कोइराला विश्वस्त थिए । उनले नियाजलाई परामर्शदाता नियुक्त गरे । नियाजले राम्रो काम गरिरहेको, आयोजनाको प्रगति भइरहेको भौतिक रुपमै देखिइरहेको थियो । प्राधिकरणले अर्को परामर्शदाता नियुक्त गर्न जरुरी ठानेन । नियाजले नै निरन्तरता पाइरहे ।

यता लाइनिङको रकम बाँडफाँट गर्न नपाएपछि आयोजना प्रमुखहरु सल्बलाए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा वाप्कोसलाई नियुक्ती गराउन निवेदन हालियो । प्रमुख आयुक्त निवृत्त भएपछि आयोग पदाधिकारीविहीन भएको थियो । तर जाँदाजाँदै आयोगले प्रमुख आयुक्तको अधिकार सचिव दिएको थियो ।

तत्कालीन सचिव भगवती काफ्लेले वाप्कोसलाई नियुक्ति गर्न लिखित ‘निर्देशन’ दिए । अख्तियारको यो निर्देशनले आयोजना प्रमुख, यसका एजेन्टहरुको खेललाई सफल पारिदियो । यो परामर्शदाता नियुक्त भएपछि कुलेखानी तेस्रो पूरा हुन ६ वर्ष लाग्यो । दुई अर्ब ४३ करोड रुपैयाँ लाग्ने यो आयोजना ५ अर्ब रुपैयाँ लगाएर पूरा गरियो । 

कसैले नियाज इमानदार थिए भन्दैमा इमानदार भएका होइनन् । उनले सरकारी निकायमा काम गर्दा धेरै ठाउँमा आफ्नो इमानदारितालाई प्रमाणित गरेका छन् । अहमदलाई काम लगाउने पूर्व अधिकृतहरु अझै पनि जीवित छन्, उनीहरु साक्षी छन् ।
 
यसै प्रसंगमा अहमदसँग मोदी (१४ मेगावाट) बन्दै गर्दा सँगै काम गरेका अर्का सिभिल इन्जिनियर बलराम केसी एउटा घटना उल्लेख गरे नियाजको इमानदारिता पुष्टि हुने बताउँछन् । केसीका अनुसार मोदीमा हिमाल हाइड्रोले ६ करोडको भेरियसन अर्डर लिएर आयो । ठेक्का भएको थियो १८ करोड । आयोजना प्रमुख थिए भोजराज रेग्मी ।

‘त्यो ६ करोडको बिल मेरो टेबुलमा आयो,’ केसीले भने, ‘मैले हिमाल हाइड्रोले गरेका सबै कामका गतिविधि रेकर्डमा राखेको थिएँ, मैले भुक्तानी गर्न नसकिने लेखिदिएँ । त्यो फाइल नियाज सरकोमा पुग्यो । पछि आयोजना प्रमुख (रेग्मी) को टेबुलमा गयो । हामी सबै बसेर छलफल गर्‍यौं । रेग्मी सरले नियाज सरकारको मुख हेर्नुभयो । नियाज सरले मेरो । मैले सबै प्रमाण देखाएँ । रेग्मी सरले जिब्रो टोक्नुभयो ।’

पछि हिमाल हाइड्रको मान्छेले गलत व्याख्या भएपछि भन्दै माफी मागेका थिए । पछि रेग्मीले भने, ‘तपाईंहरु (नियाज र बलराम) ले प्राधिकरणको इज्जत राखिदिनुभयो, नत्र ठेकेदारले मुद्दा मामिला गर्न सक्थ्यो ।’
यो घटनापछि अहमदसँग निकट बनेका बलराम केसीले धेरै वर्ष सँगै काम गरे । मोदीमा अहमदले आँखा मात्रै सन्काइदिएको भए करोडौं रुपैयाँ ‘आम्दानी’ हुने थियो । 

केसीले अर्को घटना पनि सुनाए । रिटायर्ड (निवृत्त) भएपछि नियाज मेलम्चीमा दोस्रो प्रमुख परामर्शदाता कार्यरत थिए । मेलम्चीका सरकारी इन्जिनियर खानेपानीबाट गएका थिए । तर नियाज राति ११ बजे पनि सुरुङ हेर्न जान्थे, कतै पानी चुहिरहेको त छैन भनी । खनेको सुरुङ ढुंगामाटोले अडेको हुन्छ । कहीं कहीं माटो पनि खस्छ । माटो मात्र खस्यो भने त्यो खतरनाक हुन्छ । सुरुङमा कार्यरत कामदार र इन्जिनियरहरु जति खेर पनि मृत्यु हुन सक्छ । यसलाई ख्याल गरी नियाजले अनवरत अनुगमन गरिरहे ।

प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ आफूले नियाजसँग काम गर्न नपाए पनि उनको इमानदारिता, लगनशीलता र सत्यनिष्ठाको बारेमा बहुतै सुनेको बताउँछन् । ‘मैले उहाँसँग काम त गर्न पाइन, तर उहाँको निष्ठा र इमानदारिता फूलको बास्‍नाझैं फैलिएको सुनेको छु ।’

नियाजले प्राधिकरणले करिब ३० वर्ष काम गरे । कपिलवस्तु घर भएका उनले कहिल्यै काठमाडौंमा एउटा घर बनाउन सकेनन् । ‘सर काठमाडौंमा घर नबनाउने ?’ गिरीले नियाजलाई भने, ‘परिवारको लागि भए पनि बनाउनु परेन र ?’

तर नियाजले भने, ‘यहाँ (धर्ती) मा घर बनाउने होइन, माथि (स्वर्गमा) घर बनाउनुपर्छ ।’
 


Author

विकास थापा

जलविद्युत तथा राजनीतिक विषयमा कलम चलाउने थापा प्रधान सम्पादक हुन्।


थप समाचार
x